काठमाडौं । लामो समयदेखि पत्रकारिता र साहित्यिक लेखनमा सक्रिय रहेका पत्रकार तथा लेखक जयदेव गौतमको नयाँ कृति ‘किताबको अँगालोमा’ को विमर्श कार्यक्रम अमेरिकामा हुने भएको छ । अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा यो कार्यक्रम आगामी १३ सेप्टेम्बर, शनिबारका दिन अमेरिकाको भर्जिनिया, फल्स चर्चस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा सम्पन्न हुने भएको हो । प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी ‘प्रेरणा’ ले यसबारे जानकारी दिनुभएकाे हाे  ।

यसअघि पुस्तकको काठमाडौंमा  विमोचन गरिएको थियो भने लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा बुटवलमा समेत विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । यी दुवै कार्यक्रममा पुस्तकप्रेमी, साहित्यकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पत्रकार गौतम लामो समय सकृय पत्रकारिता गर्दै आउनुभएकाे छ  । उहाँले निबन्ध लेखन, अन्तर्वार्ता तथा पुस्तक समीक्षा लेखनमार्फत नेपाली साहित्य र पत्रकारितामा योगदान पुर्‍याउँदै आउनुभएकाे छ । पछिल्लो समय अमेरिकामा बसोबास गरेपछि उहाँको कलम विशेषगरी निबन्ध, पुस्तक समीक्षा तथा अनुवादतर्फ केन्द्रित हुँदै गएको छ ।

गौतमको यसअघि प्रकाशित कृति ‘ती नीला आँखा’ निबन्ध सङ्ग्रहले पनि साहित्यिक वृत्तमा सकारात्मक प्रतिक्रिया पाएको थियो । नयाँ पुस्तक ‘किताबको अँगालोमा’ भने साहित्य, पुस्तक संस्कृति र ज्ञानमूलक लेखनतर्फ उन्मुख रहेको बताइन्छ । यस पुस्तकमा उहाँले किताबसँगको आत्मीय सम्बन्ध, पढ्ने संस्कार र समाजमा पुस्तकको भूमिकाबारे विचार व्यक्त गर्नुभएकाे छ ।

अमेरिकामा हुन लागेको यस विमर्स कार्यक्रमले प्रवासमा बस्ने नेपाली साहित्यप्रेमीलाई पुस्तकसँग जोड्ने अवसर दिने अपेक्षा गरिएको छ । आयोजक प्रतिष्ठानले यस कार्यक्रममा साहित्यकार, पत्रकार र पुस्तकप्रेमीहरूको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरेको छ ।