स्याङ्जा । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह सत्यम् स्याङ्जाको वालिङ, मिर्दीमा एक समारोहबीच विमोचन गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा सम्पन्न कार्यक्रममा साहित्यिक विमर्शसमेत गरिएको थियो ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, समीक्षक शान्ता थापा र शम्भु अर्याल तथा लेखक वियोगीले संयुक्तरूपमा कृतिको विमोचन गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण कवि मिलन समिरले गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि ढकालले साहित्य कल्पना र यथार्थताको संयोजन भएको उल्लेख गर्दै वियोगीका कथामा माओवादी द्वन्द्वको परिवेशलाई सशक्त रूपमा चित्रण गरिएको बताउनुभयाे । “वियोगीका कथामा २०५२ देखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको प्रभाव स्पष्ट देखिन्छ,” उहाँले भन्नुभयाे ।
समालोचक डा. थापाले पत्रकारिता पेसामा रहेका वियोगीले समाचार वा फिचरमा लेख्न नसकेका विषयहरू कथामार्फत व्यक्त गरेको बताउनुभयाे । उहाँले भननुभयाे, “असत्यले सत्यलाई छायामा पारेको समाजको वर्गीय पीडा र यथार्थलाई सत्यम्ले उजागर गरेको छ । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर पनि कथाहरूमा उठाइएको छ ।”
समीक्षक शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति भएको बताउनुभयाे । उहाँले कृति पढ्दा आफू भावुक भएको अनुभव सुनाउनुभयाे ।कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिबारे बोल्दै भन्नुभयाे, “म कथाकार वा लेखक बन्नुहुन्छ कि हुँदैन भन्ने कुरा थाहा छैन, तर धेरैको सहयोगले नै मलाई यहाँसम्म ल्यायो । मैले सत्यम् लाई होइन, सत्यम् ले मलाई चिनाइदिए पुग्छ ।”
अर्का समीक्षक तथा निबन्धकार अर्यालले समाज र परिवेशका अति सूक्ष्म विषयलाई कृतिले उधिनेर निकालेको बताउनुभयो । कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष कुमार रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमिको मौलिकतालाई थप उजागर गरेको बताउनुभयाे।
वियोगीको यो पहिलो कथासङ्ग्रह हो । समीक्षात्मक धारमा छलफल भइरहँदा सहभागी वक्ताहरूले वियोगीले पश्चिम नेपाल, विशेषतः स्याङ्जाको स्थानीय भाषा, संस्कृति र माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित समाजका विविध पाटाहरूलाई कथामार्फत उत्खनन गरेको उल्लेख गरे । कथामा सामाजिक विभेद, असमानता, जनयुद्धका त्रासदीसँगै लोकभाका र लोकसंस्कृतिको सुगन्ध समेत पाइने कुरा चर्चा भएकाे थियाे ।
‘सत्यम्’ विमोचनसँगै भएको बृहत् सिर्जना वाचन कार्यक्रममा २५ जना कविहरूले आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगी नेपाल समाचारपत्र, नागरिक दैनिकलगायतका सञ्चारमाध्यमहरूमा कार्यरत रहिसक्नुभएकाे छ । हाल उहाँ ऊर्जा सम्बन्धी अनलाइन र अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’ का सम्पादक हुनुहुन्छ । कथा र निबन्ध विधामा सक्रिय वियोगीका गीतहरू पनि आधुनिक तथा लोक-आधुनिक शैलीमा रेकर्ड भइसकेका छन् ।
उहाँको निबन्ध ‘कोरोनाको कर्खा’ले कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ मा प्रथम स्थान हासिल गरेको थियो भने ‘टाउको’ शीर्षकको कथा डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता को पहिलो संस्करणमा दोस्रो भएको थियो, जुन कथा पनि यस सङ्ग्रहमा समावेश छ ।
पेज टर्नर प्रा.लि.बाट प्रकाशित उक्त कथासङ्ग्रहमा १५ कथा सङ्ग्रहित छन्, र कृतिको मूल्य चार सय ५५ रुपैयाँ राखिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










