विष्णुविभू घिमिरे र अशेष मल्ल कीर्तिपुरमा एमए सँगै पढ्थे । डेरा पनि साथै थियो धोवी धारामा । सडक कविता क्रान्तिमा पनि साथै भाग लिएका थिए । हामीलाई त्यही सडक कविता क्रान्तिले साथ जुराएको थियो ।
सडक कविता क्रान्तिपछि त्यसका नेतृत्वकर्ता भवानी घिमिरेले भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषाङ्क प्रकाशित गरेका थिए । मोटो र खाइलाग्दो विशेषाङ्क थियो । त्यसको बिक्री प्रवर्धन गर्न र सम्हालेर राख्न भवानी घिमिरेले उनीहरूको डेरामा स्टोर गरेका थिए । त्यही साल ठूलो पानी पर्यो । अशेष र विष्णु बसेको त्यो डेरा जलमग्न भयो । अशेष र विष्णुका सरसामान, लुगाफाटो पानीले डुबायो र डुबायो भानुको सडक कविता क्रान्ति विशेषाङ्क पनि । सडक कविता क्रान्ति र भानुको सडक कविता क्रान्ति विशेषाङ्कको सम्झना हुनेबित्तिकै विष्णु र अशेषको त्यो धोवीधाराको छिँडीको डेराको सम्झना आउँछ । त्यो विशेषाङ्कको प्रकाशन लागत किफायति गर्न न्युज प्रिन्टमा मुद्रण भएकोले पानीले छुनेबित्तिकै भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषाङ्कको ईहलीला समाप्त भएको थियो ।
सडक कविता क्रान्ति सकिएपछि अशेष नाट्यकर्ममा लागे । उनी काठमाडौं बसेकै नाट्यकर्मलाई राजधानीमा फलाउन फुलाउन थियो ।
हरेक वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने नाटक महोत्सवमा अशेषले प्रयोगात्मक नाटक “सडकदेखि सडकसम्म” र “रातका बन्द आँखाहरू” दुई नाटक पेश गरेका थिए । मैले दुवै नाटकमा अभिनय गरेको थिएँ । सडकदेखि सडकसम्म नाटक त अशेषलाई नाटककारको रूपमा प्रख्याति दिलाउने महत्वपूर्ण कोशे ढुङ्गा नाटक भयो । उनलाई नाटककारको रूपमा स्थापित तुल्याउने त्यो नाटककै शीर्षक “सडकदेखि सडकसम्म” नाममा उनको नाटक सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशित भयो र साझा पुरस्कार पनि पाउन सफल भयो ।
अर्को नाटक “रातका बन्द आँखाहरू” मा अशेष, विष्णु र मेरो मुख्य भूमिका थियो । विष्णु र म प्रहरीको भूमिकामा थियौँ । त्यो नाटकको रिहर्सलमा भएको याैटा घटना कहिल्यै पनि बिर्सन सक्दिनँ । विष्णुले याैटा घरको पिँढीमा बन्दुक देखेपछि “अरे बन्दूक !” भनेर आश्चर्यसहितको अभिव्यक्ति दिनुपर्ने थियो । तर विष्णु भने बन्दुकमा आँखा नपुग्दै “अरे बन्दूक “ भन्थे । अशेषले कैयन् पटक दोहोर्याएर सिकाउँदा पनि बिष्णुले बन्दूकै नदेखी “अरे बन्दूक” भनेर हैरानै पारे । बल्लतल्ल अलिक सुधार गरे । तर एकेडेमीको रङ्गमञ्चमा पुग्दा पुनः तिनले भुले र बन्दूक नदेखी “अरे बन्दूक” भन्दिए ! मलाई रङ्गमञ्चमै हाँसो थाम्न हुनसम्मको मुस्किल परेको थियो ।
शायद विष्णु रङ्गमञ्चका लागि जन्मेका रहेनछन् । पछि कहिल्यै नाट्याभिनयमा मञ्च चढेनन् । हुन त म पनि पछि मञ्चमा चढिनँ । हामी दुवै रङ्गमञ्चका लागि रहेनछौँ । तर “रातका बन्द आँखाहरू” नाटक भने मनको कुनामा यही सन्दर्भले सदा जीवित रह्यो । अशेषले त्यस नाटकलाई कुन्नी किन हो कुनै पुस्तकमा पनि सङ्ग्रहित गरेनन् यद्यपि त्यही नाटकमा अभिनय गरेबापत अशेष त्यस वर्षको नाटक महोत्सवमा कलाकारको रूपमा पुरस्कृत भएका थिए ।
सर्वनाम नाट्य संस्थाको औपचारिक स्थापना भएपछि म प्रत्यक्ष संलग्न भइनँ । तर विष्णु व्यवस्थापकको रूपमा साथै रहे । रङ्गकर्ममा भने उनको यात्रा निरन्तर रहेन ।
बरु उनको कथ्यमा आधारित टेलीश्रृङ्खला “जनैको साँचो” भने निकै लोकप्रिय भएको थियो ।
उनी त्यतिबेला कविताका साथसाथै कथा पनि लेख्दथे । हरि शङ्कर अमात्यले प्रकाशन गरेको साहित्यिक मासिक “दीपिका” पत्रिकाले कथा प्रतियोगिता गरेको थियो । त्यस प्रतियोगितामा विष्णुले पनि भाग लिएका थिए र पुरस्कृत भएका थिए । म त्यस पत्रिकाको सह-सम्पादक थिएँ ।
पछि उनी कवितामै एकोहोरिए ।
विसं २०३६ सालको जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायतको पक्षमा निर्णय आएपछि विष्णुले यौटा कविता लेखे-“भर” । त्यस कवितामा उनले लेखे, “ढुङ्गाको भर माटोलाई, माटोको भर ढुङ्गालाई” । यस्तै प्रकारको भावना थियो । कतिले त्यस कवितालाई “सम्झौतावादी” कविता भने । तर अरू कविताको चेपमा त्यो कविता लुक्यो, खास चर्चा भएन । तर मेरो सम्झनामा भने त्यो टड्कारो नै छ ।
विष्णुको पहिलो कवितासङ्ग्रह “समयको कठघरामा” र मेरो पहिलो उपन्यास “उत्खनन” विसं २०४५ सालमा एकै वर्ष साझा प्रकाशनबाट प्रकाशित भएको थियो । त्यतिबेला साझाले लेटर प्रेसबाट कम्पोज गरेर किताब प्रकाशन गर्थ्यो । कभर पनि ब्लक बनाएर मुद्रण गर्थ्यो, अफसेट प्रविधि नेपालमा भित्रिए पनि । तर लेखकले आफैँ प्रबन्ध गरे कभरका लागि साझाले निश्चित रकम तिर्ने, बाँकी आफैँ ब्यहोर्ने गरी बाहिरबाट अफसेट प्रविधिबाट छपाउन मिल्थ्यो ।
म त्रिभुवन विद्यालय केन्द्रीय कार्यालयमा काम गर्थें । त्रिविको आफ्नै छापाखाना थियो । त्यहाँका सबैजसोलाई म चिन्दथेँ । एकजना त मेरा सहपाठी पनि थिए । मैले मेरो कभर मुद्रणका लागि कुरा राख्दा सकेसम्म सुपथ मूल्यमा काम गरिदिने भए । त्यसरी मुद्रण गर्दा एकैचोटी २ वटा कभर मुद्रण गर्न मिल्थ्यो । मैले साथी विष्णुलाई सम्झेँ । अनि उनलाई भनेँ । उनी अत्यन्त खुशी भए मेरो प्रस्ताव सुनेर । उनलाई यी सबको बारेमा जानकारी थिएन ।
त्रिवि छापाखानाबाट हामी दुवैको कभर एकसाथ छापियो र किर्तिपुरदेखि साझा प्रकाशन पुल्चोकसम्म मैले नै ट्याक्सीमा लगेँ । दुवैको किताब निस्कियो । मैले त किताब प्रकाशित भएपछि कुनै पनि कार्यक्रम गरिनँ । सम्भाव्य पुस्तक रिभ्यू लेख्ने समकालीन र अग्रजहरूलाई पुस्तक उपलब्ध गराउने बाहेक । विष्णुले भने त्यति बेलाको आरोहणको बागबजारको रङ्गमञ्चमा किताबको कार्यक्रम गरेछन् । कार्यक्रम सम्पन्न भएको समाचार पढेपछि पो म छक्क परेँ । साथी त छँदै थिएँ, किताबको कभर छपाइका लागि त्यति धेरै धामा गरेर सहयोग गर्ने म निम्तालुमा किन परिनँ होला, मैले आफैँलाई सोधेँ तर स्पष्ट जवाफ पाइनँ । विष्णुलाई त कहिल्यै सोधिनँ ।
विष्णुले पढाइ सकेपछि पाटन संयुक्त क्याम्पसमा अध्यापन शुरु गरे ।
यसैबीच साझा प्रकाशनले “गरिमा” मासिक साहित्यिक पत्रिका प्रकाशन गर्ने भयो । त्यसका लागि सम्पादक खुल्ला प्रतियोगिताबाट लिइने भयो र विज्ञापन भयो । साझा प्रकाशनमै कार्यरत साहित्यकार तथा विदेह साहित्यिक पत्रिकाको सम्पादनको अनुभव भएका शिव अधिकारी सो पदका लागि दावेदार थिए । तर सम्पादकको पदमा विष्णुविभू घिमिरेको नाम निस्कियो । उनको नाम निस्केपछि शिव अधिकारीले साझा प्रकाशनबाट राजिनामा गरे र नयाँ सडकको पीपलबोटमा यो नियुक्तिको विरोधमा पर्चासमेत बाँडेँ । सबैजसोले विष्णुलाई क्षेत्रप्रतापको आशीर्वाद प्राप्त भएर नाम निस्केको चर्चा गरे । सुधारिएको पञ्चायतको जगजगीको बेला, क्षेत्रप्रताप साझामा प्रतापि थिए । यो कुरालाई असत्य मान्नुपर्ने अवस्था र कारण थिएन ।
विष्णुविभूले गरिमामा निकै लामो समय सम्पादकको काम गरे, अध्यापनलाई पनि निरन्तरता दिँदै । एकातिर अध्यापन, अर्कोतिर गरिमाको सम्पादन । उनलाई कविता लेख्ने मुड, वातावरण र जरुरत परेन । गरिमाको सम्पादक भएकाले साहित्यकारहरूसँग उनको हेलमेल, बसउठ र सङ्गत भई नै रह्यो । साहित्यिक सत्सङ्ग त भयो । यसले उनको साहित्यिक तिर्खा र भोक त मेटियो होला तर पाठकको तिर्खा र भोक मेटाउने काममा उनलाई समय जुरेन । काव्यिक उँचाइमा जाने उनको मार्ग अवरुद्ध भयो ।
विष्णुको सम्पादनकालमा मेरा निकै कथा गरिमामा प्रकाशित भए, यौटा कथा अस्वीकृत गरे भनुँ वा प्रकाशन गर्न हिच्किचाए, जुन कथा पछि अविनाश श्रेष्ठले “समकालीन साहित्य”मा मजाले प्रकाशित गरिदिए ।
उनी मेरा कथा चाहिँ गरिमामा प्रकाशन गर्न इच्छुक हुन्थे, तर अरू बिधाका रचना उनले छाप्न उति मन गर्दैनथे । मेरा कविता उनले छाप्न मन गरेनन् । गरिमाका लागि अन्तर्वार्ता लिन इच्छुक थिएँ, तर उनले मानेनन् । त्यतिबेला अशेष मल्लले लिएको अन्तर्वार्ता मात्र उनले प्रकाशन गरे । एकपल्ट मैले यौटा एकाङ्की नाटक “मूर्दा मानिस” प्रकाशनार्थ दिएँ । तर उनले हेर्दै नहेरी प्रकाशन गर्न मानेनन् । तिमी कथाकार हौ, कथा लेऊ भने । मैले त्यो एकाङ्की प्रकाशन गर्न मन भएको भन्दा पनि उनले हेर्नै चाहेनन् । मैले कमसेकम पढेर त हेर भनेपछि पढ्न सम्म तयार भए । पढेपछि पनि एकाङ्की त ठिकै हो, तर कथा नै लेऊ भनेर ढिपी गरिरहे ।
मैले अन्तमा भनेँ, “तिमी यो एकाङ्की प्रकाशनयोग्य छैन भन, म फिर्ता लान्छु, नत्र छाप्नुपर्छ” ।
यसपछि भने उनी प्रकाशन गर्न तयार भए । प्रकाशित भयो । त्यो नाटक प्रकाशित भएपछि चर्चित पनि भयो । साझा प्रकाशनले साझा एकाङ्कीको दोश्रो भागको रूपमा प्रकाशित “समकालीन एकाङ्की”मा त्यो एकाङ्की नाटक पनि प्रतिनिधि एकाङ्कीको रूपमा प्रकाशित भयो साझाबाटै, जसको सम्पादक थिए अशेष मल्ल ।
कालान्तरमा प्राध्यापन र “गरिमा” सम्पादन एकसाथ गर्न नमिल्ने अवस्थाको सामना गर्नु पर्यो विष्णुले । उनले “गरिमा” हर सम्भव नछोड्न चाहेका थिए, तर थमाउन सकेनन् र यौटा लामो कालखण्ड गरिमाको सम्पादकको रूपमा बिताएर साझा प्रकाशनबाट अनिच्छामा बिदा हुनुपर्यो ।
विसं २०४६ को परिवर्तन र दलीय राजनीति खुला भएपछि लेखक कविहरू पनि प्रजातान्त्रिक, पञ्चायत एवम् राजतन्त्र पक्षधर तथा प्रगतिवादी मूल रुपमा तीन खेमामा ध्रुविकृत भए र सत्ताको स्वाद लिने तावेदारमा लेखक कविहरूको पनि लर्को लाग्यो । विष्णुको राजनैतिक आस्था नेपाली काँग्रेसप्रति भएकोले त्यसैको बलमा उनी साझा प्रकाशनको अध्यक्ष पदमा नियुक्त हुन पुगे ।
कुनै दिन साझा प्रकाशनको गरिमा पत्रिकाको अस्थायी सम्पादक अब साझा प्रकाशनकै अध्यक्षको पदमा आसिन हुन पुगे । यो निकै ठूलो फड्को थियो, पदीय हिसाबले । सम्पादकको पद जोगाउन हर प्रयास गरेका उनी त्यसरी साझामा पुग्दा उनका पूर्व कर्मचारी मित्रहरू पनि तीन छक परे ।
हुन त साझा प्रकाशनको अध्यक्ष पद कार्यकारी थिएन । सञ्चालक समितिको बैठकको अध्यक्षता गर्ने मात्र काम थियो । भौतिक अफिसको पनि व्यवस्था थिएन । तर विष्णुले आफैँले पहल गरेर अध्यक्षको कार्यालय खडा गरे र नियमित जसो अफिस जाने गर्न थाले । त्यसका लागि साझाको गाडीको पनि प्रयोग गर्न थाले । अध्यक्षको पदमा भएका उनलाई कसैले केही भन्ने आँट गरेनन्, यद्यपि कतिपय कर्मचारीहरूले उनको पिठ्यूँपछाडि मुख भने कुच्याउँथे ।
संयोगवश एकदिन कुनै साहित्यिक कार्यक्रममा विष्णुसँग भेट भो । उनले जाऔँ साझा भनेर साझाको अफिस लगे । साझाको कारमा हामी गयौँ । उनले एक तलामाथि भर्याङछेउ अफिस बनाएका थिए । हामी पुगेपछि अफिस खोलियो । अनि उनले खाजा मगाए । मासु र चिउरा अनि चिया । हामीले खायौँ ।
उनले भने, “के गर्नु, साझालाई यसो निरीक्षण गर्नुपर्छ के गोविन्द !”
“ऐ “ भनेँ मैले ।
उनको साझा निरीक्षण गर्ने शैली देखेँ । तर के भन्नु मैले ?
एकपल्ट साझा प्रकाशनको अध्यक्ष भएर निवृत्त भएपछि दोश्रोपल्ट पनि उनी अध्यक्ष पदमै गए । तर शायद दोश्रोपल्ट छोटो समयमै बिदा भए ।
त्यसपछि उनको यात्रा एकेडेमीतिर लाग्यो । बाघले मान्छेको स्वाद पाएपछि मान्छे मात्रै खोजि हिँड्छ भन्छन् । त्यस्तै सरकारी पदको रजाइँ गर्नेले पनि त्यस्तै पद खोजिहिँड्छ भन्थे । विष्णुले पनि सरकारी पदको सुख शयलमा रमाउन थालेपछि कविता लेखनमा व्यवधान आयो । खासै लेखनमा निरन्तर भएनन् । उम्दा कविता खोजी गर्ने पाठकहरू उनीसँग कविताको अपेक्षामा रहे । उनको यात्रा भने सत्ता पछ्याउने भयो । कविता लेखनमा भन्दा अतिथि, प्रमुख अतिथि भएर उपदेशक हुनेतिर उनी आकर्षित भए ।
कवि तथा व्यवसायी बसन्त चौधरीको “लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर”मा संस्था स्थापनाको शुरुवातदेखि नै संलग्नता रह्यो, विभिन्न पदारोहणका बेला पनि ।
उनको नवीनतम काव्याभि व्यक्तिकाे नमूना नयाँ वर्ष २०८० को साथमा यसरी आयो :
निराशाले खङरङ्ग मनहरूमा
आशाको दियो जग्मगाओस्
विछोड भएका मुटुहरूमा
चाँडै भेट हुने अवसर जुर्मुराओस्
हरेक मनमनमा, हरेक सङ्कल्पहरूमा
राष्ट्रप्रेमको भावना जागृत होस् !!
तीसको दशकमा उनको “हरायो” कविता प्रख्यात थियो । तर हराएको खोजी गर्ने कवि चाहिँ कता हरायो ? कुन दुःखमा हरायो कि कुन सुखमा हरायो, कविताका पाठक र पारखीहरूको प्रश्न हो यो ।
(फल्स चर्च, भर्जिनिया, अमेरिका)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।