
भाग्य
मूलः स्यामुअल युसुफ एगनान
अनुवादः गोविन्द गिरी प्रेरणा
जब मैले अस्पतालमा प्रवेश गरें, त्यहाँ मैले सुनौला रङको कपाल भएकी एउटी सुन्दरी नर्सलाई देखें। उसलाई सबै बिरामीहरू र कर्मचारीहरूले मन पराउँथे। रोगीहरू उसको खुट्टाको चाल थाहा पाउनेबित्तिकै आफ्ना ओछ्यानबाट उठेर साना केटाकेटी आफ्नी आमाको अगाडि जसरी हात फैलाउँछन्, त्यसरी नै दुवै हात फैलाएर भन्थे, “नर्स नर्स, म भए ठाउँमा आऊ ।” उसको मुस्कानभन्दा पनि आँखा ज्यादै आकर्षक थियो । ऊ जसलाई हेर्थी आफूलाई भाग्यमानी सम्झन्थ्यो ।
जुनबेला उसको दृष्टि ममाथि प-यो म पनि अरूझैं नै लठ्ठिएँ । उसले पनि म प्रति उत्सुकता देखाई ।
एकदिन दिउँसो म जब खाना खाने कोठा बाहिर निस्किएँ, डायनाको कोठातिर गएँ । उसलाई सोधें, ‘व्यस्त हो ?’
‘व्यस्त छैन । मलाई फूर्सतै फूर्सत छ । आज मेरो ‘अफ’ छ।’
त्यसपछि उसले मलाई पुलुक्क हेरी र मुसुक्क हाँसी।
मैले भनें, “आज हामी ‘ओपेरा’ जाउँ । यदि छिट्टै जान सकियो भने कफी हाउस हुँदै जाउँला, हुन्छ ?”
उसले टाउको हल्लाउँदै मेरो प्रस्तावलाई स्वीकार गरी। अनि मैले भनें, “लौ त त्यसो भए म मेरो काम छिट्टै सकेर आउँछु ।”
एकछिनपछि म उसलाई लिन गएँ । ऊ कपडा बदलेर तयार भइसकेकी थिई । उसको सुन्दरता अहिलेको पोशाकमा झन् खुलेको थियो ।
हामी बस बिसौनीतिर लाग्यौं । दुई तीनवटा बस छुटिसकेपछि मात्रै एउटा बसमा हामीले ठाउँ पायौं । बस एउटा पार्कमा पुगेर रोकियो । बसबाट ओर्लेर हामीले सडक पार ग-यौं ।
बगैंचामा केटाकेटीहरू खेलिरहेका थिए । हामीलाई देखेर उनीहरू आपसमा कानेखुशी गर्दैथिए । मैले डायनालाई भनें, “तिमीलाई थाहा छ, यिनीहरू हाम्रै बारेमा कुरा गर्दैछन् ?”
“अहँ !” डायनाले भनी ।
“यिनीहरू भनिरहेछन् हामी लोग्ने स्वास्नी हौं ।”
उसको अनुहार लाजले रातो भयो । उसले यति मात्रै भनी, “शायद।”
“यसको मतलब तिमीलाई आपत्ति छैन !”
“म किन आपत्ति गरूँ?” ऊ हाँसी हाँसी मलाई क्वारक्वावार्ती हेर्न थाली । उसको अनुहार पहिले भन्दा रातो भएको चियो ।
हाम्रो बिहे निश्चित भइसकेपछिको मेरो लागि असाध्य राम्रो समय थियो । अब मलाई अनुभव हुन थाल्यो, कविहरू किन प्रेमका गीत लेख्छन् ? तैपनि उसको आँखामा एउटा कालो कालो छायाजस्तो देखिन्थ्यो जुन कहिले कहिले फाट्न चाहिरहेको बादलझैं बाक्लो र गहिरो लाग्थ्यो ।
एकपल्ट मैले ऊसँग यो उदासीका कारण सोधेको मात्रै के थिएँ, उसले मलाई अँगालो हालेर भन्न थाली, “तिमीलाई के थाहा, तिमी मेरा लागि कति दुर्लभ छौ र म तिमीलाई कति प्रेम गर्छु !” एउटा उदास मुस्कान उसको उदास ओठमा फैलियो ।
“यदि तिमी मलाई प्रेम गर्छ्यौ भने तिम्रो उदासीको कारण के हो?” मैले कयौं पल्ट सोध्न चाहें तर उसले मलाई झन् बढी प्रेम प्रकट गर्दै गई र चूप लागी रही । तर उसको प्रेम उदास थियो- शान्त, जसले मेरो प्रेममा विषको थोपा मिलाइदिन्थ्यो । मैले सधैं उसलाई प्रश्न गरेर झिँझ्याइरहन्थें ।
एकदिन दिउँसो म उसको कोठामा गएँ। ऊ आफ्नो नयाँ पोशाक सिउँदै थिई । मैले कपडाको एक छेउ समातें र उसको आँखामा एकटकले हेरें । उसले अलिकति विचलित भएर भनी, “तिमीलाई थाहा छ, मेरो मित्रता अरु कसैसँग पनि थियो ?”
मेरो शरीरमा एउटा शीत लहर प्रवाह भयो र म भित्रैदेखि कमजोर भएँ । म चुपचाप बसिरहें। तै पनि मैले उसलाई पहिले जस्तै व्यवहार गर्दै रहें । साँच्चै साँच्चै त्यस दुःखद् क्षणमा पनि ऊ मेरो दृष्टिमा तल खसिन । मलाई सधैझैं प्यारी प्यारी नै लागी । जब उसले पनि यो कुरा बुझी, उसको ओठमा पनि मधुर मुस्कान उदायो ।
त्यसदिन पश्चात् मैले उसलाई कहिल्यै पनि विगतको याद दिलाइन । मैले पनि यो कुरा आफ्नो मन मस्तिकबाट निकाल्ने प्रयास गरें र यसरी नै हाम्रो बिहे सम्पन्न भयो ।
बिहेपछि हनिमून मनाउन हामी शहरबाहिर गयौं । बाटामा झरनाहरू थिए, पहाड थिए, झाडीहरू थिए । अरु त मैले बिर्सिसकें तर एउटा कुरा मलाई सम्झना छ । त्यो हो- हाम्रो हनिमूनको पहिलो रात…
जुन होटलमा हामीले कोठा लिएका थियौँ, त्यो एउटा बगैंचाको बिचमा थियो – वरिपरि पहाड थिए, झरनाहरू थिए । हामी कोठामा प्रवेश गर्नेबित्तिकै डायनाको दृष्टि त्यहाँ सजाएर राखिएको गुलाफको फूलमाथि प-यो । मैले हाँसेर भनें, “कुन भलाद्मीले हामीलाई यति धेरै सुगन्धित फूलहरू पठाएको होला !”
“को होला ऊ, है ?” डायनाले पनि चकित भएर भनी।
“म यी फूल ओछ्यानमै राख्छु । ताकि यसको सुगन्धले हामी रातभर सुत्न नसकौं !”
उसले फूल सुँघ्न बिर्सिई । उसले आफ्नो दृष्टि टेबुलमाथि झुकाई । मैले देखें ऊ एउटा कागज पढिरहेकी थिई । त्यहाँ लेखिएको थियो, ” हरेक क्षण आफ्नो पतिलाई त्यतिन्जेल प्रतीक्षा गर जतिन्जेल ऊ आउँदैन ।”
मैले उसलाई स्पर्श गर्दै भनें, “तिमीलाई प्रतीक्षा गर्नै पर्दैन, तिम्रो पति उहिल्यै आइसकेको छ।”
उसले निकै उदासीपूर्वक आफ्नो परेला माथि उठाई र त्यो कागजलाई टेबुलमा त्यसै राखिदिई । मैले बत्ती मधूरो पारें ।
अचानक मैले छेउको कोठाबाट आइरहेको पाहतालाका आवाज सुनें । मैले त्यो आवाजलाई दिमागबाट निकालेर फाल्ने प्रयास गर्दै डायनालाई आफूतिर तानें।
अझै पनि पाइतालाको आवाज त्यसरी नै सुनिंदै थियो । यो आवाजले मलाई शंका गर्न बाध्य तुल्यायो । अब एउटा विचित्रको विचार मेरो मस्तिष्कमा आयो। मलाई लाग्यो- यो त्यही व्यक्ति हो जोसँग मेरी श्रीमतीको बिहाभन्दा पहिला सम्बन्ध थियो । यो विचार आउनेबित्तिकै मेरो हृदय घृणाले पीडित भयो। मेरो मुखबाट कुनै अपशब्द ननिस्कोस् भनेर मैले ओठ बेस्कन टोकें । डायनाले यी सब देखी र भनी, “प्रिय ! के भयो ? तिमी कुनै कुराको कारणले दुःखी छौ जस्तो लाग्दैछ नि मलाई ।” धेरै जिद्दी गरेर सोधेपछि मैले उसलाई मेरो मनको कुरा बताइदिएँ । ऊ सुक्सुकाउँदै रुन थाली।
मैले सोधें, “किन रोएकी?”
उसले आफ्नो आँशू पिएर जवाफ दिई, “सबै ढोका र झ्याल खोल र दुनियाँलाई बताई देऊ म कति खराब आइमाई हुँ ।”
मैले उसलाई शान्त पार्ने प्रयास गरें । त्यस दिनपछि त्यो व्यक्तिलाई मैले मस्तिष्कबाट निकाल्नै सकिनँ । म डायनासँग कुरा गर्दा उसको नाउँ उच्चारण गर्न भुल्दिनथें । मलाई गुलाफका ती फूलको सम्झना आउँथ्यो । मैले पत्तो पाइसकेथें मेरी श्रीमतीले ती फूल किन सुँघेकी थिइन ।
बिहाको दोस्रो वर्ष पनि मलाई मेरो मनलाई शान्ति प्राप्त भएन । मानसिक तनावका कारण डायना बिरामी भई । मैले उसको उपचार गरें । उसलाई भन्थे, “डायना, यी सब रोगको जड नै त्यो मानिस हो, जसले तिम्रो जीवन नष्ट ग-यो । यसबेला ऊ अरु नै कोही आइमाईसँग मोज गर्दै होला, तर मेरो भाग्यमा भने उसले एउटा बिरामी स्त्री छाडिदियो ।”
एकदिन बेलुकी जब हामी चिया पिइरहेका थियौं, मैले एकाएक भनें, “म एउटा कुरा निकै दिनदेखि सोचिरहेको छु ।”
डायनाले आफ्नो टाउको हल्लाई र भनी, “अँ, म पनि केही सोचिरहेकी छु ।”
“त्यसो भए लौ भन त मेरो मनमा के छ?”
“पारपाचुके !” उसले उदास आँखाले मलाई हेरी ।
“के तिमी यो कुरामा सहमत हो?” मैले सोधें ?
“सहमति असहमतिको कुरै छैन । म ती सब गर्न तयार छु जसले तिम्रो मनलाई शान्ति प्रदान गरोस्। चाहे त्यो पारपाचुके नै किन नहोस्,” उसले कुण्ठित भएर भनी ।
डायना साँच्चै भन्थी, “भाग्यमा जे लेखेको छ त्यो अवश्यै भएर छाड्छ !” यसरी हामी एक अर्कासँग अलग त भयौं तर उसको ओठको मधुर मुस्कान मेरो हृदयमा अझैसम्म कैद छ । उसको नीलो सागरझैं गहिरो आँखालाई अझै बिर्सिन सकेको छैन । कहिले कहिले राति म ती रोगीहरू झैं उठेर बस्छु र आफ्ना दुवै हात फैलाएर भन्छु- “नर्स ! नर्स ! मेरो छेउमा आऊ !”
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

