थाहा छैन मलाई कहाँ लगिँदैछ ? म भर्खर चारमास पूर्ण भएको छु । हलक्क बढेकाले असमयमै म एक वर्षको जस्तो देखिन्थेँ । माताजी फेरि गर्भिणी भएकी छिन्, म जस्तै भाइबहिनीलाई जन्म दिन ।
अहिले पनि मेरो कुतुहलता उस्तै छ, ममाथिका दाइदिदीहरू कहाँ गए ? मैले उनीहरूलाई कहिल्यै देखिनँ । मनमा एउटा अनौठो विचार आउँथ्यो, मेरा भाइबहिनीहरूले पनि मलाई देख्न पाउने छैनन्, जस्तो मैले पाएको थिइनँ । त्यसबखत सोध्लान्, माताजी ! हाम्रा दाइदिदीहरू खै ? कहाँ गए ? कहिले आउँछन् ?
विचरी मेरी माताले के भनेर जवाफ देलिन् ? उनले आफ्नै सन्तानलाई पनि आफ्नो भनी प्यार गर्न पाउँदिनन् । आफ्नो बालबच्चाको रेखदेख गर्न, सुरक्षा दिन उनी असमर्थ हुन्छिन् ।
पालन पोषण, स्याहार सुसार, सुरक्षा तथा अभिभावकत्व पूरा गर्दै आएका (मालिक) मानव जातिले हामीलाई विश्वास दिलाउँदै आएका छन् । त्यतिखेर मलाई यस्तो लाग्छ, मानिसहरू नै हाम्रा दाता हुन् । यस जगत्मा उनीहरू जस्तो दयावान अरू को हुन सक्छ ? हामी मालिकसँग तृप्त भएर आफ्नो मनोभावना उनीहरूलाई सुनाउछौं मौनभाषामा । उनीहरू पनि हाम्रो अव्यक्त भाषा बुझ्ने कोसिस गर्छन् । हाम्रो भोक तिर्खा सबैसबै ख्याल गर्छन् । त्यति त उनीहरूले आफ्नो सन्तानको पनि गर्ने छैनन् । झरी बादल, चिसो तातो, थकान सहेर हाम्रो सेवामा तल्लिन भएको देख्दा अब म कुन भाषाले मालिकको सम्मान गरूँ ?
माताजी नजिकै बसेर मैले आनन्दले घाँस उग्राइरहेको थिएँ । मालिककी ठूलीछोरीले फुकाएर मलाई स्वतन्त्र छोडिदिइन् । मकैबारीमा म निर्भय चर्न थालेँ । आहा ! यस्तो पनि दिन आउँदोरहेछ, मैले बाली खाँदा पनि कसैले धपाएनन् । अघिअघिका दिन मैले यसरी बाली खाँदा धेरै कुटाइ खानुपरेको थियो । सोचेँ मालिककी ठूलीछोरी निकै जाती रहिछिन् । लाग्यो यति भलो मान्छे काठमाडौं फर्किएर कहिल्यै नजाऊन् । यद्यपि मेरो मनमा एउटा सन्देह बाँकी थियो । मलाई मात्र यति बिघ्न माया किन गरिएको होला ? सँगैका मेरा समवयी फुकाइएका छैनन् । माता पनि बन्धनमा छिन् ।
बाक्लो ढड्डी घाँसमा चरेकाले म छिट्टै अघाएको थिएँ । परन्तु मनले मानेको थिएन, बगालमा मिसिन । फेरि बन्धनमा पारिहाल्छन् नि । म बारीमा छु भन्ने शायद ठूल्दिदीले भुलेकी छन् । म त्यतै अल्मलिएको थिएँ । त्यसैबखत उनले मलाई डो¥याएर घर लगिन् । तर कुनै पश्चात्ताप थिएन । म तृप्त थिएँ । टुनुक्क अघाउँदा मेरो भुँडी प्याट्ट उठेको थियो ।
निश्चय नै ठूल्दिदी आज टाढा जाँदैछिन् । काठमाडौं जाँदा आउँदा उनी यस्तै साजसज्जाले सुन्दर देखिन्थिन् । परफिमको सुगन्धित बास्ना हावाले उडाएर परपर लगेको थियो । मैले जस्तै मेरो मित्र काले कुकुरले पनि यो सब थाहा पाएको थियो । ठूल्दिदीको मुखमा हेरेर उसले केके भनेको थियो मैले बुझिनँ । शायद छिट्टै घर फर्किएर आउनु भनेको होला । चाउचाउ बिस्कुट उसलाई खूब मन पर्छ । फर्की आउँदा त्यही ल्याइदिनु भन्यो अवश्य ।
यसैत्यसै प्रसन्न भएको यो मनले कसैलाई वास्ता गर्न चाहेको थिएन । ठूल्दिदीले मलाई पनि आफूसँगै लैजाने भइन् । तर कहाँ ? थाहा छैन
।
मलाई नुनिलो दालभात अत्यन्तै मन पर्छ । त्यही जानेर होला खाना खाएपश्चात् ठूल्दिदीले पहेँलो तरकारी मुछिएको भात दिएकी छन् । अघि पनि कहिलेकाहीँ दिने गर्थे । किन हो कुन्नि आज सबै थोक मलाई मात्र दिएका छन् । उता मेरा बगालका साथीहरू मुख मिठ्याइरहेका थिए । उनीहरूलाई चासो देखाएनन् । त्यस क्षण मनमा सन्देहको अर्को ज्वार उठ्यो । मलाई यसरी किन फुक्र्याइएको होला ?
म अज्ञात गन्तव्यको तयारीमा थिएँ । माताजीले विह्वल स्वरमा भन्नुभयो्, बाबु कहाँ जाँदैछस् यसरी ? मैले के भनेर उत्तरित गराऊँ । मसँग जवाफ थिएन । म कहाँ जाँदैछु आफूलाई नै थाहा थिएन । यद्यपि मैले उत्तर दिनुपर्छ । देख्छु वहाँ व्यग्र प्रतीक्षामा हुनुहुन्छ मेरो कुरा सुन्न । आँखाका परेला झिमिक्क नगरी वहाँले मलाई हेर्नु भएको छ । त्यो निर्निमेष दृष्टिमा भयानक चिन्ता थियो । मैले भनेँ, माताजी म ठूल्दिदीसँग टाढा जाँदैछु, तर कहाँ म भन्न सक्दिनँ । शायद काठमाडौं जाने होला ।
शुभ साइतको समय माताको अधैर्यले म निराश भएँ । वहाँको दृष्टिमा गहिरो करुणा थियो । वेदना मिश्रित स्वरमा भन्नुभयो्, छोरा ! तिम्रो यात्रामा म निसन्देह हुन सक्दिनँ । यो मनमा अनन्त भयको बाढ उर्लिएको छ । तिम्रा दाइदिदीहरू पनि यसरी नै गएका थिए । किन्तु ती फर्किएर आएनन् । बाबु ! तिमी अहिले सानै छौ । मानव चरित्र बुझ्ने बेला भइसकेको छैन । तिमी यस्ता कुरा बुझ्ने भइसक्दा तिम्रो आयु क्षीण भइसकेको हुन्छ । अन्त्य अन्त्यमा त्यो कुरा तिमीले राम्ररी जानेका हुन्छौ । तिम्रा पितादेखि लिएर दाजुभाइ सबैको नियति यसरी नै दोहोरिएको छ । तिमीहरूले मानव जातिको क्रुर व्यवहार किमार्थ जान्न पाउने छैनौ । यस्ता कुरा हामी (प्रकृति) ले मात्र बुझेका हुन्छौं ।
मलाई विश्वास छ, जननीको पीडाबोध गर्ने प्राणी यस धर्तीमा सृष्टिकर्ताले जन्माएकै छैनन् । यदि त्यस्तो प्राणीको सृष्टि हुँदो हो, हाम्रो करुणाले द्रवित त्यो मन पग्लिएर सारा धर्ती डुब्ने थियो । शायद त्यही नहोस्, मङ्गल रहोस, शुभ होस् भनेर पृथ्वीतलमा कोमल हृदयीको जन्म दिइएन । जननीले महासंकट झेलेर सम्पूर्ण प्राणीको उद्धारमा आफूलाई आहुति दिनु परेको छ । नियतिले मानवको कुटिल चरित्र बोध गर्ने सूक्ष्म दृष्टि फगत जननीलाई दिएको छ । तिमीहरूलाई होइन । धन्य हाम्रो कोख … जसले काख रित्याउन दिँदैन । हुर्किंदै गरेको सन्तान खोसेर लैजाँदा हामी फेरि सन्तानवती भइसकेका हुन्छौं । पछिल्लो सन्तानको लालनपालनमा अघिल्लो सन्तानलाई सम्झिने फुर्सद हामीलाई दिइँदैन । यसकारण पुत्र शोकमा डुबेर मुर्झाउन हामी पाउँदैनौं । हाम्रो अवसाद कम्ती गराउनकै निम्ति शायद हाम्रो गर्भ उर्वरिलो भएको होला ।
माताजीका कुरा मैले कति नै बोध गर्न सकूँ ? खै ज्ञान ? खै अनुभव र अनुभूतिहरू ? वहाँ अनुभवका कुरा गर्दै हुनुहुन्छ । व्यवहारिक पक्षमा हुनुहुन्छ । मसँग त्यो नभएर होला । मैले वहाँका सम्पूर्ण बातलाई सत्य मान्न सकिनँ, किनकि वहाँले भने जस्तो मानव कुटिलता मैले ठूल्दिदीमा देख्दिनथें । साँच्चि नै उनी मायालु छिन् । उनका हरेक व्यवहार मलाई प्रिय लाग्छ । निस्वार्थ मनले आफ्नै सन्तानलाई जस्तै गर्छिन् ।
मैले वहाँलाई सम्झाउँदै भनेँ, माताजी ! चिन्ता नलिनू । विगत यस्तै भयो भनेर अनागत पनि त्यस्तै हुन्छ भन्नु ठीक होइन । अहिले आएर मानिस सुध्रिएका पनि त हुनसक्छन् । हेर्नु न ठूल्दिदीले कति धेरै माया गर्छिन् । हामीलाई खेलाउँछिन्, काखमा लिन्छिन् । जुम्रा किर्ना टिपिदिन्छिन् । देख्नु भएकै छ नि हजुरले, हामी बिरामी हुँदा उनी कसरी आत्तिने गर्छिन् । धेरै दिनदेखि मलाई खानाको रुचि थिएन । उनले कति पीर गरिन् । काठमाडौँबाट आएको भोलिपल्टै तिनपिप्ले गएर औषधि ल्याइदिएकी होइन ? उनको मलाई बडो विश्वास लाग्छ । हजुर निश्चिन्त हुनोस् । म छिट्टै पुनरागमन हुनेछु । हजुरको चरण स्पर्श गर्न म आइहाल्छु नि ।
मैले माताजीलाई सम्पूर्ण रूपले निसन्देह गराउन सकेको थिइनँ । वहाँका संशयी दृष्टिले मलाई अपलक हेरिरहेका थिए । हाम्रो संवाद सकिएको थिएन । मेरो कुरा सुनेर वहाँले केही भन्न खोज्दै हुनुहुन्थ्यो । लाग्छ, अझै वहाँसँग धेरै कुरा बाँकी थिए । त्यसैबखत मलाई ठूल्दिदीले डो¥याउन लागिन् ।
आफ्नो बगाल छोडेर जाने इच्छा मलाई थिएन । आफ्नै चरन, आफ्नै बासस्थान, आफ्नै दौंतरी प्यारो लाग्दो रहेछ । छुट्टिने बखत मलाई नरमाइलो लाग्यो । ठूल्दिदीले हरियो घाँस देखाएर मलाई उनको पछिपछि हिंड्न भनेकी छन् । मैले माताजी, बगालका आमाहरू र मेरा आत्मीय साथीसँग बिदाबादी हुने समय नै पाइनँ । काठमाडौं शहरमा यहाँको जसरी चर्न पाइन्छ कि पाइँदैन होला ? मन मिल्ने साथी भेटिन्छन् भेटिँदैनन् कुन्नि । मेरो अनुपस्थितिमा यहाँ नियास्रो हुन्छ कि हुँदैन होला ? मनमा अनेक प्रश्नहरू उठ्दै सेलाउँदै फेरि उठ्दै थिए ।
मेरो प्रस्थानमा माताजी विह्वलित हुनुहुन्छ । वहाँ सशंकित हुनुहुन्छ म फर्किएर आउँछु आउँदिन भन्ने कुरामा । मलाई शहर किन लगिँदैछ ? वहाँको प्रश्न थियो ।
मेरा प्रत्येक डेगले माताजीबाट मलाई टाढा गराउँदै थियो । हरियो घाँसको प्रलोभनमा मैले वहाँलाई फर्किएर पनि हेरिनँ । लागेको छ म तुरुन्तै आइहाल्छु नि, व्यर्थको चिन्ता किन लिनु । वहाँको द्रवित स्वर पल्लोघुम्तिसम्म सुनिएको थिए । वहाँले त्यही कुरा दो¥याउनु भएको थियो, छोरा ! तिमी चाँडै घर सम्झिएर आउनु, दुखी माताको यही कामना छ । तिमीलाई के पत्तो ? मेरो सन्देह किञ्चित दूर भएको छैन, बरु बढ्दो छ । मेरो विकल मनले ठम्याए अनुसार तिमी मानवको चक्रवातमा फसिसकेका छौ । निश्चित छ, त्यो चङ्गुलबाट फुत्कियौ भने तिमीले कदाचित् मर्नु पर्दैन । तिम्रो मृत्यु सम्भव छैन । अजर हुनेछौ । यमराज पनि तिम्रो वशमा पर्नेछ । तर … ।
यात्रा आरम्भको त्यस क्षण अधैर्य मनलाई शान्त गराउने प्रयासमा म थिएँ, माताजीलाई कष्ट नहोस् भनेर । आफूलाई सम्झाइ बुझाइ गरेँ । त्यसो हुँदा म प्रसन्न मुद्रामा छु भन्ने माताजीलाई लागेको थियो । मैले त्यो नाटक रचेको थिएँ, घरबाट रमाउँदै म निस्किएको बगालका आमाहरू र सँगै खेल्ने उफ्रिने गरेका मेरा साथीहरूले पनि एकटकले हेरिरहेका थिए । म जति टाढा पुगेको थिएँ माताजीको आवाज उति नै मधुरो भएको थियो । अल्लि उतै पुगेपछि त्यो पनि सुनिन छाड्यो । त्यसपछि त मलाई घर छोडेर विरानो मुलुक गएको अनुभूत हुन थाल्यो । विरक्त भएँ । उदेक लागेर आयो । माताजीको काख झलझली सम्झिएँ । साथीभाइ, चरनक्षेत्र, आफ्नो जन्मभूमि सबैसबै आँखा वरिपरि रिंग्न थाले । मन उराठिएर आयो । लाखौं चाहेर पनि अब म घर फर्किन सक्ने छैन । म टाडा धेरै टाढा आइसकेको छु ।
माताजी अहिले के सोच्दै हुनुहुन्छ होला ? अब त चर्न जाने बेला पनि भयो । छोराको साथ छुटेको दिन के वहाँलाई चर्न मन लाग्ला ? मेरो अनुपस्थितिमा साथीहरूले के सोचेका होलान् ? उनीहरूलाई कस्तो लाग्दैछ होला ? मनमा यस्तै कुरा खेल्न थालेका छन् ।
मेरो इच्छा कुन ठूलो थियो र ? न विगतको स्मृतिले भुलाउँछ, न भविष्यको सुर्ताले गलाउँछ । बस, एकपेट खान पाएकै थिएँ । अरू के चाहियो ? मलाई अर्को स्वतन्त्रता चाहिएको थिएन । त्यही दाम्लाभित्र पूर्ण स्वतन्त्रताको अनुभूति गर्न अभ्यस्त भइसकेको थिएँ । पेटभरी खान पाउँदा मैले बिर्सिसकेको हुन्छु आफ्नो परतन्त्रलाई । मेरी मातालाई अनन्त पुत्र शोकबाट भुलाउन त्यसै गरियो । आज मेरो अनुपस्थितिमा रिक्त काखलाई बिर्साउन मिष्ठान्न भोजन दिइयो अवश्य ।
यसअघि पनि मैले अनौठा अनौठा आवाज सुन्ने गरेको थिएँ । मनमनै विचार्थें त्यसरी कराएको के होला ? कतै संकटसूचक ध्वनि त होइन ? हामीहरू त्यस आवाजले भयभीत हुन्थ्यौं । चर्दाचर्दै उफ्रिएर भाग्थ्यौं । अहिले आएर थाहा पाएँ, त्यो त गाडीकोे हर्न रहेछ ।
बीचसडकमा म निस्तब्ध टोलाइरहेको छु । मेरो मन त्यहाँ छिनभर अडिएन । घर फर्किने विचार मात्रै आइरह्यो । त्यो हरियो घाँस मन पर्न छोड्यो । त्यसैले त हो मलाई जिल्याएर यहाँसम्म ल्याएको ।
ठूल्दिदी र खलासीबीच मलाई कहाँ राख्ने भनेर विवाद भएको छ । त्यो खलासी कति निर्दयी रहेछ । हेर त मलाई डिकीमा राख्ने भनेको छ । त्यो कुरा दिदीले मानिनन् । भनिन्, कहाँ डिकीमा राख्ने कुरा गरेको भाइ ? विचरा ! त्यहाँ त उसले सास फेर्न पनि सक्दैन । सोच त एकपटक उसको दिनभरको यात्रा कति कष्टकर होला ? बरु उसलाई माथि छतमा राखिदेऊ ।
घ्यार्र घ्यार्र गर्दै थियो गाडी सुइँ्यय चल्यो । शुरूमा त मलाई डर डर लागेको थियो । खुट्टा टेकिएनन्, लर्खराए । कतै लडिने त होइन । छतबाट तल खसिने पो हो कि ? एकचोटि सम्पूर्ण शरीर सिरिङ्ग भयो ।
जे होस् ठूल्दिदी माताजीले भने जस्ती निष्ठुर छैनन् । उनी मर्म बुझ्ने छिन् । गाडीको वेगले ल्याएको सिर्सिरे हावामा चर्को घामले खासै अत्याएन । धन्न डिकीमा बस्नु परेन, नत्र मर्नु हुन्थ्यो । त्यसो त छतमा पनि सजिलो थिएन । म यता र उता झड्कारिन्थेँ । स्थिरले बस्न सकेकै होइन । कहिले घुँडा मारेर, कहिले आधा हर बसाएर, कहिले पसारिएर दुःखद यात्रा गरेँ । त्यसबखत लाग्यो मेरो जस्तो यात्रा कसैको नहोस ।
ठूल्दिदी तल आरामदायी सीटमा छिन् । लागेको थियो मलाई पनि साथमै राख्लिन् । छतमा भोक प्यास सहेर आफू एक्लै छु । बेलाबेला खाजा पानीको लागि गाडी रोकिएको छ । प्यासेन्जर हुर्र बाहिर निस्केका छन् । ठूल्दिदी पनि निस्किएकी छिन् । उनले मलाई चासो देखाइनन् । भोक लाग्यो लागेन, के खान्छस् अहँ उनले सोधिनन् । आफूले चाहिँ खाएर आइन् । यता मेरो पेट भोकले कल्याङ्कुलुङ् गरेको थियो । तिर्खा लागेर मुटु फुट्ला जस्तो भयो ।
यस्तो असह्य क्षणमा माताजीका अभिव्यक्ति मेरो कानमा प्रतिध्वनित भइरह्यो । ती कुरा स्मरणमा आउँदै जाँदै फेरि आउँदै गरे । बगालको सम्झना झन् तीव्र भयो । प्रस्थानको समयमा माताजीका अश्रुपुरित नयन धमिला भएका थिए । यतिखेर त वन्यक्षेत्रबाट फिर्नु भयो होला । वहाँ आज आनन्दित हुन कसरी सक्नु भयो र ? विछोडको घडी । थाहा छैन अब आमा छोराको भेट हुन्छ हुँदैन ।
पूर्वसन्ध्यामा हामी शहर पुगेका छौं । ठूल्दिदीको एउटी सानी छोरी छे । मलाई डो¥याउन नपाएर उसले ममीसँग झगडा गर्दा मेरो मनमा माताजीको स्मरण अरू बाक्लियो । राजधानीमा सन्ध्याको बत्ती बल्न थालेका छन् ।
अहिले हामी डेरामा पुगिसकेका छौं । बाहिर ठूलो प्यासेजको एउटा कुनामा एक अपरिचित दिदी पढिरहेकी छिन् । मलाई देखेर सहानुभूतिको भावमा भनिन्, हेर ! कष्ट भोगाउँदै किन ल्याएको यसलाई ? बगाल छुट्दा कति नियास्रियो होला ? कति आत्तियो ? मानिसहरू आफ्नो स्वार्थ सिद्धिमा अरूको किञ्चित वास्ता गर्दैनन् । थोरै पनि दया करुणा ममता छैन ।
त्यो कुरा सुन्दा मलाई माताजी र उनको अभिव्यक्ति उस्तै लाग्यो । माताजीले मानव ज्यादा कुटिल चरित्रका हुन्छन् भन्नुभएको थियो । आफ्नो शर्तका लागि माया, दया, करुणा, सदभाव, मित्रता सबैसबै भाव र व्यवहारमा अभ्यस्त भएका मानव जातिको किमार्थ विश्वास नगर्नू, वहाँले बारम्बार यही भन्नुहुन्थ्यो ।
यतिखेर ती दिदीबाट पनि यही संवाद सुन्दा ठूल्दिदीप्रतिको मेरो विश्वास कम्ती हुँदै गयो ।
स्नेही भावले मलाई सुम्सुम्याउँदै ती दिदीले भनिन्, हेर कति माया लाग्दो रहेछ । विचरा ! भोक पनि लाग्यो होला । सन्तोषी रहेछ, बगाल छुटेर टाढा हुँदा पनि नकराउने । अन्य प्राणीलाई समदृष्टिले हेर्ने चेतना मानिसमा कहिले आउला खै ? आफ्ना सन्तानप्रति जन्मदातृको स्नेहधारा कति प्रवाहित हुन्छ ? त्यति नै अरूको सन्तानप्रति किन प्रवाहित हुँदैन जननी हृदय ? प्रकृति त यति कठोर छिन् भने पुरुष हृदयको के कुरा गर्नु । आफ्नी छोरीलाई एकदृष्टि टाढा राख्न पनि नसक्ने जननी, हेर उनले यसलाई भने आफ्नाबाट छुटाएर … ।
मलाई बरु माताजीको करुणाले त्यति छुन सकेको थिएन जति अहिले यी दिदीकोले छोयो । आफ्नो हुनुको भाव जाग्यो । मलाई प्यासेजमा राखिएको छ । उनले छिनछिनमा मायालु दृष्टिले मलाई हेरेकी छिन् ।
ती दिदी प्यासेजकै छोउको कोठामा बस्दिरहिछिन् । बेलुका खानाको समयमा उनले आफ्नो भाइसँग कुरा गरेको मैले सुनिरहेको थिएँ । भनेकी छन्, त्यो कालो पाठोलाई देखेर मलाई औधी माया लाग्यो । उसका पनि त आफ्ना कोही छन्, साथीसंगी, बगाल, जन्म दिने माता । हेर सानुभाइ ! तिमीलाई मेरो एउटा अनुरोध छ, आफ्नो स्वार्थका लागि भगवान्लाई पशुबलिको भाकल कहिल्यै नगर्नू । प्राणको बलि दिएर कसरी धर्माचरण हुन सक्छ ? हामी जस्तै ऊ पनि एउटा प्रकृति पुत्र हो । हामीसँग जस्तै उसँग पनि एउटा आत्मा छ । उसका पनि भोक प्यास तिर्खा छन् । हामीले जस्तै कष्ट अनुभूति उसले पनि गर्न सक्छ । उसलाई पनि आफ्नो ज्यानको माया छ । ऊ पनि हामीजस्तै यस धर्तीको अंशियारा हो । यसधरामा हामीलाई जति अधिकार छ त्यत्ति नै उसलाई पनि छ । मानव र अन्य प्राणीमा चेतना बाहेक अरू कुनै भिन्नता म पाउँदिनँ । त्यही चेतनाले नै मानिसलाई सभ्य बनाएको छ, सभ्यतामा पु¥याएको छ । मानिसको कर्तव्य भनेको अभिभावक भएर प्राकृतिक सम्पदाको संरक्षण गर्नु हो । अभिभावकत्व निभाउनु हो । अन्य प्राणीलाई बन्धुबान्धबको दृष्टिले हेर्नु हो । मित्रताको व्यवहार गर्नु होे । दुखको कुरा मानिसहरू त्यही उच्च विवेकका कारण प्रतिदिन क्रुर बन्दै गएका छन् । पशुबलि दिएरै धर्मपालन हुन्छ भने म बरु अधर्मी हुन चाहन्छु । देवदेवीको मठमन्दिरमा यस्ता निर्दोष प्राणीको आत्मा चुँडाएर सुनकै महल ठडिन्छ भने पनि मलाई स्वीकार्य छैन । बरु भिखमङ्गा भएर बाँच्नुमा नै बडो आनन्द आउने छ । मेरो सल्लाह छ झुक्किएर पनि भगवान्लाई घुस खुवाउन तिमीले कदाचित पशुबलि नदिनू ।
हामीले मान्दै आएकी देवी के जननीकै प्रतिमूर्ति होइनन् ? उनै जननीको पुत्रभोग दिएर उनी कसरी प्रसन्न हुन सक्छिन् । त्यसो त स्वार्थवश भगवान्लाई गरिएको उपासना कसरी धार्मिक हुन सक्छ ? निस्वार्थ मनले आराधना गर्दा मात्रै धर्म प्राप्ति हुनसक्छ ।
मैले त्यो सब सुनिरहेको थिएँ । परन्तु सम्पूर्ण त बोधगम्य थिएन । केही बुझेँ । मलाई काठमाडौं शहर किन ल्याइएको रहेछ, त्यो थाहा पाएँ । मैले माताजीको वचन पूरा गर्न सक्ने छैन । म जीवित रहनु नै अब कति छ र ? लाग्छ म अन्त्य अन्त्यमा आइपुगेको छु । ती दिदी मलाई अरूभन्दा बेग्लै लाग्यो । हाम्रो मर्म बोध गर्न सक्ने, उदारताले भरिएकी प्रतिमूर्ति रहिछिन् ।
माताजीले यसधर्तीमा जननी हृदयको करुणा बुझ्ने एउटै प्राणी सृष्टिकर्ताले जन्माएका छैनन् भन्नुभएको थियो । यद्यपि मलाई त्यो कुरा सत्य लागेन । वहाँले चाहनुभएको सहृदयी मानव मैले फेला पार्दै थिएँ ।
ती दिदी घरी घरी मछेउ आएर माया गर्थिन् । राति सुत्नेबेलामा पनि उनले मलाई सुम्सुम्याएर गइन् । आफूले खाना खाएपछि मलाई नुनिलो भात दिएकी थिइन्, म कृतज्ञ भएँ ।
मैले ठूल्दिदीलाई गर्दै आएको विश्वास शहर पुगेपछि पातलिंदै गयो । डेरामा पुगेपश्चात् उनले मलाई एकचोटि फर्केर हेरिनन् । बरु उनका श्रीमानले मेरो राम्रो हेरचाह गरे । मन पर्ने घाँस दिए । मेरो रात त्यही चिसो छिँडीमा बित्यो । शहर सारा सुनसान थियो । एक्लै विरक्तिएको मनले माताजी सम्झियो, साथीभाइ सम्झियो, बगालका आमाहरू सम्झियो, वन्यक्षेत्रमा आउने संगिनीहरू सम्झियो । स्मृतिमा मात्रै अब ती निकट थिए । भेट होला त म भन्न सक्दिनँ । सम्भव कसरी ?
भोलिपल्टको बिहान ती दिदीबाट मैले एउटा यस्तो गोप्यता थाहा पाएँ, ठूल्दिदीकी छोरी जन्मिएको केही महीनापछि मर्नु न बाँच्नुको स्थितिमा उनका श्रीमानले दक्षिणकालिकालाई ‘हे जननी माता देवी ! मेरी छोरीलाई केही नहोस्, उसलाई निको भएपछि म तिमीलाई कालो बोकाको खुन चढाउन आउने छु’ भनी भाकल गरेका रहेछन् ।
त्यो सुनेर मेरो मन भरङ्ग भयो । मानव चेतनाकै प्रतिफल हामी हर निमेष अभिषप्त भएका छौं । आफ्नो सन्तानको लागि अरूको पुत्र दोहन गर्नु, आहुति दिनु कतिको न्ययोचित होला ? मानिलिऊ, हामीले त्यस्तो गर्ने हो भने उनीहरूले कैंयन् न्यायलयहरू खोल्ने थिए, हामी विरुद्ध रीट जाहेर गर्न । विवेकशील प्राणी भएर पनि मानवले हाम्रो हकहित र संरक्षणको लागि एउटै न्यायलय स्थापना गरेको छैन । यही तथ्यबाट थाहा हुन्छ मानिस कतिका समझदार छन्, विवेकवान छन् ।
यी सारा प्रपञ्च बोध भएपछि मलाई सिङ्गो मानव जातिप्रति नै घृणा उत्पन्न भयो । हामीमाथि गरेको अन्याय जुन किसिमले बढ्दै थियो, त्यति उनीहरूको चेतनाको हुर्मत भएको थियो ।
पर्सिपल्टको दिन धर्तीमा मधुरो उज्यालो फुस्फुसाउँदै थियो । त्यतिखेर ठूल्दिदीले नुहाइ धुवाइ सकेकी थिइन् । अहिले पनि उनी काठमाडौं आइजाइकै साजसज्जामा छिन्। यो शहरमा गाउँको आभास म पाउँदिनँ । उतैको स्मृतिमा डुबेको यो मन रिक्त थियो । सँगै खेलेका साथीहरू अहिले के गर्दै होलान् ? माताजी के सोच्दै हुनुहुन्छ ?
ठूल्दिदीले छिनछिनमै आफ्नी आमालाई फोन गरेको देख्दा मेरो मन उराठिएर आयो । मानिसहरू कति निर्विवेकी हुँदा रहेछन् ? आज आएर बल्ल थाहा पाउँदैछु । मलाई पनि त माताजीसँग बोल्न मन थियो नि ! आफन्तबाट टाढिनुको पीडा के हामीलाई हुँदैन ? यो निष्ठुरी शहरमा बगाल विहीन असहाय भावले मेरो मन उथलपुथल भयो । ठूल्दिदीले मेरो मर्म पटक्कै बुझिनन् ।
अब फेरि कताको साइत हो ? ठूल्दिदी, उनका श्रीमान र सानीछोरीसँगै म पनि ट्याक्सीमा छु । हामी त्यहाँबाट निस्किँदा प्यासेजमा बसेर पढिरहने ती दिदी उठेकी थिइनन् । प्रस्थानको बेला उनलाई भेट्ने धोको थियो । मलाई नदेख्दा शायद उनी दुखी होलिन् ।
हामी गन्तव्यमा पुगिसकेका छौं । यतिखेर मसँग किञ्चित सन्देह छैन । थाहा पाएँ मलाई यमराजको देशमा ल्याइएको रहेछ । हिजो ती दिदीले लिएको दक्षिणकालीको नाम मैले बिर्सिएको थिइनँ । आफूजस्तै मैले त्यहाँ धेरैलाई देखेँ । मानव परिचय र उनीहरूको हिंस्रक गतिविधि त्यहाँ अझ बढी खुल्दै थियो ।
मानिसको पंक्तिबद्ध लहर परसम्म पुगेको छ । हाम्रो प्राण लुछ्न आतुर भएकाहरू हर्षित मुद्रामा थिए । हेर न हाक्का हाक्की घुस लिने र दिनेको कत्रो भीड । उनीहरू नै फेरि भन्छन्, घुस लिने दिने दुवै दण्डनीय छन् ।
अझै पनि मैले ठूल्दिदीलाई आफ्नो ठानिरहेको थिएँ । विश्वासले उनको शरणमा परेको थिएँ । साखिल्लो भएर उनीसँगै टासिएको थिएँ । त्यसैबखत अकास्मात् उनी भयावह राक्षसी स्वरूपको देखिन लागिन् । अहो ! मेरा दृष्टिहरू के भए ? यथार्थ हो या भ्रमित दृश्यहरू … । हेर्दाहेर्दै त्यहाँका सम्पूर्ण मानिस ठूल्दिदीकै स्वरूपका देखिए ।
हे भगवान् ! साँच्चै तिमी उद्धारक हौ ? तिमी न्यायिक छौ ? तिमी जीवितै छौ ? के तिमी आफूलाई महान् देख्छौ ? … सर्वशक्तिमान हुँ भन्छौ भने मलाई एउट प्रश्नको मात्र जवाफ देऊ हामीले न्याय कहिले पाउने हो ? मानिसजस्तै हामी पनि यसधर्तीका अंशियारा कहिले हुने हो ? यदि हामी पनि तिमै्र सृष्टि हौं भने यो विभेद किन ? मानव जातिलाई दया, करुणा, सद्भावको पाठ कहिले सिकाउने हो ? बस्, म यही जवाफको पर्खाइमा छु । अब बलिवेदीमा उक्लिने बेला भयो, म छिट्टै उत्तरित हुन चाहन्छु ।
रगतको फाल्सामाथि टेक्दै हामी अगाडि बडेका थियौं । मेरो विदीर्ण हृदयले त्यसघडी फगत माताजीलाई सम्झिरह्यो । हाम्रो भेट अब सम्भव थिएन । त्यसो त यो कुरा वहाँलाई पहिल्यै थाहा थियो र त भन्नुभयो, तिमी गाउँ फर्किएर आयौ भने तिम्रो मृत्यु कहिल्यै छैन, यमराज पनि तिम्रो वशमा पर्नेछ । वहाँले यसो भन्दा म हर्षित थिएँ । म निश्चय फर्किने छु । अनि त यमराज पनि हार्ने छ मेरासामु । यही निश्चितता थियो मेरो मनभरि । अहिले मलाई बोध भयो त्यो त असम्भव भाषा रहेछ ।
मजस्तै मेरा निर्दोष मित्रहरू त्यहाँ चटाचट काटिएका थिए । अब मेरो पालो नजिकिंदै थियो । त्यसअघि नै मैले आफ्नो रक्तभेल बगेको देखेँ । मेरो खुन पनि त्यस्तै रातो थियो जस्तो मानिसको हुने गर्छ ।
हे महामानव हो, तिमीहरू मभन्दा हजारौं लाखौं गुणा चेतनशील छौ । के तिमीहरूले त्यो रक्तफाल्सामा आफूलाई देखेनौ ? जब कि मैले मेरा मित्रहरूको रक्तकुण्डमा आफ्नै खुनको ताल देखेँ ।
मेरो लागि समय रित्तिँदै थियो । अब काटिने पालो पनि आयो । परन्तु मलाई किञ्चित भयले सताएन । लाग्यो अब चोला फेर्दैछु । बस्, त्यत्ति । हामी जस्ता निर्दोष प्राणीको बलिमा आफ्नो अस्तित्व जोगाउँदै आएकी देवी, भगवती, जननी जुन नामले सम्मान गरे पनि हुने दक्षिणकालीलाई मैले शिर झुकाएर प्रणाम गरेँ । उनी मौन थिइन् । मेरो प्रणामलाई उनले स्विकारिनन् । किन त्यसो भयो ? मैले आँखा च्यातेर हेरें, अनि त मलाई उनीप्रति दया जागेर आयो । कम्सेकम म त एउटा सजीव मूर्ति थिएँ । विचरा ! उनको देह प्राणहीन एउटा पस्तर थियो । म सहानुभूतिले भरिएँ । अघि भर्खरसम्म उनलाई दोषी देखेको मेरो मनले तत्कालै माफी माग्यो । त्यहाँ उनको कत्ति दोष थिएन । मानिसहरूले नै हाम्रो दृष्टिमा उनलाई दोषी ठह¥याएका थिए ।
जन्म त हामीले मर्नकै लागि पाएका हौं, कि त दक्षिणकाली जस्तै निष्प्राण हुनुप¥यो । उनको न जन्म छ न मृत्यु छ । मानिसहरूले रगतको आहालमा डुबाउँदा पनि उनलाई कुनै दुःख मनाऊ थिएन । मानसम्मानको पनि मलतव थिएन । नत्र भने मेरो प्रणाममा उनी कति प्रसन्न हुने थिइनन् ।
यतिखेर मलाई आफ्नो होइन, धर्तीका मानव पुत्र पुत्रीप्रति दया जागेर आयो । विचराहरू ! … । जसलाई प्राण र प्राणहीन देह खुट्याउन सक्ने ज्ञान पनि सृष्टिकर्ताले दिएनन् । नत्र कठोर पस्तरलाई खुशी बनाउन प्राणवान देह किन हर्थे ?
हे अदृश्य महामहिम ! तिमी नै प्रकृतिका सर्जक हौ भने, मेरो अन्तिम प्रार्थना छ तिमीलाई । म त अब बलिको वेदीमा चढिसकेको छु । यदि मेरो पुकारा सुन्दैछौ भने यस धर्तीका पुत्र पुत्री कसैलाई पनि अन्यायी नबनाऊ । समर्थवान छौ भने बरु ज्ञानले भरिदेऊ । मानव पुत्र पुत्रीलाई विपन्न चेतबाट ब्यूँझाएर सम्पूर्ण जननीका सन्तानलाई प्यार गर्न सिकाइदेऊ । तब अर्को जन्ममा मानव सन्ततिहरू हामी जस्तै बाख्रीको कोखमा जन्मलिँदा मैलेजस्तै उनीहरूले किमार्थ बलिवेदीमा चढ्न नपरोस् । मृत्युको यस घडीमा मेरो यही कामना छ ।
लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।