लक्ष्मण वियोगी

रातको,
चौथो प्रहर खुर्केर
स्फटिक जस्तै चम्किने
उषाको लाली उही
बादलसँग हाँसखेल गर्दै
ओर्लिने घाम उही

नदी र खोला उही
पहाड र पर्वत उही
मैदान र बेसी उही
फूलैफूलको सुगन्ध उही
वसन्तको मुहनी उही
प्रकृतिको चक्र पनि उही

दिनचर्या उही
घडीको सुई उही
समयको गतिशीलता उही
कर्मको लगाम उही
कर्म उही

बादलको देश खोज्दै
मडारिने भावना उही
वर–पीपल चौतारो उही
आँसु, हाँसो, रोदन र खुसी उही
हाम्रो प्रेमकथा पनि उही

नयाँ भन्नु केवल
नवीन अनुभूति त रहेछ
हरेकमा एउटा
चञ्चल एवम् उल्लासमय
नवीनताको मूल फुटोस्
शुभकामना !!!