महाकवि पोषराज पौडेलद्वारा रचित महाकाव्य हो – शुक्लागण्डकी । ज पौडेल वि सं २०११ मा पोखरा म न पा १९ धार्मीमा जन्मेका हुन् । हालसम्म १२ ओटा कृति प्रकाशन गरिसकेका महाकवि पोषराज पौडेलले शहिदगाथा विसं २०५७ पछि वि सं २०७८ मा शुक्लागण्डकी महाकाव्य प्रकाशन गरेका हुन् ।
मार्क्सवादी सौन्दर्य शास्त्रलाई आदर्श मान्ने उनी प्रगतिवाद कविका रूपमा परिचित छन् । २४२ पृष्ठ र बीस सर्गहरूमा व्यवस्थित यो महाकाव्यले राष्ट्रमा व्याप्त अन्याय, अत्याचारका विरुद्धमा सङ्गठित भएर लाग्ने हो भने अवश्य सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।
– – – – – –
विषयवस्तु
मङ्गलाचरणबाट आरम्भ भएको महाकाव्यमा प्राचीन रोमको एक विद्रोही दास स्पार्टाकसले नेपालमा जन्मिन पाऊँ भनी नेपाल आमासँग प्रार्थना गर्छ । दासहरूको स्वतन्त्रताका लागि विद्रोह गरेको स्पार्टाकसले उतिबेला पनि मलाई मारेँ भनेर ढुक्क नहुनू ,म मर्दिनँ । अन्यायका विरुद्धमा लड्न म फेरिफेरि जन्मने छु भनेको हुन्छ । नेपालमा शोषक राजनेताहरूलाई परास्त गर्न स्पार्टाकसले नेपालमा जन्म लिएको कल्पना कविले गरेका छन् । कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएको बेला नेपालीहरूको एउटा समूह आफ्नो जन्मभूमि सम्झेर स्वदेश फर्कन्छ ।
उनीहरू आफ्ना पुर्खाहरू रहेको ठाउँ (सेतीगण्डकीको आसपास) मा आएर पर्ती जग्गा आबाद गरी बस्ती बसाउँछन् । समूहमा मिलेर बसेका उनीहरूले स्थानीय साहू जब्बरसिंहसँग केही पैसा सापटी लिएर गुजारा चलाउँछन् । वृषभसिंह जो मन्त्री थियो उसको बाबू जब्बरले ऋण लिएको पैसामा शून्य थपी हिसाब गोलमाल गर्छ र व्याज, स्याज थपी तिर्न नसक्ने बनाउँछ भने अर्कातिर बल्लबल्ल आबाद गरेको क्षेत्रलाई आफ्नो बनाएर उनीहरूलाई त्यहाँबाट खेद्छ । राधा र कृष्णको समूह माथि पाखातिर सरेर झुप्राझुप्री बनाई बस्छ । उनीहरू मजदुरी गरी जीवन निर्वाह गर्छन् ।
उता बृषभ र जब्बरको अन्याय खप्न नसक्ने हुन्छ । सबैजना उनीहरूका विरुद्ध सङ्गठित भएर विद्रोह गर्ने योजना बनाउँछन् । यसै क्रममा राधा र कृष्णको बिहे हुन्छ ।जब्बरको ऋण तिर्न युवाहरू विदेश नगई हुँदैन । यसै क्रममा कृष्णलगायतका युवाहरू विदेश जान्छन् । उनीहरू स्वदेश तथा विदेशबाट नेपाल बचाऔँ नामक संस्थामार्फत सङ्गठित हुन्छन् । राधाले दुई जुम्ल्याहा छोराहरूको जन्म दिन्छे । तिनीहरूको नाम स्पार्टाकस र पिटर राखिन्छ । उनीहरूलाई गोरेले पठनपाठनको व्यवस्था मिलाउँछ ।
पन्ध्र वर्षको उमेरमा तिनीहरू लडाकु बनेर फर्कन्छन् । कृष्णलगायतका युवाहरू पनि स्वदेश फर्कन्छन् । मजदूर दिवसको छेको पारी आन्दोलन गरिन्छ । वृषभ र जब्बर दुवैजना आन्दोलनकारीको नियन्त्रणमा हुन्छन् । उनीहरूले प्राणको भिख माग्छन् । उनीहरूलाई श्रमिकहरूको श्रम शिविरमा हालिन्छ । उता विस्तारवादी (भारत) र साम्राज्यवादीहरूको पनि सातो जान्छ, भागाभाग हुन्छ भन्दै महाकाव्यको अन्त्य गरिएको छ ।
– – – – – –
प्रगतिवादी चिन्तन
महाकवि पोषराज पौडेल प्रगतिवादी कवि हुन् । प्रगतिवादीहरू समाजलाई द्वन्द्वात्मक भौतिकवादका दृष्टिले नियाल्छन् । उनीहरूका अनुसार समाजमा दुई वर्ग हुन्छन् एकथरी पूँजीपति वर्ग र अर्कोथरी मजदूर वर्ग । पूँजीपति वर्गले मजदूरहरूलाई सधैँ शोषण गरिरहन्छ । पूँजीपतिहरू थोरै हुन्छन् । उनीहरू थोरै मिहिनेत गर्छन् तर धेरै पैसा कमाउँछन् र ऐश आरामको जीवन जिउँछन् । बहुसङ्ख्यक मजदूरहरू धेरै मिहिनेत गर्छन् र थोरै आम्दानी गर्छन् । गरीब श्रमिकहरूलाई शोषण गरिने हुनाले उनीहरूले कहिल्यै आफ्नो जीवनस्तरलाई उकास्न सक्दैनन् । यसैले सम्पूर्ण मजदूरहरू मिलेर विद्रोह गरी पूँजीपतिवर्गलाई घुँडा टेकाएर मजदूरहरूले आफ्नो अधिकार लिनुपर्छ भन्ने मान्यता प्रगतिवादी लेखकहरूको हुन्छ ।
यस महाकाव्यमा शुक्ला नदी तटमा आफ्नै पुर्खाको जमिन आबाद गरेर बसेको समूहलाई दुःख गरेर उब्जाएको धान भित्र्याउन नदिई धान हडप्ने, जग्गा हडपेर घरबारविहीन बनाउने, ऋण दिएको रकममा शून्य थपेर कहिल्यै तिर्न नसकिने बनाउने, आडम्बरी, ढोंगी, शोषक सामन्त जब्बरसिंह र वृषभका विरुद्ध सङ्घर्ष गरी उनीहरूलाई हराएको र आफ्नो जग्गा फिर्ता लिएको देखाइएको छ । महाकविले समाजमा भएका शोषकहरूलाई त्यसरी नै ठेगाना ल्याउनुपर्ने र शोषितको अधिकार फिर्ता लिनुपर्ने विचार व्यक्त गरेका छन् ।
समाजमा भएको वर्गीय विभाजनको खाडल पुर्नुपर्छ भन्ने महाकविले शोषित पीडित किसान ,मजदूरको हक हितका लागि आवाज उठाएका छन् । महाकविको यो विचार स्वागतयोग्य भए पनि घटनाहरूको प्रक्रिया त्यति स्वाभाविक देखिंदैन । आजको भौतिकवादी जमानामा स्पार्टाकसले नेपालमा जन्मन पाऊँ भनी प्रार्थना गर्नु, लेखनाथ, राधा, कृष्ण लगायतको समूहको प्रयत्नमा वीर योद्धा जन्माइनु, स्पार्टाकसले म स्पार्टाकस हुँ, मेरो पुनर्जन्म भयो (पृष्ठ २३५) भन्नु, लौ स्पार्टाकस जन्मेछ(पृष्ठ २४०) भनेर केन्द्रका दलाल भाग्नु जस्ता घटना स्वाभाविक लाग्दैनन् ।
– – – – – –
राजनीतिसम्बन्धी विचार
यस महाकाव्यमा नेपालको राजनीतिको सटिक चित्र उतारिएको छ । खासमा क्रान्तिकारी, आदर्शका कुरा गरेर नथाक्ने कम्युनिस्ट नेतामा सत्ता प्राप्तिपछि आएको चारित्रिक विचलन देखेर कवि आजित छन् । महाकाव्यमा कविले हँसिया र हथौडा अङ्कित झण्डा प्रतिको असीम आस्था प्रकट गरेका छन् । उनी मार्क्स लेनिन र माओका विचारलाई सम्मान गर्छन् । मार्क्सवादी सौन्दर्य शास्त्रलाई आदर्शका रूपमा लिने महाकविले मार्क्सका महान् विचारहरूको उल्लेख पनि गरेका छन् । जनतासँग सित्तैमा कुनै चिज (सानो सियोसमेत) नलिनू, श्रमिकहरूसँग मिलेर काम गर्नू, सामान्य जीवन बिताउनु, नारीहरूप्रति राम्रो व्यवहार गर्नू, कृषकहरूको मन जित्नू भन्ने मार्क्सका विचारलाई उनले यहाँ प्रस्तुत गरेका छन् ।
हाम्रो देशमा पनि हँसिया हथौडायुक्त झण्डा बोक्ने दलहरू छन् देशमा विभिन्न समयमा आन्दोलनहरू भए त्यसको फलस्वरूप देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ तर देश र जनताको अवस्थामा सुधार आउन सकेको छैन भन्ने गुनासो महाकविको छ । देशका कम्युनिस्ट नेताहरू व्यक्तिगत स्वार्थमा रुमल्लिएका छन् । दलाली र भ्रष्टाचार उनीहरूको पेसा बनेको छ ।
उनीहरू कुरा एकाथरी गर्छन् काम अर्को । समग्र मजदूर तथा दुखी गरिबका निम्ति लडाइँ लड्ने कम्युनिस्ट नेताहरूको पोल्टामा देशको सत्ता हस्तान्तरण भयो तर जनतालाई गाँस, वास, कपासको व्यवस्था हुन सकेन । देशका युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नो परिवारका सामान्य आधारभूत आवश्यकता पूरा गर्न लिएको साहूको ऋण तिर्न युवाहरूलाई विदेश नगई नहुने अवस्था छ । देशका श्रमिक र किसानहरू भोकभोकै छन् । देशका युवाहरू विदेश पलायन भइरहेका छन् । शान्ति,आपसी सद्भाव, विकास सहज जीवन जस्ता नेपालीका चाहना पूरा हुने अवस्था देखिँदैन । बरू कम्युनिस्ट नेताकै सक्रियतामा हत्या, हिंसा, बलत्कार जस्ता कुकृत्यले प्रश्रय पाएका छन् । पार्टीभित्रका इमानदार कार्यकर्ताले गोरेलेझैं अनाहकमा दुःख पाएका छन् । चाकरी र चाप्लुसीमा लिप्त हनुमानहरूले फाइदा लिएका छन् । नेपाली जनताका पक्षमा माखो नमार्ने उनीहरू व्यक्तिगत स्वार्थमा रुमलिएका छन् । उनीहरूका क्रियाकलापबाट हँसिया हथौडा झण्डाको अपमान भएकोप्रति महाकविले खेद प्रकट गरेका छन् । महाकवि भन्छन्:
जनयुद्ध भयो भारी लूटतन्त्र हटाउन
फेरियो राज्यको रूप फेरिएन कुशासन
अत्याचार बढेको छ नाममा कम्युनिस्टको
हँसिया र हथौडा यो झण्डाको अपमान भो
कम्युनिस्ट लिई नाम गर्छन् बाँदर शासन
नित्य भत्काउँदै दिन्छन् कष्ट धेरै दुशासन ।(पृष्ठ ११५)
नेताहरूले देशलाई तँछाडमछाड गरेर लुछिरहेको विम्ब कविले यसरी उतारेका छन्:
मानौँ हतार सिनुतर्फ उडिरहेछन्
यो देश हो सिनु र गिद्ध लुछी रहेछन्
तान्छन् कुनै नयन कान चुँडी रहेछन्
आन्द्रा भुँडी सब लुछालुछ भै रहेछन् । (पृष्ठ १९३)
वैचारिक अस्थीरता र अस्पष्टता
महाकाव्यमा वैचारिक स्थिरताको कमी देखिन्छ । उनी कहिले भाग्य साग्य केही हुँदैन । यो सबै सामन्त र शोषकको चाल हो भन्ने धारणा राख्छन् ।सर्ग एघारमा उनी लेख्छन् :
भाग्य लेख्ने कुनै छैन यो सबै भ्रमजाल हो
लुटी खाने दुराचारीहरूको मात्र चाल हो । (पृष्ठ ११०)
बाह्रौँ सर्गमा यसो भन्न पुग्छन्:
भन्ने सधैँ ज्योतिष भाग्य खेल
हो कर्मको जोड हुँदैन मेल
वा पूर्वकै हो सब यो विधान
हुँदैन कैल्यै यसको निदान ।(पृष्ठ १२२)
– – – – – –
अध्यात्मसम्बन्धी धारणा
प्रगतिवादी हुनकै लागि उनलाई अध्यात्मको विरोध गर्नुपरेको छ तर उनका नशानशामा अध्यात्म बगेको छ, उनका रोमरोममा अध्यात्म छिपेको छ । महाकाव्यको शुरूमा महाकाव्य पूरा होस् भनेर जननीसँग आशीर्वाद माग्नु, स्पार्टाकसलाई नेपालमा जन्मन पाऊँ भनी प्रार्थना गर्न लगाउनु यसका प्रमाण हुन् । यति मात्र होइन उनी उनका आदर्श पात्रहरू राधा र कृष्णलाई वरपीपलमा पानी राख्न लगाएर सन्तोष लिन्छन् । उता राधालाई जब्बरका गुण्डाले आक्रमण गर्दा राधाले प्रतिकार गरेको कुरा यसरी वर्णन गर्छन्:
राधा भइन् त्यै क्षण उग्रचण्डी
लात्ता उठे च्यापुतिरै बझाइन्
ढले दुवै दुर्जन ती लठैत
थियो नजिकै खुकुरी समाइन् । (पृष्ठ १४३)
चण्डी बनी त्यो खुकुरी नचाइन्
र गर्भको कुड्मल त्यो बचाइन् । (पृष्ठ १४४)
माथि दिइएका श्लोकहरूमा चण्डी (देवी दुर्गा)मा विशेष शक्ति हुने कुराको स्वीकारोक्ति छ ।
निम्न श्लोकमा हाम्रो वैदिक सनातन संस्कारप्रति असीम आस्था प्रकट भएको छ:
हाम्रा पूर्खा महाज्ञानी तारकागण गन्दथे
गुरु माता पितालाई गर सम्मान भन्दथे
ती संस्कारहरू ऐले ध्वस्त बन्दै गए सब
पश्चिमी वायुकै सारा हालीमुहाली चल्दछ (पृष्ठ २०९)
ऋषिमुनिहरू ज्ञानका अजस्र स्रोत हुन् । अध्ययन, अनुसन्धान, जपध्यान, साधनाले आफ्नो व्यक्तित्वलाई उच्चतम बिन्दुमा पुर्याउन सफल ऋषिमुनिहरूलाई द्रष्टा व्यक्तित्व मानिन्छ । अध्यात्मका पर्याय ऋषिमुनिहरूको जीवनशैली, दक्षता, समाजप्रतिको दायित्वबोध आदि बारे बताइएका
उन्नाइस सर्गका सैंतीसौं श्लोकदेखि उनन्पचासौं श्लोकसम्मा विचारबाट महाकवि अध्यात्मको नजिक रहेको कुराको पुष्टि हुन्छ ।
रूपालाई जब्बरसिंहको दरबारमा पुर्याइन्छ । उसलाई बलात्कारपछि हत्या गरेर सेतीको किनारामा काँसघारीमा मिल्काइएको छ । त्यही दिनमा नै जब्बरसिंहको दरबारमा कुनै धार्मिक अनुष्ठान गरिएको छ । रूपाको हत्या गरेको पापबाट मुक्तिका लागि यो अनुष्ठान गरेको देखाइएको छ । यसका विरुद्ध कवि लेख्छन्:
जस्तै पाप गरोस् हरि स्मरणले त्यो नष्ट होला भनी
गर्छन् पण्डित धर्मशास्त्रहरूका उद्देश्य चर्चा पनि
यल्ले नै अपराध गर्न सहजै उत्प्रेरणा गर्दछ
पैसाले सब पाप नाशिन गई सत्पात्र ऊ बन्दछ । (पृष्ठ ९८)
यहाँ ‘हरिको स्मरणले सबै पाप नाश हुन्छन्’ भन्ने शास्त्रोक्तिको सरासर गलत व्याख्या गरिएको छ । यदि कोही मानिस गलत बाटो हिँडिरहेको छ; अरूलाई दुःख दिइरहेको छ । जीवनको कुनै बिन्दुमा आएर ऊ आफ्ना दुष्कर्महरूप्रति पश्चात्ताप गर्दै सदाका लागि सच्चिन चाहन्छ भने उसलाई सत्मार्गमा लाग्न प्रेरित गर्न यसो भनिएको हो । ऊ आफ्ना गल्ती सम्झेर नछटपटाओस् । उसको जीवन सधैंका लागि बरबाद नहोस् ।आफूलाई क्षमा दिँदै भगवान्मा समर्पित भएर मानव कल्याणमा लागोस् भन्ने उद्देश्यले यसो भनिएको हो । अर्को कुरा कुनै धार्मिक अनुष्ठान गर्दा आवश्यक पर्ने कुरा पैसाभन्दा बढी श्रद्धा आस्था र समर्पण हुन् । पैसाको बलले धार्मिक अनुष्ठान गरेर पाप पखाल्न पाइन्छ भनेर शास्त्रमा भनिएको छ; यसले मानिसलाई अझै पाप कर्म गर्न प्रेरित गर्छ भन्नु शास्त्रको अपव्याख्या मात्र हो ।
उनले गीतामा श्रीकृष्णले जब पृथ्वीमा पापले पराकाष्ठा नाघ्छ,धर्मको रक्षाका लागि त्यतिबेला म जन्मने छु भनेका थिए । देशमा वृषभ, जब्बरसिंहको अन्याय अत्याचारको सहन नसकिने भएको छ । यस्तो बेला उनी किन जन्मेनन् ? साँच्चैमा ईश्वर छैनन् त्यो मान्छेको विश्वास मात्र हो भनेका छन् । यो भनाइ पनि अध्यात्मका दृष्टिले फितलो देखिन्छ ।
जहिले धर्मको ग्लानी पापको वृद्धि देख्दछु
त्यसै बखतमा पार्थ अवतार म धर्दछु
भने अर्जुनकासाथ कृष्णले यी कुरा किन
मार्दैनन् कृष्णले आई दुष्टलाई यहाँ किन
अत्याचार यहाँभन्दा अरू के हुनुपर्दछ
छैनझैँ मनले ठान्यो कल्पना रै’छ ईश्वर । (पृष्ठ ७८)
– – – – – –
अन्धविश्वासको विरोध
नेपाली समाजलाई अन्धविश्वासले गाँजेको छ । यहाँ बिरामी हुँदा डाक्टरकहाँ जानभन्दा धामी झाँक्री लगाउने गरिन्छ । यहाँ बोक्सीका नाममा धेरै मानिस अपमानित र तिरस्कृत हुनुपरेको छ । यस महाकाव्यमा जब्बरसिंहले राधालाई बोक्सीको आरोपमा लछारपछार पार्ने, कुट्ने, बिस्टा खुवाउने जस्तो निकृष्ट र घृणित कार्य गर्छ । महाकविले यस महाकाव्यमार्फत समाजमा हुने गरेका त्यस्ता नीच कार्यप्रति घोर भर्त्सना गरेका छन् ।
– – – – – –
निष्कर्ष
महाकविले समाजमा देखिने वर्गीय विषमतालाई देखाउँदै यस्तो असमानता हट्नुपर्ने विचार व्यक्त गरेका छन् । उनले खासगरी मजदूर किसानहरूको पक्षमा वकालत गरेका छन् । उनी शोषक सामन्त देशका शत्रु हुन् त्यसैले तिनीहरूलाई खेदेर श्रमिकको सरकार ल्याउनुपर्छ भन्ने विचार व्यक्त गर्छन् । उनले समाजमा व्याप्त अन्धविश्वासको पनि विरोध गरेका छन् । उनले धर्मशास्त्रका केही विषयमा विमति प्रकट गरेका छन् ।
यस महाकाव्यमा भारतको विस्तारवादी र अमेरिकाको साम्राज्यवादी नीतिको समेत विरोध गरिएको छ । महाकाव्यमा नेपालको राजनीतिक असङ्गतिको चित्रण गर्दै राजनीतिक संस्कारमा परिवर्तन हुनुपर्ने कुरामा जोड दिइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।