मुक्तिप्रसाद उपाध्याय नेपाली साहित्यको क्षेत्रमा एक चिरपरिचित नाम हो । उनी आफ्नो कर्मका हिसाबले सिमानापारि अर्थात् दार्जीलिङ जिल्लाको सिलगढी शहरमा बसोबास गर्ने भएता पनि विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन यता नेपालतिर पनि आइरहन्छन् । उनले साहित्यका विविध विधामा कलम चलाएका छन् ।

उपाध्यायका मौलिक र उनले अनुवाद तथा सम्पादन गरेका समेत गरी हालसम्म ६७ वटा पुस्तक प्रकाशित भैसकेका छन् । उनको बाल उपन्यास ‘मालती’ले सन् २०१५ को ‘साहित्य अकादमी पुरस्कार’ जस्तो सम्मानित पुरस्कार पनि प्राप्त गरिसकेको छ । यो पुरस्कार प्रत्येक वर्ष भारत सरकारले यहाँ संवैधानिक मान्यता प्राप्त विभिन्न भाषामा प्रकाशित भएका उत्कृष्ट कृतिलाई दिने गरेको छ ।

लेखनबाहेक उपाध्यायको रुचि अभिनयमा पनि छ । उनले विभिन्न नाटक र चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत् गरेका छन् । केही वर्षअगाडि चर्चित साहित्यकार झमक घिमिरेको मदन पुरस्कारप्राप्त आत्मजीवनी ‘जीवन काँडा कि फूल’ पुस्तकमाथि चलचित्र बनेको थियो । उक्त चलचित्रको पटकथा तथा संवाद लेखन यिनै मुक्तिप्रसाद उपाध्यायले गरेका हुन् ।

यस्ता बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको पछिल्लो पुस्तक ‘पदचिह्न पहिल्याउँदै’ नामक उपन्यास रहेको छ । यो सन् २०२३ मा प्रकाशित भएको हो । लेखकले यो पुस्तकलाई उपन्यासको नाम दिए पनि शुरूका तीन शीर्षक ‘मानवको घुमन्ते प्रवृत्ति’, ‘महामिलनको तीर्थ, महाबाहु ब्रह्मपुत्र’ र ‘कामाक्षा शक्तिपीठ’ मा उपन्यासको कुनै तत्त्व भेटिंदैन । पठनको शुरूवात गैरआख्यानबाट हुने भएकाले उपन्यास पढ्न खोजिरहेका पाठक अलि अलमलिन सक्छन् ।

यद्यपि लेखकले विभिन्न तथ्य टिपेर मानवीय प्रवृत्ति र ठाउँहरूको वर्णन रोचक शैलीमा गरेकाले उपन्यासका यी अंश पढ्दा कुनै कालखण्डको इतिहास पढेजस्तो लाग्छ । जब चौथो शीर्षक ‘नयाँ क्षितिजको खोजीमा’ मा पुगिन्छ, अनि मात्र उपन्यासको शुरूवात हुन्छ । यहाँ आएर पाठकले अघिल्ला खण्डको महत्त्व बुझ्छ र यो उपन्यासको रसास्वादन अझ मजाले गर्न थाल्छ ।

उपाध्यायले मानिसको घुमन्ते स्वभाव नेपाली जातिमा मात्र सीमित नभई  विश्वव्यापी रूपमा नै रहेको कुरा विभिन्न तथ्यहरू दिएर स्थापित गरेका छन् । उपन्यासको विषयवस्तु नितान्त नौलो छैन । प्रवासी नेपालीहरूको दुःखको कथा धेरै अगाडिदेखि नै लेखिँदै आएको छ । वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीको ‘बसाइँ’, लैनसिंह बाङ्देल देलको ‘मुलुकबाहिर’ र गोविन्दराज भट्टराईको ‘मुगलान’ यसका केही उदाहरणहरू हुन् । मुगलान पसेकै नेपालीहरूको कथा भएता पनि माथि उल्लेखित उपन्यासहरूमा जस्तो ‘पदचिह्न पहिल्याउँदै’ का पात्रले विदेशी भूमिमा गएर दुःख पाएका छैनन् । यो उपन्यासको सकारात्मक पक्ष हो । आफ्नो परिश्रम र बुद्धि विवेकले उनीहरूले त्यहाँ सम्पन्नता हासिल गरी सुखी जीवन बिताएका छन् ।

उपन्यासका पात्रहरू भारतको असममा बसोबास गर्ने भएकाले त्यहाँका प्रचलित ठाउँहरूको विस्तृत विवरणसहित उपन्यास अगाडि बढेको छ । तसर्थ अघिल्ला तीन खण्डले ‘पदचिह्न पहिल्याउँदै’ को कथानकका लागि विश्वसनीय पृष्ठभूमि तयार गरेका छन् ।

उपन्यासकारले भनेजस्तै मानव जाति एक ठाउँबाट अर्को ठाउँमा बसाइ सराइ गर्ने प्रवृत्ति परापूर्व कालदेखि नै चलिआएको हो । अर्थात्, यो प्रचलन मानव सृष्टि सँगसँगै आएको हो भन्दा पनि अत्युक्ति नहोला । वर्तमान समयमा आएर यो प्रवृत्तिलाई ‘ग्लोबलाइजेशन’, ‘माइग्रेशन’ जस्ता सिद्धान्तमा बाँधिएको छ । तर चाखलाग्दो कुरा के छ भने चाहे त्यो पहिले होस् अथवा अहिले, जुनसुकै समयमा मानिस बसाइँ गएको भए पनि उसको मुख्य उद्देश्य भनेको एउटा खुसी, सुखी, सम्पन्न र सफल जीवनको खोजी नै हो । कतिको त्यो उद्देश्य पूरा हुन्छ, कतिको हुँदैन— त्यो आफ्नै ठाउँमा छ ।

‘पदचिह्न पहिल्याउँदै’ लाई हामी तीन भागमा बाँडेर हेर्न सक्छौं– भारतको पृष्ठभूमिमा, नेपालको पृष्ठभूमिमा र अन्य स्थानको पृष्ठभूमिमा ।

यो उपन्यासको एक प्रमुख पात्र श्रीकृष्ण आफ्नो जीवनको उज्यालो ज्योति खोज्दै नेपालको तेह्रथुमबाट भागेर भारतको काशीतिर जान्छ । यसका पछाडिको कारणमा सानै उमेरमा बाबु–आमा गुमाएर टुहुरो बनेको श्रीकृष्ण काका–काकीको अनिच्छित नियन्त्रणबाट स्वतन्त्र हुनु रहेको छ । केही वर्ष त्यहाँ साधुसन्तको सत्सङ्गमा बिताएर ऊ यिनै साधुहरूसँग लागेर असमको प्रचलित कामाक्षा मन्दिर पुग्छ । त्यहाँको परिवेश देखेर ऊ मुग्ध हुन्छ । आफ्नो असल स्वभाव र सुन्दर रूपले गर्दा श्रीकृष्ण जो कोहीलाई पनि आफूतिर आकर्षित गर्न सक्ने भएकाले गुवाहाटीकै एक पण्डित टिकारामको ध्यान ऊतिर तानिन्छ । उनी उसलाई सहर्ष आफ्नो शरणमा लिन्छन् ।

टिकारामका संगतले श्रीकृष्णको ज्ञान, अनुभव र व्यवहार झन् खारिँदै जान्छ । बिस्तारै बिस्तारै ऊ त्यो भेकमा एक युवा पण्डितका रूपमा चिनिन थाल्छ । ऊ टिकारामसँगै विभिन्न ठाउँमा धार्मिक कार्यका लागि आमन्त्रित हुन थाल्छ । यसै क्रममा उसको भेट रुक्मिणी नाम गरेकी एक सुन्दर र सुशील युवतीसँग हुन्छ । टिकाराम आफ्नो धर्मपुत्र श्रीकृष्ण र रुक्मिणीको जोडी बाँधिदिन पाए हुन्थ्यो भन्ने कुरा सोच्न थाल्छन् । यसै सिलसिलामा उनीहरूको रुक्मिणीको घरपरिवारसँग साक्षात्कार हुन्छ ।

रुक्मिणीका हजुरबुबा भक्तलाल खनाल कसरी नेपालको धनकुटाबाट बर्मा हुँदै असम पुगे भन्ने कुरालाई मुक्ति उपाध्यायले बडो रोचक ढंगका वर्णन गरेका छन् । नेपाली जाति चाहे बर्मामा बसुन्, चाहे असममा, उनीहरू खेतीपाती र पशुपालनलाई नै मुख्य पेशा बनाउँछन् भन्ने तथ्य यो उपन्यासमा भेटिन्छ । आफ्नो कठीन परिश्रम र तीक्ष्ण बुद्धिले असममा विभिन्न पेशा गर्दै स्थापित भएका यिनै भक्तलाल खनालका छोरा रविलाल खनालकी एक मात्र सुपुत्री हो रुक्मिणी । श्रीकृष्ण र रुक्मिणीको विवाह गराइदिए पछि टिकाराम पण्डितको काम सकिन्छ । त्यसपछि उपन्यासभरि उनी कतै भेटिँदैनन् ।

श्रीकृष्ण र रुक्मिणी विवाहपश्चात् कामाक्षा माताको दर्शन गर्न गएका हुन्छन् । त्यहीँ उनीहरूले बलबहादुर थापा नाम गरेको १२÷१३ वर्षको बेवारिसे केटालाई भेट्छन् । ऊ पनि कसरी नेपालको पाल्पाबाट भागेर गाउँका अरू ठिटाका साथ लागेर भारत पस्यो भन्ने कथा रमाइलो छ । जे होस्, श्रीकृष्ण–रुक्मिणी दम्पतीले बलबहादुर थापालाई आफूहरू सँगै लगेर धर्मपुत्र बनाउँछन् । रहँदै बस्दै जाँदा उनीहरूको आफ्नै छोरो, गोपाल जन्मिन्छ । यसरी उनीहरू चार जनाको एउटा सुखी परिवार बन्छ । क्षेत्रीको छोरा भए पनि बलबहादुर अर्थात् बले ब्राह्मण परिवारमा रसायन हुन्छ । उसको जीवन असममा राम्रैसँग चलेको भए पनि उसलाई आफ्नो पुर्ख्यौली थलो र परिवारजनको सम्झनाले कहिल्यै छोड्दैन ।

फलस्वरूप ऊ आफ्ना धर्म मातापिताको स्वीकृति लिएर पाल्पा फर्किन्छ । आफन्तसँग त्यहाँ एक महिना बिताएर असम जाँदा साथमा दुलही तारालाई नि लिएर जान्छ । एघार क्लासको परीक्षा दिएर फुर्सद भएको समयमा गोपाल पनि बलेसँग लागेर उसको गाउँ घुम्न जान्छ । गोपालका दृष्टिकोणबाट उपन्यासकारले पाल्पााको बागेडाँडा गाउँको प्राकृतिक सौन्दर्यको भरपुर वर्णन गरेका छन् । यहाँ पहाडी जीवनशैलीको चर्चा पनि पाइन्छ ।

यही गाउँमा बलेकी जेठानकी छोरी रत्ना र उसकी साथी गीतासँग गोपालको दोस्ती हुन्छ । यौवनावस्थातिर लम्किंदै गरेका यी तन्नेरी तरुनीहरू एक अर्काप्रति आकर्षित नभै रहन सक्तैनन् । शुर शुरूमा गोपाल र गीता प्रेमी–प्रेमिका हुन् भन्ने भान पर्छ पाठकलाई । रत्नाले गोपाललाई मन पराए पनि उसको झुकाव गीतातिर भएको देखेर रत्ना उनीहरूको बीचमा आउँदिन ।

बीचमा अनेक घटना, परिघटना घट्छन् । अन्तिममा गीताको मृत्यु हुन्छ र रत्ना र गोपाल विवाह बन्धनमा बाँधिन्छन् । भारतमा गोपालले विवाह गरिसकेको भए पनि उसको परिवारले तामाङकी छोरी भए पनि रत्नालाई गोपालकी दोस्री पत्नीका रूपमा सहजै स्वीकार गर्छन् । एउटै परिवारमा ब्राह्मण, क्षेत्री र तामाङ जातका मानिसलाई मिसाएर उपन्यासकारले एउटा समावेशी समाजको उदाहरण पेश गरेका छन् ।

उपन्यासको अन्तमा बलेका र गोपालका छोराछोरी भारत छोडेर अस्ट्रेलिया, अमेरिका, क्यानडा सबैतिर फैलिएका देखाइएको छ । यही कुराले उपन्यासको शीर्षक ‘पदचिह्न पहिल्याउँदै’लाई सार्थक बनाएको छ । त्यो समयमा आम नेपालीहरूका लागि सहज मुगलान भनेकै भारत थियो । त्यसैले यो उपन्यासमा पनि पहिलो पुस्ताका नेपालीहरू नेपालबाट बसाइँ सरेर भारतको असम पुगे । उनीहरूले त्यहीँ आफ्नो जीवन सफल बनाए । उनीहरूका छोराछोरी अथवा दोस्रो पुस्ताका केटाकेटी भने आफ्नो उज्ज्वल भविष्य खोज्दै संसारका अरू विकसित मुलुकतिर फैलिए । यसरी उनीहरूले अझ विस्तृत रूपमा आफ्नै बाबुआमाले हिँडेको बाटो नै पछ्याए । हाम्रो वर्तमान समाजको चित्र पनि यस्तै नै छ ।

यो त भयो उपन्यासको सारांश । कथावस्तुसँग उनिएर यहाँ अरू धेरै कुरा आएका छन् । उपन्यास वर्तमान परिप्रेक्ष्यमा लेखिएको छैन । यहाँ दोस्रो विश्वयुद्धको कुरा छ, ‘भारत छोडो’ आन्दोलनको कुरा छ । राणा शासनको कुरा छ । यसरी हेर्दा यसमा वर्णित समय करिब सय वर्ष अगाडिको छ । त्यो समयमा मानिसहरू कसरी जलमार्ग र स्थलमार्ग प्रयोग गरेर आफ्नो यात्रा तय गर्थे भन्ने कुरालाई मुक्तिप्रसाद उपाध्यायले विस्तृत रूपमा वर्णन गरेका छन् । सबैतिर गाडीको सुविधासमेत नपुगेकाले उनीहरू खाजा सामल बोकेर महिनौँ हिँडेर आफ्नो गन्तव्यमा पुग्ने गरेको घटना यहाँ भेटिन्छ ।

यो उपन्यासका महिला पात्रहरूको वाक्पटुता अलिक उदेकलाग्दो नै छ । वर्तमान समयमा त कतिपय ठाउँका महिला आफ्ना मनका कुरा खुलेर व्यक्त गर्न हिचकिचाउँछन् भने त्यो समयमा उनीहरूको स्थिति कस्तो हुँदो हो ? तर उपन्यासकारले उनीहरूलाई स्वच्छन्द रूपमा बोलाएका छन् । उदाहरणका लागि बलबहादुर र गोपाल पहिलो पटक नेपाल आउने क्रममा बाटामा उनीहरूको भेट तीन जना युवतीसँग हुन्छ । चिन्नु न जान्नुका मान्छेलाई ती युवतीले जिस्क्याउन प्रयोग गरेको भाषा अलि नमिल्दो सुनिन्छ ।

पहिली तरुणी:  ए लाहुरे दाइ हो ! केलाई हतार गर्या हो, अलिक बिस्तारै हिंडे नि हुन्छ क्यारे ।

दोस्री तरुणी:    यसो हाम्लाई पनि त हेरौं । माया नमारौं न हौ नमारौं ।

तेस्री तरुणी:    कस्तो कुरा गर्या तिमेरले ? केलाई हतार नहुनु हो ? घराँ कति मैनादेखि बुढी पर्खिराकी होली । कहिले पुगेर च्याप्प पारौँ भइरा होला नि त हौ । बिचरा !

पहिली तरुणी:  आजको रात त आहा ! कति हो कति आनन्द र न्यानो हुनेभो बा । सम्झिँदै मेरो त आङ जिरिङ्ग भयो क्यारे ।

दोस्रो तरुणी:    स्वर्गै प्राप्ती हुनेभो नि बा, कसो लाहुरे दाइ हो ? बरु कान्छी नै हालेर भए नि हाम्लाई  मुगलान लानु नि हौ लानु ।

तेस्रो तरुणी:    हामी पनि आनन्द दिने कुरामा केही कमका छैनौँ क्यारे ।

पहिली तरुणी:  हामी तीनटी छौँ लाहुरे परे दुई जना । केही छैन, एक जनासित दुई जना गइदिउँला 

(पृष्ठ १११)

परचक्री मानिससँग कोही महिला यसरी खुलेर बोल्न सक्छन् र ? त्यही पनि यी त ग्रामीण महिला ! उत्तरआधुनिक समयमा भए कुरा अलग हुन्थ्यो । यी त पुरातन समाजका पात्र !

उपन्यासकारले पाल्पाको सेरोफेरोको वर्णन बडो सजीव पारामा गरेका छन् । त्यसैगरी असममा भएका विभिन्न ठाउँको सजीव चित्र यिनले खिचेका छन् । यसले गर्दा पाठकलाई बेलाबेला उपन्यास नभै नियात्रा पो पढिरहेको छु कि जस्तो लाग्छ । एउटा प्रसङ्गमा उपाध्यायले शोणितपुरको व्याख्या गर्ने क्रममा पौराणिक पात्रहरू अनिरुद्ध र उषाको प्रेम कहानीलाई बडो सुन्दर तरिकाले प्रस्तुत गरका छन् । यसका अतिरिक्त पाठकलाई उषाकी साथी चित्रलेखा बारे पनि रोचक जानकारी प्राप्त हुन्छ । नेपालीहरू स्वदेश छोडेर जुनसुकै मुलुकमा पुगे पनि आफ्ना संस्कार र संस्कृति जीवित राख्छन् भन्ने सन्देश पनि उपन्यासले दिएको छ ।

मुक्तिप्रसाद उपाध्यायले ‘पदचिह्न पहिल्याउँदै’ का लेखन क्रममा यसलाई छ पटकसम्म संशोधन गरेपछि मात्र पुस्तक प्रकाशनयोग्य भएको कुरा उल्लेख गरेका छन् । यति मिहिन तरिकाले पुस्तकलाई सुधार्दा पनि यो पूर्ण रूपमा त्रुटिरहित हुन भने सकेको छैन । यद्यपि भाषिक दृष्टिबाट पाठकका आँखा नै बिझाउने त्रुटि भने यहाँ भेटिंदैन ।

अन्तमा, एउटा स्थापित लेखकबाट सिर्जना भएको यो कृति पठनीय छ । यो पुस्तक पढेर पाठकले आख्यानको मजा र गैरआख्यानको जानकारी वा ज्ञान दुवै लिन सक्छन् ।