धेरै वर्षदेखि कवि र साहित्यिक पत्रिका–सम्पादक भनेर नाम कमाउँदै आएका बसन्त श्रेष्ठ पछिल्लो समयमा गद्य–लेखक, त्यसमा पनि गैरआख्यानकारका रूपमा अवतरित भएका छन् । उनको पहिलो गद्य–कृति बनेर आएको किताब हो, “अँगालोभरिको अनुभूति” । यद्यपि ‘साहित्यपोस्ट’ काठमाडौंद्वारा वैशाख २०७९ मा प्रकाशित यो पुस्तक केवल एक अँगालो अनुभूति मात्र होइन बरु यसभित्र धेरैधेरै अँगाला अनुभव र अनुभूतिहरू समेटिएका छन् ।
त्यसो त ‘अँगालोभरिको अनुभूति’ उनको पाँचौं कृति हो भने यसपछि पनि उनले आफ्नो सबभन्दा पछिल्लो तथा छैटौं कृतिका रूपमा अर्को किताब समेत सार्वजनिक गरिसकेका छन्, त्यो किताब हो– ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ । नारायणमान उनका पिताको नाम हो । यस किताबमा पिताजी दिवङ्गत भएको चालीस वर्षपछि उहाँकै स्मृतिमा उनले पिताजीको जीवनकथा लेखेका छन् भने त्यससँगै आमा सुभद्रादेवी र सिङ्गो श्रेष्ठ परिवारको कहानीसँगै समग्रमा पिताजी जन्मेको तेह्रथुम जिल्ला र सारमा सदरमुकाम म्याङ्लुङ बजारको सर्वाङ्गीण विकासमा उहाँको योगदान आदिको सविस्तार वर्णन छ ।
खासगरी कविता लेख्ने मात्र होइन, रोचक शैलीमा कविता वाचन गर्ने भनेर पनि बसन्त उम्दा कहलिँदै आएका छन् । कारण के पनि हुन सक्छ भने लेखनमा उनलाई मनपर्ने विधा नै कविता हो । उनी आफ्नो कवितामा भन्छन्–
“हामी प्रजातन्त्रको नाममा विश्वास गुमाइरहेछौं
हामी स्वाधीनताको नाममा देश गुमाइरहेछौं
देश राष्ट्रियताको नाम हो
देश अखण्डताको अर्को नाम हो
पाइला पाइलामा हुन्छ देश
देश माटोमा भिजेको हुन्छ
देश भावनाभित्र रुझेको हुन्छ ।”
आफ्ना कविताहरूमा देशप्रेम, राष्ट्रियता, जीवनमा आइपर्ने सुख–दुःख, माया, प्रेम, प्रकृति, साथी–सँगाती र प्रवासी जीवन आदि सबै सन्दर्भ–प्रसङ्गहरूलाई विषयवस्तुका रूपमा लिन रुचाउने बसन्तका लागि साहित्य के हो त ? उनी भन्छन्, “जीवनलाई सम्पूर्णताबाट हेर्न सक्ने साहित्य नै साँचो साहित्य हो । साहित्यिक जीवन र समाजसँग घनिष्ठ सम्बन्ध हुन्छ । साहित्यले सामाजिक परम्परालाई अगाडि बढाउने मात्र नभई परम्परा तोडेर नयाँ आयाम, नयाँ क्षितिज र नयाँ क्षेत्रको उद्घाटन बढी गर्छ । त्यसो भएन भने साहित्य पछाडि पर्दछ । मेरो साहित्य लेखनको मूलमन्त्र नै यही हो ।”
यसो भनेर उनी परम्परा–भञ्जक बन्न पनि उत्ति नै रुचाउँछन् । फगत नियमभित्र बाँधिएर लेख्न बस्दा युगजनीन विचार र परिस्थितिहरूबारे मनले चाहेअनुसार लेख्न सकिँदैन भन्ने उनलाई लाग्छ । त्यसकारण उनी आफ्नो लेखनमा नयाँ क्षितिजतिर दृष्टि दौडाउँछन् । अनि त उनको कलम दुन्दुभि फुक्न अग्रसर हुन्छ–
“हामी त अझै इतिहास बोकेर देश चिन्दैछौं
हामी त अझै भूगोल देखाएर देश फेला पार्दैछौं …
कुनै भूगोलभित्र मात्र कैद छैन देश
कुनै इतिहासभित्र मात्र सीमित छैन देश
देश स्वतन्त्र छ, देश सार्वभौम छ
देश जहाँ पनि
हामीसँग यहाँ पनि हाम्रो देश छ ।”
०००
“…पटक पटक नदोहोर्याऊ
सतीले सरापेको देश भनेर
बारम्बार धिक्कार्ने नगर
जनता उस्तै र देश उस्तै भनेर
म त भन्छु
देशको अहितमा बोल्ने
तिमीलाई केही हक छैन
देशलाई सधैँ सराप्ने
तिमीसँग केही अधिकार छैन
किनकि देशले तिमीलाई होइन
तिमीले देश छोडेर आएका हौ
देशको माटो र मायाले होइन
तिमीले नै माटो र माया
त्यागेर आएका हौ … ।”
यी त भए बसन्तले लेख्ने कविताका केही बान्कीहरू । पद्य वा गीति कविता नभएर उनी छन्दहीन र मुक्त कविता लेख्छन् । गद्य कविता लेख्नु उनको रुचिको विषय हो । यसै क्रममा वि.सं.२०६४ मा आफ्नो पहिलो कविता–संग्रहको रूपमा ‘वसन्त श्रेष्ठका कविता’ छापेका वसन्तका ‘भावनाका लहरहरू’, ‘अर्को गोलाद्र्धमा उभिएको मान्छे’ र ‘उज्यालो खोज्ने आवाजहरू’ समेत चार ओटा कवितासंग्रह प्रकाशित छन् । तर अहिले हामी बसन्तको कवि–व्यक्तित्वबारे कुरा गर्न गइरहेका छैनौं, बरु हाम्रो यतिवेलाको सरोकार उनको गैरआख्यान किताब ‘अँगालोभरिको अनुभूति’ माथिको परिचर्चा हो ।
यो किताबलाई उनले संस्मरण भनेका छन् तर वास्तवमा यो संस्मरण-संग्रह नभएर बसन्तको आत्मकथा नै हो । अझ भनौं, संस्मरण शैलीमा लेख्न खोजिएको आत्मकथा हो । आत्मकथा र संस्मरणमा के अन्तर छ त ? सहज उत्तर हो– आत्मकथा कुनै व्यक्ति–विशेषको सम्पूर्ण जीवनको लेखाजोखा भन्ने विवरण हो, भने, संस्मरण व्यक्ति–विशेषको जीवनका आरोह–अवरोहमध्ये खास कुनै एक घटना–विशेष वा जीवनको कुनै एक खास पाटोको वर्णन मात्र हो । आत्मकथा जीवनको समष्टि हो भने संस्मरण वेष्टि । आत्मकथा समग्र जिन्दगीको दर्पण–छाया हो भने संस्मरण जीवनको खास समय–सन्दर्भमा केन्द्रीत सङ्क्षेप वा सार ।
आफ्नो यस पहिलो गद्य पुस्तकमा बसन्त श्रेष्ठले आफू तेह्रथुमको म्याङलुङ बजारमा जन्मेदेखि अध्ययन र कामको सिलसिलामा त्यहाँदेखि काठमाडौंसम्म र अन्ततः वि.सं.२०५१ देखि आजपर्यन्त अमेरिकामा बस्दै आएको समयसम्मका आफ्नो जीवनका तमाम पक्ष एवं गतिविधिहरूबारे करिबकरिब वर्षअनुसार नै क्रमिक तवरले लेखेका छन् । यस मानेमा समेत, किताबको लेखनशैली अलि पृथक् भए पनि र आत्मकथाको सम्पूर्ण आकर्षण एवं रोमाञ्च नभए पनि, ‘अँगालोभरिको अनुभूति’ शीर्षकमा बसन्तले आत्मकथा लेखेका छन् भन्दा फरक पर्दैन । सन्दर्भवश, नेपाली साहित्यमा आत्मकथाको उम्दा उदाहरण विश्वेश्वर कोइरालाको ‘मेरो कथा’ र ‘आत्मवृत्तान्त’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ आदि अनि संस्मरणका केही उम्दा उदाहरण पारिजातको ‘एउटा चित्रमय शुरूवात’, धनुषचन्द्र गौतमको ‘सम्झनाका गल्छेंडाहरू’, अम्बर गुरुङको ‘कहाँ गए ती दिनहरू’, गणेश रसिकको ‘दशगजामा उभिएर’ आदि समेत अनेक छन् ।
बसन्तले नेपाल छाडेर अमेरिका बस्न थालेको पनि करिब तीस वर्ष (अर्थात्, वि.सं.२०५१ देखि आजपर्यन्त) भइसकेको छ । यो अवधिमा श्रीमती विद्या र दुई छोरा बबिन अनि ब्रायनसहितको उनको सफल पारिवारिक जीवन त छ नै, यससँगै समाजमा उनको साहित्यिक एवं सामाजिक व्यक्तित्व पनि उज्यालो छ । तर किताब पढ्दा के पनि थाहा हुन्छ भने बसन्त नेपाल छँदासम्म साहित्यिक सक्रियता भए पनि कवि नै भनेर खासै चिनिएका थिएनन्, बरु उनको कविता लेखन र सबै छ ओटै किताबहरू यही अमेरिका बसाइँको दौरानमै एकपछि अर्को गरी प्रकाशित भएका हुन् । यसका साथै उनले आधा दर्जनभन्दा बढी पुस्तक एवं पत्रपत्रिका सम्पादन गरिसकेका छन् ।
अमेरिका आउनुअघि अर्थात् नेपाल छँदासम्मको करिब चालीस वर्षे जीवनमा उनले थोरै मात्र मौलिक साहित्य सिर्जना गरेका थिए भने त्यो अवधिमा उनी पत्रिका–सम्पादन र प्रकाशनको अल्पकालीन कार्यमा सक्रिय थिए । साहित्यप्रतिको रुचि उनमा सानैदेखि थियो । यही तथ्यलाई प्रमाणित गर्दै उनले भाइ विश्वविमोहन श्रेष्ठसित मिलेर केवल चौध वर्षको किशोर उमेरमै ‘तीनजुरे’ नामक हस्तलिखित पत्रिका निकालेका थिए । त्यसअघि उनकै पिताजी नारायणमान श्रेष्ठसमेतको सक्रियतामा त्यस भेगमा पहिलो हस्तलिखित पत्रिका ‘मगज’ र त्यसपछि दाइ पुस्ताका डा.रामेश्वर श्रेष्ठसमेतको सक्रियतामा दोस्रो हस्तलिखित पत्रिका ‘बिरुवा’ निस्केको थियो । यी सबै पत्रिका स्थानीय ‘श्रीकृष्ण पुस्तकालय’ मा राखेर पढ्न सकिने व्यवस्था मिलाइएको थियो तर केही वर्षपछि त्यो पुस्तकालय बन्द भयो र पुस्तकालय अनि त्यहाँ भएका तमाम किताब एवं दस्तावेजहरूसँगै ती सबै हस्तलिखित पत्रिकाहरू पनि इतिहासको अँध्यारोमा बिलाए ।
किताब विषयसूचीमा पहिलो उपशीर्षक ‘सम्झनामा मेरो बालापन’ को रूपमा म्याङलुङबजारबाट शुरू हुन्छ र एक्काइसौं तथा अन्तिम उपशीर्षक ‘पच्चीस वर्षपछि म्याङलुङ बजार पुग्दा’ को अनुभूति–वर्णनसँगै समाप्त हुन्छ । पहिला केही उपशीर्षकका लेखनमा उनले बालसुलभ खेलहरू बल खेल्ने, एक खुट्टाले खेल्ने, कक फाइट खेल्ने, रेखा कोरेर सानोसानो कोठा पारेर खेल्ने र अलि पछि गएर घरनजिकैको टुँडीखेलमा फुटबल, ब्याडमिन्टन आदि खेल्दै र पढ्दै हुर्केको उल्लेख गरेका छन् । वि.सं.२०२६ सालमा चौध वर्षकै उमेरमा एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं लाग्छन् ।
स्कूलको एउटा रोमाञ्चक घटना उल्लेख गर्दै बसन्त भन्छन्, “चौबीस सालको एसएलसी परीक्षामा सिंहवाहिनी हाइस्कूलबाट पूर्व बडाहाकिम देवेन्द्रबहादुर तुम्बाहाम्फेका छोरा वसन्त तुम्बाहाम्फे प्रथम श्रेणीमा पास भएका थिए । अर्को दिन उनी सिहवाहिनी हाइस्कूलमा दश कक्षालाई पढाउन पुगे । तर त्यसको विरोधमा विद्यार्थीहरूले कक्षा बहिष्कार गरे । अर्को दिन बडाहाकिम पेस्तोल बोकेर विद्यार्थीहरूलाई धम्काउन आइपुगे । बजारभर तनाव र सनसनी फैलियो । विद्यार्थीहरू संघर्ष गर्न उद्यत देखिए । धरपकडको डरले छात्रावास खाली भयो । … संघर्ष कसरी गर्ने भनेर विद्यार्थी लुकेर भेला गर्न थाले । त्यस्तो भेलाबाट म अलिक साँझमा घर पुगेको थिएँ । बुबाले मलाई केरकार गर्न थाल्नुभयो । उहाँले भर्खर प्रशासनिक भवन निर्माणको ठेक्का पाउनुभएको थियो र काम शुरू गर्न थाल्नुभएको थियो । … केही दिन दुबैतिरबाट घमासान वाक्युद्ध चर्कियो । तर पछि दुबैतिरबाट आआफ्नो गल्ती स्वीकारी सम्झौता भएको थियो ।” (पृ.९) ।
दशैँ–तिहार रमझममा भेटघाट, टीकाटालो र खानपीनसँगै बुबा नारायणमान (एनएम सर) ले मेन्डेलिन बाजा बजाउँदै आफूलाई सर्वाधिक मन पर्ने नेवारी गीत “व छु गल्ली थो छु गल्ली मखन त्वा या गल्ली रे” गाएर सुनाउने गरेको र आमालाई भने जति सुने पनि सुनिरहूँ जस्तो लाग्ने गीत बच्चु कैलाशको “सपना भुलाई सारा आँसु पिएर जाऊ” को पनि सम्झना गर्न बसन्तले बिर्सेका छैनन् ।
सम्झनाकै सन्दर्भमा बजारकै टुँडीखेलमा ठूलो सेतो पर्दा ल्याएर त्यसमा प्रोजेक्टरको मद्दतले चलचित्र ‘आमा’ हेरेको र त्यसपछि पनि कुनै वेला त्यसै गरी चलचित्र ‘माइतीघर’ हेरेको वर्णन छ । म्याङलुङ बजारमा प्रदर्शन भएको पहिलो चलचित्र त्यही ‘आमा’ हो जसलाई हेर्न निकै धेरै मानिसको भीड भेला भएको थियो । सबैजना आआफू बस्ने गुन्द्री वा त्यस्तै केही बोकेर गएका थिए । (तर बसन्तले त्यो चलचित्र प्रदर्शनको आयोजना कसले गरेको थियो भनेर खुलाएका छैनन्) ।
तेह्रथुमको म्याङ्लुङ बजारमा पिता नारायणमान र आमा सुभद्रादेवी श्रेष्ठका दश सन्तानमध्ये दोस्रो र चार भाइमध्ये जेठो छोरा भएर वि.सं.२०१२ फागुन ७ गते पञ्चमीका दिन जन्मेका वसन्तले औपचारिक पढाइको सन्दर्भमा अमेरिकाको न्यू ह्यामसर युनिभर्सिटीबाट एम.एस गरेका छन् । पिता नारायणमानले सानैदेखि भारतमा पढ्ने अवसर पाएका र त्यही क्रममा त्यहीँको इलाहाबाद (हाल प्रयागराज) बाट स्नातह तह उत्तीर्ण गरी म्याङलुङ बजारमै ‘सिंहवाहिनी मिडिल स्कूल’ खोलेर (धेरै पछि ठेकेदार बनेर भवन–सडक–पुल आदि बनाउने नयाँ काम थाल्नुअघिसम्म) प्रधानाध्यापक बनेर लामो समय जिल्लाको शैक्षिक उत्थानमा अविस्मरणीय योगदान दिएका थिए । त्यही स्कूलबाट बसन्तले एसएलसी उत्तीर्ण गरेका थिए ।
उच्च अध्ययनका लागि काठमाडौं गएपछि छोरालाई इन्जिनियर बनाउने बुबाको सपना पूरा गर्न बसन्त आईएस्सी पढ्न भर्ना भए तर योसँगै उनी विद्यार्थी राजनीतिमा पनि चुर्लुम्म डुबे । उनी त्यो समयका चल्तीका विद्यार्थी नेताहरू पशुपति वाग्ले, चित्रकृष्ण तिवारी, जागृतप्रसाद भेटवाल, शरणविक्रम मल्ल, तिलक पराजुली, तारा न्यौपाने, बालमुकुन्द खरेल, महेन्द्र पाण्डे, सोमनाथ घिमिरे, केबी श्रेष्ठ, महेश्वरमान श्रेष्ठ, ईश्वरमान र विश्वेश्वरमान श्रेष्ठ, दीपेन्द्र क्षेत्री आदिहरूसँग नियमित भेटघाट र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अखिल) का अन्य गतिविधिमा सक्रिय हुने गरेका थिए ।
वि.सं.२०२८ सालमा विद्यार्थी आन्दोलन हुँदा प्रहरीसँगको झडपको अनुभव सँगालेपछि घाइते साथीहरूलाई भेट्न र हेरचाह गर्ने जिम्मेवारी पनि वहन गरेका थिए । उनी अखिलको पाँचौं र छैटौं गरी दुई समूहमा विभाजनको परिस्थिति, चर्को विवाद र हात हालहालको स्थितिको पनि प्रत्यक्षदर्शी एवं साक्षी पनि बने । यही समयमा उनी साहित्यतिर पनि लागेर सम्पादक–प्रकाशक बनेर ‘पूर्वेली धुन’ पत्रिका निकाल्न थाले ।
यसरी विद्यार्थी राजनीति र साहित्यिक पत्रिका मात्र होइन, त्यसै ताका भारतको बैरगनिया जिल्लामा भएको नेपाली काङ्ग्रेसको भेलामा पनि बसन्तले आफ्ना साथी नेवज गुरुङको सहयोगमा सहभागी भएर विशिष्ट अनुभव सँगालेका थिए । यो सबै सक्रियताको असर क्याम्पसको पढाइमा पर्यो र उनी आईएस्सीमा केवल दोस्रो श्रेणीमा पास भए । निजी खर्चमा विज्ञान–स्नातक पढ्ने कुरा मिलेन, धेरै ठाउँ धाउँदा पनि छात्रवृत्ति सम्भव भएन । अन्ततः उनी स्नातक बन्नका लागि जनप्रशासन कलेजमा भर्ना हुन्छन् । बसन्तले यो सन्दर्भलाई किताबमा मर्मस्पर्शी ढङ्गले लेखेका छन्, “त्यतिवेला जनप्रशासन क्याम्पसमा लुरुलुरु जानु पर्दा बुबाको सपनाको मलामी गएजस्तो अनुभव भएको थियो मलाई ।”
‘काठमाडौंमा मम, साहित्य र राजनीति’ उपशीर्षकको आलेख अझ रोचक छ जसमा उनले पहिलोपटक मम भन्ने नाम सुनेको, पहिलोपटक खाएको र एकपटक खाएपछि ममको सदाबहार उपभोक्ता बनेको उल्लेख गरेका छन् ।
अर्को अध्यायमा वि.सं.२०३९ मा बुबा दिवंगत भएपछि केही समय बुबाले गर्दै आएको ठेकेदारी काम गर्न थालेको उल्लेख गर्दै उनले त्यसभन्दा केही वर्षपहिले बुबासित पाँचथर जिल्लास्थित पूर्व मन्त्री देवमान आङदेम्बेको गाउँ अम्लाबुङ गएको र त्यहाँ ती मन्त्रीसित वेलाबखत ऋण काढेर लगेर तिर्नुपर्ने वेला भएर मन्त्रीको घरमा भेला भएका गाउँलेहरू अनि ऋण तिर्न नसक्दाको कन्तबिजोग देखेको वर्णन गरेका छन्, “म चुपचाप शोषित दुःखित गाउँलेका दुःख, व्यथा सुन्न र हेर्न विवश थिएँ । वास्तवमा यो मेरो जीवनको अनौठो दृश्य थियो ।
मैले पढेका शोषक सामन्तका कथाहरूलाई मैले आफ्नै आँखाले देख्दै थिएँ । एक सरो लाउन, एक छाक खानलाई पन अभावमा बाँचेका ती गरीबको घरखेत निखन्दै मोटाएको साहूहरूको प्रत्यक्ष अनुहार हेर्दै थिएँ । ऋण नपाई फर्केका, अन्न नपाई फर्केकाको र ऋणको ब्याज तिर्न नसकी घरखेत गुमाउनु परेकाले आँसु झार्दै बिलौना गरेको दृश्य साँच्चै नै नमीठो थियो । ती निमुखा गरीब–गुरुवालाई ती साहूका लठैतहरूले भद्दा गाली गर्दै घरबाट हटाएको दृश्य साँच्चै नै हृदयविदारक थियो ।”
अब यसपछि भने जीवनले उनका लागि सम्भावनाहरूको नयाँ ढोका खोलीदिन्छ । आफूले बाँच्दै र भोग्दै आएको जिन्दगीभन्दा बिल्कुलै फरक शैलीको जीवन बाँच्न सकिने आकर्षक अवसरले दुई पाखुरा फिंजाएर उनलाई स्वागत गर्यो । अमेरिकी नागरिक बब लेपर्डसँग विवाह गरेर उतै घरजम गरिरहेकी साहिँली बहिनी रजनीकी सासू एलेनार र ससुरा विलियम लेपर्डले बसन्तलाई अमेरिका भ्रमणको निम्तो पठाए । कार्यव्यापार र सम्पूर्ण घरसल्लाह मिलाएर उनी सन् १९९४ अप्रिल (वि.सं.२०५१ वैशाख) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एअरलाइन्सको विमान चढेर अमेरिकातिर हानिए ।
अमेरिका आइसकेपछि आफन्तकोमा केही समय कोलोराडो राज्यको डेनभरमा बसेर आफ्नै भरमा नयाँ जीवन बिताउनका लागि उनी एक जना गाउँकै सुपरिचित भाइको भरमा न्युयोर्क शहरको ब्रुकलिन बस्तीमा पुग्छन् । तर त्यो भाइले पाइलापाइलामा धोखा दिन्छ, असहयोगी हुन्छ, सधैँ उपेक्षा गर्छ, सोचे–भने जस्तो केही कत्ति सहयोग गर्दैन ।
बहुतै नमीठो अनुभव सँगाल्दै आजित भएर बसिरहेका बसन्तलाई एकपटक घुम्दै म्यानहटन क्षेत्रतिर गएको वेला एकजना धनकुटेली साथी भेटिन्छ र दुईजनाबीच कुराकानी भएपछि बसन्तले आफ्नो डेरा नयाँ ठाउँ क्वीन्स क्षेत्रको फ्लसिङ शहरमा सार्छन् । त्यहाँ एकजना पाकिस्तानी साथी पनि रुमपार्टनर थियो । अनि त जिन्दगी अपेक्षाकृत सहज र सजिलो हुँदै जान्छ । खाना पकाउन नआउने र नजान्ने उनलाई असजिलो त हुन्छ तर उनले भाँडा माझ्ने र सरसफाइ गर्ने जिम्मा लिएर समूहमा घुलमिल हुने वातावरण बनाउँछन् ।
तर “ठूलो शहर, धेरै मान्छे नै मान्छे भएको शहर र महँगीको उचाइले आकाश छोएको शहर” न्युयोर्कमा बसन्त कुहिरोमा हराएको जस्ता भए । जीवन बाँच्ने मेसो त्यहाँ भेट्न सकेनन् । अति त आठ महिना येनकेन त्यहाँ बिताएपछि नेपालदेखिकै चिनजानकी बहिनी गीता श्रेष्ठसितको कुराकानी र उनको सहमतिपछि बसन्त अर्को राज्य म्यासाचुसेट्सको बोस्टन शहर झर्छन् ।
उनकै शब्दमा, “बोस्टन स्कूल र कलेजको शहर रहेछ । जताजतै स्कूल देखिन्थे । विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालय, एमआईटी कलेज, बोस्टन विश्वविद्यालय केही नाम मात्र हुन् जहाँ बोस्टनको वरिपरि शान, मान, इजजत र प्रतिष्ठाले शोभायमान भएर उभिएका छन् । संसारभरका मान्छे हार्भर्ड विश्वविद्यालयका संस्थापक हार्भर्डको प्रतिमा स्पर्श गर्न र तस्वीर खिँचाउन लाइन लागेर घण्टौं प्रतीक्षारत देखिन्छन् । हार्भर्डको परिसरको डबलीमा न्यानो घाम तापेर पढ्नेको भीडले एकप्रकारले सम्मोहन पैदा गरीदिन्छ जसलाई पनि । किताबका थुप्रै दोकान देखिन्छन् चारैतिर । फ्रेन्च बेकरी क्याफे अबोपेनअघि कफी खाँदै चेस खेल्दै किताब पढ्नेको ठूलो जमातले सबैको मन आकर्षित गर्छ । मलाई पनि त्यो दृश्यले सम्मोहित पारेपछि म त्यहीँ बोस्टनमा पढ्नुपर्ने निश्चयमा पुगेको थिएँ ।”
उनलाई त्यहाँ गीता र उनका श्रीमान् राजु उपाध्यायको अविस्मरणीय साथ–सहयोग मिल्छ अनि उनी त्यहीँ डानभर काउन्टीस्थित नर्थ सोर कम्युनिटी कलेजमा भर्ना भएर पढ्न थाल्छन् । समयले थप साथ दिन्छ र केही महिनापछि नै छोरासहित श्रीमती विद्या पनि अमेरिका आइपुग्छिन् । अब जिन्दगी भरिलो, पोषिलो, अडिलो र रमाइलो हुँदै जान थाल्यो ।
बोस्टनमा नेपालीहरूको सामाजिक संस्था रहेछ, ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी’, अनि त बसन्तले आफूले खोज्दै आइरहेको नेपाली समूह पनि सानै स्तरमा भए पनि पाए । यससँगै उनको सामाजिक संलग्नताको ढोका पनि क्रमशः विस्तारिँदै गयो । करिब तीन वर्षपछि उनी न्यू ह्याम्पसर राज्यस्थित ‘न्यू ह्याम्पसर युनिभर्सिटी’ मा ‘सामुदायिक आर्थिक विकास’ विषयमा स्नातकोत्तर (मास्टर्स) तहमा भर्ना भए । बोस्टनबाट करिब पौने एक घण्टाको ड्राइभमा पुगिने दूरी भए पनि अन्य तीनजना नेपाली साथीसहित डेरा लिएर न्यू ह्याम्पसरमै बसेर पढ्ने क्रम शुरू भयो ।
यही समयमा बसन्तलाई लाग्यो, “प्रवासमा आफ्नो भाषा, साहित्य र संस्कृतिले आफ्नो जातीय अस्तित्व र पहिचान कायम गर्नका लागि धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बुझेपछि मैले पनि नेपाली भाषा र साहित्यको जगेर्नाका लागि केही गर्ने अठोट गरेँ ।… नेपालमा रहँदा नै नेपाली साहित्यका लागि केही थान कविता कोरेको र एउटा नेपाली साहित्यिक पत्रिका ‘पूर्वेली धुन’ को सम्पादक र प्रकाशक भई टोपलेको थिएँ । त्यस अर्थमा वासिङ्गटन डी.सी.मा स्थापित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) को सम्पर्कमा रहेर भाषा–साहित्यको विकासमा केही सहयोग गर्ने निश्चय गरेँ । त्यसैले त्यस संस्थाको मुखपत्र ‘अन्तर्दृष्टि’ को सम्पादनमा सघाउन थालेँ ।”
बोस्टन र त्यस वरपर रहेको प्रवासी नेपाली समाजको हरेक साहित्यिक, सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरूमा बसन्तको उपस्थिति अनिवार्य हुँदै गयो । उनी आफैँ पनि निकै रमाए, खुपै सन्तुष्टि पनि बटुले । तर स्नतकोत्तरको पढाइ सकिएसँगै त्यस अनुकूल आयआर्जन हुने काम त्यहाँ उपलब्ध भएन र उनी बेहतर अवसरको खोजीमा पाँच वर्षे बोस्टन बसाइँलाई परित्याग गर्दै अमेरिकी राजधानी वासिंगटन डी.सी. क्षेत्रमा बसोबास गर्न आइपुगे । यस क्रममा उनको रोजाइँको स्थान बन्यो, राजधानी डी.सी.सँग जोडिएको भर्जिनिया राज्यको आर्लिङ्गटन शहर । र, त्यहाँ यताउता छितरिएर एक्लाएक्लै जस्तो भएर नेपालीहरूबीच भेला, भेटघाट र छलफल गर्न गराउन ‘छिमेकी गाउँ’ नामक संस्था खोल्ने मात्र नभई त्यसलाई राम्रै गरी अगाडि पनि बढाए ।
यही बीचमा उनले काठमाडौंमा जन्मेर तेह्रथुमको म्याङलुङ बजारमा विवाह गरेर दश सन्तानकी आमा बनिसकेर कालान्तरमा अमेरिकाको म्यासाचुसेट्स राज्यको ‘ग्रेटर बोस्टन मेट्रोपोलिटान एरिया’ मा पर्ने फर्मिङ्गम शहरमा निर्वाण प्राप्त गरेकी आमा सुभद्रादेवीको पनि मार्मिक स्मरण गरेका छन् र भनेका छन्, “मेरो मन र आत्माले सधैँ भन्छ, मेरी आमा धेरै नै आँटिली हुनुहुन्थ्यो ।”
आर्लिङ्गटनमा बस्नुअघि उनी भर्जिनिया आउने बित्तिकै भने बर्क शहरमा राम खरेलको घरमा बसेका हुन्छन् । तिनताका खरेलले निजी पहलमा साप्ताहिक रूपमा ‘सगरमाथा टेलभिजन’ चलाउँथे । प्रत्येक आइतबार बिहान आधा घण्टा प्रसारण हुने यस टेलिभिजनमा बसन्तले पनि केही समय ‘विविध सँगालो’ नामक कार्यक्रम चलाएका थिए ।
यही बीचमा सन् २००० जुलाईमा जर्जिया राज्यको एटलान्टा शहरमा ‘युनिटी २०००’ नामक तीन दिवसीय बृहत् प्रवासी नेपाली भेला भएकोमा बसन्त अनेसास संस्थाको अध्यक्षको हैसियतले ‘अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव’ को आयोजना गर्न सफल भए । धेरैजनाको साथ र सहयोग रहेको अनि करीब सात सय दर्शकको उपस्थिति रहेको त्यस महोत्सवमा नेपालबाट आएका कविहरू मञ्जुल प्रथम, नम्रता गुरागाइँ द्वितीय र क्षेत्रप्रताप अधिकारी तृतीय भएर क्रमशः पाँच सय, तीन सय र दुई सय डलर पुरस्कार जितेका थिए ।
यही वर्ष उनले भाइ हेमन्त र पुराना मित्र बुद्ध महर्जनसँग मिलेर वासिङ्गटन डी.सी.को दुपों सर्कल टोलनजिकै एटीन्थ स्ट्रीट क्षेत्रमा नेपाली, टिब्बेटियन र भारतीय खानाका परिकार पस्किने गरी अमेरिकी राजधानी क्षेत्रकै पहिलो नेपाली रेस्टुराँ खोले र नाम राखे, ‘माउन्ट एभरेस्ट रेस्टुराँ’ । छोटो समयमै रेस्टुराँ लोकप्रिय पनि भयो, एक सय पच्चीस जना बस्न मिल्ने यस दुई तल्ले रेस्टुराँमा धेरै साहित्यिक एवं सामाजिक भेलाहरू पनि आयोजना भए तर महँगो भाडासमेतका विविध कारणले यो निरन्तर चल्न सकेन र करीब आठ वर्ष चलेर सन् २००८ मा बन्द भयो ।
अमेरिकामा स्थापित पहिलो नेपाली संस्था ‘अमेरिका नेपाल सोसाइटी’ (एएनएस) हो । खासमा नेपालका लागि अमेरिकी राजदूत एल्सवर्थ बङ्कर नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्केपछि उनकै पहलमा सन् १९६७ मा यो सोसाइटीको स्थापना भएको हो, जसको पहिलो मानार्थ सभापति र अध्यक्ष विलियम ग्रेसम थिए । बसन्त पनि केही वर्ष अमेरिका नेपाल सोसाइटीमा सक्रिय भएर लागे र त्यसको मुखपत्र ‘आवाज’ का प्रथम तीन अङ्क सम्पादन–प्रकाशन पनि गरे भने त्यसअघि र पछि पनि ग्रेटर बोस्टन नेपाली कम्युनिटीको कार्यकारी निर्देशक, नेपाली अमेरिकी परिषद् (न्याक) को महासचिव, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष, नेपाली साहित्य प्रतिष्ठान–उत्तर अमेरिकाको अध्यक्ष आदि संस्थागत पदमा रहेर काम गरे । अनेसास नेतृत्वमा रहेकै वेला उनले उत्तर अमेरिका र क्यानाडामा रहेका पचास जना कविका छयानब्बे कविताहरू सङ्कलन गरेर ‘उत्तर अमेरिकाका नेपाली कवि र कविता’ सम्पादन–प्रकाशन गरे ।
उल्लेखनीय के छ भने एएनएसको आयोजनामा सन् २००६ मा भर्जिनियाको फेयरफ्याक्स काउन्टीको एउटा हाइस्कूलमा बृहत् दशैं–तिहार मेला भएको थियो । धेरै स्थानीय अमेरिकीहरूसँगै करीब दुई हजार प्रवासी नेपालीहरूको जमघट रहेको त्यही अवसरमा अमेरिकी नेपाली महिलाहरूको संस्था ‘एसोसिएशन अफ नेप्लिज वीमेन इन अमेरिका’ (आन्वा) स्थापना भएको थियो, जसको संस्थापक अध्यक्षमा विजया शाहलाई मनोनीत गरिएको थियो ।
सन् २००८ मा बसन्तले ‘अस्वीकृत विचार साहित्य पुरस्कार’ पाए । त्यो पुरस्कार दिने अस्वीकृत विचार साहित्य गुठीका संस्थापक डा. कविताराम श्रेष्ठबारे रोचक जानकारी दिँदै उनी लेख्छन्, “ओखलढुङ्गाको प्रारम्भिक स्कूलमा पढ्ने ताका एकै नाम भएका दुई विद्यार्थी रहेछन्– कविता लेख्ने रामबहादुर र कविता नलेख्ने रामबहादुर । दुबैजना रामबहादुर भएकाले छुट्याउनु पर्दा गाह्रो हुँदो रहेछ । त्यसकारण कविता लेख्ने राम भन्दै गर्दा पछि नाम नै कविताराम श्रेष्ठ बन्न गएको रहेछ । विचार र साहित्यका धनी डा.कविताराम श्रेष्ठ वि.सं.२०२५ तिर नेपालमा केही साहित्यकारहरूले शुरू गरेको ‘अस्वीकृत जमात’ का सक्रिय अभियन्ता थिए ।”
उनी केही वर्ष अमेरिकी नेपाली संघ (एशोसिएशन अफ नेप्लिज इन द अमेरिकाज –एएनए–) मा सक्रिय भए र त्यसको मुखपत्र ‘इन टच’ र ‘एएनए स्मारिका’ का दुई–दुई अङ्क सम्पादन पनि गरे । सन् २००९ मा संस्थाको २७औं वार्षिकोत्सवको अवसरमा एएनए अन्तर्गत ‘नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका’ स्थापना भयो र त्यसको संस्थापक अध्यक्ष स्वयं बसन्तलाई बनाइयो ।
अर्को वर्ष यस नयाँ संस्थाको विधिवत् उद्घाटन भयो र त्यसको पाँच वर्षसम्म यसले वर्षेनी ‘अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव’ आयोजना गर्दै रह्यो जसमा प्रथम पुरस्कार एक हजार डलर राशिको ‘भानुभक्त काव्य पुरस्कार’, द्वितीय तीन सय डलरको ‘मोतीराम काव्य पुरस्कार’ र तृतीय दुई सय डलर राशिको ‘देवकोटा काव्य पुरस्कार’ प्रदान हुन्थ्यो । प्रायोजकको नामसमेत जोडेर पनि यी पुरस्कार दिइएका थिए । जस्तो– ‘हेम–सरिता पाठक भानुभक्त काव्य पुरस्कार’, ‘एएनए सुभद्रा भानुभक्त काव्य पुरस्कार’, ‘शर्मा मुडभरी मोतीराम भट्ट काव्य पुरस्कार’, ‘बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार’ आदि । यही प्रतिष्ठानको पहल र आयोजनामा सर्वप्रथम ‘अन्तर्राष्ट्रिय नेपाली साहित्यकार सम्मेलन’ पनि सम्पन्न भएको थियो ।
पछि, “सन् २०१४ मा ३२औं अधिवेशन भएपश्चात् भने एएनएभित्र विग्रह, कलह र अदालती कामकारवाहीको अवस्थाले गर्दा संस्था नै धराशायी हुन गयो । संस्थाले गर्दै आइरहेका सामाजिक, सांगठनिक एवं साहित्यिक गतिविधिमा एक प्रकारले पूर्णविराम लाग्यो ।” तर अवस्था त्यस्तो भए पनि बसन्तको कविता त फुरेकै हुन्थ्यो–
“मन हाँसेको वेला
जीवन कति सुन्दर देखिन्छ
चरक्क चर्केको छाती पनि
मीठो दर्द मात्र बन्छ ।”
०००
“म अचेल तिम्रो चेहरामा
मीठो मुस्कान देख्दै देख्दिनँ
म त तिम्रो
अन्तर्मनको अशान्त औडाहा
चेहराभरी पोतिएको मात्र देख्छु ।”
०००
समयसँगै अगाडि बढ्ने क्रममा बसन्त अमेरिकामा हुने गरेका विभिन्न कोठे कविता गोष्ठीहरूमा नियमित सहभागी हुने गरे । सन् १९९७ कुनै दिन बोस्टनमा युनियन स्क्वायरस्थित डा.मबी सिंहको निवासमा अमेरिकाकै पहिलो नेपाली कविता गोष्ठी आयोजना भएको थियो । त्यसमा बसन्तसँगै डा.महेश मास्के, बुद्ध महर्जन, डा.मबी सिंह, अनु श्रेष्ठ, पुष्कर पोख्रेल, आशुतोष तिवारी, भूपेश कार्की र अन्य केही सहभागी थिए ।
अर्को पटकदेखि यस्ता गोष्ठीमा कविता पढ्ने मात्र नभई कुनै कवि वा कवितामाथि पनि व्यापक बहस हुने गर्थ्यो । भर्जिनियामा यो क्रम अझ तीव्र भयो । यही सिलसिलामा वर्षभर गोष्ठीमा पढिएका विभिन्न कविका चार–चार ओटा कविता राखेर एउटासंग्रह छापियो, ‘वासिङ्गटनका काव्य सुसेली’ । यति मात्र नभएर कविता गोष्ठीमा नियमित सहभागी हुनेहरूमध्ये प्रेम सङ्ग्रौलाले लेखेको ‘सुकीधुपी’ खण्डकाव्य, डा.मोहन जोशीले लेखेका कविताहरूको सङ्कलन ‘कहाँ छ ठाउँ’ र प्रकाश नेपालले लेखेका कविताहरूकोसंग्रह ‘राति फुल्ने फूलहरू’ पनि बेग्लाबेग्लै प्रकाशित भएका थिए ।
अर्को एक अध्यायमा उनले नाम मिल्नुका रमाइला प्रसङ्ग उल्लेख गरेका छन् । उनको नाम बसन्त श्रेष्ठ अर्का व्यक्ति नेपालकै प्रख्यात तथा खासगरी चलचित्र क्षेत्रका उम्दा नृत्य–निर्देशक बसन्त श्रेष्ठसित मिल्न गएको र नामले जुराएका रमाइला घटनाहरू सम्झना गरेका छन् । अझ अर्को अध्यायमा उनले आफू त्यतिवेलाको विश्व–महामारी कोभिड–१९ ले ग्रस्त भएर थिलथिलो अवस्थामा अस्पताल बस्नु परेको, दुई साता सिकिस्तै परेको र त्यसपछि पनि निको हुने क्रममा लामो समय कमजोर काया लिएर बस्नु परेको मार्मिक वर्णन गरेका छन् ।
लामो समय अमेरिकामा बसिरहेको भए पनि र जे जस्तो कारण भए पनि बसन्त एकपटक पनि नेपाल फर्केका थिएनन् । उनलाई स्वदेश फिर्न नसक्नुको पीडा राम्रै हुन्छ तर समय अनुकूल मिलिरहेको हुँदैन । अन्ततः प्रतीक्षाको घडी सकियो र एकैपटक पच्चीस वर्षपछि बल्ल उनले फेरि स्वदेश टेक्ने अवसर जुराए । काठमाडौं उपत्यकाको सुन्दरता नियाल्दै र आफू विदेश छँदा यहाँ भएको दृश्यवान परिवर्तन महसूस गर्दै उनी आफ्नो जन्मस्थल तेह्रथुम म्याङलुङ बजार पुग्छन् । त्यहाँ त लगभग सबै कुरा, सबै ठाउँ, सबै निर्माण आदिमा अकल्पनीय परिवर्तन भइसकेको हुन्छ । उनी अचम्भित हुन्छन्, भावुक हुन्छन् र विगत सम्झेर टोल्हाउँछन् । किताबको पटाक्षेप गर्छन्, अनि लेख्छन्–
“देशको माटो चुम्दै जन्मेको घर देखेर आएँ
तीनजुरे हुँदै पाथीभरा चढ्दै गुराँस टिप्दै आएँ
गाउँबस्ती पाठशाला हेर्दै सहपाठी भेट्दै गर्दा
थुप्रै थुप्रैको माया अनि सद्भाव बोकेर आएँ ।।”
किताबको शुरूमा ‘साहित्यकार खेमनाथ दाहाल’ को बाह्र पृष्ठ लामो भूमिका छ । यो भूमिका समीक्षात्मक छ र यसले समग्रमा किताबकै सङ्क्षिप्त समीक्षा नै गरेको छ । किताबको भूमिकाले त खासमा लेखक, सम्बन्धित किताब र किताबसँग जोडिएका राम्रा एवं महत्वपूर्ण पक्षहरूका बारेमा औंल्याएको हुन्छ । भूमिकाले लेखकको विज्ञता र उठान गरिएको विषयवस्तुको वैधानिकताबारे बोलेको हुन्छ । साहित्यिक र सांस्कृतिक तवरले किताबको महत्ता अनि किताब लेखिएको जोनर वा विधाबारे पनि यसले उजागर गरेको हुन्छ । समग्रमा भूमिका भनेको लेखक र सम्बन्धित किताबको परिचयात्मक टिप्पणी हो ।
तर वास्तवमा बसन्तको यस किताबमा, भाषा र विचारको सन्दर्भमा, यसकै भूमिका पनि टिप्पणीयोग्य छ । भूमिकाकार दाहालले शुरूमै लेखेका छन्, “नेपाली साहित्य संस्कृत साहित्यको अङ्गको रूपमा विकसित साहित्य हो भन्दा अतिशयोक्ति नहोला । त्यसैले समयानुसार पूर्वकालीन (भानुभक्तपूर्वका) नेपाली विद्वानहरूले त्यसैको अनुशरण गरेको पाइन्छ । उनीहरूले कृतिमार्फत आफ्नो विद्वता जे जति प्रकट गरे, संस्कृत भाषामार्फत नै प्रकट गरे । भानुभक्तपूर्व नेपाली साहिय केवल श्रुति परम्परामा जीवित थियो भन्ने अनुमान गरिन्छ । … अनुभूति र संस्मरणलाई तन्काउँदै जाने हो भने जीवनीमा परिणत हुन्छ भन्ने एकथरी विद्वानको मतलाई ठाडै नकार्न पनि न्यायोचित हुँदैन । … अहिले नेपाली साहित्यका रचनाकारले रामायण, महाभारत, रघुवंशजस्ता पद्य कृतिमा अभ्यस्त भएर पनि गद्य लेखनमा आफूलाई समाहित गरेका छन् । गद्यलेखनलाई समयसाक्ष्य मानेर पनि हो कि !” (!!!)
अनेक ठाउँमा दाहालको भाषा र वाक्य–विन्यास वा संरचना पनि रातो मसी लगाउनुपर्ने देखिन्छ । अनेक शब्दहरूले पनि आफ्नो मौलिक वस्त्र धारण गर्न पाएका छैनन् । एक सामान्य दृष्टान्त मात्र, “अमेरिकालाई एक प्रकार स्वप्न संसार ठान्ने अवस्था नै उनी अमेरिका पुग्दा उनी रोमाञ्चित नहुने कुरै भएन ।… (‘अस्वीकृत विचार साहित्य पुरस्कार’) … प्राप्त गर्दा प्राप्तकर्ताको तर्फबाट धन्यवादज्ञापन प्रदान गर्दा बोलेको सानो कविता अंश यो कृतिमा राखेका हुनाले मैले पनि यो लेखमा स्थान दिएको छु… ।” (!!!)
किताब पढ्न थालेपछि एक नजर बसन्तको लेखकीयमा पर्छ । उनले यो पुस्तक जन्मिनुको मूल कारण आफू अचानक संक्रामक महामारी कोभिड–१९ ले थला परेर लामो समय विश्राम गर्नुपर्ने अवस्थामा रहनु परेको र त्यही अवधिमा आफ्ना पुराना मित्र साहित्यकार गोविन्द गिरी प्रेरणाको सल्लाह र प्रोत्साहनमा क्रमशः एकपछि अर्को लेख लेख्दै नेपालको वेभ पत्रिका ‘साहित्यपोस्ट’ मा छाप्दै गएको बताएका छन् । त्यसकारण किताबमा समावेश भएका सबै लेख यसअघि नै ‘साहित्यपोस्ट’ मा सम्प्रेषित भइसकेका हुन् । स्वयं ‘साहित्यपोस्ट’ का प्रधान सम्पादक अश्विनी कोइरालाको अविस्मरणीय एवं प्रेरक सहयोग आफूले पाएको पनि बसन्तले औंल्याएका छन् ।
तर उल्लेखनीय के हो भने यतै अमेरिकामा उच्चशिक्षा अध्ययन गरेर धेरै वर्षदेखि अमेरिकामै बसोबास गर्दै आएका लेखक बसन्तले आफू पीडित हुन पुगेको महारोगलाई केवल ‘कोरोना रोग’ लागेको भनेर मात्र उल्लेख गरेका छन् ! डेढ सय पृष्ठ लामो किताबमा उनले एक ठाउँमा मात्र ‘शायद झुक्किएर (!)’ कोभिड भनेर लेखेका छन् अन्यथा अन्यत्र सबै ठाउँमा कोरोना रोग नै लेखेका छन् । खासमा विश्वलाई त्राहित्राहि पारेको त्यो रोगको नाम ‘कोभिड–१९’ हो । कोरोना त त्यस महारोगको कीटाणुको नाम हो । त्यो कोरोना रोग नभएर कोभिड–१९ हो ।
किताब पहिले नै छापिएका लेखहरूको सङ्कलन हो । यसकारण प्रत्येक पछिल्लो अध्यायमा अगिल्लो अध्यायका कतिपय सन्दर्भ र प्रसङ्ग दोहोरिएर आएका छन् । यसको अर्थ लेखकले यो किताब हतारमा छापेका छन् भन्ने हुन्छ । अलि समय दिएर अनि गम्भीरतापूर्वक पुनर्लेखन गरेको र त्यसपछि फेरि भरपर्दो सम्पादन गरेको भए बसन्तको यो किताब आत्मकथाको एउटा उत्कृष्ट प्राप्ति हुने थियो ।
किताबमा उनले धेरै कुरा चट्टचट्ट छोएर मात्र छाडेका छन्, जस्तो तेह्रथुम छँदै झापाकाण्ड भनिने सशस्त्र झापा विद्रोहका कतिपय कुरा र त्यसको एक नेता गोविन्द न्यौपानेसँगको सम्बन्ध उल्लेख गर्दा त्यस घटनाबारे अलि विस्तृत वर्णन गर्न सकेको भए नेपाली इतिहासको एक कालखण्ड अभिलिखित हुने थियो । के महसूस हुन्छ भने बसन्तसँग लेख्नका लागि धेरै तथ्य, अनुभव र भावनाहरू भरिभराउ छन् तर उनले समुचित ढङ्गले तिनलाई शब्दमा पस्किन उति जाँगर देखाएनन् !
किनभने, गायक, कवि तथा लेखक मञ्जुलले ‘ज्ञानगुनका कुरा’ (भाग २१३) सङ्कलनमा बसन्तको व्यक्तित्वबारे सटीक तवरले भनेका छन्, “अरूबाट आदर पाए जस्तै आफूले पनि अरूलाई आदर गर्ने, अरूबाट स्नेह पाए जस्तै आफूले अरूलाई स्नेह गर्ने, अरूबाट प्रेरणा पाए जस्तै आफूले पनि अरूलाई प्रेरित गर्ने, अरूबाट सहयोग पाए जस्तै आफूले पनि अरूलाई सहयोग गर्ने उत्तम भावना म बसन्त भाइमा प्रचुर मात्रामा पाउँछु ।”
यस्तो स्वभाव पाएका मानिसले जब आफूसित भएको लेखन क्षमताको समुचित उपयोग गर्छन्, त्यो पढ्ने मानिस निश्चय पनि रमाउँछन् । किनभने, कविता लेखन मन पर्ने भए पनि बसन्तको गद्यलेखन पनि उत्तिकै सुललित एवं प्रभावशाली छ । निःसंदेह उनले गद्यसिर्जनाको समधुर धुन सुसेल्न सक्छन् ।
अन्त्यमा, प्रस्तुत पुस्तक–समीक्षाको बीट मार्न उनकै कविता सापटी लिऊँ–
“सम्झनाको पहाड बोकेर मनमा
सिरानीभरी माया पोखेको छु
हर रात आउने सपनाहरूमा
मैले तिम्रो भावना बुझेको छु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।