साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कहिल्यै अन्त्य नहुने डायास्पोरिक युगको छाया

समयको गतिसँगै हाम्रा सोचाइहरू बदलिँदै जाँदा रहेछन् । हिजोका मेरा अवधारणा आज मलाई एकदम अपरिपक्व लागेका छन् । पच्चीस सय वर्षअघिका गौतम बुद्धले उहिल्यै भनेर गएका थिए - स्थायित्व र सत्यता भन्ने केही पनि छैन । त्यही कुरा बुझ्न हामीले उत्तरआधुनिक युग पर्खिनु पर्यो । 

Chovar Blues Mobile Size

प्रत्यक्षतामा छत्रमान सुब्बासँग परिचय साटेको धेरै भएको छैन । यद्यपि केही वर्ष अघिदेखि नै उनलाई चिन्दै पढ्दै आएकी थिएँ । असमका स्रष्टा नेपाली भाषा साहित्यका सेवक र चिन्तक पनि । आरम्भमा कायाकल्प उपन्यास पढेर उनीप्रतिको धारणा निर्माण भएको थियो–उनी एक सफल अनुवादक हुन् । असमका वैज्ञानिक साहित्यकार लक्ष्मीनन्दन बराकृत कायाकल्पलाई नेपाली भाषामा रूपान्तरण गरेर उनले ठूलो सौगात प्रदान गरेका छन् ।

त्यसपछि उनका अरू लेख रचनासँग म परिचित हुँदै गएँ । त्रेतायुगकी सीतालाई विनिर्माण गरेर वर्तमानकी सीता बनाइएको उनको ‘सीता’ कथा, मलाई अहिले पनि सम्झना छ । नवचेतनाले साहित्य रच्ने उनी वाङ्मय सेवाका सक्रिय अनुवादक, सम्पादक, सर्जक हुन् भन्ने स्पष्ट बोध गर्दैछु । नेपाल–भारत सम्बन्धमा इतिहासको खाँचो, किरात एक–खोज, लोक संस्कृतिका आधारहरूलगायतका कृतिमा उनी एक अनुसन्धाता हुन् भन्ने पनि थाहा पाएँ । उनका अन्य कृति र व्यक्तित्वबारे बोल्न म यहाँ चाहन्नँ, किनकि म अर्कै विषयमा बोल्न खोज्दैछु ।

कथा, कविता, निबन्धजस्तै समालोचना गर्ने उनको अन्तर्दृष्टिले पनि म उति नै प्रभावित छु । अस्ति डा. गोविन्दराज भट्टराईकृत ‘भूकम्प प्रार्थना’ कविता संग्रहको एक कवितामाथि गरिएको समीक्षात्मक निबन्ध ‘भूकम्प प्रार्थनाभित्र म तिम्रै प्रार्थनामा थिएँ’ – पढेर नौलो कुरा जाने जस्तो लाग्यो । उनको चिन्तनको गहिराइ छ त्यसमा । श्रीमद्भगवद् गीताको राम्रो अध्ययन भएका मानिस रहेछन् उनी । त्यही दृष्टिले कविताको विश्लेषण गरेका छन् । मानिसको व्यर्थ अभिमानलाई थोरै भए पनि त्यसले घटाउन सक्छ भन्ने लाग्यो । दार्शनिक सुवास थियो त्यसमा ।

प्रकृतिबाटै मार्क्सले, लेनिनले र स्टालिनले समाम्यवादको पाठ सिकेका थिए, उनको यस्तो भनाइ  अघिका दिनमा कसैले भनेका थिएनन् । त्यसो त उनीहरूले प्रकृतिबाटै साम्यवादको पाठ सिके सिकेनन् यो कसैलाई थाहा छैन । आधिकारिक भनाइ होइन । केबल उनको बुझाइ थियो । उनको यो धारणा मलाई एकदमै जायज लाग्यो । साँच्चि नै हो नि त आखिर, प्रकृति नै एउटा यस्तो साम्यवाद हो, उसको दृष्टिमा कोही पनि ठूलो सानो छैन । हाम्रो दृष्टिमा नपरेको भुसुनाको जीवन पनि प्रकृतिले मानिसकै बराबर देख्छ ।

छत्रमान सुब्बा
sagarmani mobile size

डा. भट्टराईको भूकम्प प्रार्थनामा जुन कुरा प्रमुखता र महत्त्वकासाथ आएका छन् । अर्को कुरा मानिसले आफूलाई श्रेष्ठ देखे पनि अगम्य शक्तिको सम्मुख ऊ कति अकेला छ । निरीह छ, अनाथ छ । हामी सम्पूर्ण उसैको नियन्त्रणमा छौँ । उसको इच्छामा हामी जन्मिएका छौँ मर्ने पनि उसकै इच्छा अनुरूप हो । हामीलाई भौतिकताले दुर्घटनाको निकट पुर्याउँछ भने आध्यात्मिकताले बचाऊको बाटो देखाउँछ । खुशी केहो बुझाउँछ । यी दुवैका सन्तुलित, मध्यमार्गीहरू सफल जीवन बाँच्न सक्षम हुनेछन् । मेरो धारण पनि यही छ ।

अन्त्यमा  मेक्सिकन कवि  अक्टोभिया पाजको वाणी मलाई प्रिय लाग्यो–सपनाविनाको जीवन अथवा कविताविनाको समाज हुन सक्दैन । उनै कविका अभिव्यक्तिले सुब्बा निर्देशित छन् ।

समयको गतिसँगै हाम्रा सोचाइहरू बदलिँदै जाँदा रहेछन् । हिजोका मेरा अवधारणा आज मलाई एकदम अपरिपक्व लागेका छन् । पच्चीस सय वर्षअघिका गौतम बुद्धले उहिल्यै भनेर गएका थिए – स्थायित्व र सत्यता भन्ने केही पनि छैन । त्यही कुरा बुझ्न हामीले उत्तरआधुनिक युग पर्खिनु पर्यो ।

हिजोको सत्य भोग्न नपाउँदै अर्को सत्यले प्रश्न उठाउन थाल्छ । कवि कलाकारको दायित्व त्यही अस्थिर सत्यको नजिक पुग्ने चेष्टा हो । कल्पनामा होस् या वास्तविकतामा उसले सधैँ सत्य बोल्ने आँट गरेको हुन्छ । भलै उसका सत्यता अरूलाई ठीक नलाग्ला, त्यो अर्कै कुरा हो । उसको बोध क्षमताले नै उसको सत्य निर्धारण गरेको  हुन्छ । साहित्यमा उच्च कलाले मात्रै उसका सत्यहरू स्थापित हुन सक्छन् । अनि युगौँ युग त्यो सत्यले भ्रान्तिमय शासन गर्ने छ । त्यसैले त आज पनि महाकविका मुना र मदन जीवितै छन् जस्तो लाग्छ ।

शिल्पकलाको सम्बन्धमा यस्ता विचार मनमा आउन थालेको निकै भयो । त्यस्तै विचारहीन घटना, पात्र, परिवेशले मलाई भुलाउन छोडेको छ । नूतन युगको प्रतिध्वनि खोज्दै भड्किएको बेला छत्रमान सुब्बाकृत ‘समयको प्रतिविम्ब’ कथाले म फेरि उथलपुथल हुन्छु ।

अनिता पन्थी

कथाको आरम्भमा लागेको थियो, पर्यावरणीय चेतले यो कथा लेखिएको हुनुपर्छ । युगौँदेखि नछुट्टिने कसम खाए जस्तो वरपिपलको त्यो निष्कपट मित्रता र त्यही छहारीमा रमाएका चराचुरुङ्गी, मुसा कमिलाहरू देख्दा वीरकुमारलाई आश्चर्य लाग्छ । मानिलिऊँ, उसले त्यो दृश्य पहिलोचोटि देख्दैछ । एउटा सुन्दर र अगम्य जगत्को बोध हुन्छ उसलाई । दार्शनिक चैतन्यमा पुग्छ । मानवको विभेदपूर्ण व्यवहारलाई व्यंग्य गर्दै थिए, ती वरपिपलका वृक्षले । त्यो मौनताभित्रको अनन्त वाणी सुनेर ऊ अवाक् भयो । भन्छ, एक अर्काको परिपूरक हौँ भन्ने सन्देश दिएका यी वृक्षले विभेद गर्न किमार्थ जान्दैनन् । यता मानिस आफैँलाई श्रेष्ठ देख्छ । फेरि मानिस मानिसमै घटी र बढीको भेद राख्छ ।

प्रकृतिबाट समताको पाठ उद्बोध भएसँगै वीरकुरमार अमेरिका पुगेको छ । उमेर पाकेकी आमा निवासमा एक्लैछिन् । प्रविधि उत्कर्षतामा पुगेको, वैभवशाली मुलुकमा जीवन अभ्यस्त भएपछि, उसलाई पुर्खाको थातथलो एकदम कालो, अँध्यारो ओढार लाग्न थाल्छ ।  नवभूमि पुगेपछिका उसका कठिन संघर्षहरू यहाँ देखाएको छैन । बस् उसको मानसिकताको चित्रण गरिएको छ । त्यसैले घटना होइन विचारको प्राधान्य छ ।

अमेरिकाको मेचिगन विश्वविद्यालयमा, अध्यापन पेशामा ऊ आवद्ध छ । उतै रमाउने भएको छ । इटाली मुलकी युवती युनासँग प्रेम साट्छ, उसैसँग जीवन चलाएको छ । दुई अलग परिवेश र संस्कारबीचको मिलन गराएर राष्ट्रियताको बन्धन शिथिल हुँदै गएको सन्देश दिइएको छ कथामा ।

अत्याधुनिक रमझम र स्वतन्त्रतामा उसले बिस्तारै यता घरद्वार भुल्न थाल्यो, आमाको अपार वात्सल्यलाई बिर्सियो । असहाय स्थितिमा निसङ्ग छिन् भन्ने चिन्ता पनि हरायो । देशागमनको कल्पना समेत उसले गरेको छैन ।

यस्तैमा एकदिन अफ्रिकी मुलको नागरिक जर्ज फ्लडलाई अमेरिकी सेनाले अकारण घाँटी थिचेर मारेको क्रुर हत्यामा ऊ किंकर्तव्यविमूढ हुन्छ । विश्वमै उदार र प्रजातान्त्रिक मुलुक भनेर चिनिएको अमेरिकाको आततायी प्रवृतिले ऊ झस्किन्छ । षुशुप्त अवस्थामा रहेको दासत्व भाव र रङ्गभेदले टाउको उठाउँदा इतिहास फेरि दोहोरिएको छ । त्यस घटनाले वीरकुमार असुरक्षा बोध गर्दछ । परभूमिमा जति रमाए पनि, त्यो आफ्नो हुन सक्दैन । महान विज्ञानी अनुजकृपालनि अमेरिकाको ऐश्वर्य त्यागेर आफ्नै भूमिमा फर्किएको उसलाई अर्थपूर्ण लाग्न थालेको छ । अमेरिकी अफ्रिकी सम्बन्ध छ सय वर्ष पुरानो हो । अफ्रिकी मुलकी अमेरिकी नागरिक टोनी मोरिसनले (१९९३) नोवेल पुरस्कार विजयी गरिसक्दा पनि वर्ण भेद नमेटिँदा वीरकुमारको अन्तरमन एककिसिमले हाहाकार गर्न पुग्छ । त्यसो हो भने अन्य मुलका नागरिकलाई अमेरिकाले के बाँकी राख्ला ? कर्मभूमि आफ्नो अलस मित्र हुन सक्ने सम्भावनामा, अनन्त सन्देह पैदा हुन थालेको छ उसको मनभित्र । त्यसपछि बल्ल उसले आफ्नी आमालाई सम्झिन्छ । वात्सल्य प्रेमको महत्त्व बुझ्छ ।

वीरकुमारको चरित्रद्वारा अहिलेको डायास्पोरिक मनोविज्ञानको सशक्त चित्रण गरिएको छ । पूर्वीय र पाश्चात्य संस्कृतिबीचको मानसिकतामा ठूलो अन्तर छ । वीरकुमारकी आमाले हिन्दू तथा पितृसत्तात्मक रीतको प्रतिनिधित्व गरेकी छन् । त्याग र समर्पणको पाठ सिकाएकी छन् । उनको आदर्श प्रेममा शान्ति छ, सुख छ, सद्भाव छ, कोमलता छ । विघटनमुक्त समाजको उनी प्रतिनिधि चरित्र हुन् ।  धेरै वर्षअघि बितेर गएका श्रीमानको स्मृतिमा अहिले पनि उही जीवन्तता पाउँछिन् । त्यही स्मृतिमा बाँकी जीवन एक्लै बिताएकी नारीको मनोविज्ञान विचित्रको छ ।

छोराले अमेरिका बोलाउँदा उनी भन्छिन्, छोरा तिमीसँग त्यहाँ आउन त मन लाग्छ तर त्यो मेरो लागि विदेश हो ।  म त्यहाँ तिम्रो बाबुको केही चिजबिज देख्न पाउँदिनँ । बाबुसँग बिताएका मेरा केही पलहरू, बसन्तहरू म यही गाउँमा भेटिरहन्छु, देखिरहन्छु । आँखाले नदेखे पनि यो मनले तिनै कुरा खोजिरहन्छ । बाबु पच्चीस वर्ष नपुग्दै बित्नु भयो । आज उनी भएका भए लगभग साठी वर्षका हुने थिए । परन्तु म उनलाई आज पनि पच्चीस वर्षको देखिरहन्छु ।

हेर्नु त आज पारिवारिक संरचना कसरी विखण्डित भएको छ । आमा एकातिर छोरा अर्कोतिर । घरका अन्य सदस्य फेरि कति ठाउँमा विभाजित छन् । सन्तान मिलाप नभएरै कतिको माथि जाने बेला आइपुग्छ । वीरकुमारकी आमाको भनाइमा मैले आफ्नै हजुरआमाको करुण दर्द पाएँ । अमेरिकामा गएका छोरासँग सुखमिलाप नभएरै वहाँको चोला उठेको थियो । प्रायः अहिलेको अवस्था यस्तै छ । सबैले  भोग्ने साझा नियति बन्दैछ अब । डायास्पोरिक युगले विरहको डढेलो सल्काएको छ । त्यो फैलिँदैछ । विखण्डित मानसिकता, विखण्डित परिवार, विखण्डित स्मृतिहरू, विखण्डित संस्कृति, … विखण्डित हुँदैछ । वैयक्तिकता हराएर  सामूहिक बन्दैछन् परिचयहरू ।  मिश्रितताले आञ्चलिकता र राष्ट्रियताको बन्धन भताभुङ्ग पारेको छ । अब देशदेशको नागरिक होइन विश्व नागरिकमा रूपान्तरित हुने, एक किसिमको अभियान जस्तै चलेको छ । अभियान त होइन नै । यद्यपि डायास्पोराको फैलाबटले त्यही अवस्था उत्पन्न गराउँदैछ ।

एक किसिमको वैश्विक क्रान्ति नै भन्नुपर्छ, युग परिवर्तनको यो डरलाग्दो आँधीलाई । त्यसो त मानिसले चाहेर यो सब भएको होइन । समयले विवश बनाउँदैछ । लाचार बनाएको छ । बढ्दो भौतिक समृद्धि नै यसको मूल कारण हो । फेरि अर्को कुरा के छ भने, त्यही भौतिक विकास अझ प्रविधि भनौँ, हो त्यसैले उच्छेदित मानव बसोबासलाई निकट भएको महसूस गराएको छ, भ्रान्तिमय जगत् निर्माण गरेर । यस्तो दुर्दान्त स्थितिमा साइबर क्रान्ति नै मानवको एक मात्र सहारा भएको छ । आशा र प्रतीक्षा गर्न सिकाएको छ । निकटताको मीठो भ्रान्ति सिर्जना गरेर दूरत्वको भेद मेटाएको छ । वीरकुमारकी आमा प्रविधिलाई जस दिँदै भन्छिन्, “यो फोन पनि ईश्वरकै वरदान हो । नत्र  छोराको बोलीसम्म सुन्न नपाई मर्ने थिएँ होला ।” हाइटेक प्रविधिको चमत्कारलाई नबुझेकी उनी भगवान्लाई धन्यवाद दिन्छिन् ।

विश्वको विद्यमान अवस्थालाई राम्रोसँग बोध गरिएको समयको प्रतिविम्ब एउटा यस्तो वैचारिक कथा हो । एउटा सिङ्गो उपन्यासले थाम्नु पर्ने अवधारणा यसले लिएको छ । अझ उपन्यासले पनि यति धेरै कुरा भन्न सकेको हुँदैन होला, जति यसले भनेको छ । भौतिक परिवेशभन्दा भन्दा पनि मानसिकता र वैचारिकताको पृष्ठभूमिमा रचिएको हुँदा सूक्ष्म कथानक कतिलाई कथा नलाग्न सक्छ । निबन्ध पनि भन्देलान् । सग्लो वर्तमान अटेको छ यसमा । डायास्पोराले ल्याएको नूतन र कठिन अनुभूतिमा पात्रहरू विचलित छन् ।

दैनन्दिनका हरेक निमेष यहाँ सुनिश्चित छैनन् । आरम्भमा लागेको थियो, यो एउटा कथा त हो नि, कहाँ हुनु एउटा उपन्यास विश्लेषण गर्नु जतिकै धेरै थोक रहेछ । नवचेतना र उत्तरआधुनिक युगको जीवन पद्धतिमा आधृत समय प्रविम्बले प्रभावित भएर मैले यति कुरा बोल्ने आँट गरेकी हुँ । समीक्षा गर्छु भनेरै यो कथा पढेकी थिइनँ । परन्तु  समयको आह्वान सुनेर यसबारे केही भन्नुपर्छ जस्तो लाग्यो । विश्लेष्य कुराहरू धेरै पाएँ । वैश्विक चेतले गरिएको साहित्य सिर्जना अरू माझ बोध गराउनकै निम्ति पनि बोल्नु पर्छ भन्ने लाग्यो ।

गृहविरह तथा डायास्पोरिक द्वन्द्वले उत्पन्न गर्ने विभाजित मानसिकताको अनुभव नगरेका लेखकबाट समेत यस्ता कुरा लेखिन थालिसके, कल्पना र विचारको सहायताले । जन्मभूमिदेखि टाढा रहेका, धेरै टाढा परभूमिमा बस्नेहरूको लेखनमा यस्ता कुरा झन् कति सशक्त भएर आउलान्,  कति जटिल भोगाइ होलान्, कति अस्थिर मनोदशा होलान्, अप्रकट विकलता कति भोगे होलान्, कति भोग्दै जाने छन् । अब यो  दुरुहता यसरी नै पुस्तान्तरण हुँदै जाने छ ।

वीरकुमार एउटा सचेत युवा हो । समयको प्रतिनिधि पात्र । साहित्यप्रति उसको अनुराग केही देखाइएको छैन । तर चर्चित उपन्यासका पात्र प्रसङ्गमा ऊ सम्झिरहन्छ । त्यतिखेर लाग्छ, ऊ एउटा अध्येता  पनि हो । टोनि मोरिसलाई उसले चिनको छ ।

नेपथ्यमा एउटा पात्र छ बिमल बरा । युवा अवस्थामै अमेरिकाका पुगेको  उसको भनाइ स्मरण गरेर वीरकुमार आफूलाई सान्त्वना दिन्छ । आर्थिक लाभ र उच्च व्यक्तित्व निर्माण गरेर घर फर्किने मनोकाङ्क्षा हुँदाहुँदै पनि देशागमन हुन असमर्थ पात्रको मनोविज्ञान  डरलाग्दो छ ।  मुगलान उपन्यासका सुतार र ठूलेका पाइला नफर्किएरै समाप्त भएका छन्, यो कुरा उसलाई राम्ररी थाहा छ । सम्भावना र समृद्ध जीवनको खोजीमा उतै अभ्यस्त  भए पनि, सकी नसकी रमाए पनि, मन सधैँ मातृदेशमा उडेर आइरहन्छ ।

प्रस्थानको बेला तिनीहरू घर फर्किएर आउने अठोट राखेर, साइत गरेका हुन्छन् । अनेक साङ्लीले बाँधिएकाहरू भरे उतै विलय हुन्छन् । हराउँछन्, भाग्छन् । कत्रो विडम्बना ! धर्म, संस्कृति परम्परा र मातृत्वको झल्को मेटाउन उतै एउटा नमूना ग्राम तयार गर्छन् । घर गाउँका माया र सम्झनाहरू त्यहीँ स्थापित गर्छन् । वीरकुमारको एउटा समूहले असम एशोसिएशन खडा गराएर, आफ्नो अलग परिचय राख्न चेष्टारत् छ ।

द्वैध मनस्थितिको वीरकुमार समय कुसमयमा आफैँलाई प्रश्न गर्छ, लक्ष्यभूमिका प्रवासीहरू सम्पूर्ण अस्थिर र अशान्त होलान् या मलाई मात्र यस्तो भएको होला ? उद्वेलित मन र अनिर्णित परिस्थितिले ऊ व्याकुल हुन्छ । अतीत मोहले सताउँछ । विगतमा फर्किएर हेर्नु र वर्तमानमा घस्रिनु नै जीवन बनेको छ ।

डायास्पोरा भनेको एक अर्थमा भूमण्डलीकरणको व्यापकता हुनु हो । साँधसिमाना रहित ग्लोवल समाज, भाषा साहित्य, धर्म संस्कृति र परम्पराको मिश्रितता नै अहिलेको नवयुग हो । मानसिक शान्ति र स्थिरत्व दिन वीरकुमार आफूजस्तै अन्य भूमिबाट अमेरिका आएका मानिसलाई ध्यान दिन्छ । बेलायती, अफ्रिकी, चिनियाँ जापानी, स्पेनिसलगायत नागरिकको भीडमा आफूलाई समाहित गर्छ । दूरदेशबाट आउनेहरूको परिश्रम र लगावले अमेरिकीभूमि समृद्ध भएको उसको ठहर छ ।

अन्त्यमा आफूलाई आश्वस्त पार्न ऊ भन्छ, छिः म मात्र किन यसरी डराएर दोधारे मन भिरेर बाच्दैछु  । भारतबाट मात्रै अठार करोड जति मानिस संसारका अनेक ठाउँमा छरिएको तथ्याङ्कले केही निमेष ऊ शान्त हुन्छ  ।

विडम्बना त के छ भने, गरीब देशका नागरिक सम्पन्न देशमा अनेक लक्ष्य बनाएर जानु त स्वाभाविकै थियो । तर विकसित मुलुकका नागरिक कुन अभिप्रायले, कुन लक्ष्यले अन्यत्र हानिएका होलान् ?  केको खोजीमा गएका होलान् ? डायास्पोरिक समाज निमार्ण हुनुमा मानिसको यायावरीय अथवा लहडी  चेत त्यस्तै अर्को उल्लेख्य कारण बनेको छ । स्थिर रहन नसक्नु, आवागमन हुनु, नयाँ रहस्य र ज्ञानको खोजीमा भौँतारिनु जस्ता कुरा बाध्यता होइनन् रहर हुन् । भौतिक, आर्थिक दृष्टिले उन्नत  र विकासोन्मुख राज्यबीचको अन्तरले पनि मूलभूमि छोड्ने क्रम बढ्दो छ । त्यस्तै यन्त्रिक सभ्यताको उदय र अज्ञात उज्यालोको खोजीले पनि मानिसको वासस्थान फेरिएको छ । त्यो भन्दा जटिल कुरा छ शरणार्थी समस्या । यी सबैको समग्र रूप नै डायास्पोरिक युग हो । अब कहिल्यै अन्त नहुने । बरु जटिलता जपिँदै जाने छ । यही जटिलताको सम्भावित आशय र विद्यमान अवस्थाको प्रतिछाया नै सुब्बाको कथा बनेको छ ।

अब उपरान्तको समय यस्तै हो भने गृहभूमि फर्किनु, नफर्किनुको अर्थ पनि कहाँ रह्यो र ? स्थायित्व कहीँ छैन । घरद्वारदेखि दूर हुनु, अहिले एककिसिमको समयसिजन बनेको छ ।

करुणा एक नारी पात्र अमेरिका पुगेर पुनः फिरेकी छ, स्वदेशको मायाले । यद्यपि आमाको आँचलमा लुट्पुटिएर पनि ऊ सन्तुष्ट हुन सकेकी छैन । यो कस्तो विडम्बना हो ? कति खतरापूर्ण छ अबको समय । हेर्नु त कति ठूलो विरोधाभासले  मानिसलाई गलाएको छ । उसलाई कहीँ गए पनि तृप्ति मिलेको छैन । दुःखको कुरा ऊ फेरि अमेरिका हानिन्छे । तर मूलभूमिको श्रद्धा र समर्पण किञ्चित दुब्लाएको छैन ।

वीरकुरमाले एकचोटि जगत् निरीक्षण गर्यो । उन्नत देशका नागरिकले समेत प्रवास जीवन व्यतीत गरेको थाहा पाउँदा उसको सन्दिग्धता केही कम्ती हुन्छ । अबको जीवन भनेको अनन्त भय, त्रास, सन्देह, सञ्चलता, विवशता, उदासीनता, असुरक्षा र द्वैध मनस्थितिमा बाँच्न अभ्यस्त हुनु हो, भन्ने युगबोधले ऊ थन्कियो । यसरी कथाको अन्त्य हुन्छ ।

मध्यम आयामको कथाले पनि यति धेरै थोक व्यक्त गर्न सक्दोरहेछ, प्रथमचोटि जुन कुरा बोध गर्दैछु । कथा लेखनमा धेरै थिम मैले कहिल्यै अटाउन सकेकी छैन ।   घटना, पात्र र परिवेशलाई पूर्ण बनाउन लाग्दा कथा लम्बिँदै जान्थ्यो । यद्यपि थिम किञ्चित लम्बिन्थेन ।

सुब्बाका लेखनीबाट यस्तै कथाहरू आइरहून् । यही कामना र शुभेच्छा छ ।

प्रतिक्रिया
Loading...