शब्द: गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी
साहित्यको क्षेत्रमा जो भान आमर्स –कूलर नामले परिचित डच लेखिकाको पूरा नाम जोहाना भान आमर्स –कूलर थियो । उनले दसबाह्रबर्षकै कलिलो उमेरमा नाटक र कथाहरु लेखेकी थिइन् । ती दिनलाई उनी यसरी संझना गरेकी थिइन्, “डेल्फ्टको एउटा सानो शहर, जहाँ म जन्मेकी थिएँ, मैले त्यहीं मेरो बाल्यावस्था र युवावस्था बिताएँ । त्यहाँ कूलर्स परिवारहरुको धेरै पुस्ताले डाक्टरहरु र वकीलहरुको रुपमा बिताइसकेका थिए । म एउटी मात्र बालिका थिएँ र मेरो खेल्ने प्यारो साथी एउटा कुकुर थियो ।“
दसबाह्रबर्षकै उमेर देखि लेख्दा उनलाई आफूले लेखेको शुरुवात भने निकै सुन्दर लाग्थ्यो तर अन्त्य भने सन्तोष जनक, सुन्दर नभई गज्याङ मज्याङ भए जस्तो लाग्थ्यो । १४ बर्षको उमेरमा एउटा पत्रिकामा उनको कथा प्रकाशित हुँदा उनलाई सुखद आश्चर्य र सन्तुष्टिको सागरमा डुबुल्की मारेको अनुभव भयो । त्यसपछि उनका गम्भिर लेखनका कामहरु शुरु भए ।
एउटी साधारण महिलाको झैं उनको पनि बिवाह युवावस्थामै भएको थियो । खासमा १८ वर्षको उमेरमा उनी रोडोल्फ नामका ईन्जिनियरसँग परिचित भएन् । त्यो परिचय घनिष्ठतामा बदलियो र तीन वर्षपछि २१ वर्षको उमेरमा उनीहरु वैवाहिक सूत्रमा वाँधिएका थिए । उनका २ सन्तान छोराहरु भए । ती दुइवटा छोराहरु नहुर्किउनजेल उनले लेखनलाई बिर्सिदिनु पर्यो । तर जब दुई सुन्दर छोराहरु स्कुल जान थाले उनले आफ्नो पुरानो शौख ‘लेख्ने काम’ थालिन् । सन् १९१९ मा उनको एउटा उपन्यास छापियो र त्यसै साल एउटा नाटक मञ्चन पनि भयो । रमाइलो र सन्तोषको कुरा के भयो भने उनका नाटक तथा उपन्यासहरु शुरुमै सफलता प्राप्त गर्न सफल भए । त्यतिन्जेल उनी हल्याण्डको धेरै रुचाएर पढिने लेखिकाको रुपमा स्थापित भैसकेकी थिइन् ।
जब १९२५ मा उनको ‘द रेवेल जेनरेशन’ प्रकाशित भयो, त्यसले अपेक्षाकृत त्यति ठूलो सफलता प्राप्त गर्न नसके पनि र ‘वेष्ट सेलर’ नभए पनि त्यसले अन्तरराष्ट्रिय छवी बनाउन सक्यो र त्यो दश भाषामा अनुवाद भएर विश्व का विभिन्न मुलुकमा विस्तारित भयो ।
उनका प्रायः सबै पुस्तक विश्वका विभिन्न भाषामा अनुबाद भै प्रकाशित भएका छन् । सबै डचहरु झैं जो भान पनि फ्रेन्च, जर्मनी र अंग्रजीमा पोख्त थिइन् । उनले जर्मनी, डेनमार्क, फिनलैण्ड, हंगेरी एवं स्वीट्जरलैण्ड आदि मुलुकको भ्रमण पनि गरेकी थिइन् र ती ठाउँहरुमा ब्याख्यान पनि दिएकी थिइन् । पछिल्लो अमेरिका भ्रमणमा उनी उनकी अमेरिकी साथी हेनरिक विलियम भ्यान लून तथा उनको श्रीमतीसँग बसेकी थिइन् ।
स्न १९३८ को हिउँदमा ऐतिहासिक उपन्यासत्रयी ‘द हाउस अफ टावालिन्क’ पूरा गरिसकेपछि उनले डचको वेष्ट इण्डिज भ्रमण गरिन् र पहिलो औपनेविक पृष्ठभूमिको उपन्यास लेख्न आवश्यक सामग्री संकलन गर्ने काममा जुटिन् ।
श्रीमती जो भान धेरैबर्ष पेन क्लब हल्याण्डको सचिवको रुपमा रहिन् । त्यसै सिलसिलामा उनी हेग र आम्स्टरडममा सम्पन्न क्लबको भेलाहरुको आयोजिका समेत भइन् ।
उनी दुईपल्ट ब्रिटेनको ‘गेष्ट अफ अनर’ बाट सम्मानित भइन्–एकपल्ट १९२८ मा लण्डनमा र अर्कोपल्ट १९३२ मा इडिनबरामा । यसै सिलसिलामा उनको पेनका सदस्यहरुसँग भित्रता भयो । उनी जोन गाल्सवर्दीलाई साह्रै रुचाउँथिन् र श्रीमती डसन स्कटको अभिन्न साथी थिइन् ।
‘तिनी उत्तम यथार्थवादी हुन् । तिनमा जीवनको पकड राम्रो छ । त्यही कारणले तिनको कलामा पनि त्यत्तिकै पकड छ ।’ इष्टर फेब्सले उनको बारेमा यस्तो टिप्पणी गरेका छन् ।
अंग्रेजीमा उपलब्ध हल्याण्डको सबै समकालीन उपन्यासकारहरुमध्ये उनका उपन्यासहरुले डच जीवनको पारिवारिक तस्वीर, बृहत् र बास्तविक रुपमा चित्रण गरेका छन् । उनलाई यसैमा विशेष रुची थियो । उनी सबैभन्दा राम्रो कथा वाचिकाको रुपमा समेत स्वीकृत थिइन् ।
“जहाँ म ‘बुर्जुवा’ लेखकको रुपमा मानिन्छु र पूँजीवादी प्रबृत्तिको ठानिन्छु – त्यहाँ मेरा कृतिहरु प्रतिबन्धित छन् ।” उनको भनाई थियो ।
उनको पछिल्लो चचित कृति “एल्जेलिना” शुरुमै ६ भाषामा प्रकाशित भएको थियो । यो एउटा डच पारसनको छोरीको कथा हो । ती नायिका अरु कोही नभई उनकै हजुरआमाको भतिजी हुन् । अर्को ऐतिहासिक उपन्यास जाँ आर्कसँग सम्बन्धित छ । अर्कोले लुई सत्रौंको कथा भन्छ । उनी भन्थिन् – ‘मेरा आगामी उपन्यासहरुले सम्भवत आधुनिक समाजको चित्रण गर्ने छ । युध्दपछिका बर्षहरुलाई !’
३५ बर्षको उमेरमै उनको २० उपन्यास र ६ नाटकहरु प्रकाशित भैसकेका थिए । उनका उपन्यासहरु १५ देशबाट प्रकाशित भएका थिए ।
उनका शुरुका सफल उपन्यासहरु ‘द हाउस अफ ज्वाय’ र ‘जेन्नी हेष्टिन्स क्यारियर’ रंगमञ्चभित्र र बाहिरको जीवनमा आधारित थियो । यसमा १९१२ देखि १९२१ सम्मको उनको लण्डनको नाटककारको अनुभवलाई त्यसले आत्मसात गरेको थियो ।
उनको महत्वपूर्ण उपन्यास ‘द रेवेल जेनरेशन’ ले कुर्नवेल्ट परिवारका आइमाइहरुको तीन पुस्ताको सङ्घर्ष प्रस्तुत गरेको थियो – पुरुषसँग समानताको लागि र काल्निभिएट बातावरणको रुढी विरुद्ध ।
‘द हाउस अफ टावालिङ्क’ एउटा सम्भ्रान्त परिवारको कथा हो जुन १७७८ देखि १८१५ को समयावधिसम्म विस्तारित छ । ‘एल्जेलिना’ डच महिलाकै कथा हो जसले १७७६ देखि १८४५ सम्मको समयावधिलाई लिएको छ भने पारिवारिक सूत्र १८७१ देखि १९०१ सम्म फैलिएको छ ।
उनको जर्मनमुखी पक्षले उनलाई दोस्रो विश्वयुद्ध पछि झन् बढी ख्याति दिलाएको थियो ।
सन् १८८४ अगस्त १३ मा नेदरल्याण्डको नूरडेलोसमा जन्मेकी जो भानको नेदरल्याण्डकै वाकेलमा सन् १८६६ जनवरी २३ मा निधन भयो ।

०००