पारिजातको जीवनी लेखनका लागि लामो समय खर्चिएको मैले आफूलाई जानकारी भएका पारिजात सम्बन्धी विविध तथ्यहरू बेलाबखत लेख्दै आएको छु र भविष्यमा पनि लेखिरहने अठोट छ । यसै क्रममा पारिजातले विसं २०४६ साल चैत ३ गते जन आन्दोलनको क्रममा साहित्यकार कलाकारहरूले मुखमा कालोपट्टी बाँधेर गरेको विरोध कार्यक्रममा सहभागी सुप्रसिद्ध लेखिका पारिजात गिरफ्तार भएको र नभएको विरोधाभासपूर्ण लेखनहरू बजारमा देखिएकोले मैले आफूले अध्ययन अनुसन्धानको क्रममा थाहा पाएको तथ्यलाई प्रस्तुत गर्ने क्रममा सुप्रसिद्ध कलाकार तथा लेखक हरिवंश आचार्यको पुस्तक “चिना हराएको मान्छे“, आकर्षक लेखन शैलीका धनी प्रकाश सायमीको “बर्षादी दिनहरू” तथा लोकप्रिय लेखक खगेन्द्र संग्रौलाको एक लेख सन्दर्भमा लिएर अनलाइन खबर डटकममा लेख प्रकाशित गरेको थिएँ ।
सोही लेखको सन्दर्भलाई लिएर एक जिज्ञासु छवि आले ‘निशब्द’ ले “गलत तथ्यका विरुद्ध” शीर्षकमा साहित्यपोस्टमा लेख लेखेका रहेछन् । आफूले नचिनेको तर साहित्यका एक जिज्ञासुको उक्त लेख मैले रुचिपूर्वक पढें ।
लेख पढ्दै जाँदा थाहा भयो, यी जिज्ञासु लेखकले मैले सन्दर्भमा लिएको प्रकाश सायमीको पुस्तक “बर्षादी दिनहरू” पढेका रहेनछन् । उनले हरिवंश आचार्यको “चिना हराएको मान्छे” पुस्तक पनि पढेका रहेनछन् । उनले त श्रुति संवेगमा अच्युत घिमिरेले वाचन गरेको श्रव्य चाहिँ “पूरै सुनेर छिचोलेका” रहेछन् ।
अच्युत घिमिरेले मैले सन्दर्भमा लिएको पुस्तक पढे वा सो भन्दा फरक पुस्तक पढे मलाई थाहा छैन । तर यति चाहिँ थाहा छ, उनको वाचन प्रथम श्रोत (Primary Source) होइन, दोस्रो श्रोत (Secondary Source) हो । प्रथम श्रोत त पुस्तक नै हो । संसारमा प्रथम श्रोतलाई नै भरपर्दो र विश्वसनीय मानिन्छ । दोस्रो श्रोत पहिलो जत्तिको भरपर्दो र विश्वसनीय मानिंदैन । किनभने दोस्रो श्रोतमा तथ्य र घटनामा परिवर्तन हुनसक्ने सम्भावना रहन्छ ।
मैले सन्दर्भमा लिएका दुवै पुस्तक नपढी यी जिज्ञासुले लेखेको यो टिप्पणीलाई के उपमा दिन सकिएला मलाई थाहा छैन ।
यी जिज्ञासुले मैले लेखेको पारिजातको जीवनी “सुश्री पारिजात” किनेर “सम्मानका साथ थन्क्याएको” रहेछन् । तर सुकन्याले गरेको यौटा टिप्पणी पढेपछि “भएको सम्मान पनि मरेर गएछ” । हो, कुनै पनि व्यक्तिले किताब अकारण किन्न सक्छ । कारणवश नपढ्न पनि सक्छ । सुनेको भरमा आफूले अध्ययन गरेर आफ्नो धारणा नबनाई अर्काले जे भन्यो त्यसैलाई मान्न पनि सक्छ । त्यो आआफ्नो बौद्धिक क्षमता र विवेकमा भर पर्ने कुरा हो । संसारमा त्यस्ता मानिसको कुनै कमी छैन । त्यसैले यो कुनै नौलो र अनौठो कुरा होइन । तर त्यही किताबको सन्दर्भमा कुरा उठाउने जिज्ञासा चाहिँ किन र कसरी भयो, यो एक पहेली नै हो । त्यसमाथि कुनै लेखकले लेखेको रचनाको सन्दर्भ नबुझी टिप्पणी गर्नु ? यो झन् के हो मलाई थाहा छैन ।
यौटा कुरा के स्पष्ट पार्न जरुरी चाहिँ देख्छु, मैले लेखेको लेख १०० प्रतिशत तथ्यको आधारमा लेखिएको हो । त्यस तथ्यको साक्षी मैले ती पुस्तकबाट लिएको उद्धरण त सो लेखमा राखेकै थिएँ तर अहिले त्यसको फोटो समेत यसैसाथ छ र जिज्ञासुलाई यो फोटोमा उल्लिखित पाना सही हो होइन पुस्तकको तिनै पाना पल्टाएर हेर्न सुझाव छ । नत्र त नेपालीमा चलेको एउटा उखान चरितार्थ हुने भय रहन्छ, “हेर्नेका आँखा फुटे, सुन्ने चाहिँ सही ” ।
जिज्ञासुले लेखेका रहेछन्, “…गोविन्द गिरी प्रेरणाको नाउँमा एक लेख छापियो …” ! वाह ! रमाइलो लाग्यो । गोविन्द गिरी प्रेरणा भन्ने यौटा नाउँ पनि रहेछ भन्ने जिज्ञासुले बोध गरेछन् ।
जिज्ञासुले अर्को ठाउँमा लेखेका रहेछन्, “अझ मसालेदार बनाउन …” । बढो पारखी रहेछन् जिज्ञासु, मेरो लेखाइमा भएको मसालाको स्वाद वा गन्ध पत्तो पाउने । यसका लागि साधुवाद नै भन्नु पर्ला ।
जिज्ञासुले लेखेका छन्, “उक्त पुस्तकमा ( पुस्तक? ) लेखकले भनेझैं पारिजात र युद्धप्रसाद मिश्रलाई क्लबको चउरमा राखेको भन्ने कहीँ कतै छैन ।” तर जिज्ञासुले नपढेको किताबमा कहाँनेर के भए नभएको कसरी पत्तो पाए ? उनले सोही लेखमा श्रुति संवेगको दशौं भागमा सो प्रसङ्ग सुनेको मात्र उल्लेख गरेका छन् । सुनेको कुरालाई किताबमा हुँदै नभएको भन्ने ठोकुवा गर्न जिज्ञासुले कसरी सके ?
जिज्ञासुले अझ लेखेका छन्, “आफूलाई नायक बनाउने नाममा अरूलाई खलनायक बनाउने घृणित कार्य पनि यस बौद्धिक विधाका लागि उपयुक्त हुन्न ।” यो गजबको उपदेश रहेछ । सबैले शिरोपर गर्नुपर्छ । म विसं २०३४ सालदेखि आज २०८१ सालसम्म पनि नित्य निरन्तर नथाकी विविध विधामा लेखिरहेको छु । मलाई लाग्छ लेखिरहनु नै लेखकको नायकत्व हो । चाहे गोविन्द गिरी प्रेरणा होस् चाहे छवि आले “निशब्द” नै किन नहोस् । तर मैले यो लेख नायकत्व प्रदर्शन गर्नका लागि लेखेकै थिइनँ । नायकत्व त मैले “सुश्री पारिजात” लेखेर नै कमाउने अभीष्ट राखेको हुँ ।
मैले दाबी नगर्दा पनि “पूर्वाग्रही सीमित जत्था” का केहीले बाहेक पारिजातको यति बिस्तृत जीवनी आएको छैन भनिरहेका छन् र विश्वका कुनाकुनाका पाठकहरूले पढिरहेका छन् । मेरो विनम्र बिचारमा उनीहरूले ठिक भनेका हुन् । प्रकाश सायमी वा हरिवंश आचार्यलाई खलनायक बनाउने पनि मेरो उद्देश्य होइन । उनीहरूको योगदान र व्यक्तित्वले उनीहरू यसै नायक नै छन् । मैले खलनायक बनाउन खोजेर खलनायक बन्ने पनि होइनन् । मैले त प्रमाणको आधारमा उनीहरूको त्रुटि औंल्याइदिएको सम्म हुँ । त्यति त्रुटि हुँदैमा उनीहरूको व्यक्तित्वमा ठूलो असर पर्ने पनि होइन । सो त्रुटि सच्याउने जमर्को गर्दा उनीहरू अझ महान् हुने नै देख्छु, खलनायक होइन । किनभने त्रुटि भनेको कर्म गर्नेको हुन्छ, त्रुटिरहित कर्म गर्ने त विरलै हुन्छन् । बरु त्रुटि सकार्नेहरू महान् हुन्छन् ।
र अन्त्यमा मलाई लाग्यो, जिज्ञासु छवि आले “निशब्द” ले थन्क्याएको “सुश्री पारिजात” पढेर स्वतन्त्र हिसाबले चिरफार गर्ने जाँगर गरिदिए मैले निकै सिक्ने अवसर पाउने थिएँ । किनभने साहित्यको विश्वविद्यालयमा सिक्ने सिलसिला कहिल्यै सकिन्न । मैले साहित्य लेखनीमा लागेको पाँच दशक अर्थात् ५० वर्ष विसं २०८४ सालमा बल्ल पुग्दै छ । मैले जीवनमा धेरै सिक्न बाँकी छ ।
र अन्तमा भनूँ, छवि आले ‘निशब्द’ ले आफूले लेखेको टिप्पणी “सही तथ्यमाथि गलत दृष्टि” पो भएको हो कि, एकपल्ट विचार गर्ने हो कि ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।