i
कविता, गीत र गजलबाट आफ्नो सिर्जनयात्रा आरम्भ गरेकी गीता खत्री (२०२०) को यो दोस्रो नियात्राको कृति हो – उडेको आकाशः डुलेको धर्ती (नियात्रा–२०७८) । उनको झोखाङदेखि मजाटलानसम्म (नियात्रा–२०११) स्वदेशको यात्रासँग सम्बन्धित कृति हो भने प्रस्तुत कृति विदेश यात्रासित सम्बन्धित छ । उक्त शीर्षकले नै नियात्रा विषयप्रति उत्सुकता जगाउँछ ।
यात्रासाहित्य प्रेरणाजन्य परिवेशबाट सिर्जित हुन्छ । यात्रामा अनुभूतिले अधिक भूमिका खेल्यो भने, त्यो रसिलो, झरिलो र चोपिलो भएर आयो भने मात्र त्यसले नियात्राको सार्थक रूप लिने गर्छ । सबै यात्रावृत्तहरू नियात्रा हुँदैन। विवरणकै आधिक्य रह्यो भने त्यो प्रतिवेदनजस्तो हुने र अनुभूतिकै आधिक्य रह्यो भने त्यो भावात्मक निबन्ध हुने हुँदा नियात्रामा सिर्जनात्मक सन्तुलनको स्थिति आवश्यक हुन्छ । नियात्रा शब्द अहिले यात्रासाहित्यकारहरूलाई अधिक प्रिय लाग्न थालकेो छ । विशेष रागात्मक स्थितिले यसको प्रियता बढ्न गएको हो । यो बालकृष्ण पोख्रेलले तारानाथ शर्माको बेलाइततिर बरालिँदाको भूमिकामा सर्वप्रथम प्रयोग गरेको शब्द हो । यो यस्तो सुन्दर विधावाचक शब्द हो, जसले यात्राका अनुभूतिमय विशेषताहरूलाई परिलक्षित गर्दछ साथै मनोस्पर्श नगर्ने यात्राविवरण नियात्रा हुन सक्दैन भन्ने स्पष्ट पार्दछ ।
आधुनिक नेपाली नियात्राको मियोको रूपमा अहिले प्रतीक ढकाललाई मान्न सकिन्छ जसले नियात्राका दर्जनौँ कृति लेखेका मात्र होइनन् नियात्राका बृहद् र व्यापक ढङ्गबाट गम्भीर अध्ययन र परीक्षण गरी नियात्राका उत्कृष्ट सूचीसमेत प्रस्तुत गरेका छन् । उनैको प्रेरणा र प्रयासबाट मैले यो कृतिको खोजी गरी साहित्यिक रसास्वादन लिने प्रयास गरेको छु । अहिले बजारमा नियात्राकै पनि यति धेरै कृतिहरू आएका छन् ती सबै पढ्न र बुझ्न सम्भव छैन । केही प्रतिनिधिमूलक रचना हात पारी तिनको प्रतिक्रिया जनाउन सके आफ्नै स्वभावले दिएको साहित्यिक सत्कार्य हो भन्ने लागेर त्यसैको सत्प्रयासमा जुटेको छु ।
कृतिभित्र दृश्यचित्रसहितका पचास नियात्रा छन् । कुनैकुनै नियात्रा लघुआकारका पनि छन् तर अधिकांश मझौला आकारका भएकाले पठनका निम्ति अधिक रुचिकर हुन्छन् । शीर्षकले नै यो नियात्राको कृति हो भन्ने बुझिन्छ । विषयअनुसारको शीर्षक जुर्नु पनि एक सुन्दर पक्ष हो । नियात्राका निम्ति यो अति नै सटीक शीर्षक देखिन्छ । जहाँ अधिक उड्ने र चहार्ने कुरा आउँछ, त्यसले पनि यो विदेशकै यात्रासँग सम्बन्धित छ भन्ने बुझिन्छ । आकाशमै अधिक उडेको र धेरै धर्तीहरू चहारेको भन्ने अर्थ रहेको शीर्षक छ । यो नै बढी उत्सुकता जागृत गर्ने किसिमको छ । प्रायः कृतिभित्रै रहेका कुनै विषय शीर्षकलाई आधार मानेर कृतिको नामकरण गर्ने गरिन्छ तर यहाँ त्यस्तै छैन । सबै शीर्षकका विषयलाई यही शीर्षकद्वारा समेटिनुमा शीर्षकीय सार्थकता अत्यन्त समीचीन रूपमा देखापरेको छ । यो कृति र कृतिकारका निम्ति सुन्दर संयोग हो ।
देखेको स्वरूप सूचना हो र लागेको भावना अनुभूति हो । सूचना र अनुभूतिलाई समन्वित रूपमा प्रस्तुत गर्न सक्नु शैलीगत विशेषता हो । यस्तो विशेषता गीता खत्रीका सबै निबन्धमा देख्न सकिन्छ । सूचना भनेर जस्तासुकै सूचनाराशिले मात्र नियात्रामा आकर्षण थप्दैन । दुनियाँले महत्त्वपूर्ण मानेको तर आफूलाई नवीन लागेका कुराको सञ्चय गर्न सक्यो भने मात्र त्यो बढी उपयोगी हुने गर्छ । जुनमा अद्भुतता, नवीनता र ज्ञानात्मकता छ त्यस्ता सूचनाको रम्यताले नियात्रालाई अधिक मनमोहक तुल्याउँछन् । त्यस्ता प्रयोगहरू गीताका रचनामा यथेष्ट देखिन्छन् जस्तो दृष्टिविहीनहरूका लागि बनाइएको बाटोको प्रसङ्ग, जापानतिर फट्याइँ, ठगी र बदमासी हुँदैन भन्ने विश्वासको बोध आदि । सूचना पनि रुखो वा कर्कश भाषामा नभई कोमल भाषामा भयो भने त्यसले पाठकको ध्यान खिँच्दै जान्छ, प्रस्तुतिका कारणले पनि सरस प्रकृतिका नियात्रा हुनाले जताजताको जेजस्तो वर्णन हुँदै जान्छ त्यतैतिर पाठकीय मन पनि डोरिँदै जान्छ ।
लेखिका निकै अध्ययनशील र मननशील भएकाले उनमा समीक्षाचेत पनि तीव्र देखापर्छ । अन्य देशका विधि–व्यवस्था हेरेर आफ्नो देशको हविगत बारे पनि उनले स्पष्ट र निर्धक्कसँग आफ्ना धारणा रखेकी छन् । नागासाकीमा बम खसालिएको सन्दर्भमा मान्छेको शत्रु मान्छे नै रहेछ । ऊ विनाशको लागि जहाँ पनि पुग्ने रहेछ भन्ने कथनबाट स्पष्ट हुन आउँछ । नियात्रा भनेपछि सर्वप्रथम दृश्यचित्र नै सामु आउँछ त्यसैको मिहिन विवरणलाई सुन्दर गति दिएर रसिलोपाराले चित्रण गर्नु पनि चुनौतीपूर्ण छ । अभिव्यक्तिको बुनाइ, कटाइ र छटाइले मात्र यो सम्भव छ । यहाँ लेखिकाले आफ्नो सीप, सामर्थ्य र भाषिक सौन्दर्यले वस्तुस्थितिलाई जीवन्त रूपमा साक्षात्कार गराउन निकै सफल हुन पुगेकी छन् । अनुभूतिको न्यूनतामा पनि वर्णनको माधुर्य सृष्टि गर्न सकियो भने नियात्राको सुन्दर स्वरूप निर्मित हुन्छ भन्ने उनले अनुपम दृष्टान्त पेश गरेकी छन् । यसैबीच आफ्ना दृष्टिकोणलाई समेत फिँजाएर नियात्राको गुरुत्व र गरिमालाई अभिवृद्धि गर्न पुगेकी छन् ।
चित्र र चित्रण सौन्दर्य नियात्राकार गीता खत्रीका नियात्राको प्रमुख विशेषता देखापर्छ । लामालामा गुजुल्टिएका वाक्य विन्यास नभएर चट्टचट्ट कथिएका वाक्यले पनि सम्प्रेषणमा सहजता र स्पष्टता ल्याएका छन् । त्यसले पाठकमा पठनको रुचिकर स्थिति उत्पन्न भएको छ । अर्को कुरा प्रसङ्गहरूलाई मिहिन तरिकाले जोड्दै र महत्त्वपूर्ण वस्तुमाथि दृष्टि पुर्याउँदै तथा त्यसलाई खुलस्त्याउँदै जानुले पनि नियात्रामा रोचकता बढेको छ ।
वस्तुतथ्य छुटाउन पनि नहुने र भावुकतामा अधिक डुल्न पनि नहुने, वस्तुमा पनि नवीन र महत्त्वपूर्ण तथ्यको शृङ्खला उन्दै जानुपर्ने जुन सन्दर्भ र प्रसङ्गको उठान गर्यो त्यसलाई पनि राम्ररी बिट मार्दै अघि बढ्नुपर्ने स्थिति हुँदा मनको पनि त्यत्तिकै भूमिका, मस्तिष्कलाई त्यत्तिकै चनाखो राख्नुपर्ने स्थिति, ध्यान, दृष्टि र चेत सबैलाई सन्तुलन र समन्वयमा राखेर रचनाको स्वरूप तयार पार्नुपर्ने कुरामा खत्रीको मनमस्तिष्क तीक्ष्ण हुँदा सिर्जन प्रक्रियाले पनि सुन्दर गति लिएको देखिन्छ र नियात्रालेखन सफल हुन पुगेको पाइन्छ ।
लेखिकामा वर्णनचेत मात्र होइन विश्लेषणात्मक चेत पनि त्यत्तिकै तीव्र देखिन्छ । जब कहीँ कुनै समस्या आउँछ, झुट्टा कुरा स्थापित गर्न खोजिन्छ, तब त्यसलाई उपयुक्त तर्क, विश्लेषणद्वारा उनले समाधानको उपाय पनि प्रस्तुत गर्न पुगेकी छन् । कामाकुरा र भगवान् बुद्धका विषयमा शाक्यमुनि बुद्ध अर्थात् सिद्धार्थ भारतको एउटा सानो राज्यमा जन्मिएका थिए भन्ने विदेशी लेखकले लेखेको लेखप्रति आफ्ना सशक्त तर्कहरू राखेर साहित्यकार हुनुको उत्कृष्ट परिचय दिएको पाइन्छ ।
नियात्राकै क्रममा “साहित्यिक कार्यक्रम टोकियामा” भन्ने नियात्रापरक लेखमा उनले लेखेकी छन्ः “हामी स्रष्टाहरू इमानदार, मेहनती, दूरदर्शी र सत्यवादी हुन्छौँ । हाम्रा अभिव्यक्ति र हामीले बोलेका बोलीले अरूको जीवनलाई समेत मार्गनिर्देशन गर्नेछौँ र हाम्रो जीवन त खुला किताबजस्तो हुनुपर्छ” (उडेको आकाशः डुलेको धर्ती, पृ. ९५) । हुन पनि सिर्जनात्मक लेखनद्वारा उनले यो चरितार्थ गरेकी छन् । यसमा एकोहोरो वर्णन मात्र नभई हामीले सिक्नु र जान्नुपर्ने ज्ञानप्रद कुरालाई प्रसङ्गअनुसार प्रस्तुत पनि गर्दै गएकी छन् ।
वर्णनमा मिहिन स्थिति ल्याउनु र पारिवेशिक दृश्यलाई सूक्ष्मढङ्गले खुलस्त्याउनु पनि दिमागी तीक्ष्णता हो । भावुकता र कल्पनाको अधिक प्रयोग नगरिकनै वर्णन कौशलले नियात्राको रूपरेखा तयार पार्नु नै खत्रीको विशेषता देखापर्छ ।
वेलिडान्समा झुमेको कुरा होस् कि साहित्यिक कार्यक्रमा प्रतिभा अभिव्यक्तिको कुरा होस्, होकोनामा गन्धकको पानीले सेतो अण्डा, कालो अण्डामा परिवर्तित भएको कुरा होस्, फुजी पर्वतको दर्शनको कुरा होस् कि किन्काकुजी मन्दिरका परिसरको कुरा होस्, म्याक्सिकोको प्राकृतिक इनारको कुरा होस् कि केन्याको ग्रीनबेल्ड अभियानको कुरा होस्, मसाम्मारा राष्ट्रिय निकुञ्जमा चितुवाको गतिविधि होस् कि अमिदाको बुद्ध प्रतिमाको कुरा होस्, क्याटो स्टेसनको कुरा होस् कि वाइनको टेस्टिङको कुरा होस् वा होटलैहोटल भएको लसभोगासको कुरा होस्, बाँदरसँगको मितेरीको कुरा होस् कि मान्छे बोकेर हिँड्न सक्ने कछुवाको कुरा होस् हर रुचिकर कुराले पाठकको मन तानिरहन्छ । वर्णनको सरलता र परिवेशको चित्रणले नियात्राकारले आमाले बच्चाहरूलाई हात समाएर डोर्याएझैँ पाठकहरूलाई पनि डोर्याइरहेको महसुस हुन्छ ।
लेखिकाले भनेझैँ वर्णन सविस्तार गरिएको छ । आशय हो – वर्णन सिलसिलाबद्ध, स्पष्ट र विस्तारित छ । जहाँ वर्णनको विस्तार हुन्छ त्यहाँ वस्तुपरकताकै आधिक्य बोध हुन्छ । निजात्मकताको अधिक अभाव भएपछि कोरा विवरणले निरसता बढ्दछ । यो नियात्राकै धर्म विपरीत सूचना सम्प्रेषणको स्थिति मात्र हो । हुन त सूचना सम्प्रेषण पनि नियात्राकै अपरिहार्य प्रमुख तत्त्वमध्येकै एक तत्त्व हो । लेखिकाको अधिक ध्यान सूचना बोध गराउनुतर्फ केन्द्रित रहे पनि अनुभवहरूको समावेशले नियात्राकै आस्वादन आइरहेको अनुभव हुन्छ ।
जे होस्, कतै तुलना, कतै दृष्टिकोण र कतै खानपिनका स्वादको सुन्दर विश्लेषण छ । विदेशको सौन्दर्य देखेर नेपालको विकासक्रममा देखापरेको ढिलासुस्ती, भ्रम, छलछाम र धोकाधडीप्रति आक्रोश छ । यति बृहद् आकार र त्यसमा पनि उत्सुकता जनाउने खालका यति धेरै विषयवस्तु समेटेर कृतिको आयोजन गर्नु कम चुनौतीको कुरा होइन । नियात्राका सर्वतत्त्व उत्तिकै मुखर रहन नसके पनि नियात्राकै विशेष सम्बन्धित तत्त्वको प्राचुर्यले नियात्राको गुणगरिमा बढेको देखिन्छ ।
यसरी नेपाली साहित्यको बगैँचालाई सुरम्य र सुवासित तुल्याउनु खत्रीको निकै ठूलो साहित्यिक पौरख हो । आफ्नै डुलाइ, घुमाइ र बुझाइले विश्वकै प्रकृति, संस्कृति, रहनसहन र सभ्यताको चित्रणले ज्ञान, आनन्द र अनुभवको क्षितिज फराकिलो पारेर नियात्रामा आफूलाई अब्बल तुल्याएकोमा कृतिकारको सीपशैली, धैर्यता, स्थिरता, गम्भीरता, अठोट र जाँगरलाई धन्यवाद नदिइरहन सकिन्न ।
कुनै–कुनै नियात्राहरू आकारले लघु आयतन भएका कारण नियात्रा नभई दृश्य र परिवेश खिचिएका टिप्पणीमूलक प्रतिवेदनजस्ता पनि लाग्दछन् तथापि समग्रमा तिनले नियात्रालाई नै परिपुष्ट पार्दै समग्र कृतिलाई सुन्दर तुल्याएका छन् ।
हिरोसिमा र नागासाकीजस्ता सहरै ध्वस्त भएर पनि आत्मनिर्भरता र विकासको बाटोमा आफ्नै अविरल कमिला र मौरीको झैँ श्रमसीपले उठेर विश्वकै विकसित देशमध्ये एक मानिएको जापानलाई पूर्वाद्धमा पारी चित्रण गरेर उत्तराद्र्धतिर प्राकृतिक भूबनोटका दृष्टिले नेपालका विभिन्न यात्रासँग मिल्दोजुल्दो क्यालिफोर्नियाको चित्रण एवम् मेक्सिको र अफ्रिकाका पर्यटकीय स्थलको चित्रण गरेर नियात्राको बिट मारिएको छ ।
निष्कर्षमा भन्नुपर्दा नियात्रामा वर्णनको बेलीविस्तार छ, त्यसभित्र वस्तुस्थितिको समीक्षा पनि छ । सन्दर्भअनुसार सटीक दृष्टिकोण पनि आएका छन्, प्रसङ्गअनुसार तुलनात्मकता पनि छ । सरल र सहज शैलीमा कोमल विश्लेषण पनि छ । कतै भूगोल, कतै प्रकृति, कतै खानपिन, कतै रहनसहन, कतै जनजीवनको चित्रण छ । प्रत्येक यात्रा वा घटना रोचक, प्रेरणाप्रद, नौला र अनौठा छन् । जापान र अमेरिकाका विशेष पर्यटकीय परिवेशको इतिवृत्त, प्रकृति, संस्कृति र रहनसहनको परिचयात्मक प्रस्तुति पनि छ तर नियात्रामा आवश्यक निजात्मक अनुभूतिको प्राचुर्यमा भने न्यूनता छ । बिम्बात्मक प्रस्तुतिको छनकको कमी तथा सन्देशमूलक कथन, विचार र दर्शनको शून्यताजस्तो रहे पनि सिलसिलाबद्ध सुशृङ्खल अभिव्यक्ति, वर्णनको कौशलता, कथ्यको सुरम्यता र रोचकताले नियात्राले उत्कृष्टपन दर्शाएकै छ । नियात्राको परम्प्रामा आएको यो उभारलाई धन्य भन्नैपर्छ ।
अन्त्यमा अति विपन्न मुलुकका नागरिकले अति सम्पन्न मुलुकको भ्रमण गर्दा नयाँ अनुभवहरू सँगाल्नु ठूलै सौभाग्यको कुरा हो । यात्रामा खर्चिएको समग्र द्रव्यराशि यस कृतिको प्रकाशनबाट असुलउपर भएको जनाउँदै कृतिकारलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।