म अहिले एकदम शून्य स्थितिमा छु । मनमा भावको उच्छलन छैन । विचार छैन । अत्यन्तै रिक्त भएर, तटस्थ मुडमा—तत्क्षणलाई साक्षी भावले हेरिरहेको छु । केही इच्छा छैन, आकाङ्क्षा छैन । अबको समय के हुँदैछ त्यसप्रति पनि चिन्ता छैन । यसरी पहिलोचोटि अनुभूति विहीन अवस्थामा छु । के गरूँ के नगरूँ पनि थाहा पाउँदिनँ । म किन बालक भइरहेछु ? केही समयदेखि मेरो रुटिङ खलबलिएको छ ।
रुटिङ विहीन दैनिकीमा अभ्यस्त छु । मनले विलम्ब भएको, यो बितेको, त्यो बितेको किञ्चित अनुभूति गरेको छैन । निस्पृह अवस्थामा छ मन । अब मृत्यु आएछ भने पनि मनले स्वीकार्ला जस्तो छ । अपेक्षा रहित मन निर्भय छ । भय त्यतिखेर सिर्जिने रहेछ जुन बखत अनन्त अपेक्षाले मानिस परिवेष्टित हुन्छ । अनि केही गुम्छ कि भन्ने पीरले ऊ भयभीत हुने रहेछ । यतिखेर मसँग केही पाउने इच्छा र केही गुमाउने सन्ताप छैन । सोच्छु आसक्तिले नै भयवाद जन्माउने रहेछ शायद ।
एकछिन पछि के हुँदैछ अहँ मलाई थाहा छैन अर्थात् अब म के गर्दैछु भन्ने कुरामा अञ्जान छु । भर्खर बिहान मात्रै काठमाडौं आइपुगें । आँखा अनिदा छन् । गाडीमा गहिरो निद्रा भएन । बेला बेला ब्यूँझिरहेँ । शायद आज दिनभरि सुत्छु होला ।
म शहर आइपुगें—साथीहरूलाई खबर दिएको छैन । त्यसो त लमजुङ जाँदैछु पनि कसैलाई भनिनँ । आफ्नो बारेमा कसैलाई थाहा नहोस्, म यस्तै भूमिगत जीवन धेरै मन पराउँछु—सार्वजनिकता केही थोरै मात्र मन पर्छ । म के गर्दैछु, कहाँ छु ? कसैले नसोधोस् । अनि म अरूको बारेमा पनि नसोध्ने गर्छु अर्थात् व्यक्ति स्वतन्त्रतालाई मर्यादा राखेर—उसको जीवनबारे बेवास्ता गर्छु । जरुरी नहुँदा उसको सन्दर्भ किन जानी राख्नू ? हर व्यक्ति आफ्नो जीवन जसरी बाँचोस् ऊ निर्बन्ध छ । म त्यही निर्बन्धको समर्थक हुँ । उन्मुक्तताको प्रस्तावक हुँ । वश त्यति मात्रै ।
मनमा एउटा अज्ञात भाव छ । मेसेन्जरमा, ह्वाट्सएपमा धेरै फोन खबर प्रतीक्षारत छन् । फुर्सदिलो मनले एक–एक मेसेज पढेर रिप्लाई दिनु छ । मित्रहरूको हालखबर पनि सोध्नु छ । कहाँ के भइरहेछ ? म अबोध छु ।
आज म कहीँ जाँदिनँ मनले यस्तो सूचना गरेको थियो । तर सूचना विपरीत निर्णय बदलिन्छ । अनिता (कोइराला) दिदीसँग हिजो बेलुकी फोन भए अनुसारको—परिस्थिति बन्दैन । तब संवादले अर्कै मोड लिन्छ ।
बेलाबेलै म आश्चर्यमा हुन्छु । कस्तो आश्चर्य भने—एक थोक सोचिरहेको हुन्छु तर भइदिन्छ अर्कै थोक । अब के हुँदैछ निश्चित छैन । तर केही त निश्चय भइरहेको हुने छ । अहिले त्यही अनिश्चित कुरा निश्चित हुँदैछ । म विश्वस्त छु संयोग त जहिल्यै अकस्मात् आउने रहेछ । संयोगले मानसिलाई अचानक–अचानक कसरी निर्णय गर्न लगाउँदो रहेछ ।
बिहान हिँड्दै आएको बाटो फेरि हिँड्दैछु बालाजु पुग्न । त्यतिखेर मलाई थाहा थिएन—म फेरि यही बाटो भएर अहिले आउने छु । खशी बजारको लागि चक्रपथको गाडी चढ्छु । पुग्नु पर्ने त अझै अगाडि हो । अनिता दिदी र म खशी बजारको सुपरमार्केटमा भेट गर्ने भनेका छौं ।
म गन्तव्यमा आइपुगेको छु ।
दिदीले मलाई देख्न सहज होस् भनेर—अहिले सुपरमार्केटको कम्पाउडभित्र टड्कारै देखिने ठाउँमा छु । बाइक स्कुटी पार्किङ गरिएको अगाडि—एउटा कुर्सीमा छु । चटपटे व्यापारी प्रश्नात्मक दृष्टिले हेर्छ, शायद ग्राहक ठानेर होला । तर म ग्राहक होइन । क्षमाको अपेक्षात्मक भाव राखी उसलाई हेर्छु । व्यापारी खूब बाठा हुने रहेछन् । एक दृष्टिमै सेवाग्राही हो होइन उनीहरू कसरी बुझिहाल्छन् ।
‘ल … म आइपुगें । प्रवेशद्वारमै छु’ दिदीको फोन आउँछ, ‘खै मैले तिमीलाई देखिनँ ।’
उठेर वरपर दृष्टि दिन्छु मैले पनि दिदीलाई देखिनँ । दृष्टि छेलिएर हुन सक्छ । बाहिर निस्किन्छु, पर परसम्म दृष्टि विस्फारित गर्छु । अहँ दिदीको आभास पाउँदिनँ ।
कस्तो गलत बुझेछु मैले । दिदी हस्याङ्फस्याङ गर्दै आइपुग्नु भयो । मलाई ग्लानिबोध हुन्छ— उहाँलाई एकैछिन भए पनि आपत् परेकोमा। उहाँले निश्चित गर्नु भएको गन्तव्यलाई—मैले सीता पेट्रोलपम्पको सामुन्ने रहेको सुपरमार्केट भनेर बुझेछु ।
दीर्घ प्रतीक्षा— पश्चात्को भेटमा हामी उत्तेजित हुन्छौँ, रमाउँछौं । अङ्गालोमा माया साट्छौं । केहीबेर निशब्द भई एकअर्कालाई हेर्छौं । मौनता लिन्छौँ ।
दिदी र म फेरि अर्को प्रतीक्षा गर्छौं । त्यसै बखत गोविन्द सरको फोन आउँछ ‘ल हामी आइपुग्न लाग्यौँ ।’
चाँदनी चोक हुँदै सर र अञ्जना मेम आउँदै हुनुहुन्छ, बानेश्वेर जानको लागि । रोड तरेर हामी सीता पेट्रोलपम्पको मुखैमा बसेका छौं । ओरालो बाटो—सुस्त गतिले गुडेका प्रत्येक ट्याक्सीमा दृष्टि तन्किन्छन् । उः परबाट सरको सबारी आयो । टाढैबाट हामीले ठम्यायौँ । हाम्रो सम्मुखै दायाँ साइडमा ट्याक्सी थामिएको छ । उभिएरै सर–मेमलाई भेट गर्छौं । केही जरुरी किताब लिनु दिनु थियो । त्यसपछि हामी छुट्टिन्छौं । ट्याक्सी परको गन्तव्य ताकेर हुइँकिन्छ ।
दिदी बहिनी अब कता जान्छौँ कुन्नि ? शायद एकछिन कहीँ बसेर गफ गर्ने छौं । छाताको ओझेलमा उभिइरहेका थियौँ । त्यसै बेला अचानक दिदीले केही सम्झिए केही बिर्सिए जसरी भन्नु भयो, ‘ल … मैले तिमीलाई एउटा गिफ्ट ल्याइदिएको छु ।’ उत्सुक हुन्छु त्यो कस्तो गिफ्ट होला ? ब्याग खोतल्दै गरेकी दिदीलाई कौतुहलवश अपलक हेर्छु । मलाई आतुरी पर्छ उपहार लिन । सुनको आवरण लाग्ने— चम्किलो हीरा जस्तो देखिने आकर्षक टप दिदीले हातमा राख्दै भन्नु भयो ‘अमेरिकाबाट भान्जीले ल्याइदिएको उपहार बुहिनीलाई पनि राखिदिएकी छु ।’
दिदीको मायाले—म फुरुङ्ङ हुन्छु । खुशी उत्ताउलिन्छ । बाल–सुलभताले उतिनखेरै म सानु नानी हुन्छु । कानमा लगाइराखेको टप खोलेर—उपहार लगाउँछु बडो जतनले, प्रेमले, श्रद्धाले, हार्दिकताले । यति धेरै प्रेम गर्ने मान्छे कहाँ पाउनू ? मेरो मन सल्बलाउँछ—कसरी प्रेमको सम्मान गरूँ ? कृतज्ञताले मन चुलबुलाउँछ ।
हामी अब फर्किंदै थियौँ । त्यसै बेला मैले अकस्मात् रेखा (ज्ञवाली) दिदीलाई सम्झिएँ । पहिलेदेखि नै हामी उहाँको निवास जाने भनिरहेका थियौँ । तर आजको लागि कुनै तत्परता थिएन । रेखा दिदीले भने अनुसार म उहाँको घरछेउको—बाटो भएर धेरै पटक हिँहिसकेको छु ।
मैले दिदीलाई सुनाएँ ‘यहीँ अलिकति अगाडि बस्नु हुन्छ रेखा दिदी—चाँदनी चोक नजिकै ।’
‘जाने त उसो भए ?’ दिदीले भन्नु भयो ‘यहीँ नजिकै आएको बेला जाऊँ न त । रेखा दिदीले धेरैचोटि आमन्त्रण गर्नु भएको छ ।’
म अलिकति द्विविधामा थिएँ । रातभरको यात्राले बोधिएको शरीर । फ्रेस मूडमा अर्को दिन जाने मेरो राय थियो । उहाँले ‘भो आजै जाऊँ’ यति भनेर ब्यागबाट फोन झिक्नु भयो, ‘रेखा मेम हामी हजुरको निवास नजिकै छौं, आउँदैछौं । सुन्नू त तपाईंको घर आसपास चिन्नु भएको एक जना साथी पनि सँगै हुनुहुन्छ ।’
उहाँलाई सप्र्राइज होस् भनेर दिदीले मेरो नाम लिनु भएन । हामी चाँदनी चोक पुग्छौँ । तर चोक पुग्नु नपर्ने रहेछ । बडो हर्षले रेखा दिदी आइपुग्नु भयो हामीलाई लिन । तीनै जना खुशीले एउटै अँगालो बन्छौँ । रेखा दिदीको मुहारमा अप्रत्याशित कान्ति मुस्कुराउँछ ।
ससानो घटनाले पनि मलाई धेरै थोक सोच्न लगाउँछ । अहिले पनि म सोच्दैछु । यो संयोग अघिको दिनमा किन जुरेन ? जमर्को त पहिल्यैदेखि भइरहेको थियो भेटघाट गर्न । यही बोटो भएर म कति हिँडेको छु । अहिले इच्छाले मूर्तता पाउँदा अञ्जानमै भन्न मन हुन्छ—आजकै दिन हामी भेट हुनु थियो र भेट भइरहेछ ।
भेट हुनु पूर्व नै हामी नितान्त आत्मीय थियौँ । प्रथम मिलापको आभास अहँ किञ्चित हुँदैन । बरु वर्षौं अघि छुटेको—मित्र भेटको अनुभूति हुन्छ । कति शान्त, कति व्यवस्थित निवास । भ¥याङपिच्छे लक गरिएका ठूलाठूला किताबका दराज ठिङ्ग उभिएका छन् । हामी दोस्रो तलामा पुग्छौँ । सिटिङ रुममा छरितो देह, उज्यालो अनि त्यस्तै चङ्ख मुद्रामा बूढी आमा—प्रतीक्षित मूडमा देखिनु हुन्छ । हामीलाई उहाँले चिन्नु भएको छैन । तथापि हाम्रो उपस्थितिले प्रसन्न हुनुहुन्छ—कोही नातेदार टाढादेखि आएको अनुभूति हुँदैछ शायद उहाँलाई । चारबीस नाघिसक्नु भएको यस उमेरमा पनि कति सक्रिय बूढीआमा । लाग्यो त्यो मन बुढ्यौलीले छोइएको छैन । उस जमानाको भएर पनि विद्यमान परिस्थिति—जान्न, बुझ्न चासो राख्ने । समाचार सुन्न मन पराउने—उहाँको जिज्ञासु स्वभावले हामी विस्मित हुन्छौँ । टेक्नोलोजी तथा यस साइबर दैनिकीप्रति—उहाँको स्वाभाविकता त्यस्तै आफू अनुकूलको निकटताले फेरि आश्चर्यमा पर्छौं ।
बडो गर्वका साथ उहाँ भन्नु हुन्छ—म पन्थीकी छोरी हुँ । आफ्नो गाउँ–ठाउँदेखि बाहिर मैले कुनै पन्थीकी छोरी आजसम्म भेटेको थिइनँ । अझ पन्थीकी बयोवृद्ध छोरी ! मलाई कस्तो अनौठो अनुभूति भयो । म पनि त पन्थीकै छोरी हुँ नि । अन्य थर जस्तो प्रशस्त मैले पन्थी भेटेको छैन । एकदम बिरलै सुनिन्छन् पन्थीहरू । अध्ययनको सिलसिलामा चितवन हुँदै यस शहरमा आइपुग्दा समेत— कुनै पन्थीसँग मेरो भेट भएको छैन ।
तर होइन एकचोटि यस शहरमा कुनै पन्थीलाई भेटेको थिएँ । एउटा समाजसेवी संस्था दर्ता गर्ने क्रममा—एक जना अधिकृत पन्थीलाई भेटेको थिएँ । भर्खरका युुवा । म अरूकै काम लिएर त्यहाँ गएको थिएँ । अफिस टाइममा एक कर्मचारी जोसुकै होस्—उनलाई सर भन्नु पर्छ होइन ? अधिकृतको कुर्सीमा— कर्मचारीको दायित्व निर्वाह गरिरहेका उनलाई मैले दाजु भनेर बोलाएँ । मेरो सम्बोधनमा उनी रिसाएनन् । पन्थी भएकै नाताले भोलि हुने काम आजै हुन लागेको थियो । उनको नाम के थियो अहिले मलाई सम्झना भएन । जेहोस् उनी पन्थी थिए ।
त्यस पश्चात् धेरै वर्ष कोही पन्थीसँग भेट भएको थिएन । लाग्यो यस शहरमा पन्थी भेटिने छैनन् । यसरी मानिसको आदिम चेतमा—आफ्नो जातजाति, सम्प्रदायप्रति अनौठो किसिमको प्रेम भाव हुँदो रहेछ ।
अहिले मसँग ठीक यही अनुभूति छ । हामी दुवै पन्थीका छोरी हुनाले—मैले उहाँलाई फूपू भन्नु पर्ने हो । तर हजुरआमा भन्दैछु, फेरि कतिखेर बोली सच्याएर दिदी भन्न लाग्छु । तेस्रो पटक मैले यसरी पन्थी भेट्दैछु । त्यसो त उहाँ जमानामै ज्ञवाली हुनु भएको छ । तथापि उहाँको नसा नसामा पन्थीको रक्तवेग छ ।
थाहै नपाई म त फुपूको घर आइपुगे छु । कस्तो अपूर्व संयोग ! फुपूलाई कति धेरै कुराको जानकारी रहेछ । कति तीक्ष्ण मस्तिष्क । उहाँको अतीत स्मृति कति साजी ? हाम्रो उपस्थितिमा उहाँ चञ्चल देखिनु हुन्छ खुशीले । म लमजुङ निवासी हुँ थाहा पाएर सोध्नु हुन्छ ‘लमजुङ कुन ठाउँ ?’ आजसम्म गएका, घुमफिर गरेका ठाउँहरू मध्ये बेसीशहर एकदम मन परेको उहाँले सुनाउनु भयो ।
म अहिले द्विविधामा छु । फुपूकी बुहारीलाई—भाउजू भन्नु पर्ने होइन ? तर म दिदी भनिरहेछु । हाम्रो यस्तो नाता थाहा हुनु अघिदेखि म अभ्यस्त थिएँ दिदी भन्न—अहिले आएर सम्बोधन फेर्न अप्ठ्यारो लागेको छ । मिनराज (ज्ञवाली) दाजुलाई असहज अनुभूतिसँगै भिनाजुको सम्बोधन गर्छु । शुरुमै भिनाजु भनिहालेँ—बानी परेपछि त्यसलाई सच्याउन कठिन हुँदो रहेछ ।
रेखा दिदीको प्रेमपूर्ण हार्दिकता, त्यस्तै श्रद्धालु आतित्थले—मन भारी हुन्छ । श्रद्धानत हुन्छौँ । यस्तो श्रद्धामय क्षणको मर्यादा कसरी राखूँ हुन्छ । दुई तीन मिनेट टाढाको दूरीमा रहनु भएको—रमा (न्यौपाने) दिदी पनि आइपुग्नु भएको छ । प्रसन्नता बाढ्न रेखा दिदीले बोलाउनु भएको—भेटघाट अझ रमाइलो पार्न ।
कला साहित्यमा गहिरो रुचि भएको सुन्दर परिवार । पुर्खादेखि नै गहिरो पठन संस्कृति भएको बौद्धिक पारिवारिक परिवेश । दिदी भिनाजु दुवैको साहित्यिक तृष्णा कसरी मेल खाएको । भिनाजुको एउटा कविता कृति प्रकाशनमा आइसकेको रहेछ । दिदी पनि लेखिरहनु हुन्छ । उहाँका रचना म बेला बेला पढ्दै हुन्छु । साइकोलोजी र कानून विषयमा अध्ययनरत अमिरा र आज्ञाको समेत साहित्यमा रुचि देख्दा मलाई आश्चर्य लाग्यो । भित्तामा टाँसिएका सुन्दर स्केचमा थाहा पाउँछौं—चित्रकारिताको कला पनि रहेछ नानीहरूमा । कस्तो लोभ लाग्दो शिक्षित, संस्कारिक तथा कला प्रेमी परिवार ।
अहिले मलाई अनिता दिदीको घर जाँदाको—अनुभूति भइरहेछ । उहाँको घरमा पनि यस्तै छ पारिवारिक परिवेश । समान रुचि भएका—सबै लेख्ने, सबै पढ्ने । जुन तलामा गए पनि किताबै किताबको सङ्ग्रह । जुन कोठामा पस्दा पनि किताबै छ । सुवास भिनाजु, मिमांसा र शुभाम्सका कोठामा झन्— ठूला ठूला विदेशी राइटरका ठेलीले दराज भरिएका छन् । विभिन्न समयका प्रशस्तिपत्र, पुरस्कार तथा मेडल अनि नानीहरूका स्केचले भरिएका भित्ता—मलाई लोभ लाग्छ । मेरो पनि एउटा यस्तै सानो तर सुन्दर संसार होस् ।
आज हाम्रो आकर्षणको विषय छ—कलमालय । केही महिना अघि पहिलो पटक—रेखा दिदीबाट मैले ‘कलमालय’ शब्द सुनेको थिएँ । अहिले फेरि त्यही शब्द सुन्दैछु । मलाई आश्चर्य छ कलमको पनि लाइवेरी हुन्छ भनेर । समानतामा जति नै महान् कुरा भए पनि भिन्न परिचय स्थापित गर्न त्यो असमर्थ हुने रहेछ—म बोध गर्दैछु चाँदनी चोकको एउटा घरमा बसेर । समानता प्रकारान्तरमा एउटा भीड हो मेरो यही बुझाइ छ ।
‘महान् हुन ठूलो काम गर्नु पर्दैन’ दार्शनिकहरू भन्छन् ‘सामान्य काम गरेरै पनि ऊ महान् हुन सक्छ । फरक त्यति हो सामान्य मानिसहरू हरेक काम सामान्य तरिकाले गर्छन् । तर महान् लक्ष्य राख्नेहरू त्यही काम अरूले सोचे भन्दा नवीन तथा आविष्कारक सोचले सम्पादन गर्छन् अर्थात् कुनै पनि कामलाई सामान्य देख्दैनन्, कुनै पनि थोकलाई सामान्य मान्दैनन् ।’ भिनाजुको कलमप्रतिको प्रेम र सङकलन देख्दा मलाई यही कुरा बोध भएको छ । विशिष्टता नै अस्तित्व निर्माणको मार्ग रहेछ । कलम त हामी सम्पूर्णले खेलाइरहेका हुन्छौँ । तथापि कलमलाई हेर्ने हाम्रो दृष्टिकोण कति साधारण छ । आवश्यकतादेखि अर्को दृष्टिले हेर्न हामीले जानेका छैनौँ । काम चलाउँछौं थोत्रिएपछि मिल्काउँछौं । निवको मसी सकिएपछि त्यसको के काम ? व्यर्थ लाग्छ । हो त्यही व्यर्थ मानिएका कलमहरूको व्यवस्थापन गर्दा—एउटा आकर्षक लाइवेरी बनेको छ दिदीको घरमा ।
कलमालयको कुरा गर्दा शायद तपाईंले भन्नु हुनेछ—त्यो एउटा सौख मात्र हो । त्यसबाट के लाभ हुन सक्छ जस्तो पुस्तकालयबाट हुने गर्छ । त्यस सँगै फेरि भन्नु हुनेछ निश्चय— पुस्तकालयको जुन आवश्यकता छ—त्यस्तो कलमालय हुन सक्दैन । यदि तपाईंको विचार यही छ भने सम्भवतः गलत हुनुहुन्छ । हर थोकको आआफ्नै विशिष्टता छ, महिमा छ । बस् त्यसको महिमा बोध गर्ने ज्ञान चाहिन्छ । आवश्यकता महसूस गर्ने चेतना चाहिन्छ । सुन्दर असुन्दर पर्गेल्न सक्ने दृष्टि चाहिन्छ । हित अहित खुट्याउने सामथ्र्य चाहिन्छ ।
चालीस सालदेखि सङ्कलन गरिएका पन्ध्र सय थान— कलमको सङ्ग्रहालय । विभिन्न आकृतिका, रङका यी कलम हामीले एक एक छुँदै चलायौँ । कलमका सन्र्भदमा अद्भुत अद्भुतका कुरा सुनाउनु हुन्छ भिनाजु । अनिता दिदी र म कलमको मूल्य सुनेर अवाक् हुन्छौँ । संसारमा सबैभन्दा महङ्गो कलम दुई लाख साठी हजार डलरसम्म पर्छ—सुन्दा त्यस्तो ठूलो मूल्यको कलम लिने सौख कस्तो होला म प्रश्नात्मक हुन्छु । आखिर त्यस कलमले लेख्ने पनि उही कुरा हो—जुन सस्तो दामको कलमले लेख्न सकिन्छ । यदि कलमको मूल्यले उसको लेखन निर्धारण गर्दो हो—विश्वको अवस्था के हुन्थ्यो होला ? म विचारात्मक हुन्छु । यो पनि एउटा सौख न हो—यति हुँदाहुँदै पनि महङ्गो कलम किन्नेहरूको इच्छा मलाई एकदम महान् लाग्छ । कलमको लागि त्यो लगानी गर्नु भनेको उच्च सभ्यताको प्रतीकात्मक अर्थ हो । मानव सभ्यता यही कलममा अडिएको छ अर्थात् कलम भन्नु मस्तिष्कीय विचार हो म यही दृष्टिले हेर्ने गर्छु । शब्दान्तरमा कलम भन्नु विचार हो म यही बुझ्ने गर्छु । जीवनको सस्तो मनोरञ्जन खरिद गर्नु भन्दा कलमको लागि मूल्य तिर्नु—साङ्केतिक अर्थमा धेरै महान् कुरा छ ।
यस कलमायलमा देश विदेशका कम्पनीमा निर्मित कति कलमहरू अहिले दुर्लभ भइसकेका छन् । सार्क मुलुकमा उत्पादित कलमदेखि अन्य दुई दर्जन देशमा बनेका कलमहरू हामी बडो उत्सुकताले हेर्छौं । एक लाख बीस हजारसम्मको मूल्य भएका कलम हेर्दा सामान्य छन् । त्यसको विशेषता कलमप्रेमीले मात्र बुझ्न सक्छ । बङ्गलादेशको विश्वविद्यालयमा अध्ययन गरेर फर्किएपछि—कलमप्रति भिनाजुको मोह अझ बढेको हुनुपर्छ । राम्रा राम्रा कलमको खोजी गर्दै हिँड्ने र कलम किन्न किञ्चित कञ्जुस नगर्ने उहाँको रुचि बडो अनौठो रहेछ । नौलो खालको कलम देखेपछि खल्ती रित्याएरै भए पनि म किन्छु उहाँ भन्नु हुन्छ—कलममा खर्च गर्न कहिल्यै पछुतो लाग्दैन । ‘आमाले समेत कलम किन्न पैसा दिएर हौस्याउनु हुन्छ ।’ कुरा थप्दै फेरि भन्नु हुन्छ ‘तीर्थयात्री भएर जम्बुकास्मिर घुम्न जाँदा आमाको अनुरोधमा— हाँस, ऊट, चराचुरुङ्गी यी विभिन्न आकृति भएका कलम किनेको थिएँ ।
कलम पनि कति धेरै थरीका । सस्तो ब्राण्डदेखि महङ्गो ब्राण्डका अनेक किसिमका । मोनामी, स्टारलाइन, फ्लेम, स्टेट्ला, पार्कर सेफर, पियरे कार्डिनलगायत धेरै प्रकारका यी कलमको विशेषता भिनाजु सुनाउनु हुन्छ । हामी बडो ध्यानले सुन्छौँ । रेडियोको एरियल जस्तो लामो फोल्ड गर्न मिल्नेदेखि क्यालेन्डर समेत भएका कलमले हामीलाई अवाक् पार्छ । स्वीस पेन हेर्दा साधारण छ तर कति मूल्यवान् । नौ सय युरो पर्ने चाँदी रङ्गको आवरणमा फेरि अर्को हेर्छौैं । खर्च बचाएर पनि म कलम किन्ने गर्छु उहाँको अभिव्यक्ति हामीलाई अद्भुत लाग्छ । कलम देखाउँदै उहाँ आफ्नो अनुभव यसरी सुनाउनु हुन्छ—अन्य खर्च बचाएर म बजार चाहर्छु । कति साहुजीहरू ब्राण्डेड कलमको मूल्य सोध्दा—विश्वास गर्दैनन् म त्यो कलम किन्दैछु भनेर । डिउटी फ्रीमा प्रायः म कलम किन्ने गर्छु । कलम र जीवनका अन्य आवश्यकतामा मेरो बराबरी खर्च हुन्छ ।
जात–जातका कति त दुर्लभ भएकै कारण मूल्यवान् लाग्ने कलमहरूबीच—सेतो घारमा रातो भिर्नी भएको कलम । त्यसमा मेरो दृष्टि टक्क रोकिन्छ । त्यसले मलाई मेटिन लागेको अतीतमा पु¥याउँछ । त्यतिखेर म अलिअलि सम्झना बस्ने उमेरको थिएँ । बुवाको सुकिलो सर्टमा त्यही भिर्नी वाला कलम थियो । मन परेर मैले त्यो भिर्नी लुकाएछु । शायद बुवाले थाहा पाउनु भएको थियो । त्यस दिउसो सोध्नु भयो ‘कान्छा तिमीले कलमको भिर्नी लुकाएको हो ?’
बोली स्पष्ट फुटिसकेको थिएन । ‘तपाईं’ भन्न नजानेर मैले अप्ठ्यारोसँग ‘दमाइ’ भन्दो रहेछु । पछि अरूले भनेर थाहा पाएको । बुवालाई मैले त्यसरी नै सोधेछु ‘त्यो दमाइको भिर्नी हो ?’ उहाँले हो भनेपछि कता लुकाएको थिएँ कुन्नि ? खुरुक्क निकालेर दिएको त्यो अतीतले मलाई बालक बनाउँछ । म अचानक बालक हुन्छु ।
‘देश विदेशको यात्रामा होस् या कुनै गोष्ठी सेमिनारमा होस्—नयाँ तथा आकर्षक कलम प्राप्तिले म ज्यादै हर्षातीत हुन्छु’ भिनाजुको यस अभिव्यक्तिले मेरो अतीत टुट्छ । उहाँको कलम प्रियता देखेर साथीहरूले कलम गिफ्ट दिने गर्छन् यस कुराले—मलाई पनि इच्छा हुन्छ उहाँलाई कलम उपहार गर्ने । तर मसँग त्यस्तो उपहार गर्न लायक कलमै छैन ।
‘उहाँको रुचि विस्तारित हुँदैछ, फैलिँदैछ त्यसो हुँदा—मित्र आफन्तले पनि उहाँको रुचिलाई आदर्श मानेका छन् ।’ रेखा दिदी भिनाजुको इच्छालाई सम्मान गर्दै भन्नु हुन्छ, ‘देश विदेशदेखि कलम प्राप्ति थपिँदैछ । जन्मदिनमा, उत्सवमा उहाँलाई बूढी आमाले समेत कलम उपहार गर्नु हुन्छ ।’ यति कुरा सुन्दा हामी फेरि विस्मित हुन्छौँ—सम्पूर्ण परिवार यसरी कलमप्रेमी भएको देख्दा ।
रेखा दिदी, छोरी अमिरा र आज्ञाले—भिनाजुको कलमालयलाई अझ विशिष्ट बनाउन निर्वाह गरेको महानतालाई मेरो नमस्कार छ । पिताको लक्ष्यलाई जीवन्त राख्न—पछिका दिनमा यस कलमालयलाई सम्हाल्ने नानीहरूको वचन कति श्रेष्ठ छ । माता पिताको रुचिलाई ध्यान दिने, इज्जत गर्ने, जतनसाथ ख्याल गर्ने—आज हामीले कति नै सन्तान हुर्काएका छौं र ? पिताभक्त, माताभक्त नानीहरूलाई मेरो शुभकामना छ । तिमीहरूको वचन बद्धता भोलि एउटा दृष्टान्त बनोस्—मेरो विनीत वन्दना छ ।
मेरो जिज्ञासा थियो, ‘कलमालय भोलि कुन रूपले अगाडि बढ्ने छ ?’ त्यसको उत्तरमा म कति धेरै ऊर्जात्मक अभिव्यक्ति सुन्छु ‘यस कलामालयमा धेरै विशिष्टता थाप्नु छ । यसलाई नमूना पेन लाइवेरी बनाउने उत्कट वाञ्छा छ । म त्यसैको योजनामा छु । यसलाई अझ विस्तृत गर्नेछु । यी सप्पै कलमका इतिहास राख्ने छु—जस्तो यहाँ भएका पेनहरू कुन देशमा बनेका हुन्, कहिले बनेका हुन्, कुन ब्राण्डका हुन्, कति मूल्यका हुन् जस्ता जानकारी सहित अझ विशिष्टीकृत गर्नुछ । जति सक्दो धेरै धेरै ब्राण्डका कलम जोहो गर्नु— मेरो एक किसिमको दैनिकी नै बनेको छ ।’
मानिस मन कति आकाङ्क्षी हुँदो रहेछ । उसका अनन्त चाहनाहरू कति थरीथरीका हुने रहेछन् । अरू भन्दा बेगल चाहनाले नै उसलाई विशिष्टीकृत गर्ने रहेछ । समयले त्यस पृथकतालाई दृष्टान्त बनाउने कुरामा—म जहिल्यै विश्वस्त छु । अहिले कलमालय हेरिरहँदा ममा त्यही विश्वस्तता छ । म एकछिन वाक्यहीन भएँ । किन भएँ थाहा छ ? मौनतामा विलीन भई भिनाजुको इच्छा— सार्थकताको शिखर पुगोस् । म यस्तो कामनामा थिएँ
घरको माथिल्लो तला- परपर बल्खु, कीर्तिपुर, ट्याङ्लाफाँटसम्म देखिने कति रमणीय दृश्य । भौतिक दृश्य मात्र होइन हरियाली समेत छ आँखामा । झ्यालबाट आएर बतासले पर्दालाई हल्लाइरहेको छ । पेन लाइबेरीसँगै अर्को भित्तामा किताबको ठूलो दराजले निर्निमेष हामीलाई हेरिरहेको भान हुन्छ । ‘म यस कोठालाई कला मैत्री बनाउने छु ।’ भिनाजुको अभिव्यक्तिले टाढा टाढा पुगेको मेरो दृष्टि खिचिन्छ । ‘यस कोठाभित्र पसेपछि म सब कुरा भुल्छु, तनाव मुक्त हुन्छु । बडो आनन्द आउँछ’ उहाँ आफ्नो अनुभूतिलाई यसरी सम्बोधन गर्नु हुन्छ ‘म रोजी रोजी कलम चयन गर्छु र त्यस्तै मन पर्ने डायरीमा लेख्न बस्छु । त्यतिखेर मलाई नयाँ–नयाँ कुरा फुर्छ । म सिर्जनात्मक हुन्छु ।’
आज आएर पहिलोचोटि म कलमको महिमा बोध गर्दैछु । कलम एउटा आवश्यकता हो त्यसदेखि मसँग कलमलाई हेर्ने अर्को दृष्टिकोण थिएन । अहिले आएर सोच्दैछु कलम नहुँदो हो मानव सभ्यता कसरी अघि बढ्न सक्थ्यो ? लाग्छ शिकारी युगदेखि माथि उठ्ने थिएन । कलम त सभ्यताको पर्याय पो रहेछ—मलाई ठूलो ज्ञान प्राप्तिको अनुभव हुन्छ । कलम नहुँदो हो यी किताबहरू कसरी सिर्जिने थिए ? पुस्तकलाई सभ्यताको प्रथम सूचकाङ्क मानेको मैले बल्ल अनुभूत गरेँ—पुस्तक भन्दा कलम जेठो रहेछ । पहिले जन्मिएको रहेछ । भुइँमा सिन्काले नै किन नलेखियोस् । आखिर सिन्को बिना त त्यो अक्षर बनेन नि ! सिन्को नै आखिर कलम रहेछ, खरी नै कलम रहेछ । त्यसैको अनेकौँ—विकसित रूप अहिले म देख्दैछु । यस कलमालयले विभिन्न समयको, ठाउँको, परिवेशको, देशको इतिहास बोलेको छ । मलाई यस्तो लाग्दैछ आर्ट ग्यालरी र पेन लाइवेरी हेर्नु एउटै कुरा हो । जसको निरीक्षण गर्न विशिष्ट किसिमको कालत्मक, आविष्कारक तथा वैचारिक चेत चाहिन्छ । तब मात्रै चित्र बोलेको सुन्न सक्छौँ, त्यस्तै यी पेनहरूको भाषा बुझ्न समर्थ हुन्छौँ ।
संयोगै संयोगमा अतिथि भएका हामी यतिखेर बडो रमाइरहेका छौं । सार्थक लागेको छ समय । पाइतालाले अबोधबाट बोधको मार्ग पहिल्याएको आभास हुन्छ । मानव सभ्यताको आरम्भिक चरण बारे म अहिले केही सोचिरहेको छु । म सोचमग्न भई काल्पनिक हुन्छु । यस्तैमा भिनाजुको अर्को भनाइले उत्सुक हुन्छु ‘सानु उमेरमा फिल्म हेर्न दिएको पैसाले कलम किन्थेँ र फिल्मको स्टोरी साथीहरूबाट सुनेर थाहा पाउँथेँ ।’ उहाँले यसो भनिरहँदा म आफ्नो अतीतले गिज्याएको महसूस गर्छु । मेरो विगत त्यस्तो कलमप्रेमी हुन सकेन । आफ्नो काम गरिदिने शर्तमा मैले धेरै पटक कलम बेचेको छु अजितालाई । यसरी कलमलाई काममा साँटेको मैले फेरि सम्झिन लागेँ ।
‘पेन हराएर म धेरैचोटि दुःखी हुनु परेको छ’ भिनाजु एउटा नमीठो अतीतमा फर्किनु हुन्छ ‘त्यसरी कलेक्सन गरेका पेन हराउँदा मलाई कति दिन खानै रुचेन ।’ कलमको सन्दर्भमा म फेरि अर्को नयाँ कुरा थाहा पाउँछु । अदालतमा नराम्रो फैसला लेख्नु परेको—कलमको निव उतिनखेरै भाँच्ने प्रावधान आज म सुन्दैछु । किन त्यसो गरिन्छ मेरो उत्कठामा भिनाजु भन्नु हुन्छ ‘फेरि फेरि त्यस्तो फैसला गर्न नपरोस् भन्ने अभिप्रायले निव भाँच्ने चलन छ ।’ उसो भए नेपालका अदालतमा कति निव भाँचिए होलान् ? निव भाँच्नुको सार्थकता मिल्यो मिलेन हो न्यायाधिशहरूलाई ?
अन्त्यमा भिनाजुले कलम, डायरी र आफ्नो कविता कृति ‘सिरानी भिज्ने रातहरू’ हामीलाई उपहार गर्नु भयो ।
म यस्तो अनुभूति गर्दैछु—मेरो निवासमा कोही अतिथिलाई यस किसिमको सौहार्दपूर्ण वातावरण दिन सक्दिनँ निश्चय । घरमा उपस्थित आगन्तुकलाई विनीत अभिवादन गर्ने, बोल्ने, रमाउने अमिरा र आज्ञालाई कति राम्रो संस्कार सिकाउनु भएको रहेछ । प्रायः अहिलेका नानीहरूमा दुर्लभै भेटिन्छ यस्तो सांस्कारिक चेत । हामीसँगै एउटा टेबुलमा छौं । दिदीले थरी थरीका परिकार कति छिटो सिर्जना गर्नु भएको । म छक्क पर्छु । यति छिटो म केही गर्न जान्दिनँ । निकै जुम्सो छु । अघि नै फलफूल अनि चिसो पेय पदार्थले पेट भरिएको थियो । अब कुन पेटमा खाऊँ यति धेरै थोक । चुकौनीको स्वादले म लोभिन्छु । तृप्त भइसक्दा पनि थपी थपी खान्छु । तृषित मन कसरी लोभिन्छ है !
फुपू सोफामा—राता सेता धजा बाँधेका ससाना दुइटा कलश अगाडि राखेर, सुन जस्ता पहेँला डबल गन्दै हुनुहुन्छ । हामी बढो ध्यानले हेर्छौं के गर्न लाग्नु भयो भनेर । आडमा रातो र पहेँलो टीका भएको सानो थाली पनि छ । सोच्यौँ अब उहाँको पूजाको समय भएछ क्यारे । अधैर्य भई उहाँको पूजापाठ हेर्न मन हुन्छ । त्यसै बखत हामीलाई पालैपालो टीका लगाउँदा थाहा पायौँ—त्यो पैसा भरिएको कलश त हामीलाई दिन तयार पार्नु भएको रहेछ । गए साल उहाँको चौरासी हुँदाको तुलादानका बडल र कलश रहेछन् ती । उहाँको आशीर्वाद लिएर—हामी रेखा दिदी र भिनाजुको साथमा रमा दिदीको घर गयौँ ।
रमा दिदीको अधैर्य उस्तै छ, आगन्तुकलाई कसरी आतिथ्य गराऊँ भन्ने हड्बडी छ । उहाँका श्रीमान् पनि त्यही मनस्थितिमा देखिनु हुन्छ । हँसिलो मुहारकी आमा—म उहाँकै आडमा छु । थालीभरि मीठा चक्लेट लिएर दिदी सिटिङ रुम आइपुग्नु हुन्छ । आमाको आशीर्वाद सहितको स्नेही स्पर्शमा—हामी तत्क्षणमै आत्मीय अनुभूति गर्छौं । रमा दिदी अझै केही खाने भन्दै हुनुहुन्छ । त्यतिखेर मेरो मुखमा कस्तो वाणी आएछ भने नि म आफैंले थाहा पाइनँ ‘दिदी हामीले दशैं तिहार सप्पै उतै मनाएर आयौं । कृपया केही खानको इच्छा छैन ।’
अहिले बेलुकाको पाँच बज्नै लागेको छ । एकछिनको बाचचितपछि हामी निस्किन्छौं । रमा दिदी हामीलाई चोकसम्म पुर्याउन—आउनु भएको छ ।
रेखा दिदी र भिनाजुको हार्दिक साथ पाउँदा अहिले हामी बाटामा हिंडिरहेका छौं भन्ने समेत हेक्का रहँदैन । अब हामी ढुङ्गे हड्डा आइपुगेका छौं । गाडी छुट्ने हतारले दिदी भिनाजुलाई बिदाइको नमस्कार गर्न पनि आतुरी पर्छ । उहाँहरूको माया, प्रेम, श्रद्धाले भरिएको मन लिएर हामी गन्तव्यतिर लाग्छौं । गाडी रोकिँदै, थामिँदै गति लिँदैछ । सद्भावपूर्ण आतिथ्यको नशाले लठ्ठिएको बेला कतिखेर म बालाजु आइपुगें पत्तै भएन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।