देश र जनताको हक हितबारे सोच्ने सरकार हुन्थ्यो भने भारी बोकेर जीविका चलाउने रङ्गशेर राईजस्ता नागरिकले त्यस्तो कारुणिक जीवन बाँच्नु पर्ने थिएन शायद । सोच्छु, भारी बोक्न नसक्ने भएपछि उनको जीवन कसरी चल्छ होला ?

अकस्मात् मनमा थरीथरीका प्रश्न आउँछन् । सिङ्गो जीवन बाँचिसकेपछि मानिससँग के बाँकी रहन्छ ? कुन अभिप्राय लिएर ऊ बाँच्ने गर्छ ? कुन प्राप्तिको लागि जीवनभर ऊ भिडिरहन्छ,  भड्किरहन्छ ?

आखिर जे जसरी भिडे पनि मानिस त्यही तृप्तिको लागि भिडिरहेको छ । भरे उसको अन्तिम लक्ष्य त त्यही तृप्ति हो । उसो भए तृप्ति कुन अवस्थामा मिल्छ ? सुखमा, समृद्धिमा, प्रतिष्ठामा … तपाईंको बुझाइ शायद यस्तै होला ! होइन त ?

त्यसैको लागि त अप्ठ्यारोसँग भाग्ने गर्छौं नि ! त्यसरी भागेर लक्ष्य कहाँ भेटिन सक्छ ? बरु स्वीकार्नूस् । त्यसै क्षण तपाईंको आधा लक्ष्यले पूर्णता पाइसकेको हुनेछ । तब बाँकी आधा लक्ष्य कठिनता स्वीकार्न मञ्जुर तपाईंको हिम्मतले पूरा गर्नेछ । बुझ्नूस् यदि तपाईं स्वीकार्न राजी हुनुहुन्न भने लक्ष्य प्राप्तिको तपाईंलाई कुनै अधिकार रहने छैन ।

जब तपाईं स्वीकार्न सक्नु हुन्न त्यही तपाईंको दुःख हो । स्वीकार्न सकेको त्यस क्षण दुःखको, भयको, अशान्तिको अन्त्य निश्चित छ । तब त कस्तै परिस्थितिसँग तपाईं डग्नु हुने छैन । बरु स्वयं परिस्थिति डग्ने छ र तपाईंको सहायता गर्नेछ । तपाईंलाई बल दिनेछ ।

हामी यसकारण कमजोर छौँ कि हामी स्वीकार्न सक्दैनौँ । स्वीकार्न सक्दा केही गुम्ला भन्ने त्रास रहने छैन र कहीँ हारिएला भन्ने पनि रहँदैन । हो त्यसै क्षण तपाईंको जीत शुरु हुनेछ, तपाईंको प्राप्ति शुरु हुनेछ । भयमुक्त स्थितिमा मात्रै तपाईंको विजय निश्चित छ ।

अहिले म पुनः नित्से सम्झिँदै छु । उनले कहीँ भनेका छन्, ‘तिमी विपत्तिपूर्वक बाँच्ने गर !’

अभिधामा बुझ्दा उनको भनाइ कति बेकार लाग्छ । जानाजान किन कोही विपत्तिपूर्वक बाँच्ने ? जीवनमा विपत्ति कसले चाहन्छ ? बरु विपत्तिमुक्त हुनु पो जीवन बाँच्नुको सार हो त !

समय बित्दै जाँदा, उमेरले मलाई परिपक्व बनाउँदै लैजाँदा नित्सेको वाणी आज आएर सही अर्थमा बुझ्ने भएको छु । ‘विपत्तिपूर्वक बाँच’ भन्नुको अर्थ जीवनमा चुनौती लिने गर । चुनौतीलाई स्वीकार्ने गर उनले भन्न खोजेका रहेछन् । जीवनमा यदि चुनौती आउँदैन भने त्यो जीवन केवल श्वास फेर्नको लागि बाँचिरहेको हुनेछ ।

हेर्नु त कठिनता स्वीकार्न सक्दा जीवन आफैँमा कसरी उत्सव हुँदो रहेछ । हरेक पाइलामा प्राप्ति बोध कसरी हुने रहेछ । नियात्राकार भवानी खतिवडाकृत ‘प्रणाम सरमाथा’लाई मैले यसरी नै बुझेँ । एक हिम यात्रीको दुर्लभ, अति कठिन तर आनन्ददायी यात्रा अनुभूतिलाई मैले यस्तै अनेक दृष्टिकोणले हेरेँ ।

मलाई अहिले यस्तो लाग्दै छ, साहित्य तथा कला त्यतिखेर प्रखर भएर सिर्जिन्छ जतिखेर जटिल भावहरू आउँछन् । जटिल दृश्यहरू आउँछन्, त्यस्तै जटिल अनुभूतिहरू आउँछन् । तिनै जटिल भावले, दृश्यले, अनुभूतिले शब्दहरू स्वतः जटिल भएर चुनिन्छन् । जटिलताहीन अवस्थामा कुनै पनि थोक जटिल भावावेगमा रच्न सकिँदैन । त्यसो त रचिन्छ पनि तर त्यसमा सजीवता हुँदैन । कृत्रिमताको आभासले त्यसलाई शुष्क बनाइजान्छ ।

नियात्राकार सँगै कवित्व चेत भएकी स्रष्टा भवानी खतिवडा । उनको कवित्व चेत पनि उतिकै प्रखर लाग्छ । नियात्रालाई काव्यिक अभिव्यक्ति दिन सक्नुले पनि उनको त्यो प्रखरतालाई बुझाउँछ । साहित्यमा लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार, साहित्यपोष्ट उत्तम कृति पुरस्कार, कवि शिरोमणि लेखनाथ पुरस्कार तथा खेमलाल चिसाप पुरस्कार लगायतका सम्मानले पनि उनको साहित्यिक व्यक्तित्व जान्न सकिन्छ । यस अघि नै ‘घामभन्दा पहिले’ (२०७८), ‘चारखोलाको आँगनीमा’ (२९७९) र ‘आकाश ओढेको डोल्पो’ (२०८०) जस्ता उनका कृतिहरू पाठकमाझ परिचित छन् ।

अहिले म स्रष्टा भवानीको पछिल्लो नियात्रा कृति ‘प्रणाम सगरमाथा’को सन्दर्भमा छु । सगरमाथा तथा आमादब्लम बेसक्याम्प सँगै तीनपासको अत्यन्तै जोखिमपूर्ण यात्रा पठनमा छु । मृत्युसँग लुकामारी खेल्दै, जिस्किँदै पूरा गरिएको एक्काइस दिने यात्रा बडो रोचक छ । पुस्तक पढिसक्दा धन्य हो उनी अहिले हामी माझ जीवितै रहेकी छन् जस्तो एउटा महसूस हुन्छ । तब उनी सकुशल रहेको निसन्देह अनुभूतिसँगै ढुक्कको लामो सुस्केरा छुट्छ ।

आखिर मान्छेले जोखिम त उठाउनै पर्ने रहेछ । जतिखेर एउटा दुर्लभ अनुभूति उसले प्राप्त गर्न सक्छ । यसरी सर्जक भवानीको नियात्रा पढेपछि म अरू बढी निर्भीक हुन लागेको छु ।

निजामती सेवामा कार्यरत हुनुको नाताले नेपाल सरकारको तर्फबाट आरोहणदलको सम्पर्क अधिकृतको दायित्व लिएर, साहित्यकार भवानी त्यसरी हिमालको यात्रामा निस्किएकी छन् । एक प्रकृतिप्रेमी स्रष्टा उनी भन्ने गर्छिन्, ‘म मन्दिरलाई जतिकै अझ बढी हिमाललाई पुज्ने गर्छु । श्रद्धाले झुक्ने गर्छु ।’

परिष्कृत भाषा तथा कलात्मक शैली भएकी नियात्राकार भवानी । एउटा साहसिक मन लिएर एक्लै, सिङ्गै एक्लै हिमाल यात्राको प्रस्थानमा लाग्छिन् । परन्तु उनी एक्लै भए पनि यात्रामा सहयात्रीहरू भेटिइरहन्छन्, छुटिरहन्छन् । यही त हो जीवन भेटिनु र छुटिनुको नियति !

मित्रता गर्न सक्ने लेखक भवानीसँग एउटा प्रशंसनीय गुण छ । मानिससँग छिट्टै घुलमिल हुने, आत्मीयता दर्शाउन जान्ने उनको कला प्रभावकारी छ । त्यसो हुँदा बाटामा उनले त्यति धेरै एक्लो महसूस गर्नु परेको छैन । अपरिचित व्यक्ति पनि केहीछिनमै हितेच्छुक भइजान्छ  ।

नियात्रामा उनले आफूलाई मात्र केन्द्रिकृत गरेकी छैनन् । आफ्नो भावावेगमा, अनुभूतिमा मात्रै उनी हराएकी छैनन् । उनले त्यस परिवेशलाई पनि अक्षरमा मूतर्ता दिन सकेकी छन् । त्यस्तै बाटामा भेटिएका हरेक व्यक्तिलाई पनि उनले कहीँ छुटाएकी छैनन् । ती कुन देशका हुन् अर्थात् कहाँबाट आएका हुन् अनि नेपाल उनीहरूलाई कस्तो लाग्यो ? ती सबै कुरा उनी सोध्न भ्याउँछिन्, लेख्न भ्याउँछिन् । यतिसम्म कि तिनका नाम समेत उनी सम्झनामा राख्छिन् । कतिलाई त उनले आफ्नो नियात्रामा प्रभावकारी पात्रत्व समेत दिएकी छन् ।  अक्षरमा ती जीवन्त भएका छन् । पाठकले तिनीहरूलाई नबिर्सिनु भनेको नै तिनीहरू अक्षरमा जीवित हुनु हो ।

स्रष्टा भवानीको नियात्रा पढ्दै गर्दा थाहा पाएँ— हिमाली भेग त विदेशीहरूको अति प्रिय गन्तव्य स्थल रहेछ । मानौँ विदेशीहरूलाई आकर्षित गर्नकै लागि हिमालहरू त्यसरी ठडिएका हुन् । वास्तवमा भन्ने हो भने हामीले हाम्रो गौरवलाई पहिचान गर्न सकेकै रहेनछौँ । ‘प्रणाम सगरमाथा’ पढेपछि मैले यो कुरा राम्रोसँग बोध गर्न सकेँ ।

स्वयं नेपालीभन्दा पनि विदेशीको आकर्षण स्थल रहेको हिमाली प्रदेश यो हाम्रो मात्रै होइन विश्वकै सम्पदा हो । विश्वकै पूजनीय स्थल हो । पवित्र भूमि तथा शान्तिकामी स्थल हो ।  हामी नेपालीहरूले ती हिम शिखरलाई अझै पनि हिउँको थुप्रोदेखि अरू विशिष्ट दृष्टिले हेर्न सकिरहेका छैनौँ । प्रकृतिको अनुपम सिर्जनालाई बुझ्न सकिरहेका छैनौँ । रहस्यात्मक सृष्टिलाई जान्न सकिरहेका छैनौँ । यसरी हाम्रो दृष्टि विशेष नहुँदासम्म हाम्रा गौरव सधैँ ओझेल परिरहने छन् । जुन दिनदेखि हामीले आफ्नो सम्पदाको, गौरवको महिमा बोध गर्न सक्छौँ त्यसै दिनदेखि विश्वसामु हाम्रो उदयको आरम्भ हुनेछ । तब हामीले भुइँ छोडेर उचाइ लिनेछौँ ।

स्रष्टा भवानीलाई म जति अगाडि पढ्दै जान्छु तब भन्न मन लाग्छ यति निर्भीक नारी बिरलै भेटिने छन् । कतिपय अवस्थामा ज्ञानी महात्मा हुनुभन्दा साहसिक हुनुले ज्यादा अर्थ राख्ने रहेछ । त्यसै बखत निष्कर्षमा पुगेँ ज्ञान र साहसलाई सन्तुलन गर्न सक्दा जीवन बडो अद्भुत हुनेछ ।

यहाँ लेखकले यात्राकै लागि केवल यात्रा गरिरहेकी छैनन् । सोद्देश्यपूर्ण यात्रा हुँदा, केही लेख्ने अभिप्राय राखेर गरिएको यात्रा हुँदा, उनका दृष्टि एकदम सचेत छन् । हमेसा तत्पर मूडमा छन् । थकानलाई, पीडालाई, कष्टलाई भुलेर पनि तीक्ष्ण मूडमा छन् । किनकि उनले केही लेख्नु छ । त्यसो हुँदा केही देख्ने, जान्ने र बुझ्ने कुरा छुटिजान्छ कि भन्ने उनको सजगता सक्रिय छ । यदि लेख्ने उद्देश्य राखेर यात्रा गरिएको हुन्थेन भने त्यस ठाउँ, दृश्य र परिवेशप्रति उनमा यति धेरै सजगता भनौँ उत्सुकता आउने थिएन । दृश्यमा गम्भीरता आउने थिएन ।

सम्भवतः प्रायः दृश्यमा दृष्टि निर्माण गरी लेखक खतिवडा वैचारिक तहमा पुगेकी छन् । उनले नियात्रालाई जतिसक्दो जानकारीमूलक बनाउने प्रयास गरेकी छन् । त्यस्तै जीवन दर्शनदेखि लिएर जीवनको अर्थ, परिभाषा, इच्छा र आकाङ्क्षा अनि विवशतालाई सुन्दर अभिव्यक्ति दिएकी छन् । बाटामा भेटिएका ती चरित्रका माध्यमबाट ।

केवल तीन हप्ते एकल यात्रामा स्रष्टाले जीवनका कति धेरै रङ्ग मिसाएकी छन् । यसमा कति जीवन कथाहरू समेटिएका छन् । सँगै त्यस जीवनका सुख, दुःख, हर्ष, बिस्मात, आवेग, संवेगहरू छन् । मिलन र विछोड छन् । त्यस्तै जीवन र मृत्यु छन् ।

प्रकृति तथा अबोध प्राणीको पीडा बोध गर्ने लेखकीय संवेदना मलाई मन परेको अर्को कारण छ । हिमालमा भारी बोक्ने ती अञ्जान जोक्पेप्रति उनको सहानुभूति कति स्नेही छ !

कस्तो विरोधाभासी मन ! यात्रामा बेलाबेलै उनको संवेदना चोइटिरहन्छ । तब प्राकृतिक सुन्दरतामा उनी पूर्ण रूपले रमाउन सक्दिनन् । एकातिर उनलाई आफ्नो मुलुकको अमूल्य सम्पदामा गौरव लाग्छ भने अर्कोतिर त्यो अतीव सुन्दरताको मूल्य नबुझिएकोमा खिन्नता पनि । ‘… यस बिन्दुमा उभिँदा देखिने रचना जापानसँग भए जापानले के गथ्र्यो ? दुबईसँग भए दुबईले कसो गथ्र्यो ? मलेसिया र सिङ्गापुरसँग भए तिनले के के गर्थे होलान् ? हामी त सोच्न पनि नसकौँला … (पृ४४) ।’

यात्रामा उनले त्यस ठाउँको धार्मिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिकजस्ता अनेक पक्षलाई आफू अनुकूल उतिकै ध्यान दिएकी छन् । विभिन्न देशबाट पर्यटक हुन आएका विदेशीप्रति उनी बडो आदर गर्छिन् । उनीहरूको आगमनले देशको अर्थतन्त्रमा टेवा पुगेको सम्झी श्रद्धाले झुक्छिन् । बाटामा भेटिएका तिनीहरूले ‘नेपाल इज एन अमेजिङ कन्ट्री’ भनेको सुन्दा हर्षले अभिभूत हुन्छिन् । स्वीट्जरलैन्डकी एक युवती नेपाल आफ्नो मुलुकभन्दा अझ सुन्दर रहेको बताउँछिन् । यस्ता कुराले यात्रालाई थप सुखद बनाएका छन् ।

प्रकृतिको लयमा गहिरो संवेदना भेट्ने एक नारी स्रष्टा । उनको दृष्टिमा एक युनिभर्सल चेतना रहेको छ । मानिस जहाँको जुन रङ्गको, वर्णको भए पनि आखिर ऊभित्रको संवेदनामा न रङ्ग छ न वर्ण छ न त राष्ट्रियता नै । उनी यही विशुद्ध मानवतावादी धारणाले सबैलाई एकै देख्छिन् । तोपडाँडाको थाप्लोबाट सगरमाथाको सौन्दर्य देख्दा उनी उही भाव बोल्छिन्, ‘रूप र रङ फरक हुन सक्छन् । सोचाइको दायरा पनि फरक पर्न सक्छ तर सबैका आँखामा सगरमाथाको चुली उभिएको छ । यिनका आँखामा छल्किएको आनन्दको स्रोत एकै छ । आस्था एकै छ । यस क्षण यी दर्जनौँ आँखा एकै लयमा उभिएका छन् (पृ—५१) ।’

यात्रा कौतुकमय हुँदै गएको छ । स्रष्टा नाम्चे पुगिसकेकी छन् । यस अघिको यात्रा त्यति असहज थिएन । अब कस्तो हुने हो पाठक जिज्ञासु हुन्छ ।  कृतिमा घटना, पात्र, परिवेश अनि उत्सुकताको संयोजन हुँदा आख्यान पढ्दाको आभास भइरहन्छ । त्यसै बेला अर्को प्रसङ्ग आएर झ्वाट्ट चुँडिन्छ आख्यानात्मक आभास । नाम्चे पुगेको भोलिपल्ट उनी स्याङबोचे, खुम्जुङ तथा खुन्देको यात्रामा निस्किन्छिन् ।

उनको नियात्रामा भ्रमण अनुभूतिसँगै अरू धेरै कुरा समाविष्ट छन् । पर्यावरणीय चिन्ता, हिमाली जनजीवन तथा संस्कृति र देशको अर्थतन्त्रबारे प्रसङ्ग अनुसार फरक फरक सन्दर्भ आइरहन्छन् । संसारकै अग्लो स्थानमा निर्मित स्याङ्बोचे विमानस्थल किन सञ्चालनमा छैन ? यसको उत्तरमा देशको बेथिति कति ननिको छ । ‘यहाँ राजनीति र व्यावसायिक स्वार्थको भाइरस छोडिएको छ ।’ एक स्थानीय भन्छन्, ‘यस एयरपोर्टलाई कहिल्यै निको नहुने गरी थला पारिएको छ ।’

यसरी कहिलेसम्म नागरिकले देशको अव्यवस्था भोगिरहने हो थाहा छैन ? जहाँ गयो त्यही असन्तुष्टि छ । अनियमितता छ ।

लाग्थ्यो मानिस दुःखले मात्रै त्यसरी आत्तिने छ । तर होइन ज्यादा सौन्दर्यले पनि त्यसरी आत्तिँदो रहेछ । विश्वकै सबैभन्दा अग्लो स्थान (३८८० मि) मा रहेको एभेरेष्ट होटल (तारे होटल)को भ्युबाट जता दृष्टि पर्दा पनि उस्तै विचित्रको हिम शृङ्खला देख्दा, लेखक कता हेरूँ कता नहेरूँ के मात्रै हेरूँ भएर अत्तालिएकी छन् । अरू पर्यटकलाई पनि त्यस्तै भएको छ । सम्भेँ अझ माथि पुग्दा कस्तो हुन्छ होला ?

एक जापानी नागरिक ताकासी मियाहारा पर्यटकको रूपमा नेपाल आउँदा नाम्चेको सम्मोहनले तानिएपछि, उनले नै त्यहाँ एभेरेष्ट होटल स्थापना गरेका रहेछन् सन् १९७२ मा । त्यसपछि जापानलाई चटक्कै छोडेर उनी त्यही बस्न थाले । यसै सन्दर्भमा स्रष्टा भवानीलाई लाग्छ, ‘हामी नेपाली चाहिँ यस देशमा कुनै सम्भावनै छैन भन्दै विदेशिन लालायित छौँ, खाडी र मलेशिया हान्निइरहेछौँ । ज्यानै जोखिममा राखेर तल्लो बाटाबाट अमेरिका छिर्न लाखौँ खर्चिरहेछौँ । के त्यही पुँजी परिचालन गरेर नेपालमै सानोतिनो उद्यम गर्न सकिँदैनथ्यो र (पृ–६१) ?’

विभिन्न देशबाट आएका हिमाल आरोहीले नेपाललाई कति धेरै माया गर्दा रहेछन् । त्यस्तै श्रद्धा राख्दा रहेछन् । कतिले त आफ्नो नाम नेपालमै छोडेर जाँदा रहेछन्, जस्तो खुम्जुङ सकेण्डरी भनेपछि त्यहाँका मानिसले एडमण्ड हिलारी सम्झिँदा रहेछन् । त्यो उनैले स्थापना गरेको स्कूल रहेछ ।

त्यस्तै अर्का दक्षिण कोरियाली नागरिक उम होङ गिलको सम्झना पनि उस्तै स्तुत्य छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला चौधवटै हिमाल आरोहण गर्न सफल प्रथम एसियाली नागरिक जसले संसारकै सबभन्दा अग्लो उचाइ (४०६०मि) मा ह्युमन स्कूलको स्थापना गरे । ‘सगरमाथा आरोहणका क्रममा आफ्ना आरोहण–सारथि शेर्पा हिमपहिरोमा खसेर बेपत्ता भएको क्षण उम स्तब्ध भए र आफ्नै परिवारको सदस्य गुमाएको पीडा महसूस गरे र नेपालका शेर्पाहरूको जीवन उठाउने सङ्कल्पमा गरे । त्यसपछि उनी होङ गिल ह्युमन फाउन्डेसन नामक संस्था स्थापना गरी सामाजिक काममा होमिए । मेरो देशको सरकारले कल्पनासम्म पनि नगरेको कठिन उचाइमा शिक्षाको ज्योति छर्न स्थापित भएको स्कूल उमको त्यही सङ्कल्पको प्रतिफल हो (पृ–८४) ।’

फेरि पनि म कथा पढ्दै छु जस्तो हुन्छ । कति मार्मिक छन् ती कथा लाग्ने यथार्थ घटनाहरू । तब नु¥याङ होटलकी आमैप्रति कति गहिरो सद्भाव उत्पन्न हुन्छ । तिब्बतकी छोरी सानैमा बिहे गरेर आएपछि माइत जाने अनुकूलता नमिलेको यथार्थ कति द्रवीभूत गर्नेछ । ‘जन्मथलोसँग सदाका लागि बेखबर भएर बिछोडिएकी वृद्धाद्वारा व्यक्त संवेदनाले मलाई सन्न बनायो (पृ–६५) ।’

तिब्बतकी चेली र यता नेपालकी चेली दुवै यसरी माइती बिहीन स्थितिमा पुग्छन्, सरकारले सीमा बन्देज गरेपछि । ती बूढी आमैको जस्तो कथा त्यहाँ अरू धेरैको रहेछ । हेर्नु त भौतिक सीमाले मान्छेको संवेदनालाई कसरी कुठराघात गरेको छ !

पुस्तकको म जति भित्र पस्छु तब अशेष गुरु (मल्ल) को अभिव्यक्तिसँग सहमत हुन पुग्छु । साँच्चै ‘प्रणाम सरमाथा’ डकुड्रामाझैं लाग्छ ।

नाम्चेको त्यो रमाइलो साँझ पढिरहँदा लाग्यो, मेरो मनले पनि त्यस्तै ठाउँ खोजिरहेको हुनुपर्छ । अहिले आएर थाहा पाउँछु नाम्चे त विश्वकै केन्द्र पो रहेछ । संसारका अनेक कुनाका मान्छेको गन्तव्य बिन्दु रहेछ ।

अहिले म केही सोच्दै छु । बुझेर बुझ्न नसकिने रहस्य र अप्रतिम सुन्दरता के जहिल्यै उचाइमा हुने गर्छ ? यस्तो जिज्ञासा म किन राख्दै छु भने लेखक जति कदम माथि उचाइमा पुग्छिन् त्यति नै सम्मोहनकारी सुन्दरताको वर्णन गर्न लाग्छिन् र अन्त्यमा अलौकिक वर्णन गर्दै भन्छिन्, ‘स्वर्ग कहीँ छ भने त्यसको एक टुक्रा यहीँ खसेको हुनुपर्छ ।’

यतिखेर महसूस हुँदै छ ‘प्रणाम सरमाथा’ नपढेको हिमाली परिवेशको धेरै कुरा जान्न म वञ्चित हुने रहेछु । मेरो अज्ञान त्यसै छोपिएर बस्ने रहेछ । यसरी आफ्नो अज्ञानता उदाङ्गो भएको दिन मलाई एउटा अनौठो आनन्दले छोप्छ । तब आफ्नो अज्ञानता थाहा पाउन चौबीसै घण्टा किताबमा घोप्टिरहूँझैँ लाग्छ । अहिले मेरो उत्सुकता बाँकी नै रहेको छ । लेखकले एक ठाउँ भनेकी छन्, ‘हिमालमा भोक लागेको थाहा हुँदैन, खाने जाँगर लाग्दैन, प्यास लाग्छ तर पिइहालूँ लाग्दैन । निदाउन मन लाग्छ तर निद्रा आउँदैन ।’ उसो भए त्यहाँका स्थानीय बासिन्दालाई कहिलेकाहीँ हाइपोक्सिया हुन्छ कि हुँदैन होला ? हुन त उनीहरू त्यस ठाउँसँग अभ्यस्त छन् । शायद त्यसो नहोला ? तर कति कठिन हुन्छ होला त्यहाँको जनजीवन !

पुस्तकको प्रायः सन्दर्भमा केही बोलूँबोलूँ हुन्छ अर्थात् मनलाई छोएर जाने सन्दर्भ आइरहन्छ । ‘दिलभरिको दिङबोचे’मा राजनैतिक प्रसङ्ग आउँदा केही बोल्दिनँ भन्दाभन्दै पनि केही बोल्न मन हुन्छ । आमादब्लम होटलकी निमा आगन्तुकलाई खानपिनको व्यवस्था गरेर सन्ध्यापख पार्टीको कार्यक्रममा गएकी छन् । जेहोस् अहिले जनता पहिलेभन्दा केही सचेत भएका छन् । भोज जुन पार्टीको खाए पनि मतदान आफूलाई मन परेको दललाई दिने भएका छन् । तर मेरो अभिप्राय यस किसिमको चतुर हुनु होइन । किन त्यसरी एक राते भोजमा हामी बिकिरहेका छौँ ? के नागरिकको मूल्य त्यति नै हो ? नेता कार्यकर्ताहरू त्यसरी किन नागरिकको तुच्छ मूल्य निर्धारण गर्छन् ? यसरी किन्ने र बिक्री हुने दासप्रथाबाट हामी कहिले मुक्त हुन सकौँला ? जब कहीँ देशको विसङ्गत राजनीति अनि गैरजिम्मेवार सरकारको कुरा उठ्छ त्यतिखेर मलाई एन्जाइटी हुन खोज्छ । उकुसमुकुस भएर विमूढ बनाउँछ । तब शब्दका जुलुस उठाएर केके थोक भनूँ हुन्छ ।

बाफ्रे मानिसभित्रको अभिमान कति घातक हुँदो रहेछ ! कति क्षुद्र अविवेकी हुँदो रहेछ । बाटामा भेटिएका पर्यटन मन्त्रलायका ती कर्मचारीको व्यवहार कति निकृष्ट लाग्छ ! आखिर त्यो निकृष्ट अभिमान केको लागि ?

निरन्तर सुन्दरता भोग गरेपछि सुन्दरताको पनि मूल्य नहुँदो रहेछ । जगत्भरिका मानिस त्यही सुन्दरताको लागि नेपाल ओइरिएका छन् । जीवनको बाजी थापेर जोखिम स्वीकार्न तत्पर छन् । यता हिमालवासीलाई त्यही सुन्दरता कति कठिन भइरहेको छ । अनि त सुन्दरता पनि सुन्दर छ कि छैन प्रश्न गरौँ हुन्छ । मरुभूमि आफँैमा कति उजाड लाग्दो देखिन्छ । तर मरुभूमि नै नदेखेकालाई त्यही दृश्य कति अद्भुत लाग्छ । भनेपछि सुन्दरताको परिभाषा पनि फरक फरक हुँदो रहेछ ।

अघिका दिनमा ‘सगरमाथा हाम्रो देशको सम्पदा हो’ भन्ने उक्ति मलाई एक स्वाभाविक कुरा लाग्थ्यो । तर अहिले त्यसो भएको छैन । यतिखेर एक विदेशी पर्यटक साहित्यकार भवानीलाई भन्दैछन्, ‘वाह ! तिमी त धर्तीकै सुन्दर देशकी नागरिक रहिछौँ ।’

म अनुमान समेत गर्न सक्दिनँ । रित्तो पाइला लिएर उचाइमा पुग्न समेत पदयात्रीलाई कति कठिन छ । कत्रो दुस्साहस गर्नु परेको छ । त्यसो भए ती भरियाको कठिनता अझ कस्तो होला ? एक दिन होइन दुई दिन होइन । परन्तु त्यो कठिनता स्वीकार्न नपाएको दिन उनीहरूको जीवनै चल्दैन । भनेपछि त्यो जीवनसँग कति ठूलो विवशता होला ! लेखकले त्यो विवशतालाई बुझ्ने प्रयास गरेकी छन् ।

कति अप्ठ्यारो छ मानिसको जीवन ? त्यसमा फेरि आफैँलाई अप्ठ्यारो हुने संस्कार किन निर्माण गरिन्छ ? त्यस जटिलतामा निर्मित संस्कार किन त्यति कठिन बनाइन्छ ?  हिउँको साम्राज्यमा कुन हेतुले लामा पुरेहितहरू पैँतालीस दिनसम्म आगो बाल्न नपाउने चलन राख्छन् ? आखिर संस्कार संस्कृति त परिवेश अनुकूल मानव जीवनलाई सहजीकरण गर्ने, दिशा निर्देश गर्ने एक अघोषित कानून होइन र ?  परन्तु संस्कारको नाउँमा मृत्युभन्दा पनि कठोर संस्कार केका लागि ? आखिर त्यसो किन गरियो लेखकको जिज्ञासामा भरिया बोल्छन्—

‘दिङ्बोचेमा पर्तेक वर्ष ४५ दिन आगो बाल्नु पाउँदोइना । दिङ्बोचे गुम्बाको लामाले पात्रो हेरेर तिथिमिति निक्र्योल गरेर गाउँलेलाई आदेश दिन्छ । लामाले बोलेपछि बोल्यो बोल्यो । लामाले तोकिदिएको समय दिङ्बोचेको बस्तीमा एक झिल्को पनि आगो बल्दोइना । आगोको मात्रोइ पनि के कुरो भयो र ? सलाईको काँटी छ्यास्स बाल्ने काम पनि कस्सैले गर्दोइना । क्यै कथम् आगो बाल्यो भने गाउँमा अनिष्ट पर्छ र देउता पनि रिसिन्छ भन्ने विश्वास छ गाउँहरूको । त्यो बेला पैसा हुने काठमाण्डु गोएर बस्छ । नसक्ने जति चैँ यै ठाउँमा पाल टाँगेर बस्छ । पशुवस्तु पनि त्यहीँ ल्याएर राख्छ र पैँतालीस दिनपछि दिङ्बोचे फिर्छ (पृ–९९) ।’

हिमालको काखमा बस्ने ती मानिसहरू कस्तो रसायनले बनेका होलान् ? लाग्यो हिउँमा रमाउने पेङ्गुइनजस्तै होलान् । हिउँ बेगर पेङ्गुइनको अस्तित्व रहँदैन भन्छन् । मैले अनुमानकै भरमा ती हामीलवासीलाई ‘पेङ्गुइन मानव’को नाम दिएँ ।  त्यसैले त त्यहाँ बाबुछिरीजस्ता व्यक्तित्व जन्मिने गर्छन् । दश पटकसम्म सगरमाथाको सफल आरोहण गरेका उनी सागरमाथाको थाप्लामा एक्काइस घण्टा विना अक्सिजन बाँच्न सक्छन् । अन्ततः उनको जीवन त्यही हिउँले खोसिदिन्छ ।

लेखक अब लोबुचे पुगिसकेकी छन् । यात्रामा आफ्नो मिजासिलो स्वभावले उनलाई धेरै सजिलो पारेको छ । उनी बसेको ‘आठ हजार इन होटल’मा इटालीले स्थापना गरेको ‘एभेरेष्ट काराकोरम सेन्टर फर नेसनल रिसर्च’ एक अन्तराष्ट्रिय प्रयोगशाला छ,  जुन संसारकै सबैभन्दा उच्च स्थानमा स्थापित मौसम सम्बन्धी अध्ययन अनुसन्धान गर्ने प्रयोगशाला हो । जहाँ अहिलेसम्म चार हजारभन्दा बढी वैज्ञानिकले भिजिट गरी अध्ययन अनुसन्धानमा संंलग्न भएको पाइन्छ ।

यात्राका क्रममा देखिएका ती जटिलतापूर्ण दृश्य र अनुभूतिहरू कति धेरै कोट गरूँ हुन्छ । मलाई त्यो सबै कुरा नौलो र आश्चर्य लाग्छ । स्रष्टा खतिवडाको नियात्रा नपढेको भए मैले धेरै कुरा छुटाउने रहेछु । त्यो ग्लेसियरको बाटो कति जोखिमपूर्ण हुँदो रहेछ ! उनको यात्रा कस्तो हुने हो ? मनमा सन्देह छ । अहिलेसम्म ७५ वटा देशका पर्यटकसँग भेट भएको उनी बताउँछिन् ।

बाहिर देख्दा लेखक भवानी बडो कडा मिजासको लाग्छ । थाहा पाउँछु उनीभित्रको कोमलता पनि उस्तै घनीभूत रहेछ । प्रकृतिको अपार सौन्दर्यमा होस् या भरियाको दुःखमा होस् उनको मन आद्र्रताले भिज्छ । त्यस्तै ती अञ्जान प्राणीप्रति सहानुभूतिले मन पग्लिन्छ । अरूको मर्म बुझ्ने, गुन सम्झिने उनीसँग ठूलो उदारता छ ।

पर्वतारोहण सम्पर्क अधिकृतको दायित्व आफूसँग हुनाले लेखकलाई आधारशिविरको प्रवेश खुला छ, नत्र पर्वतारोही बाहेक अरूले त्यहाँ प्रवेश पाउँदैन । उनी आधारशिविर भित्रिएसँगै परिवेश बडो विचित्रको छ । जीवन कस्तो अद्भुत छ ! त्यस्तै कस्तो चुनौतीपूर्ण छ । दृश्यहरू उस्तै नौला छन् ।  सागसब्जीलाई ओछ्यानमा न्यानो पारी राखिएको छ । ग्याँसको सिलिन्डरलाई तातोपानीमा डुबाएर खान बनाउँदै गरेका भान्छे भन्छन्, ‘ल … दायाँबायाँ हेर्दै नहेरी भटाभट खाइहाल्नोस् है । ढिलो ग¥यो भने सेलाएर तुरुन्तै चामल पल्टिहाल्छ ।’

त्यस रात उनी त्यहीँ अफिसर्स टेन्टमा बास बसेकी छन् । हरेक काम त्यहाँ कति छिटोछिटो गर्नुपर्ने छ । एक क्षण मात्रै ढिलाइ भयो भने पनि सब कुराको सन्तुलन बिग्रिनेछ । सुत्नुअघि स्लिपिङ ब्यागको चेन खोल्दै एक पुरुष उनलाई सचेत गराउँदै भन्छन्, ‘यो हटब्याग जिउ सेक्न प्रयोग गर्नू । पानीको बोतल पनि आफूसँगै च्यापिराख्नू । सकेसम्म धेरै पानी पिउनू । वेलैमा निदाउने कोशिश गर्नू । मध्यरात भएपछि बगिरहेको दूधकोशी पनि बरफ भएर जम्छ । … रातिको समयमा आधारशिविर क्षेत्रमा भूकम्प आएजस्तो हुने र ग्लेसियर पढ्किने सम्भावना … (पृ–१२९) ।’

भवानीको जब्बर मन त्यो कुनै पनि सचेततालाई ख्याल राख्दैन । बरु भन्छ, ‘सुत्न त सुतिएला नि जीवन रहेसम्म, आधारशिविरमा निदाएर यसरी समय खेर फाल्नु हुँदैन ।’

त्यसै बखत भवानी बेलुका फुर्वाले भनेको कुरा सम्झिन्छिन् । खुम्बु आइसफल उज्यालो नहुँदै पार गर्नुपर्छ । उज्यालो भएपछि त्यो ठाउँ हिँड्नै मिल्दैन, डेन्जर हुन्छ । घामले तातेर हिमपैरो जान थाल्छ, ‘बरु दुई बजेतिर उठ्न सक्नुबो बाने उः त्यो –खुम्बु आइसफलतिर औँल्याउँदै) ठाँैमा हेर्नुहोला । हेडल्याम बालेर हिँनेका आरोहीको गज्जपको ताँती देख्न पाउँछ । त्यो वेला सललल बगेको बत्तीको लहर हेरिरौँजस्तो हुन्छ (पृ–१२८) ।’

तब फुर्वाको भनाइमा लोभिएर उनी प्रकृतिको रोमाञ्चकारी दृश्य हेर्न लाग्छिन् । नभन्दै मध्यरातमा ग्लेसियर पड्किएर मानव अस्तित्व नै मेटाउन खोजेको अनुभूति हुन्छ । घरहरू गर्लम्मगुर्लुम ढलेजस्तै आवाज आउन थाल्छ, प्रलय हुन लागेको आभास हुन्छ । उता फेरि रोमाञ्चकारी दृश्य अर्कै छ, ‘… जुनेली रातको संसार, जहाँ एक÷दुई होइन, सयौँ जून एकसाथ उदाइरहेजस्तो देखेँ । आकाशमा जून जग्मगाउँदा धरतीको हिमसंसार पनि टक्टकाउँदो भएर खुल्दो रहेछ । हिउँले ढाकेको सेतो संसारलाई जूनले छोइदिँदा हिउँको संसारले पनि जूनकै जस्तो ज्योति छर्दो रहेछ (पृ–२२९) ।’

त्यसपछि शुरु हुन्छ लेखकको जीवन र मृत्युको खेल । त्यो अनुभूति भोग्नेलाई मात्र थाहा हुन्छ, शब्दमा त्यसलाई व्यक्त गर्दा त्यो फिका हुन सक्छ । मानिस भौतिक अनुकूलताभन्दा बढी साहसले बाँच्दो रहेछ । यदि साहस निख्रियो भने उसलाई कुनै पनि शक्तिले बचाउन सक्दैन ।

दूधकोशी पनि अब निदाइसकेको छ । सारा प्रकृति मौनतामा विलीन हुँदैछ । त्यतिखेर उनलाई थाहा हुन्छ, मौनताभन्दा डरलाग्दो आवाज अरू केही नहुँदो रहेछ । अनि भन्छिन् म सुतेको तम्बूलाई मृत्युको कालो बादलले घेरा हालिसकेको छ । मृत्युले सन्देश पठाइसकेको छ ।

तर पनि उनी हारेकी छैनन् हार्न जान्दिनन् । परन्तु हारेको अनुभूति हुन खोजिरहन्छ । तब अघि ‘म मर्दै मर्दिनँ’ भनेको वाक्य भुलेर उनी भन्छिन्, ‘म शनैः शनैः मरिरहेछु । म हारिरहेछु र सधैँको लागि हार्दैछु ।’ हाइपोक्सियाको कडा असरले शिथिल हुँदा उनी निसन्देह भन्छिन्, ‘मर्नकै लागि म आधारशिविर आइपुगेको रहेछु ।’

धन्य हो मृत्युले उनलाई एउटा मौका दियो । त्यही अवसरमा उनले आधारशिविर छोडिन् ।

हामी भन्ने गर्छौं नेपालमा के छ ? केवल गरिबी छ । यस्तो हीनताबोधले गलाएको बेला एक पटक सबैले ‘प्रणाम सगरमाथा’ पढ्नू । तब हामी आफैँप्रति गौरवबोध गर्न थाल्ने छौँ । हामी आफ्नो देशमा कुनै सम्भावना देख्दैनौँ जहाँ विदेशीहरू अनेक सम्भावना भएको स्वर्ग देख्न लाग्छन् । उनीहरू हामीलाई अत्यन्तै भाग्यमानी देख्छन् । इटालियन नागरिक एक अनुसन्धाता भन्छन्, ‘नेपालको हिमाली क्षेत्र मेडिसिनल प्लान्ट्सको लिभिङ म्युजियम हो ।’

मानिसलाई कुन हटले त्यसरी दुस्साहसी बनाउँछ होला ? मृत्युको सम्मुख पुग्न किन दुस्साहसी बनाउँछ ? पर्वतारोहीको सफलता बिफलताबीच सगरमाथाले कति धेरै जीवन समाप्त गरिसकेको छ । काजकिस्तानबाट आएका अलेक्जेन्डर अहिले जीवित छन् कि छैनन् कुन्नि ? लेक लागेर अर्ध जीवित स्थितिमा पुगेका उनले पुनर्जीवन पाए पाएनन् होला ? लेखकसँगै मैले पनि कामना गरेँ उनी छिट्टै निको होऊन् ।

‘प्रणाम सगरमाथा’मा पर्याप्त सम्मोहन शक्ति हुँदाहुँदै पनि यदाकदा केही अस्वाभाविकता आउन खोजेको हो कि ? त्यस्तै केही झल्को हुनखोज्छ कहीँ कतै प्रसङ्गमा । जस्तो एउटा दृष्टान्त लिऊँ—त्यस दिनको गन्तव्य टुङ्ग्याउन हतार परेको बेला लेखक बीच मार्गमै पुस्तकको एक दुई अनुच्छेद पढ्न लाग्छिन् । त्यतिखेर सन्देह उठ्छ कतै उक्त पुस्तकलाई बलपूर्वक सन्दर्भमा जोड्न त्यसो गरिएको त होइन ?

लेखकको अबको गन्तव्य आमादब्लम बेसक्याप र तीन पास रहेको छ । पाइला पाइलामा कति खतरापूर्ण छ यात्रा । निश्चित बाटो पार गरिसकेपछि बधाई तथा शुभकामना दिइने ती मार्गहरू कति जोखिमी होलान् ! तब उनलाई लाग्छ जिन्दगी अझै त केही बाँकी रहेछ । त्यसरी बाँकी रहेको जीवनसँगै आफ्नो लेखनप्रति उनी उत्तरदायित्व बोध गर्छिन् । तब नियात्रामा सत्यता र विश्वासनीयता हुनुपर्छ भन्नेमा सचेत रहन्छिन् ।

तल हिमनदी बगिरहेको छ । त्यसमाथि हिउँकै टाँडमा टेकेर अघि बढेको देख्दा मृत्युसँग लेखक खूब इतरिएको लाग्छ । जीवनसँग सौदा गरिएको यात्रामा स्वयं अक्षरहरू भयभीत भएको अनुभूति हुन्छ । रेञ्जोला, खोङ्माला हुँदै उनी अब थामे पुगिसकेकी छन् । जहाँ एक्काइस पटक सगरमाथा आरोहण गर्ने आपा शेर्पा र हालसम्मकै सर्वाधिक (तीस) पटक शिखरमा पुगेका कामीरिता शेर्पाजस्ता कीर्तिमानी पुरुषको वासस्थान छ । श्रद्धाले वशीभूत भई तीर्थ सम्झिएर लेखक उनीहरूलाई भेट्न जान्छिन् । परन्तु भेट हुँदैन । हिजोअस्ति नै आमा काठमाडौँ गइसकेका रहेछन् । केही दिनमै उनी अमेरिका जान लागेका रहेछन् । विदेशमा उनीहरूको कत्रो मर्यादा हुने रहेछ । तर देशले उनीहरूलाई चिन्दै चिन्दैन ।

हाम्रो सरकार कति अनुत्तरदायी छ ! निर्लज्ज चरित्रलाई अझै निर्जज्ज बनाई बाँचिरहेको छ । उसलाई देश तथा देशवासीप्रति थोरै पनि सुर्ता छैन । ती हिमालवासी सबैको एउटै दुखेसो छ— सरकारले सामान्य सेवा सुविधा समेत केही दिँदैन । पर्यटन प्रर्वधनको लागि केही चासो राख्दैन । हामी यहाँ जे जति गरिरहेका छौँ आफ्नै प्रयासमा गरिरहेका छौँ । सरकाको प्रत्याभूति हामीले किञ्चित गरेका छैनौँ । सरकार त केवल ढाड फुस्किने गरी कर उठाउँछ उसको दायित्व त्यति नै हो । ‘टुरिसलाई सन्तुष्ट पार्ने गरी सेवा दिने हाम्ले त हो नि । सर्खारले त रोयल्टी असुल्नुबाहेक के पो गरेको छ र ? संसारभरका टुरिस आउने खुम्बुमा न टेलिफोन छ, न त विद्युत सेवा नै छ । … सरकारको त नाम लिनु पनि बेकार छ (पृ–१७९) ।’

देश र जनताको हक हितबारे सोच्ने सरकार हुन्थ्यो भने भारी बोकेर जीविका चलाउने रङ्गशेर राईजस्ता नागरिकले त्यस्तो कारुणिक जीवन बाँच्नु पर्ने थिएन शायद । सोच्छु, भारी बोक्न नसक्ने भएपछि उनको जीवन कसरी चल्छ होला ?

कृतिमा यसरी अनेक चारित्रिक जीवन आइरहन्छन् । नौलो अनुभूति हुने विषय सन्दर्भ आइरहन्छन् । बाटामा सिन्धुपाल्चोकका उन्नाइस वर्षे सविन ठकुरी सगरमाथाको शिखर चुमेर फर्किंदैछन् । उनको अनुभवमा ‘सबभन्दा महत्त्वपूर्ण कुरा नै जिन्दगी रहेछ । जीवन चल्न पुग्ने सास रहेछ । शरीरको धुकधुकी रहेछ ।’

शिखरमा एक आरोहीको अन्तिम इच्छा भनेको केवल सास फेर्नु रहेको छ । तर त्यही मानिस जब फेदी झर्छ अनि उसका इच्छाहरू कसरी फुरफुराउन थाल्छन् । भनेपछि त बाँच्नु नै जीवनको प्रथम लक्ष्य रहेछ ।

त्यस्तै अर्की भुल्न नसकिने पात्र छिन् निमा डोमा शेर्पा । हिम पहिरोमा श्रीमान् गुमाएकी एक साहसिक महिला । अन्ततः उनी आफैँ एक सफल पर्वतारोही भएकी छिन् ।

यसरी हिम्मत र बहादुरीका कथा, जीवन र मृत्युका कथा, सङ्घर्ष र चुनौतीका कथा यस्ता अनेक कथाहरू मिसिएको ‘प्रणाम सरमाथा’ले एउटा बेग्लै पहिचान बनाएको छ । त्यस्तै कलात्मक भाषाशैली र ती पात्रहरूको स्थानीय लवजले प्रस्तुतिलाई जीवनन्तता दिएको छ । समग्रमा कृतिले मलाई एउटा प्रभाव छोडेर गयो । मैले नजानेका धेरै कुरा सिकाएर गयो ।

लाग्छ कृतिको सफलता भनेकै यही हो कि जब भीडमा आफ्नो पृथक् अस्तित्व राख्न सकेको होस् ।