
नेपाली साहित्याकाशमा ‘रेडियोरिता’ कथा–संग्रह लिएर उभिएका छन्; हर्कबहादुर लामगादे ‘रोहित’ । भारत मणिपुरबासी रोहित पेशाको सिलसिलामा नयाँ दिल्ली बस्छन् र त्यहीँ बसेर साहित्य सिर्जनातर्फ पनि घोटिरहेका छन् । साहित्यमा उनको यो दोस्रो कृति हो भने कथाको रूपमा पहिलो ।
इतिहासले समेत भन्छ– नेपाली साहित्यको भण्डार भर्न दार्जिलिङ, मणिपुर, आसाम, शिलोङ, मेघालय र सिक्किममा बसोबास गर्ने नेपालीहरूको बिर्सीनसक्नुको गुन छ । भाषा, संस्कृति, रीतिरिवाज, चालचलन र सभ्यताको दाम्लोले बाँधिएको यो जातिको हृदय बेलाबेला फरक भूगोल अर्थात् वारिपारि हुनुको पीडाले चसक्क हुने गरेको छ ।
टार्न नसकिने विधिको विधान र जोड्न नसकिने अकाट्य भूगोलको सीमाभित्र रहे पनि सिर्जनाको चरो उडेर त्यस्तो सीमा भत्काइरहेको हुन्छ । त्यो अनवरत भत्किरहेको छ; त्यसको प्रवाह अविछिन्न रहिरहने नै छ । यसर्थमा यो सम्बन्ध भूगोलका काँडेबार भत्काएर सीमाहीन टाकुरामा उक्लिएको छ र त्यहाँ बसेर सिर्जनाका फाँकीहरू झिकिरहेको छ ।
एउटै गाउँको हित परिस्थितिले लघारेर पारि पुग्छ वा भूगोलहरू जोडिँदा र टुक्रिँदा ऊ कहिले यताको हुन्छ, कहिले उताको । यही परिस्थितिले हिजोको हितलाई आज मितमा बदलिदिन्छ । एउटै भूगोलका हित र मितलाई नेपाली तथा भारतीयको रूपमा पुकार्दा कता–कता विरानो अनुहारको चित्र देखिने शंका हुँदो रहेछ ।
हामीलाई मेची र कालीले बार बारेको न हो । त्यो मेची–काली नहुँदो हो त हामी कुदेर उता पुग्थ्यौं होला वा हाम फालेर यता फर्किन्थ्यौं । यहाँ भूगोल, राजनीति, कुटनीति वा भू–राजनीतिको औपचारिकतालाई एकातिर पन्छाइदिउँ । हामी मात्र हुन सकौं– मेची वारि र पारिका बन्धु । हामीमा सदियौंदेखि एउटै बन्धुत्वको भाव छ; हामीलाई तोतेबोली सिकाउने आमा एउटै हुन् । चोर औंलो समातेर टुकुटुकु हिँडाउँने बाबु उही हुन् ।
आज तिनै मेचीपारिका मणिपुरे बन्धु ‘रोहित’ले कथा–कुटुरो लिएर आमा सम्झिरहेका छन्; बाबुको अनुहार नियालिरहेका छन् ।
कथा मान्छेका आफ्नै व्यथा हुन्; सुल बनेर दुखिरहने मनका घाउ । घाउ पाकेर चिलचिलाउने पीपमा रूपान्तरण भएपछि त्यो फुट्छ र सतहमा बग्छ । विस्तारै घाउ खाटा बस्दै जान्छ, त्यो निको हुन्छ । बल्ल मान्छेले आफूबाट बाहिर निस्केर प्रियसीका कथा लेख्छ । घरको कथा लेख्छ, बाआमालाई त्यसैमा मिसाउँछ । सँगै हिँड्ने दौंतरीको कथा लेख्छ । गोरेटो, सडक, सहपाठी, सहकर्मी, सँधियार, टोल, गाउँ, शहर–बजार, जिल्ला हुँदै देशका घटना बुन्छ । अनि, त्यहाँबाट बाहिर सीमा काटेर विश्व जगतसँग मौलिकताको जुइनो गाँसेर चिहाउँछ– कथाको दूरबीनले ।
हो, यहाँ आफ्नै व्यथाहरूमा कथाको सुन्दर कलेवर गाँसेर ‘रेडियोरिता’मार्फत झुल्किएका छन्; रोहित ।
कथा–पाठको पुष्ठभूमि
पेशागत कामले म दिल्ली आउँदै गरेको खबर रोहितलाई बताइसकेको थिएँ । २०७९ साल भदौ २९ गते दिल्लीस्थित ललित होटेल पुगेपछि उनलाई आफू आइपुगेको जानकारी गराएँ । त्यसै दिन हाम्रो भेट्ने कार्यक्रम बन्यो तर अकस्मात मेरो स्वास्थ्य अवस्था प्रतिकूल हुन गयो । उता उनी पनि काम विशेषले आउन सकेनन् । भोलिपल्ट साँझ करिब ८ बजेतिर हाम्रो भेट भयो, होटेलको मेरो अश्रयस्थलमै ।

लक्ष्मण वियोगी
त्यतिबेलै रोहितले भर्खरै प्रकाशित आफ्नो कथासंग्रह ‘रेडियोरिता’ प्रदान गरे । पुस्तक उपहार पाउँदा ममा अर्कै खालको खुसी एवम् हर्ष प्रवाहित भयो । त्यो खुसी म अरू केहीसँग पनि तुलना गर्न सक्दिनँ । मलाई यो कथा कृति कतिबेला पढौं भइसकेको थियो तर कार्यक्रमको व्यस्तताले पुस्तक पल्टाउन भ्याइनँ ।
असोज ३ गते दिल्लीमै ‘रेडियोरिता’माथि परिचर्चा कार्यक्रम राखिएको विषयमा यसअघि नै रोहितले मलाई अवगत गराएका थिए; त्यहाँ मेरो पनि उपस्थिति हुनुपर्ने उनको अग्रह थियो तर असोज १ गते नै नेपाल फर्किनुपर्ने बाध्यताले म त्यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन सकिनँ । यसमा मलाई पछिसम्म थकथकी लागिरह्यो ।
फर्किने बेलामा रोहितले भनेका थिए– तपाईं उपस्थित हुन नसकेको कारण दर्शाएर ‘रेडियोरिता’माथि केही लेखेर पठाइदिनु हुन्थ्यो कि ! उनको आग्रह स्वीकार्दै मैले केही कथाहरू पढेर त्यसैको आधारमा एक–डेढ पेज भावनाका कुरा पोखेँ र औपचारिक दायित्व पूरा गरेँ ।
मलाई उहिलेदेखि मेचीपारिको साहित्यमा निकै रस बसेको हो । त्यसको पठनले मेरो साहित्यप्रतिको चेतलाई माथि उठाउन धेरै हदसम्म सघायो । मैले उसैबेलादेखि लीलबहादुर क्षेत्री, शिवकुरमा राई, इन्द्रबहादुर राई, पारिजात, आगमसिंह गिरी, हरिभक्त कटुवालहरू पढेर हुर्केको हुँ । पछिल्ला केही दशक त्यताका लेखकको राम्रो कृति पढ्ने अवसर जुरेको थिएन । समकालीन उमेर वयको हिसाबले पनि रोहितको ‘रेडियोरिता’ पढ्न पाउनु मेरा लागि अवसर बनेर आयो ।
कथाभित्रका कथा
ममा कथा कृतिलाई वैयक्तिक, सामाजिक, मनौवैज्ञानिक, भावनात्मक, प्रेमिल जस्ता वादको परिभाषाभित्र पारेर समालोचनात्मक दृष्टि दिने क्षमता छैन । यहाँ मैले रोहितका कथालाई एउटा इमान्दार पाठकको आँखाले मात्र हेर्न खोजेको छु ।
फूलबारीमा फुलेका सप्तरंगी फूलहरूमा कुन जाति कुन नजाति वा कुन सुन्दर कुन अलि कम सुन्दर हुन्, त्यसमा दृष्टिपातको छुट सबैलाई हुन्छ । कुनै आँखालाई सुन्दर लागेको फूल अर्कोलाई नलाग्न सक्छ वा एउटै व्यक्तिको दाँहिने आँखाले आकर्षक मानेको फूल देब्रेले अनाकर्षक भन्न सक्छ । साहित्यमा पाठकको दर्जा पनि त्यही होला ।
कथाहरू पढिरहँदा पाठकले के बुझ्यो ? के राम्रो देख्यो, के नराम्रो ? कहाँनिर मिलेको देख्यो, कहाँ नमिलेको ? सिर्जनाको पर्खाल बनाउनु सजिलो काम हुँदै होइन, अझ सजिलो र गाह्रो छुट्ट्याउने ल्याकत ममा छैन । यद्यपि, पाठक बनेर उभिने अनुहारले त्यो पर्खाल कसरी बनेको छ ? ढाँचा, ढंग मिलेको छ/छैन ? सुहाउँदो रंग–रोगन पोतिएको छ/छैन ? यसमा थोरै भए पनि दृष्टि पुर्याउन भन्ने पक्कै सक्छ । म यही दृष्टिका साथ ‘रेडियोरिता’का १६ वटा कथामाथि घोत्लिएको छु ।
कथाहरूले समयको बहाबमा तैरिरहेका मानव संवेदनाका झिल्काहरूलाई सतहमा ल्याउने प्रयास गरेका छन् । पारिवारिक, सामाजिक, ग्रामीण परिवेश र जीवन जिउनका लागि गरिएका अनेक संघर्षका पत्रहरूमा कथाका पात्रहरू जोडिएका छन् । ती कथाका पात्रमात्र नभएर आफ्नै जीवन र रोहित आफैंले भोगेका पीडाहरूको लिपिबद्ध सूची जस्तो लाग्छ ।
नौ महिने पाहुँना
यो कथा परिवर्तनको उभारले बोकेर ल्याएको सामाजिक एवं पारिवारिक संरचनाको नयाँ अध्याय हो । गरिबीले आकाश छुनु, बाबुको उपचारका लागि खर्च नहुनु, त्यसको जोहो गर्न हण्डर–ठक्कर झेल्नु र समस्या समाधानका सम्भावना खोज्दै जानु पनि गरिबीकै उपरिसंरचना हुन् जस्तो लाग्छ । यस कथामा गरिबीको चित्र छ, गरिबी उच्छेदन गर्न महिलाले अरू विकल्प नपाएर कोख नै भाडामा लगाउनुपर्ने बाध्यता छ भने अर्कोतिर हाम्रो समाजमा जहिल्यै छोराको दाँजोमा छोरीलाई कमजोर बनाउने प्रवृत्तिको विरुद्ध उभिएको छ ।
छोरीले छोराले भन्दा अझ जिम्मेवार ढंगले परिवारको दायित्व निर्वाह गर्न सक्छन् भन्ने पक्ष बलियोसँग स्थापित गर्न खोजिएको छ । उता कोख दानलाई अंग (मृगौला, आँखा, रगत) दानसँग तुलना गरिएको छ । हो पनि, मान्छेले आफ्नो मृगौला नै काटेर अरूलाई दान गर्न सक्छ भने बाँझो जीवनलाई हरियो र सिर्जनशील बनाउन कोख दान गर्न किन सकिँदैन ? जसले सन्तानको तिर्खामा छट्पटिएकाहरूलाई त्यसबाट बाहिर ल्याउन सकोस् ।
सरोगेसी बाध्यता, स्वेच्छा वा गरिबी उन्मूलनको अस्त्र के हो ? अबको साहित्य सिर्जना र समालोचनामा यो मुद्दाले बहस छेडेको छ । अर्कोतर्फ, कोखलाई भाडा लगाउने वा सामाजिक संरचना खल्बल्याउने पक्षमा कथाका पात्रहरू सचेत छन् । जीवन जिउने आधार नै भएन, गरिबीले थिचिरह्यो वा मर्नुभन्दा बहुलाउनु निको भन्ने अवस्थामा सरोगेसीलाई अपनाउन सकिन्छ तर पारिवारिक, सामाजिक र मातृवात्शल्यताको मर्मलाई हृदयगंम गर्दै कोखको व्यापारलाई बर्जित गर्नुपर्छ भन्ने सन्देश कथाको अर्को सशक्त पक्ष हो ।
भुल
भुलमा यौवनको अज्ञानता एवम् आवेग छ । उही घरगाउँ र सामाजिक परिवेश आइरहन्छन् । कथामा प्रेमीको पाटो त्यति बाहिर आउन सकेको छैन । शान्तिले अवैध गर्भ बोकेपछि भवानीसँगै विवाह गराइदिने बाटो आमाले समातेको भए वा छोरीलाई सुझाएको भए हुन्थ्यो । समय, परिस्थिति र चेतनाले कुमारी आमाको दर्जा समेत स्थापित गरेको छ । यसतर्फ, जोडेको भए कथाले नयाँ आयामलाई स्थापित गर्न सक्थ्यो कि !
लक्ष्मणरेखा
‘लक्ष्मणरेखा’ एउटा बालमनोवैज्ञानिक कथा हो भन्दा अत्योक्ति हुँदैन । छोराछोरीमाथि अभिभावकले जबर्जस्ति आफ्नो भावना थोपर्दा उत्पन्न हुने परिणाम कथाले सतहमा ल्याएको छ । शंकर ओझाले छोरीलाई पढाइमा दबाब दिनु, छोरीमा विस्तारै डरले जरा गाड्दै जानु, उसको मानसिक अवस्थामा समस्या आउनु, साथीसंगीबाट टाढा रहनु जस्ता कारणले अन्ततः छोरीले घर नै छोडेर हिँडेको अवस्था छ ।
अभिभावकले छोराछोरीको इच्छा, आकांक्षा बुझ्दै नबुझी आफ्ना रहर र चाहना थोपर्दा अचेल बालबालिकाले आत्महत्या गर्ने चलन बढेको छ । घर छोडेर हिँड्नु बरु सामान्य पक्ष हो तर आत्महत्या जस्तो डरलाग्दो विषयले हाँगा हाल्दै जानुले पारिवारिक संरचना विथोलिएको छ । यसमा कथाले सचेत गराएको छ र अभिभावकले छोराछोरीलाई नियन्त्रण गर्नुभन्दा अभिभावकीय छहारी प्रदान गरेर स्वतन्त्र एवम् सिर्जनशील बनाउन जरुरी छ भन्ने कुरा सशक्तरूपमा उठाएको छ ।
डिस्को गर्ल
यस कथामा परिबन्धमा परेर महिलाले भोग्नुपर्ने पीडालाई बडो सरल ढंगले प्रस्तुत गरिएको छ । मान्छे, कतै बाटो बिराएर हिँड्छ; कतै बाध्यताको भुमरीमा फस्छ । शहरको रहनसहनमा होमिँदै जाँदा डिस्को जानु रहर, पेशा भन्दा बढी बाध्यता पनि हुन सक्छ । सायद, यो कथाकी मुख्य पात्र रिया पनि परिबन्धले डिस्को गर्ल हुन पुगेकी छ ।
परिबन्ध वा बाध्यताले गलत बाटो समातेकालाई असल मार्गमा हिँडाउन सकिन्छ भन्ने कथाको सन्देश छ । कुबाटोमा हिँडिरहेकोले असल व्यक्ति फेला पार्यो भने ऊ सही मार्गमा फर्केर आउँछ । यहाँ, दिनेश रियाको यौवन तथा रूपले आकर्षित हुनु र विस्तारै अव्यक्त प्रेममा पर्नुले रियालाई दिनेशको नजिक पुर्याएको छ । यो सामिप्यतालाई रियाले सकारात्मक मार्ग समात्न चाहेको संकेतको रूपमा बुझ्न सकिन्छ ।
दुई किनार
यो कथा दिल्लीकै परिवेशलाई टिपेर लेखिएको छ । जसको पृष्ठभूमि दुई हिन्दू र मुश्लिम परिवारबाट अगाडि बढ्छ र कहलमा परिणत हुन्छ । यो कलहलाई दुई प्रेमी अर्थात् सुधा र इमरानले शान्त पार्ने प्रयास गर्छन् तर असफल हुन्छन् । अन्त्यमा दुवैको हत्या हुन्छ । यो कथाले दुई वटा सन्देश बोकेको पाइन्छ– पहिलो, कुनै पनि धर्मभन्दा माथि मानव जाति र त्यसको अस्तित्व हुन्छ र दोस्रो मानव अस्तित्वभन्दा पर प्रेम हुन्छ । प्रेम आत्मा जतिकै पवित्र र स्वतन्त्र हुन्छ भन्ने विषय दर्शाइएको छ ।
हग
यसमा माध्यमिक तहमा पढ्ने दुई युवा–युवतीको आत्मियताबाट कथा सुरु हुन्छ । आत्मिय सम्बन्धको परिणाम (हग) ले युवती अर्थात् अञ्जनाको दाइ वीरेन्द्र आक्रोसित हुन्छ र भुवनलाई कुटपिट गर्छ । भुवन प्रतिकारमा उत्रिनुभन्दा कानुनी बाटो समात्छ । वास्तविकता नबुझी आवेशमा काम गर्दा परिणाम गलत निस्कन्छ । यसबाट परिवारमा तनाव र अशान्ति निम्तिन्छ भने समाजमा सुशासन कायम हुन सक्दैन । कसैले खराब काम गर्छ भने त्यही ढंगको प्रतिकारमा उत्रिनुभन्दा शान्तिपूर्ण तवरले समस्याको निकास खोज्नुपर्छ भन्ने कथाको बलियो पाटो हो ।
मालती साइँली
कथाकारले भारतमा बसेर पनि धनकुटाको परिवेश टिपेका छन् । यसमा भारत र नेपालका परिवेशको आभास पाइन्छ । सुत्केरी हुन आँटेकी छोरीप्रतिको स्नेह उर्लेर भेट्न धनकुटा गएकी मालती साइँलीले कान्छो छोराको मृत्युको खबर पाउँछे । कोरोनाका कारण यातायात नचल्दा पैदलै घर जान हिँड्छे तर कष्टकर हिँडाइ, चर्का घाम र तिर्खाएर पानी पिउन नपाउँदा उसको बाटोमै निधन हुन्छ । यो कथालाई कोरोनाकालको कहर भन्दा हुन्छ ।
मेरो के दोष थियो ?
समाजमा सामाजिक कचिंगलका अनेका व्यथा हुन्छन्, यो कथा त्यसैको एउटा रूपक हो । घरमा आमाको देहान्त भएपछि पारिवारिक वातावरण खल्बलिन्छ, अभाव र घरायसी कलहका कारण नीराले सानै उमेरमा मनोजसँग विवाह गर्छे तर लोग्नेको खराब आचरणले गर्दा उसले त्यहाँ पनि शान्ति पाउँदिन । उता भागेर विवाह गरेकी हुँदा माइतीले सोधखोज गर्ने कुरै हुँदैन । यस्तो सन्त्रास र मानसिक पीडा खप्न नसकेर गर्भसहित नीराले आत्महत्या गर्छे । आत्महत्यासँगै भ्रुणहत्या गैरकानुनी हो र यसमा गर्भको बच्चाको बाँच्न पाउने अधिकार हनन् भएको सन्देश छ ।
डि–पेपर
समाजमा भइरहने अनमेल विवाहको नतिजा हो, डि–पेपर । यो समयअनुसार परिवर्तनको गतिशीलता पनि हो; जसमा सामाजिक सञ्जाल अर्थात् सोसियल मिडियाको भरपूर प्रयोग गरिएको छ । परिवर्तित ढाँचाको टेक्निकमा लेखिएको कथाले जोडी रोज्ने परम्परागत आधारबाट बाहिर निस्केर नयाँ माध्यम अपनाएको छ । मोहिनी पात्रसँग आफू सुहाउँदो लोग्ने नभएको गुनासो छ, सामाजिक सञ्जालमै अमन भेटिन्छ र उसैसँग मोहिनीको दिल बस्छ । अन्त्यमा उनीहरूको सम्बन्ध विवाहमा परिणत हुन्छ ।
सामाजिक परम्परा अनुसार भएको विवाह अन्त्यमा सम्बन्ध–विच्छेदमा पुगेर टुंगिन्छ भने अर्कोतर्फ मनले रोजेकासँग नयाँ जीवनको सुरुवात । यसमा विवाह पनि उमेर र रूप सुहाउँदो हुनुपर्ने एउटा सन्देश भेटिन्छ भने मोहिनीको दोस्रो विवाहले नयाँ संरचनाको जग हालेको छ । सँगसँगै, अर्को संरचना भत्केको छ; जसका कारण विवाहको पुरानो संरचनाको जग हल्लिएको छ- जुन परिवर्तनको प्रवाह हो ।
मुसलधार पानीमा वर्षासँग
यो विशुद्ध प्रेम कथा हो; विषयवस्तु, परिवेश र घटनाक्रम पनि त्यति लामो छैन । बाल्यकालका साथी वर्षा र शिव बीचमा हराएर एक्कासी यौवनले गुँड लाएपछि भेट हुन्छन् । शिवकी हजुरआमालाई पूजाको प्रसाद पुर्याउन शिवसँगै वर्षा पनि जान्छे, मोटरसाइकलमा । यसमा प्राकृतिक मनोरमताको विश्लेषण छ, पानी झार्न ठिक्क परेको आकाश, त्यहाँ धुम्मिएका बादलका आकृतिहरू र पंक्षीहरूको चिरविराहट छ ।
शिव र वर्षाभित्र मनोविनोद छ, मनोवाद छ । एकाअर्काका स्मर्शबाट प्रस्फुटित भावनाका आवेगहरू छरिएका छन्; पोखिन खोजेको यौवनको उन्मुक्त मादकताले दुवैलाई एकाकार बनाउँछ । प्रसाद दिएर फर्किँदा बाटैमा घनघोर पानी पर्छ । दुवै ओतिन एउटा बरको रुखको सहारा लिन्छन् । दर्के झरी र भिजेरमा शरीरमा टाँसिएको लुगाले दुवैका यौवनका फूलहरू ढकमक्क फक्रिन्छन् । दुवै प्रेमको गहिरो कुवामा डुबुल्की मार्दै एकअर्कामा गाँसिन्छन् र पुनः मोटरसाइकल चढेर गन्तव्यतिर लम्किन्छन् ।
रेडियोरिता
यो पुस्तक–कृतिको शीर्ष कथा हो, यसले दुई वटा पक्षलाई बडो सशक्तरूपमा उठाएको छ । पहिलो, रिताको सञ्चारजगत अर्थात् रेडियोसँगको प्रेम र गोर्खालीहरूको वीरता । जसमा गाउँको जीवनशैली छ, त्यहीँका चालचलन, सदियौंदेखि गाँसिएका रीतिरिवाज जोडिएका छन् । गाउँलेहरूले गर्ने चोखो प्रेमको सुगन्धको घोलिएको छ ।
बिहे गरेको दोस्रो दिन नै पल्टनमा खटिएको तेजबहादुर अन्ततः सहिद भएको कुरा रितालाई आफैंले किनिदिएको उही रेडियोले फुक्छ । रिताको टाउकोमा पीडाको चट्टान बज्रिन्छ; यो पारिवारिक संवेदनाको सन्ताप त हो नै सँगसँगै सम्पूर्ण नेपाली जातिको साझा पीडा पनि । साथै, हरेक नेपालीको घरघरको दुःख हो, संवेदना हो, बाध्यता हो र समयसँगै पौंठेजोरी खेल्दै बाँच्नुपर्ने जीवनको एउटा कटु सत्य ।
सुसाइड नोट
यो रहस्यमय प्रेमकथा त हो, सँगै पुरुषले देखाउने विचित्रको चरित्र उतारिएको यथार्थ पनि । यहाँ, साजनले प्रेमको नाममा अनेक युवतीलाई भोग गर्दै, गर्भ बोकाउँदै हिँड्ने प्रवृत्ति उदांगो पारिएको छ । यो उदाउँदै गरेको परिवर्तनकारी समाजका लागि चिन्ता पनि हो । यौनको स्वाद चाख्दै हिँड्ने साजनप्रति विरक्त भएपछि सच्चा प्रेम गर्ने गार्गीले आफूलाई कठोर बनाएर सुसाइड नोट लेख्छे ।
यस नोटमा उसले भद्र भाषामा साजनलाई आफ्नो ज्यान लिने राक्षस, लबस्तरो जस्ता शब्दमार्फत आक्रोस व्यक्त गरेकी छ । नोटको अन्त्यमा रहस्यको पर्दा उघार्दै गार्गीले आफू कुनै पनि अवस्थामा नमर्ने र गर्भको बच्चालाई नयाँ संसार देखाउने अठोट लिन्छे । साजनले दिएको धोका विरुद्ध एक्लै संघर्ष गरेर जीवनलाई निरन्तरता दिने आत्मविश्वास प्रकटित हुनु परिवर्तनको सशक्त गतिशीलता हो ।
सेतो सारीमा रातो रङ
एउटा सांस्कृतिक कार्यक्रममा भेट भएका सुभाष र पुष्पा विस्तारै एकाकार हुँदै जान्छन् । नयाँ जमाना अनुसार उनीहरूले ह्वाट्स एपमा अनेक भलाकुसारी गर्छन् । पुष्पाले आफू विविहित भएको र केही वर्ष अघि जहाज दुर्घटनामा पतिको निधन भएको सुनाउँछे । सुभाषले यसबाट आफूलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिन्छ । यसलाई परिवर्तनकारी प्रेमकथाका रूपमा लिन सकिन्छ; जसले एकल वा विधवा विवाहलाई स्वाभिमानका साथ स्वीकार्ने संकेत दिएको छ ।
अधीन
बाबु–आमा, तीन छोरी, एक छोराको परिवार; माइली छोरी आफूखुसी जात नमिल्नेसँग विवाह गरेर जान्छे । यसको असर, घरको अनुशासनमा कडाई हुन्छ । बोल्न, हिँड्न, संगत गर्न, विचार पुर्याउनुपर्ने अवस्था उत्पन्न हुन्छ । अन्ततः कान्छी छोरीले विषपान गर्छे । हतार–हतार अस्पताल पुर्याएर उसलाई बचाइन्छ । यसको कारण खोज्दा परिवारले अनावश्यकरूपमा अधीनमा राख्न खोजेको प्रस्ट हुन्छ ।
परिवारमा कुनै सन्तानले अज्ञानबश भुल गरे भने त्यस विरुद्ध कठोर निर्णय लिने नेपाली जातिको पुरानै परिपाटी हो । यो कथामा पनि त्यसैको असर देखिएको छ । यसलाई केही हदसम्म बालमनोवैज्ञानिक कथा पनि भन्न मिल्छ ।
काइँला–काइँली
बाबु–आमाले सकी नसकी पढाएर हुर्काएपछि छोराछोरीले पखेटा लाउँछन्; ती भुर्र उडेर जान्छन् भविष्यको देश (परदेश) मा । यता घरमा धनमायाका लोग्नेस्वास्नी छोरो फर्केर खुसीका दिन भित्रिने कल्पना गर्छन् तर उनीहरूले सोचे जस्तो हुँदैन । दशौं वर्ष घर नफर्केको छोरो यसपालीको दशैंमा फर्किने आशा छ; दशैंमा छोराबुहारी र नातिलाई दिने आर्शिवाद पनि ठिक्क पारेका छन् उनीहरूले ।
अपसोच, छोरोले आउन नपाउने भनेर फोन गर्छ । यसको पीडा खप्न नसकेर बाबुको एक्कासी मृत्यु हुन्छ, लोग्नेलाई सम्हाल्न खोज्दा–खोज्दै धनमायाको पनि चोला उड्छ कहिल्यै नफर्किने गरी । सन्तानमाथि बाबु–आमाको आगाध प्रेम हुनु तर छोराछोरीले त्यसको मर्म नबुझ्नु समाजको यथार्थ चित्र हो । छोराछोरीको तिरस्कारले बुढेसकालमा बाबु–आमालाई एक्लो जीवन जिउन बाध्य बनाउँछ । अन्ततः सन्तानलाई कल्पिँदै प्राण त्याग्छन् । यो हरेक नेपालीको घरभित्रको मार्मिक सामाजिक कथा हो ।
चौतारी
संग्रहभित्रको यो अन्तिम कथा हो । सुरुमा रिमाले विवाह गर्न नमान्नु, पल्लो गाउँको योग्य तन्नेरी भेटिनु, विवाहअघि दुवैले एक–अर्कालाई बुझ्नु सकारात्मक पक्ष हो । रिमाले आफ्नो विवाह सरोजसँग हुँदैछ भन्ने चाल नपाउनु तर केटी हेर्न जाँदा उसैसँग साक्षात्कार हुनु मीठो संयोग बनेको छ । विवाहपछि उनीहरूको सम्बन्ध अझ प्रगाढ हुन्छ, छोरो जन्मिन्छ । रिमाको विद्यालय खोल्ने चाहना पूरा गर्न सरोज जर्मनीबाट सधैंका लागि स्वदेश फर्किन्छ ।
विडम्बना सरोजलाई क्यान्सर जस्तो घातक रोग लाग्छ । यो कुरा रिमालाई सुनाउनु अघि नै उसले आत्महत्या गर्छ; रिमाका लागि विद्यालय स्थापनाको सम्पूर्ण जोहो गरेर । अन्यभन्दा केही लामो भएर पनि यो कथामा मिठास छ; धेरै ठाउँ रहस्यमय हुनुले पाठकलाई तान्दै–तान्दै लैजान्छ । यद्यपि, केही ठाउँमा एक प्रसंगबाट अर्कोमा जाँदा लेखाइको साङ्ली छुटे जस्तो आभास पनि हुन्छ । यसलाई विवाहपछिको अधुरो प्रेमकथाको रूपमा समेत लिन सकिन्छ ।
मौलिकताका भावहरू
‘रेडियोरिता’भित्रका अधिकांश कथाहरू प्रेमिल छन्; केही सामाजिक एवम् बालकथा पनि । त्यहाँभित्र तरुण–तन्नेरीका प्रेमका अनेक बान्की भेटिन्छन् । शालिन प्रकृतिको मधुरतासँग जोडिएर आएको नेपाली समाज छ, गाउँ–शहर छन्, त्यहाँभित्रको रीतिरिवाज, चाल–चलन, धर्म–संस्कृति छन्– नेपालको भूगोलबाट उठेर गएका बस्तीहरू पर मुलुकमा त्यस्तै गाउँ स्थापनाका लागि संघर्षरत छन् । भाषाप्रति ठूलो लगाव छ । समग्र कथाहरूमा प्रवासमा बसेर नेपाली जातिले आफ्नो पहिचान जोगाउँदै परम्परालाई अक्षुण राख्दै आएको जीवन्त चित्र छ ।
लेखाइमा पर्याप्त भाषिक शिष्टता छ, हरेक कथामा निकै सचेतताका साथ भाषाको प्रयोग गरिएको छ । प्रायःमा गाउँले परिवेश, मेला, पर्व, पूजाआजा, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्महरू छुटेका छैनन् । यसले विषयवस्तु ग्रामीण परिवेशमै डुलिरहे जस्तो लाग्छ, जसमा मौलिकताको स्वाद पाइन्छ । कथाकारले जानेसम्म र भेटेसम्म प्रयोग गरेका झर्रा शब्दहरूले कथालाई थप मौलिक बनाउन मरमसला थपेको छ ।
मणिपुरमा जन्मेर उतै शिक्षा–दिक्षा लिई साहित्यमा साधनारत हर्कबहादुर लामगादे ‘रोहित’ले यति मीठा कथा सिर्जना गर्नु नेपाली साहित्यका पाठकका लागि खुसीको कुरा हो । आगामी दिनमा उनीबाट अझ ओजपूर्ण र समाजलाई गतिशीलता प्रदान गर्ने कथाहरू लेखिनेछन् भन्ने विश्वास गर्न सकिन्छ ।
केही सुझाव
नेपाली भाषाको मानक कस्तो हुने ? यस विषयमा देशभित्रै दशकौंदेखि बहस हुँदै आएको छ; यो बहस चलिरहेको छ/चलिरहने नै छ । नेपालभित्रै एकरूपता नभएको भाषा प्रवासमा बसेर सिर्जना गर्नेलाई ‘गरिनस्’ भन्न सुहाउँदैन । मेचीपारि पनि दार्जिलिङ, आसाम, गोवाहाटी, मणिपुर तथा सिक्किममा बोलिने भाषामा एकरूपमा पाइँदैन । जसरी कथ्यमा एकरूपता पाइँदैन त्यसरी नै लेख्यमा छैन ।
त्यतातिर जे जसरी बोलिन्छ, लेखिन्छ; त्यसैको आधारमा भाषा बाँचिरहेको छ । यदि, पारिकालाई भाषाकै विषयलाई लिएर हेला–होंचो अर्घेलो गर्ने हो भने आज जुन रूपमा बाँचेको छ, त्यही पनि नबाँच्न सक्छ । उनीहरूले आफ्नो हिसाबमा लेखन र प्रयोग त गरिरहलान् तर त्यसको जरो–किलो उखेलिन सक्छ । अतः जे जसरी भाषा प्रयोग र लेखन भइरहेको छ, यसलाई पहिलो प्राथमिकता दिनु नै पर्छ ।
यति हुँदा–हुँदै पनि केही लेखकीय मानकहरूलाई अपनाउनुको विकल्प देखिँदैन । मणिपुरे, आसामेली, मेघालयको कथ्य भाषामा स्थानीय लवजदेखि, हिन्दी र पर्याप्त अंग्रेजी शब्द प्रयोग भइरहन्छन्; रोहितका कथामा पनि त्यो पाइन्छ । नेपाली, आसामी वा मणिपुरे, हिन्दी र अंग्रेजी मिसिएर उत्पादित नेपाली भाषा कस्तो होला ? यसले भाषाको मूल जरो धान्न सक्ला कि नसक्ला ? यो विषयमा भने घोत्लिनैपर्ने हुन्छ ।
रोहितका कथाहरूमा भाषाको फराकिलो विचलन भेटिन्छ । भावको गाम्भीर्य र शिष्टता प्रस्तुत गर्ने भरभग्दुर प्रयास हुँदा हुँदै धेरै ठाउँमा शब्दले वाक्य संरचनालाई सुललित बनाउन सकेका छैनन् । भाषिक शुद्धताका साँध–सीमा भत्किएका छन् । भोलिका दिनमा उनले मणिपुरतिरकै भाषामा दख्खल राख्ने कुनै विद्वानसँग परामर्श गर्न सके उत्तम हुनेछ ।
जसरी उनले भाषाको शिष्टतामा सावधानी अपनाएका छन् त्यसरी नै आगामी कथामा उनले शब्द चयन, वाक्य गठन, शुद्धतामा समेत ख्याल गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ । जसले उनको लेखकीय क्षमतामा सुनमा सुगन्ध भर्न सक्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

