साँचो अर्थमा भन्दा खगेन्द्र सङ्ग्रौला बागी होइनन् । उनी हिजो पनि बागी थिएनन्, आज पनि छैनन् । किनभने कुनै व्यवस्थाविरुद्ध अथवा खास राजनीतिक विचारधाराका विरुद्ध असहमति राख्नु मात्र बागी हुनु होइन । खास मुद्दा उठाएर ती मुद्दासँग सम्बन्धित मागका लागि आन्दोलन गर्नु तात्कालिक आन्दोलनकारी हुनु हो, तात्कालिक विद्रोही हुनु हो । बागी धेरै व्यापक अवधारणा हो  र यसले कमोबेश समग्र राजनीतिक वा सामाजिक व्यवस्था नै परिवर्तनका लागि आफूलाई समर्पित गर्दछ । यस मानेमा तात्कालिक मागका लागि गरिने वा हुने आन्दोलनभन्दा दूरगामी मागका लागि हुने वा गरिने बगावत धेरै दुष्कर हुन्छ ।

सङ्ग्रौला यस किसिमको बगावतमा कहिल्यै सशरीर सक्रिय सहभागी भएनन् । लेखक उज्जवल प्रसाईका शब्दमा, “उनलाई घृणाको हदसम्म त्याज्य ठान्ने सुकिला विद्वानदेखि उनले पैरवी गर्ने समूहकै मान्छे पनि उल्लेख्य छन् । वामवृत्तका उनका घोर आलोचकदेखि उनी नभए यो संसार किञ्चित बाँच्न लायक हुँदो हो भनेर सोच्नेहरू पनि यहाँ छन् ।”

खगेन्द्र आजीवन ‘खुङ्खार क्रान्तिकारी’ हुन सकेनन्, बरु कलम-कागजको खलिहानमा एकपछि अर्को दाइँ गर्दै आफ्नो महत्ता स्थापित गर्न सफल हुँदै गए । उनी आन्दोलनकारी भए तर सही अर्थमा बागी हुन सकेनन् । तथापि उनलाई चिनाउनका लागि हालै एउटा किताब निस्केको छ, “एक बागी, खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष” शीर्षकमा । (मलाई त यो शीर्षक नै गलत लाग्छ किनभने एक त खगेन्द्र बागी होइनन्, र दोस्रो, उनले कुनै बगावत गर्नका लागि कुनै विशिष्ट साधना र सङ्घर्ष गरेका छैनन् । यो त सम्पूर्ण रूपले सकारात्मकता बोकेको शीर्षक हो ।) ।

उसो त, खगेन्द्रलाई एकाध पटक देख्दैमा वा दुईचार पटक भेट्दैमा भन्न सकिँदैन, उनी कुन तहका ‘बागी’ हुन् (वा, थिए) ! साँच्चैका ‘बहादुर बागी’ हुन् या ‘लुखुरे अकिञ्चन बागी’ ? उपल्लो तहका ‘बागी’ हुन् या तल्लो वा मध्यम तहका ? अथवा, अझ यो पनि भन्न सकिँदैन, के उनी ‘बागी’ नै भन्न मिल्ने तहका बागी हुन् त ? बागी कहलिन मिल्ने गरी उनले के कस्तो बगावत गरे त ? यी र यस्ता तमाम प्रश्नहरूको जवाफ पाउनका लागि पढ्नुपर्ने बनेको छ, उही किताब- “एक बागी …” ।

०००      ०००    ०००

“कविता वा लेख वा कथा लेखेर अथवा अनुवाद गरेर क्रान्ति हुन्छ” भन्ने कुरा त नेपाली भाषामा कहलिएका देब्रे धुरीवाला लेखक खगेन्द्र सङ्ग्रौलालाई कहिल्यै लाग्यो लागेन, त्यो चाहिँ मलाई थाहा भएन तर उनले भारतीय कवि केदारनाथ सिंहको यो भनाइ चाहिँ पढे नपढेको जे भए पनि पक्कै बुझेका थिए होलान्- क्रान्ति भनेको केवल सङ्गठित प्रयासको परिणाम हुन्छ र यो कथा र कविताको परिधिभन्दा बाहिरको कुरा हो ।

त्यसो त क्रान्ति (!) गर्नकै लागि भनेर सङ्ग्रौला सक्रिय भएर कुनै पार्टी वा सङ्घ-सङ्गठनमा कहिल्यै लागेनन् । यद्यपि, उनैका अनुसार, उनको निजी जानकारी वा गैरजानकारीमै पनि उनलाई एकाध पार्टी-सङ्गठनमा पदाधिकारी भने बनाइएको इतिहास छ तर आफू तन्नेरी भएको बेला राजनीतिक दल प्रतिबन्धित रहने पञ्चायतकालीन अवस्थामा लुक्दै-भाग्दै र दुछुम्-दुछुम गर्दै “कम्युनिस्ट झोला” बोकेर गाउँले जनतालाई “जागरूक बनाउन” उनी कहिल्यै हिँडेनन् । बरु सधैँभरि, अझ भनौं धेरैजसो, उनको ‘प्यासन र पेशा’ अध्ययन, लेखन, शिक्षण, ट्युशन अनि अनुवाद कार्य नै रहँदै आयो । त्यससँगै स्वतन्त्र लेखनमा उल्लेखनीय ढङ्गले सक्रिय रहँदै उनले कथा, उपन्यास, संस्मरण र निबन्धहरू लेखे तर यीभन्दा पनि उनले लेख्ने गरेका राजनीतिक टिप्पणीहरूले बजार पिट्ने गरेका थिए र छन् पनि ।

अचेल सङ्घीय गणतन्त्रकालीन नेपालको राजधानी काठमाडौंको चाबहिलका स्थायी बासिन्दा खगेन्द्र सङ्ग्रौला करिब अठहत्तर वर्षीय शरीरले बुढा तर मन र विचारले वज्र तरुण मानिन्छन् । राजनीतिमा चासो प्रशस्तै छ तापनि दैनिक राजनीतिको दाउपेचमा दत्तचित्त हुनुभन्दा उनी बरु आफूलाई पारिवारिक जीवन र मित्र-मण्डलीसितको रसिलो जमघटमा रमाउन अनि नागरिक आन्दोलन, साहित्यिक भेला वा महोत्सव, अखबारी वा स्वतन्त्र लेखन र अनुवाद कार्यमा कमोबेश सक्रिय गराइराख्नमा रमाइरहेका देखिन्छन् ।

उनै खगेन्द्र सङ्ग्रौलाको चौहत्तर वर्षभन्दा लामो जीवनका विविध आयाम समेटेर युवा पत्रकार-लेखक-अनुवादक उज्ज्वल प्रसाईले पाँच वर्षको परिश्रमपछि उनको बृहत् जीवनी सार्वजनिक गरेको पुस्तक हो- “एक बागी, खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष” ।

किताबको आकार र मूल्य हेर्दा यो पुस्तक सामान्य पाठकका लागि होइन, अर्थात्, किताब किन्न रुचाउने र केही मनकारी क्रयशक्ति हुनेले मात्र यो किन्न सक्छन् । किनभने, बेला पब्लिकेसन्स काठमाडौंद्वारा कार्तिक २०७९ मा प्रकाशित ४७६ पृष्ठ लामो यस गैरआख्यान पुस्तकको मूल्य ९४५।- रुपैयाँ छ  ।

त्यति मात्र होइन, केही पढाकू गैर-वामपन्थीबाहेक धेरैजसोले यो जीवनी पढिहाल्न कठिन छ । त्यस्ता पाठकहरू जो जतिले पढ्छन्, त्यसलाई उत्साहवर्द्धक र प्रशंसनीय मान्नुपर्ने हुन्छ । किन पनि भने प्रसाईंकृत यो जीवनीले खगेन्द्र सङ्ग्रौलाको जीवनकथासँगै मुलुकको पञ्चायती राजनीतिको चरित्रका साथै वामपन्थी राजनीति र त्यसका विविध आयामहरूको झिल्काझिल्की विकासक्रम समेत सँगसँगै प्रस्तुत गरेको छ, र किन पनि भने नेपालका आम पाठकलाई “सरसता, प्राञ्जलता र कलाको सर्वथा अभाव हुने” भनी सधैँ आलोचित वामपन्थी साहित्य उस्तो रुचिकर लाग्दैन (वामपन्थको टोकरी बोकेर हिँड्ने व्यक्तिको जीवनी आखिर वामपन्थी साहित्यकै स्वरूपमा त हुन्छ) ।

फेरि पनि, किनभने फेसबुक, यूट्युब, टिकटक, रील, ट्वीटर, इन्स्टाग्राम, व्हाट्स एप, एआई, जीपीटी, एलेक्सा, सिरी, गुगल आदि इत्यादिको बढ्दो प्रयोगले मानिसहरूमा पुस्तक पढ्ने संयम र धैर्य क्रमशः ओइलाउँदै गएको स्पष्ट देखिँदै जान थालेको छ ।

०००      ०००    ०००

सर्सरी हेर्दा, जीवनी कुनै व्यक्ति विशेषको जीवनकथा कुनै दोस्रो व्यक्तिले लेख्ने विधा हो । यस्तो जीवनकथा व्यक्ति विशेष आफैँले लेख्यो भने त्यो आत्मकथा हुन्छ । साहित्यिक फाँटमा आत्मकथाभन्दा जीवनी लेखन नै पहिले फस्टाएको थियो । तापनि धेरै पछिसम्म यस्तो लेखन सत्तासीन वा सत्ता र शक्तिको नजिक रहेकाहरूकै जीवनकथा लेखिँदै आएको देखिन्छ । धेरै पछि आएर मात्र जनसाधारणबारे अनि समाजमा तल पारिएकाहरू, हेलाहोँचोमा परे पारिएकाहरू, उत्पीडितहरू, महिलाहरू आदि तमाम तह र तप्काबारे लेख्नुपर्ने अभियान शुरु भयो । त्यसलाई ‘सबाल्टर्न लेखन’ भनेर व्याख्या गर्न थालियो ।

यहाँनिर, खगेन्द्र सङ्ग्रौला सधैँ उत्पीडितहरू, दबाइएकाहरू, अपहेलनामा पारिएकाहरू, शोषितहरू, दमितहरू, अन्यायमा पारिएकाहरू, दलनमा परे पारिएकाहरू आदि बारे अनि महसुस भए गरेका वा भोगेका असमानता एवं अन्यायविरुद्ध लेख्दै-बोल्दै आएका हुन् । त्यसकारण जे जस्तो रूपमा भए पनि उनको जीवनी छापिएर सार्वजनिक हुनु स्वागतयोग्य मानिनु पर्दछ । यद्यपि, सङ्ग्रौला आफैँले आत्मकथा लेखेका छैनन् बरु उनको जीवनका अनेक आयामहरू उनले लेखेका विभिन्न संस्मरण-पुस्तकहरूमा यत्रतत्र छितरिएको अवस्थामा भने पढ्न पाइन्छ ।

“एक बागी” कुन कित्तामा दरिन पुगेको छ ? सार्वजनिक भएपछि विमोचन र त्यसको अघिपछि केही सामान्य चर्चा भए पनि सञ्चार वा भेला-गोष्ठी वा साहित्यिक महफिलहरूमा यो किताबको उस्तो विधि चर्चा भएको पाइएन, देखिएन । कतै लेखक प्रसाईंको गहन परिश्रमले पाउनुपर्ने जति महत्त्व र प्रशंसा नपाएको त होइन ? अथवा, कुनै खास प्रकरण-विशेषले गर्दा यो किताब ओझेलमा परेको त होइन ? (किनभने सङ्ग्रौला खास व्यवहारले भन्दा पनि सिस्नोमा बेरिएका शब्दयुक्त आफ्नो बोली वा लेखनले गर्दा निरन्तर विवादमा आइरहने गर्दछन्) । अनि, के यो किताबले खगेन्द्रको जीवनकथासित न्याय गरेको छ त ? के यो किताब पाठकका लागि उत्साहवद्र्धक एवं प्रेरक छ त ? यस्ता यस्तै अनेक प्रश्न यस किताबसित जोडिएर आउँछन् ।

०००      ०००    ०००

यो किताब आफ्नो पुछारमा राखिएका ‘अपर्याप्त धन्यवाद’, ‘टिप्पणी’, ‘सन्दर्भ-सामग्री’ र ‘अनुक्रमणिका’ समेत जम्मा तेइस उप-शीर्षकमा विस्तारित छ । अन्य कुनै भूमिका नराखी उज्जवल प्रसाई आफैँले ‘सन्नाटाको एउटा स्वर’ उप-शीर्षकमा लामो लेखकीय भूमिका लेखेका छन् । विभिन्न चार व्यक्तिको प्रसङ्ग उल्लेख गर्दै रोचक शैलीमा लेखिएको यो अठार पृष्ठ लामो परिचयात्मक भूमिका पठनीय त छ नै, साथै खगेन्द्र सङ्ग्रौलाबारे पढ्न र जान्न पाठकमा राम्रै उत्सुकता जगाउन सफल पनि छ ।

तर यो अध्यायमा उल्लेख भएकी नेपाल र नेपालीलाई राम्ररी चिनिसकेकी क्यानाडाली मानवशास्त्री मेरी डेशेनले “विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिशेल फुकोदेखि ज्याक्स डेरिडासम्मका प्रवचन सुनेकी छु । तथापि, चाबहिलको पिँडीमा एउटा जीवित विद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे अलिकता बुझ्न पाएकी छु” भनेर व्यक्त गरेको भनाइ अनौठो प्रतीत हुन्छ किनभने डेशेनले भने झैँ अवस्था हो भने त खगेन्द्र साहित्यका नामीगरामी तीर्थस्थल हुनुपर्ने हो र जसलाई ‘दर्शन गर्न’ जिज्ञासु भक्तजनहरूको लर्को लाग्नुपर्ने हो ! तर विडम्बना, त्यस्तो न त केही सुनिएको छ, न केही देखिएको छ । फेरि, डेशेनले यो कुरा कहिले, कहाँ, कुन प्रसङ्गमा भनेको हो भन्ने पनि किताबमा खुलाइएको छैन ।

लेखकीय भूमिकाबाट अगाडि बढ्दै जाँदा क्रमशः के महसुस हुन थाल्छ भने जीवनीकार प्रसाईले आफूलाई खगेन्द्रको मोहपाशबाट पृथक् राख्न सकेका छैनन् । यही कारण हुनुपर्छ, उनका कमी-कमजोरी र नकारात्मक कुरा पस्किनुभन्दा बरु उनले किताबमा विभिन्न प्रसङ्ग, तर्क र आधार थपेर खगेन्द्रलाई सही ठहर्‍याउने प्रयत्न नै बढी गरेको देखिन्छ । यसकारण जम्मैजसो किताब खगेन्द्रका सकारात्मक पक्षहरूकै लेखोट बनेको छ । किताबमा उनका नकारात्मक पक्ष अत्यन्त न्यून छन् अथवा लगभग छैनन् भन्दा हुन्छ ।

किताब शुरू भएदेखि नै के देखिन्छ भने तिथि-मिति दिने कुरामा प्रसाईले सतर्कता अपनाएका छैनन्, कतै अङ्ग्रेजी क्यालेन्डरअनुसार सन् र तारिख राखेका छन् त कतै विक्रमीय सम्बत्अनुसार गते र साल । यसले आफैँमा एक किसिमको असमञ्जसको अवस्था सिर्जना गर्दछ । त्यसभन्दा पनि उनले कतिपय आवश्यक ठाउँहरूमा तिथिमिति नै दिएका छैनन् जसले गर्दा जीवनी साँचो घटना वर्णन नभएर घरिघरी त एकादेशको कथा भन्न खोजिएझैँ भान हुन पुग्छ । तिथिमिति अभावको एक उदाहरणका रूपमा स्वयं खगेन्द्रको जन्ममिति कै प्रसङ्ग लिए हुन्छ । उनी यही मितिमा जन्मिएका हुन् भनेर कतै उल्लेख गरेको भेटिँदैन । येनकेन त्यो जन्ममिति फेला पार्न किताबको उनान्चालिसौं पृष्ठमा पुग्न पर्छ, जहाँ उनले लेखेका छन्, “तीन सालमा जन्मेका उनी चार वर्षको हुँदा त्यो सात साल थियो । अर्थात्, नेपाली इतिहासमा गहिरोसँग खिपिएको उही २००७ साल ।”(पृ.३९) !

०००         ०००         ०००

किताबको पहिलो औपचारिक अध्याय ‘सुभाङका शासक खलक’ शीर्षकबाट शुर हुन्छ जसले पाँचथरको सुभाङ गाउँ, त्यहाँको शासक खलक सङ्ग्रौला परिवार र त्यस भेगका लिम्बु, राई अनि दलित परिवारमाथि त्यही सङ्ग्रौला खलकको हुकुमत बयान गर्छ । त्यही शासक खलकमा खगेन्द्रका बा (हजुरबा नरप्रसादका दश भाइ छोरामध्येका ठूलाकान्छा) लक्ष्मीप्रसाद सङ्ग्रौला र आमा भागीरथीदेवी खरेल सङ्ग्रौलाका पाँच छोरा र पाँच छोरीसमेत दश सन्तान थिए । तिनै दश सन्तानमध्ये काइँला छोरा हुन्छन्, खिलराज सङ्ग्रौला ।

पछि, गाउँमा पाठशाला सञ्चालन हुन थालेर उनमा रहेको शिक्षा हासिल गर्ने लगन र जन्मजात क्षमता देखेर उनका प्रथम औपचारिक शिक्षक लीला शिवाकोटीले उनको नाम परिवर्तन गरी ‘खगेन्द्रराज’ राखी दिन्छन् । अझ पछि गएर यही नामलाई सङ्क्षेपीकरण गर्दै खगेन्द्र आफैँले ‘खगेन्द्र संग्रौला’ कायम गरेका हुन्छन् ।

ज्योतिष विद्या जानेका बाले उनलाई घरमा कखरादेखि तमसुकसम्म लेख्न सिकाए । त्यसपछि अङ्ग्रेजीसमेतको केही अनौपचारिक पढाई बेलायती फौजमा सामेल भई बर्मासम्म पुगी दोस्रो विश्व युद्ध लडेर फर्केका उनकै जन्तरे काका रामनाथले पढाए । अनि अनौपचारिक-औपचारिक स्कुलहरूमा उनका नयाँ शिक्षक बन्दै गए क्रमशः लीला शिवाकोटी, टेकनाथ गौतम, चन्द्रमान कन्दङ्वा, राजनारायण प्रधान, भानुभक्त पोखरेल आदि । र, बीरेन्द्र इन्टर कलेजमा उनलाई सबभन्दा बढी प्रभाव पारेका वामदेव पहाडी आदि थपिँदै गए । यसअघि उनी सात कक्षाको परीक्षा सकाएपछि आफ्नै गाउँको स्कुल सरस्वती मिडिल स्कुलका सबैभन्दा कान्छा र फुच्चे मास्टर भएका थिए । त्यसपछि शारदा स्कुल हुँदै बीरेन्द्र इन्टर कलेज पुगेका थिए । आई.ए. तहमा नेपालभरिबाट सबैभन्दा बढी अङक ल्याएर उत्तीर्ण गरेपछि उनले काठमाडौंको त्रिचन्द्र कलेजमा बी.ए. पढ्न महेन्द्ररत्न छात्रवृत्ति पाए ।

खगेन्द्र सानैदेखि पढ्नमा निकै तेज थिए । उनको स्मरण शक्ति पनि उस्तै राम्रो थियो । अद्भुत अध्ययन क्षमताले गर्दा नेपाली र अङ्ग्रेजी विषयमा उनले छिट्टै महारथ गरेका थिए । पच्चीस वर्ष नपुग्दै उनले कथा आदि लेखेर मधुपर्क, रचना, अभिव्यक्ति आदि समेत तत्कालीन शीर्षस्थ पत्रपत्रिकामा छपाएर आफूलाई उक प्रचूर सम्भवनायुक्त लेखकका रूपमा स्थापित गराइसकेका थिए ।

बी.ए.उत्तीर्ण गरेपछि केही समय उनले काठमाडौंकै जुद्धोदय पब्लिक हाइस्कुलमा शिक्षक भएर काम गरे । अनि अङ्ग्रेजी विषयमै एम.ए. गर्नका लागि कीर्तिपुरको अङ्ग्रेजी केन्द्रीय शिक्षण विभागमा भर्ना भए । बिहान पढाउने जागीर र त्यसपछि पढ्नका लागि डिल्लीबजारको डेराबाट कीर्तिपुर पुग्नुपर्ने लामो बाटो, अनि त्यसमाथि माथिल्लो तहमा गहनतापूर्वक पढ्नुपर्ने आवश्यकता, जागीरबाट पुग्दो पैसा प्राप्त नहुने हुँदा चाहिने-लगाउने वा ओढ्ने-ओछ्याउने लत्ताकपडा र पुस्तक आदि किन्न पनि धौधौ हुन थालेको अवस्था भयो । यावत् कारणले गर्दा उनलाई एम.ए. तहको अध्ययन जारी राख्न सकिन्छ भन्ने नै लाग्न छोड्यो, त्यसतर्फको आत्मविश्वास नै नराम्ररी धरमरायो । त्यही बेला उनको सङ्गत कम्युनिस्ट नेता एवं कार्यकर्ताहरूसँग बाक्लिँदै गएको थियो ।

तिनताका नेपालमा कम्युनिस्ट विचार बोक्ने ‘घोर क्रान्तिकारीहरू’ सरकारी शिक्षालाई बुर्जुवा शिक्षा भन्दै त्यसलाई बहिष्कार गर्दै ‘गाउँमा क्रान्तिको राँको सल्काउन’ जाने प्रचलन जल्दोबल्दो थियो । बस्, उनलाई पनि पढाइ छोड्ने बहाना मिल्यो । फलतः, सरकारी छात्रवृत्तिमा बी.ए. पढेका खगेन्द्र एम.ए. पढ्न छोडेर वि.सं. २०२७ मा काठमाडौंबाट अङ्ग्रेजी शिक्षकका रूपमा लमजुङको खुदी गाउँ हानिए ।

एक वर्ष त्यहाँ बिताएपछि राजनीतिक कारणले त्यहाँ बस्न नसकी फर्केर डेढ-दुई महिना काठमाडौं बसे । अनि फेरि हिँडे स्कुलमा उही अङ्ग्रेजी पढाउन तनहुँको चुँदी बजार, जुन ठाउँ नेपाली काङ्ग्रेस, मोहनविक्रम सिंह नेतृत्वको कम्युनिस्ट पार्टी केन्द्रीय न्युक्लियस र अर्को कम्युनिस्ट पार्टी अति गोप्यतावादी समेत थिए । पञ्चायती प्रशासन र सबै खाले पञ्चहरू त हुने नै भए । पञ्चायतविरोधी राजनीतिमा लागेको हुँदा त्यहाँ पनि केही समयभन्दा बढी बस्न नसक्ने अवस्था भएपछि उनी तनहुँकै बन्दीपुर पुगे ।

त्यही बन्दीपुरमा रहँदा-बस्दा ब्रिटिश लाहुरेकी छोरी जमुना गुरुङसित प्रेमसम्बन्ध गाँसिन्छ र पछि उनीहरूको विवाह हुन्छ । समयक्रममा दुवैजना एक छोरी डेजी र एक छोरा मित्रसमेत दुई सन्तानका अभिभावक बन्छन् । पहिलोपटक अठ्ठाइस वर्षको उमेरमा पिता बनेका खगेन्द्रलाई “पहिलो सन्तान छोरा हुन्छ” भन्ने बहुत ठूलो भरोसा हुन्छ तर जतिबेला उनले त्यो सन्तान छोरी हो भन्ने सूचना पाउँछन्, उनलाई हत्पति विश्वासै हुँदैन र त्यतिबेलासम्म जतिसुकै प्रगतिशील साहित्य लेख्दै आएको भए पनि मुटुसम्मै जरा गाडेर उनीभित्र जमेको सामन्ती संस्कार अचानक उनको मुखबाट निस्कन्छ, “हँ, छोरी !”

छोरीलाई पहिलोपटक अस्पतालको ओछ्यानमा देखेपछि आफूलाई लागेको अनुभूतिबारे खगेन्द्रले जीवनीकार प्रसाईलाई भनेका छन्, “एउटा अतिशय लघुकाय, कोमल र निम्छरो प्राणी मस्त निद्रामा थियो । तत्क्षण मेरो मनमा आएको भाव थियो- अहो, कति सानो ! यो कसरी बाँचेर हुर्किन्छ ? हातमा लिए केही तलमाथि होला कि ! कतै दाग पो लाग्ला कि ! मैले छोरीलाई छुने आँट गरिनँ । कसोकसो छुन मलाई उत्रो रहर पनि लागेन ।” (पृ.१३९) । (त्यो बेलासम्म केही कथा, केही नाटक, एकाध उपन्यास र केही राजनीतिक लेख आदि लेखेर आफूलाई नेपाली साहित्यिक जमातमा स्थापित गराइसकेका लक्का ‘प्रगतिशील’ तन्नेरीको सिद्धान्त र व्यवहारमा देखिने यो विकराल अन्तरयुक्त यस किसिमको अनुभूति र भाषाले दिगमिग गराउँछ !)

बन्दीपुर बस्न नसकेपछि उनी दमौली झर्छन् र स्कुल पढाउने अर्को चरण शुरु हुन्छ । श्रीमती जमुना बन्दीपुर अस्पतालमा नर्सका रूपमा कार्यरत हुन्छिन् । केही समयपछि सरकारले जमुनालाई मोरङको रङ्गेली सरुवा गरिदिन्छ । यसो हुँदा खगेन्द्रले आफ्नो सरुवा माग गर्दै पोखरास्थित क्षेत्रीय निर्देशनलायमा निवेदन दिन्छन् । परिणामस्वरूप उनलाई चितवनको कुनै स्कुलमा पढाउने अनुमति मिल्छ ।

क्रमशः श्रीमतीजीको पनि चितवन सरुवा भएपछि उनीहरू करिब छ वर्ष चितवन नै बस्छन् । यही समयमा उनी स्वनाम साथी (शशी शेरचन) को अगुवाइमा खुलेको ‘सर्वहारावादी कम्युनिस्ट लिग’ पार्टीमा कोषाध्यक्ष चुनिन्छन् । (त्यसभन्दा केही अघि नै उनी नेकपाको चौथो महाधिवेशनमा पुगेर पार्टी राजनीतिमा आफूअडिन नसकिने निर्णय गरेर फर्किएका हुन्छन्) । त्यसैताका रूपलाल विश्वकर्मा नेतृत्वको ‘नेपाल मजदुर किसान सङ्गठन’ नामक पार्टीको अगुवाइमा वि.सं.२०३४ असारमा चितवनको पहाडी इलाका जुगेडीमा साहुको अन्न लुट्ने असफल किसान सङ्घर्ष भयो जसमा तीनजना सामान्य आन्दोलनकारीको मृत्यु भयो । पञ्चायतविरोधी इतिहासकारहरू यसलाई ‘जुगेडी काण्ड’ भन्छन्, वामपन्थीहरू ‘जुगेडी सङ्घर्ष’ ।

यो घटनाको केही वर्षपछि स्वनाम साथी र रूपलाल विश्वकर्मा नेतृत्वका दुई पार्टीबीच एकता हुन्छ र ‘सर्वहारावादी श्रमिक सङ्गठन, नेपाल’ को निर्माण हुन्छ । नयाँ पार्टीमा स्वनाम साथी, रूपलाल, खगेन्द्रसमेत दश जनाको केन्द्रीय कार्य समिति बनेको थियो । तर खगेन्द्रले आफू कन्द्रीय सदस्य भए पनि कहिल्यै पार्टीका कुनै पनि क्रियाकलापमा सक्रियतापूर्वक काम गर्दैनन् । पार्टी राजनीतिप्रति उनको अनिच्छा व्यक्त भइरहन्छ । उनी केवल शिक्षक र लेखककै रूपमा आफूलाई स्थापित गराउन क्रियाशील हुन्छन् ।

खगेन्द्र शिक्षक आन्दोलनमा सामेल हुन्छन् । वि.सं.२०३७ माघ १२-१५ सम्म काठमाडौंमा अठसट्ठी जिल्लाका शिक्षक प्रतिनिधिको सहभागितामा भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनबाट हेटौंडाका बद्री खतिवडा अध्यक्ष र खगेन्द्र उपाध्यक्ष चुनिन्छन् । वि.सं.२०३८ वैशाख ४ गतेदेखि राष्ट्रव्यापी शिक्षक आन्दोलन शुर हुन्छ र यसैमा लाग्दा खगेन्द्र पक्राउ पर्छन् । एक महिना चितवनमै थुनिएपछि उनलाई वीरगञ्ज जेलमा सरुवा गरिन्छ । जेलमा उनले स्वतन्त्र लेखन र अनुवाद कार्यलाई निरन्तरता दिन्छन् । (उनी कति समय त्यो जेलमा बस्नु परेको थियो भन्ने पनि किताब खुलाइएको छैन) ।

रिहा भइसकेपछि उनको अध्यापन कार्य फेरि अगाडि बढ्छ । उनले क्रमशः पार्टी छोडिसकेका हुन्छन् र शिक्षक सङ्गठनसँग पनि दूरी बढिसकेको हुन्छ । पञ्चायती प्रसाशनले कहिले प्रहरी पठाएर त कहिले जिल्ला कार्यालय बोलाएर निरन्तर मानसिक प्रताडना दिने गरिरहेको थियो । यस्तो अवस्थामा उनले आफूलाई एक्लो महसुस गर्न थाले । यसले गर्दा श्रीमतीसित गम्भीर सल्लाह गरेर अन्ततः उनी ‘सुरक्षित जीवन र बौद्धिक श्रम गर्ने ठाउँको खोजीमा’ सधैँका लागि काठमाडौं लागे । ‘बुर्जुवा शिक्षा’ समेत राजधानी शहर नै छाडेर ‘क्रान्तिको राँको सल्काउन’ वि.सं.२०२७ मा गाउँ पसेर विभिन्न गतिविधिमा लाग्दा र गर्दा क्रमशः थकित र गलित हुँदै अनि कडा पारिवारिक मोहपाशमा बाँधिँदै गएका खगेन्द्र आजित हुँदै तेह्र वर्षपछि उही काठमाडौं फर्किएका थिए ।

चितवन बस्दा खगेन्द्र दम्पतीले त्यहाँ निजी घर बनाइसकेका थिए । खगेन्द्र काठमाडौं आएको केही समयपछि जमुना पनि शिक्षण अस्पताल महाराजञ्जमा सरुवा मिलाएर छोराछोरी लिएर राजधानी आइपुगिन् । केही समय डेरा-बसाइँपछि दश आना जग्गा किनेर (चितवनको घर बेचेर) वि.सं.२०४३ मा उनीहरूले चाबहिलमा स्थायी आवास बनाए । पढाइमा रहरालु र जाँगरिली जमुनाले तमाम पारिवारिक असुविधाका बीच पनि अध्ययन जारी राखिन् र पहिले नर्सको रूपमा कार्य गर्दै पछि नर्सिङ पढाउने कार्य गर्दै अन्ततः मेट्रन पदमा कार्यशील रहेको समयमा अवकाश ग्रहण गरिन् । अहिले छोरी डेजी डाक्टर र छोरा मित्र इन्जिनियर छन् ।

काठमाडौं फर्किसकेपछि खगेन्द्रले पढाउने र अनुवाद गर्ने काम पाए । पिस कोरका रूपमा नेपाल आएका अमेरिकीहरूलाई नेपाली पढाउने काम गर्दा उनले राम्रो पैसा पाउन थाले । उता भोटाहिटीमा नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक निरन्जन गोविन्द वैद्यका लागि चिनियाँ मार्क्सवादी एवं अन्य जनवादी साहित्यिक किताब अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्ने काम पनि पाए । माओका सङ्कलित रचनासमेत दर्जनौं किताब यस क्रममा उल्था गरे । तर पछि त्यसरी अनुवाद गर्दा अरूहरूलाई भन्दा आफूलाई धेरै कम रकम दिइएको हुँदा आफू निकै ठगिएको थाहा पाएपछि वैद्यसँगको सम्बन्ध चिसियो । त्यसपछि पनि पत्रपत्रिकामा नियमित लेख्ने, कथा र उपन्यास लेख्ने, व्यवसायिक अनुवाद गर्ने, राजनीतिक टीका-टिप्पणी लेख्ने, सभा-गोष्ठीमा नियमित सहभागी हुने, र पछिपछि गएर नागरिक आन्दोलनमा सहभागी हुने आदि तमाम कार्यमा सक्रिय हुँदै आउन थाले ।

माओवादी सशस्त्र द्वन्द्व शुरु भइसकेपछि उनी एकपटक गोप्य तवरले पक्राउ परे । उनलाई राख्न त महाराजगञ्ज लगेर राखिएको थियो तर उनलाई पक्राउ गरिएको र राखिएको बारे केही सार्वजनिक गरिएको थिएन । यसले ठूलो त्रास एवं संशय फैलिएको थियो । परिवार र उनलाई नजिकबाट चिन्ने कतिपय वैचारिक साथीहरूले व्यापक खोजतलाश गरेका थिए । केही सातापछि उनी सकुशल रिहा भएपछि भने सबैले राहत महसुस गरेका थिए ।

राजा बीरेन्द्रको वंश नाश हुने गरी भएको बीभत्स दरबार-हत्याकाण्डको बेला उनले ‘कुन्साङ काका’ को छद्म नाममा ‘कान्तिपुर’ दैनिकमा लेखेका आक्रोश उमाल्ने तीखा लेखहरू निकै चर्चित बनेका थिए । त्यो हत्याकाण्डका लागि आरोपित युवराज दीपेन्द्रको बचाउ गर्दै तत्कालीन राजा ज्ञानेन्द्र र उनको समूहलाई तारो बनाई लेखिएका लेखहरूले धेरै जनमानसको भावना बोकेको भान हुन्थ्यो । पछि तिनै लेखसमेत सङ्लन गरेर उनले ‘जनआन्दोलनका छर्रा’ नामक सानो किताब प्रकाशित गरेका थिए ।

यही बीचमा उनले एउटा गैरसरकारी संस्थाको प्रायोजनमा पर्वतको दलित बस्तीमा केही समय बिताएर त्यहाँको दलित बस्ती र दलित जनजीवनबारे एउटा उपन्यास लेखे, ‘जूनकिरीको संगीत’ । उनको यो उपन्यास व्यापक रूपमा आलोचित भयो र खासै रुचाइएन पनि । उनका अन्य कथासङ्ग्रह र उपन्यास जस्तै यो अर्को एक असफल उपन्यास साबित भय

खगेन्द्रको स्वभावजन्य अर्को विशेषता के देखिन्छ भने उनी आफूले भनेको वा लेखेको कुराप्रति अन्य कसैले केही भन्यो वा आलोचना गरेर लेख्यो भने त्यसको जवाफमा तत्काल, र अक्सर हतारो गरेर, उनी झन्भन्दा झन् तीखा शब्द थुपारेर उही वा अर्को पत्रपत्रिकामा लेखिहाल्छन् ! अर्थात्, उनलाई आफ्नो आलोचना वा आफूप्रतिको असहमति लगभग पच्दैन । आफूलाई पर्याप्त मानमनितो गर्ने मानिससँग भेटेर सामान्य छलफल गरेर समाधान निस्कने कुरालाई बेवास्ता गर्दै उनी तत्काल अखबारबाट शब्दका घुएँत्रा चलाउन थाल्छन् !

पिताको मृत्युपश्चात् तेह्र दिने काजक्रिया गर्ने नगर्ने सम्बन्धमा पुण्यप्रसादसँग भएको लामो अखबारी-विवाद, अर्को एक प्रसङ्गमा हरिगोविन्द लुइँटेलसँग भएको अखबारी-विवाद, चैतन्य र निनु चापागाइँ अनि ऋषि बराल र ईश्वर पोखरेल औ मातृका पोखरेल आदिसमेत अनेकसँगको अखबारी विवाद आदि इत्यादि यस्तो लामो फेहरिस्त यही किताबमा पनि भेटिन्छ ।

अर्को अनौठो लाग्ने प्रसङ्ग उनकी आमाको मृत्युसँग जोडिएको छ । किताबमा उल्लेख भएअनुसार, खगेन्द्रले पछि ‘आमा र यमदूतहरू’ शीर्षकमा डेढ सयभन्दा बढी पृष्ठको किताब प्रकाशित गरे । तर विडम्बना के भने बिरामी आमाको मृत्युपछि अन्तिम दाह-संस्कार गर्दा आमाको नाम सोधिँदा खगेन्द्रलाई आफ्नी आमाको नाम नै थाहा हुँदैन ! पचासको उमेर नाघिसकेका र मुलुकको राजनीतिक, सांस्कृतिक, साहित्यिक एवं सामाजिक जीवनको फाँटमा दरिलो उपस्थिति बनाइसकेका उनले थाहा नभएर आफ्नी जन्मदात्रीको नाम गलत भनेका हुन्छन् !

त्यसो त उनलाई प्रखर बागी साबित नगर्ने अरू पनि केही तथ्य जीवनीकार उज्जवल प्रसाईले किताबमा उल्लेख गरेका छन् । जस्तो, ‘साङ्गठनिक अनुशासन र नियममा रहेर जीवनयापन गर्न उनलाई सधैँ अप्ठ्यारो लाग्थ्यो । कुनै घटनाले सिर्जना गरेको आवेगमा निणर्य गर्ने, बोल्ने र लेख्ने स्वभाव भएकाले दलीय चौघेरामा बाँधिन सकुँला भन्ने उनलाई कहिल्यै लाग्दैन्थ्यो ।’ (पृ.१४७)

‘सधैँभरि नेताका लाइनबाट निर्देशित हुन इनकार गर्ने खगेन्द्रले यसपटक पनि त्यही गरे । मालेको भण्डाफोर गर्ने उपन्यास लेखिएन ।’ (नेमकिपा अध्यक्ष रोहितको भनाइ उनले मानेनन्) । (पृ.१५८) ।

‘साना डेजी र मित्रका आँखामा बाबुप्रति छल्केको प्रेम र विश्वासले उनको मनमा एकैपटक अनेक किसिमका तरङ्ग उत्पन्न गर्थे । आफू बेपत्ता पारिए, जमुनाले ती दुईलाई हुर्काउने, बढाउने र पढाउने अभिभारा एक्लै सम्हाल्नु पर्छ भन्ने सोचेर उनी त्यसैत्यसै गलित र थकित हुन्थे ।’ (पृ.१६८) ।

एक बागीका लागि अन्य कुनै पनि कुराभन्दा आफ्नो लक्ष्य सबैभन्दा प्रमुख, सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण हुन्छ । खगेन्द्रले आफ्ना लागि भनेर कहिल्यै कुनै अहम् वा विशिष्ट लक्ष्य निर्धारण गरेको किताबमा उल्लेख छैन ।

किताब पढ्दै जाँदा के  पनि थाहा हुन्छ भने खगेन्द्र आफैँले पढेर, बुझेर, पूर्ण सचेत भएर, दूरगामी लक्ष्यको गूढता बुझेर भन्दा पनि आफ्नै शिक्षक र वरिपरि सक्रिय रूपमा देखा परेका राजनीतिक व्यक्तिहरू देखेर र उनीहरूले देखाइदिएको ढोका हेरेर नाजेर नजानेर वा चाहेर नचाहेर त्यही ढोकाबाट अनायास नै बहुरङ्गी वामपन्थी आँगनमा प्रविष्ट भएका हुन् ।

०००      ०००       ०००

खगेन्द्रको जीवनकथा वर्णन गर्दा अनेक स्थानमा जीवनीकारले खगेन्द्रको भाषा प्रयोग गरेका छन् जुन सुहाउँदो लाग्दैन । त्यसो गर्नु उचित पनि होइन किनभने त्यसरी दिनु पर्दा बरु खगेन्द्रको भनाइका रूपमा उद्धरणभित्र दिँदा पुगी जान्थ्यो स जस्तो- ‘सिलोक, धार्मिक कार्जे, हिरोनी,’ । … ‘काठमाडौंबाट शाही शासनका बादशाह श्री ५…’ भनेर सम्बोधन गरिने ‘त्रिभुवन असली बादशाह राणा खलकबाट ज्यान जोगाएर दिल्ली पुगे’ (पृ.३९) ।… ‘सत्र सालको महेन्द्रको फौजी शासनपछि राजनीतिक दलहरूलाई खुलेर गतिविधि गर्न सम्भव भएन’ …(पृ.४५) ।

यसो भए तापनि साँचो कुरा हो- खगेन्द्रका धेरैजसो रचनामा मानव जीवनको संघर्ष उजागर भइरहेको हुन्छ र त्यो कर्मशील जनजिन्दगानीको दर्पण हुन्छ । तिनमा जीवनको सार्थकताबारे सटीक वर्णनसँगै  संवेदनशीलता, तीव्र कटाक्ष, निर्भीकता र असमानताविरुद्ध प्रहार हुन्छ । उनी सरल ढङ्गले लेख्छन् र उनको अभिव्यक्ति सहज छ । तथापि अक्सर जिरही र प्रतिवादी शैलीमा अभिव्यक्त हुने उनको लेखन धेरैलाई पच्दैन ।

के पनि देखिन्छ भने आफ्ना रचनाहरूमा समाज र राजनीतिको यथार्थ तस्बिर वर्णन गर्ने प्रवृत्ति भए पनि खगेन्द्र कहिल्यै पथ-प्रदर्शक भने भएनन्, देखिएनन्, सायद हुन सकेनन् । उनको लेखन-अभिव्यक्ति शैली आफ्नै किसिमको छ भने पउल शब्द-भण्डारका धनी भएकाले उनको मौलिकता अझ निखारिएर देखा पर्ने गर्छ तर यसो भए तापनि उनलाई कटाक्ष लेखनका पुरोधा हुन् भनेमा फरक पर्दैन । एक समय थियो, सायद चालीस र पचासको दशकका लेखक-पत्रकारहरूलाई थाहा हुनुपर्छ, दुई फरक धार -देब्रे र दाहिने धुरी- का लेखकद्वय खगेन्द्र सङ्ग्रौला र शिव अधिकारीको नाम निकै चर्चित थियो । दुवै जना मुटु छेड्ने गरी तीखा-तीखा शब्द भरिएका वाक्य लेख्न माहिर मानिन्थे, थिए पनि । बेलाबेलामा दुईजनाबीच ‘रमाइलो’ घोचपेच चल्थ्यो ।

०००         ०००         ०००

आफूलाई ‘प्रगतिवादी’ भन्न रुचाउने वामपन्थी विचार बोक्ने लेखकहरू लगभग प्रेम-प्रणय विषयक सिर्जनाहरू गर्दैनन् । उनीहरू यो विषयका रचनालाई ‘प्रतिक्रियावादी’, ‘फ्रायडवादी’, ‘संशोधनवादी’, ‘रतिरागवादी’, ‘सामन्ती’, ‘पुँजीवादी’ साहित्य आदि भन्दै आलोचना गर्ने गर्दछन् । तर उनै वामपन्थी लेखकहरू व्यक्तिगत जीवनमा माया-प्रेम गज्जबसँग गाँसिरहेका हुन्छन् । मुलुकमा सक्रिय विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध दर्जनौं नेता-कार्यकर्ताले प्रेम-विवाह गरेका छन्, तीमध्ये पनि कतिपयले त अन्तरजातीय विवाह गरेका छन् । खगेन्द्र सङ्ग्रौला पनि -‘एक बागी’ मा उल्लेख भएअनुसार- प्रथम दुईवटा प्रेम-प्रसङ्ग असफल भएपछि तेस्रो प्रयासमा मात्र सफल भएका हुन् र त्यसपछि नै उनले अन्तरजातीय विवाह गरेर घरजम गरेका हुन् ।

प्रेम भन्ने विषय दुनियाँमा सबैभन्दा बढी बोलिने, अनुभूत गरिने र लेखिने तत्त्व हो । उसै पनि प्रेमले मानिस वा साहित्य कसैलाई पनि शुष्क हुन दिँदैन । हाइस्कुल पढ्दा चिठी लेखेर गरेको प्रेम-आग्रहलाई युवतीले ‘बाल नदिए’ पछि खगेन्द्रको पहिलो प्रेम शुर नै नभई समाप्त हुन्छ । उनको दोस्रो प्रेम काठमाडौंमा घरबेटीकी छोरीसित राम्रै गरी बसेको हुन्छ ।

एउटै घरमा बस्ने, एउटै भान्छामा खाने, ट्युशन पढ्ने-पढाउने आदि हुँदै पलाएको त्यो दोस्रो प्रेम राम्रै गरी झाँगिएको हुन्छ । घण्टौं एकालाप गर्ने र टाढाटाढा घुम्न जाने आदि सबै हुन्छ । तर आफ्नो निर्बन्ध एवं स्वच्छन्द स्वभावले गर्दा खगेन्द्रलाई ती युवतीसित स्थायी सम्बन्ध जोडेमा आफूले त्यो पारिवारिक उत्तरदायित्व वहन गर्न नसक्ने र युवतीले दुःख मात्र पाउने भन्ने एकतर्फी सोच आउँछ जसले गर्दा उनी त्यो सम्बन्ध अगाडि बढाउन नसकिने निष्कर्षमा पुग्छन् । पछि उनी ‘बुर्जुवा शिक्षा’ बहिष्कार गरेर लमजुङ गएको बेला ती युवतीले उनलाई काठमाडौं आएर विवाह गरी आफूलाई सँगै लैजान आग्रह गर्दै पत्र पठाएकी हुन्छिन् । तर उनले त्यस चिठीप्रति कुनै प्रतिक्रिया जनाएनन् । सम्भवतः नियतिले नै यस्तो गराएको थियो किनभने अलि पछि तनहुँको बन्दीपुरमा जमुना गुरुङसँग खगेन्द्रको अन्तरजातीय दाम्पत्य सम्बन्ध गाँसिन लेखेको रहेछ । सायद उनीहरू -जमुना गुरुङ र खगेन्द्र सङ्ग्रौला- एकअर्काका लागि नै बनेका थिए ।

०००       ०००       ०००

समग्रमा किताबले खगेन्द्र सङ्ग्रौलाको जीवनका तमाम आयामलाई विभिन्न कोणबाट उजिल्याउने प्रयत्न गरेको छ । यद्यपि, खगेन्द्र आफ्ना सन्तानलाई भेट्न अमेरिका आएको प्रसङ्गबारे किताब मौन छ । देशका केही भागको भ्रमणबारे अपर्याप्त उल्लेख भए पनि उनका अन्य कुनै वैदेशिक आइजाई सम्बन्धमा पनि मौन साधिएको छ । आफ्नो समयमा नेपाल हल्लाएको ‘झापा आन्दोलन’ बारे किताबले खासै केही बोलेको छैन ।

यसै गरी, साहित्यकार पारिजातको मृत्यु भइसकेपछिको एक प्रसङ्ग गोविन्द गिरी प्रेरणाले लेखेको पारिजातको जीवनी ‘सुश्री पारिजात’ मा उल्लेख गरेअनुसार, खगेन्द्रले पारिजात-निकटका अर्का वामपन्थी पत्रकार शक्ति लम्साललाई फोन गरेर भनेका हुन्छन्, “पारिजातको मलामी त यो गति भो, तपाईंको मलामी कति होलान्, शक्तिजी ?” । यो प्रश्नले आगो भएका शक्ति लम्सालले ‘जनादेश’ पत्रिकाको अफिसमा अर्का वामपन्थी चिन्तक आहुतिलाई भनेका थिए, “मैले पनि कार्ल मार्क्सको मलामी छजना थिए । सवाल मलामीको होइन, विचारको हो भन्दिएँ ।” यस किसिमका चर्चा, आलोचना वा खिसीट्युरी वा छुद्रताका सन्दर्भहरू खगेन्द्रसँग अरू पनि जोडिएका होलान् तर तीबारे पनि जीवनीकार उज्जवल मौन छन् !

यी सबै पक्षका बाबजुद किताब चाहिँ निश्चय पनि पठनीय छ । भाषा सरल एवं सम्प्रेषणीय छ र पढ्दै जाँदा पाठकलाई बाँधिराख्न पनि सफल छ । नेपालीमा उपलब्ध अरू तमाम जीवनी पुस्तकहरूको दाँजोमा यो किताब कुनै पनि कोणबाट उन्नीस छैन । आफ्नो अध्ययन, अनुसन्धान र लेखन क्षमताले गर्दा जीवनीकार उज्जवलमा अन्य जीवनी पनि लेख्न सक्ने प्रचुर क्षमता छ ।

‘एक बागी’ किताबमै पनि उनले उल्लेख गरेको बन्दीपुरबाट दमौली सदरमुकाम सारेको र त्यस क्रममा तनहुँमा भएका समर्थन र विरोधका अतिरेक उतार-चढावहरू, ‘ह्याटवाला हुलाकी’ का रूपमा शान्तदास मानन्धरले खगेन्द्रलाई भेटेर बाल साहित्यको महत्त्व सम्झाउँदै त्यसको सिर्जना किन महत्त्वपूर्ण छ भन्ने आफैँले केटाकेटीहरूसँग खेल्दै देखाएको र त्यसबाट प्रभावित भई खगेन्द्रले बाल साहित्य रचना गरेको, प्रगतिशील लेखक संघमा खगेन्द्रको प्रवेश र बहिर्गमन, राष्ट्रियताको नयाँ परिभाषाका रूपमा सी.के.लालको बहुचर्चित ‘नेपालीय’ अवधारणा सोचपत्रको मार्टिन चौतारीद्वारा लगभग चार वर्ष चलाइएको राष्ट्रव्यापी बहसमा खगेन्द्रको सक्रिय सहभागिता, मधेश आन्दोलन र बाह्र बुँदे सहमति, राजा ज्ञानेन्द्रको शासनकाल र राजतन्त्रको अन्त्यसँगै गणतन्त्र नेपालको आविर्भाव आदि तमाम प्रसङ्ग रोचक शैलीमा पढ्न सकिन्छ ।

अन्त्यमा, किताबमै उल्लेख भएको एक प्रसङ्ग, जहाँ साहित्यकार मञ्जुश्री थापाले खगेन्द्र सङ्ग्रौलाको समीक्षा गर्दै लेखेकी हुन्छिन्, “मेरो आग्रह यति मात्र छ, प्रस्तुतिमा थप मिहिनेत गरिदिनुस्, क्वाँटी एकदम मीठो पकाउनुहोस् न, साहित्यकार दाइ ! पाठकका अगाडि पोषिलो साहित्य मात्र नपस्कनुस्, स्वादमा पनि उत्तिकै ध्यान पुर्‍याउनुस् । लेख्नुस् न, युगौंसम्म पाठकले खोजीखोजी पढ्ने किताब !”