डिमापुर जाने यो रेललाई राजधानी एक्सप्रेस भन्छन् । म यसैको एउटा खोपामा टुसुक्किएर यसको सिलिङ गनिरहेको छु । यत्रतत्र लम्पसार परेर छरिएका अनगिन्ती सिट छन् । यी सिटहरू कहिलेदेखि सुतेका हुन् र कहिलेसम्म सुतिरहन्छन्; पत्तो छैन । यी निर्जीव भनिएका सिटमाथि सजीव मानव आकृतिहरू आ–आफ्ना ध्वाँसका धूवाँ छोडिरहेका छन् । साँच्चै, सजीव देहसँग मात्र दया–माया, करुणा, दुःख, पीडा जस्ता संवेदना हुने हुन् ?

मनमा गडेको यो प्रश्नले मलाई इन्जिनियर वीरसिंह धामी सम्झायो । उनले जापानी वैज्ञानिक डा. मासारु इमोतोको एक अनुसन्धानको निचोड सुनाएका थिए– इमोतोले मान्छेका अनेक दुःख, पीडा, हैरानी र अस्तव्यस्त जीवनको कारण खोज्ने क्रममा पानीको क्रिष्टलमाथि अध्ययन गर्न पुगे; अध्ययनबाट पानीले चेतनशील प्राणीले जस्तै व्यवहार देखाउने निचोड निस्कियो । यसबाट थप प्रभावित भएर उनले उक्त प्रयोग भातमाथि गरे; जहाँ पानी मिसिएको हुन्छ । तीन वटा भाँडामा भात राखेर पहिलोलाई सकारात्मक सन्देश दिने भाव ‘धन्यवाद’, दोस्रोलाई नकारात्मक शब्द ‘मूर्ख-दुष्ट’ र तेस्रोप्रति बेवास्ता गरे अर्थात् कुनै प्रतिक्रिया जनाएनन् ।

३० दिनपछि हेर्दा, सकारात्मक शब्द दोहोर्याइरहने भाँडोको भात ‘फर्मेन्टेशन’ भएको पाइयो; जुन शरीरका लागि निकै लाभदायी मानिन्छ । दोस्रोको सडेर कालो हुन लागेको; जसलाई गाली गरिएको थियो । तेस्रो, जसलाई बेवास्ता गरियो; त्यो दोस्रो भन्दा कम सडेको पाइयो । अब भन्न सकिन्छ; मान्छे मात्र होइन, प्रकृतिका हरेक सजीव वा निर्जीव वस्तुसँग चेतना हुन्छ । उसमा पनि माया र सद्भावको तिर्खा हुन्छ; अनि घृणाभावले उसको स्वरूप टुक्रिँदै जान्छ ।

कस्तो अद्भुत अध्ययन, कतिसम्मको मनोवैज्ञानिक प्रभाव हुँदो रहेछ, निर्जीव वस्तुमा पनि । ‘प्रेमबिना संसार निरश र खल्लो हुन्छ’ यसै भनिएको होइन रहेछ । त्यो सुनेर म चकित परेको थिएँ । त्यसैले, मलाई लाग्यो– चलमात्र होइन अचल वस्तुमा पनि आत्मा हुन्छ । भावना र संवेदना हुँदो रहेछ । अचेल त अचल वस्तुमा प्रविधिले आत्मा भरेर उडनतस्तरी नै तुल्याइदिन्छ । प्रविधि र रकेट दुनियाँतिर नजाऊ; यो धर्तीका ढुङ्गा-माटो, पहाड-पर्वत, डाँडा-काँडा, हिमाली टाकुराहरू हेरौँ – यिनीहरू कति युगदेखि शिरमा निर्जीवताको पगरी गुथेर उभिइरहेका छन् । सजीव र चेतनशीलहरूबाट गरिने त्यो हेपाइको सुनुवाइ हुने कचहरी कहाँ होला ?

यो धर्ती त चलायमान छ । यसले सूर्यलाई फन्का मारिरहन्छ । दिन र रात हुन्छ । मौसमहरू सप्तरङ्गी इन्द्रेणीका झाँकीहरू लिएर उदाउने र अस्ताउन गर्छन्; यहाँ बहार छाइरहन्छ । रूख, बिरुवा पातले ‘फोटोस्यान्थेसिस’बाट खाना बनाएर खान्छन् । सास लिन्छन्, फेर्छन् । शिशिरमा चिसो हिउँ ओढेर ज्यान जोगाउँछन् । ग्रीष्म कालमा बोक्रा, पात र पत्कर फुकाएर उदाङ्गो बन्छन् । वसन्तमा कलिला मुजुर हालेर मुस्कुराउँछन् । यस्तो चलायमान धर्तीमा ढुङ्गा, माटो, डाँडा-पाँखा र हिमचुलीहरू कसरी निर्जीव भए ? सजीव र निर्जीव भनेर तोक्ने अनि फैसला गर्ने यो लोकको अड्डा-अदालत वा न्यायाधीश को होला ?

यता, ‘बि’ नम्बर खोपामा नेपाली सहित्याकाशको एउटा प्रबुद्ध समूह छ । म पिउसो पनि छुचुन्द्रो जस्तै चुँचुँ गर्दै विद्वानहरूका गफ सुनिरहेको छु । गुरुवाणीबाट किस्साका मट्याङ्ग्रा फुत्किरहेका छन् । यतिकैमा एउटा ठिटो रुद्रघन्टी हल्लाउँदै आयो, ‘आइसक्रिम आइसक्रिम ।’ ऊ आयो र बोल्यो, ‘सर आइसक्रिम लेंगे । मैले अस्वीकृत जनाएँ । म छेवैको ३६ नम्बर सिटको ठिटो यो मध्यान्हमा पनि घुरिरहेको छ । उसले आइसक्रिम भनेको के सुनोस् ।

उता, ४० नम्बरकी बचेराकी आमाले आइसक्रिम समाती । मैले उतिर दया पोखेँ, ‘आइसक्रिम खाइगें तो बच्चेको ठन्डी नै लगेगा ?’ उसले ३७ नम्बर सिटतिर चोर औंलो सोझ्याई, ‘उसके लिए ।’ लगत्तै बोली, ‘मयुर आइसक्रिम खाएगा ?’ उसको मयुर मोबाइलका पखेटा हालेर कार्टुनको वनतिर उडिरहेकै छ ।

पल्टने साथीहरूसँग गफको मेलो सम्याउन गएको उसको लोग्ने अहिले पल्लो फलैँचाबाट फर्किसकेको छ । मैले काखको बच्चातिर इङ्गित गर्दै सोधेँ, ‘कितना का हुआ ।’ युगल जोडीले एकै स्वर निकाल्यो, ‘३ महिने का ।’ बच्चो आमाको काखमा निदाइरहेछ । उसकी आमा च्यापुमा कुहिनाको चोके टेकाएर बाहिर हेरिरहेकी छ; बाबुका आँखा मोबाइल–उद्यम गर्दैछन् । मेरो सिटका अपरिचित पाथेभाइहरू पनि त्यही दुनियाँमा ‘सोन परी’झैँ उडिरहेछन् । कस्तो जिनिस भयो यो ? यसको सामीप्य र आलिङ्गनले भोक, तिर्खा र निद्रा नै हराउने !

अहिल्यै अन्तरिक्षमा मार हान्न जानुपर्ला जस्तो गरी ३३ नम्बर सिटको ‘लोर्के’ चर्को–चर्को स्वरमा त्यही मोबाइलमा गफ छाँटिरहेको छ । उता, मयुरका हातले एकछिन थकाई मारिरहेको देखियो । ऊ अघि आफ्नी आमाले जस्तै हत्केलामा च्यापु अड्याएर बाहिर हरियालीको रमिता हेरिरहेछ ।

हरियाली अनन्त क्षितिजजस्तै फैलिएको छ; आँखाले हेरी नसक्नुको खेतीयोग्य फाँट । सायद, विशाल भूगोल खैंचेर बसेको देशको फाइदा यही होला । जता हेरे पनि खाली भूमि । मौसम र हावापानीले साथ दिएसम्म जहाँ जे उमारे पनि भयो । जे फलाए पनि भयो । जो जहाँ बसे पनि भयो । यिनै फाँटबाट ओसारिएर पुग्ने होलान्, उता हाम्रा पाकघरमा पाक्ने काउली, बन्दा र दाल–चामल ।

उताका सुर्कासुर्की बन्जर बने । बेँसीहरू नदी खोलाका मित भए । आइतबारे, सोमबारे जस्ता बारैपिच्छे हाट-बजार लाग्ने भुइँभरि लेक, पहाडबाट बसाइँ आउनेहरू भरिँदै छन् । सङ्क्रान्ति वा फागु बजार, हटियाहरू आज शहर हुने दौडमा हस्याङफस्याङ गरिरहेका छन् । साँच्चै, अचेल त्यतातिर आङ तन्काएर खुकुलो हुने भुइँ छैन । ती सास फेर्न पनि ठसठसी कन्छन् ।

रेल कुदेकै छ, वायु-वेगमा । झ्यालबाहिर मझौला कदका घरहरूका बीच-बीचमा अति सुन्दर ताल-तलैया देखिन्थे । ती सँगसँगै स-स्याना थुम्के पहाडहरू देखिँदै र बिलाउँदै गए । गाडी नुकुछ-बिहार पुग्यो । माथि टिभीको स्क्रिनमा लेखिएको थियो- भारतीय रेल मे सभी यात्रियों का स्वागत है; ‘गति १०२ किमि प्रतिघन्टा’ लेखिएका अक्षरहरू फनफनी घुमिरहेछन् । त्यहाँ गुवाहाटी पुग्ने समय १९ः५० लेखियो । टिभीले फेरि फर्मायो, ‘कृपया चलती गाडी मे नचढे ।’

फेरि, घच्याक्क गर्दै यो भूयान धिमा भयो । बाहिरबाट घामका मधुरा किरण झ्यालबाट भित्र छिरेर भुइँमा अलक्क बसे । मेरा आँखा पल्लो पाखोमा हाम फाले । अहिले त्यो ४० नम्बर सिटकी बचेराकी आमा थिइन । ऊ शौंचगृहतिर गएकी हुन सक्छे । उसको लोग्ने र मयुर काखे बालकको देख-भाल गरिरहेछन् । बचेरो बाल-आवाजमा उसको बाबुसँग गफ लडाउँदै छ । ऊ घरीघरी आफ्ना बाललीलाको अङ्कुसे मतिर पनि फ्याँकिरहेको छ । साँच्चै, यस्तो लीला चित्ताकर्षक हुन्छ ।

यो रमाइलो हेर्दै मैले वसन्त सापकोटाको सिर्जनामा समीक्षा अधिकारीको कर्णप्रिय स्वर–लहरीको गीत गुनागुनाइरहेँ- फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर …

अनौठा र रमाइला लाग्ने भएरै होला, बालबालिकाका प्रायः बाललीला वा बिठ्याइँहरू सामान्य मानिन्छन् । बाल–चर्तिकलाको शृङ्खला पौराणिक कालमा भगवान् श्रीकृष्णका पालादेखि सुरु भएको हुनुपर्छ । गोकुलमा नन्दलाल–यशोदालाई सताएर हैरान पर्ने, दही चोर कृष्णलाई हरेकले स्वीकारेको यही भएर होला । अनि, बालबालिकाको गल्तीमा ‘बात लाग्दैन’ अरे !

त्यो ४० नम्बरको फौजी जुँगामा ताउ लाउँदै आफ्नो बच्चो कख्याइरहेछ । बच्चोको मुडुलो टाउको देखेर मैले अर्ति दिएँ, ‘ठण्डी लग जाएगा, माथे पर टोपी रख दीजिए ।’ ठाउँ न कु–ठाउँ जान्नी भएर मलाई यस्ता अर्तीका फुरौला पकाइरहनुपर्छ; त्यो अरूलाई रुचोस्, नरुचोस् । ऊ फौजी हो, मेरो कुरो कहाँ टेर्छ ! उल्टै आफू जानिटोपल्यो, ‘धूप आ रहा है ना ।’ मेरा फुरौला उसलाई नरुचेपछि म खिस्स भएँ र विपरिततिर मुन्टो फर्काएँ । बच्चो रुन थाल्यो, उसले केहीबेर काखे झोलुङ्गो हल्लायो ।

रोकिएको रेलगाडी गुड्न थाल्यो, गुडिरह्यो । झ्यालबाट फेरि देखिए, उही हरियाली दृश्य, विशाल खेतीयोग्य फाँटहरू, कतै धानखेत, अनि थुम्के पहाडहरू । कहीँ टाढा–टाढासम्म फाँटिलो जमिन बाँझै देखियो । बाँझो भूमिमा गाई–बाख्रा, भैंसी चरिरहेका देखिन्थे । मेरो दिमागले एउटा सिल्ली कथा हाल्यो– यी बाँझा फाँटहरू उता झापा, इटहरी वा सुनसरी धरानतिरै सार्न पाए, उब्जाउ भूमि बढ्थ्यो ! तर, हाम्रो पारा उही हो, फाँटमा खाली ठाउँ देख्यो कि चिराचिरा परिहाल्नुपर्छ, बाँडिहाल्नुपर्छ, कमाइहाल्नुपर्छ । घर–टहरा, छाप्रा र हबेली ठड्याइहाल्नुपर्छ । यसो बार बारेर जेठा-माइला वा साइँली-माइलीले थुतुनो मत्मत्याउने पसल थापिहाल्नुपर्छ । अनि, खेतीयोग्य भूमि कहाँ बाँकी रहन्छ ? तात्तातै खाएर जिब्रो डाम्ने प्रवृत्तिले पनि हामी उन्नतिको शिखर चढ्नै नसकेको हो कि !

समयको टिस्टामाथि टुटे कमिज लाएर घाम पश्चिमतिर जान बाँकटे हानिरहेछन् । यिनै घामका मधुरा पाइला पच्छ्याउँदै एउटा केटो कटुवाली फुक्दै आयो, ‘राउडी, खोवा, मलाइ खाइए जी । नरिवल-पानी, लस्सी पिजिए ।’ बिचरा उसको बोली बिकेन । ऊ मेरो साँध कटेर पल्लोपट्टि हाँकियो ।

अहिले दूधेबालकको दाजु मयुर आफ्नो भाइसँग खेलिरहेछ- डिङका चिका डिङका चिका …। दाजुको गीत सुनेर बच्चो रुन्चे हाँसो हाँसिरहेछ । कहाँ गई कुन्नि उसकी आमा अहिलेसम्म आएकी छैन । मसँगैको लाहुरे ठिटोले आँखा झिमिक्कै नगरी मोबाइलमा सर्कस हेरिरहेछ । म उसको सर्कसको साक्षी बन्न छोडेर गुड्दो रेलको झ्यालबाहिर डुल्दैछु । पारि-पारि क्षितिजभन्दा माथि सेता बादलका डफ्फा छन् । ती पनि रेलको गतिसँगै हिँडिरहेछन् । म त गुवाहाटी जान हिँडेको, ती बादलहरू कहाँ जान हिँडेका होलान् कुन्नि ! सायद, हिमालको निम्तोपत्र पाएर दौडिरहेका होलान् ।

अघिदेखि त्यो मयुरकी आमा कहाँ गई भनेको त, ३७ नम्बर सिटमा सुतेकी पो रैछ । बचेरो रुन थालेपछि ऊ ओर्लेर आई र मयुरलाई भनी, ‘जा सो जा ।’ ऊ मानेन । उसले भाइलाई झल्लर-सहितको कानेटोपी लाइदियो । मनमनै मेरा गिजा तन्किए, ‘बल्ल मेरो मनचिन्ते फुरौला उसलाई रुचेछ ।’

रेल कहाँ पुग्यो, त्यसको हेक्का मलाई हुने कुरै भएन । म त छेउछाउको र झ्यालबाहिरको रामरमितामा डुलिरहेको छु । बाहिर ठूला-ठूला बिजुलीका पोल देखिएका छन् । आकाशै उचालुँला जसरी ठडिएका धुरी खाँबाजस्ता पोलमा मोटा-मोटा तार तानिएका-सायद, यो ४०० किलोभोल्टको बिजुली ओसार्ने लाइन हो । एउटा बिजुलीको पोलसँगै टाँसिएको इँटाको भट्टीबाट हुतुतु कालो धूवाँको मुस्लो निस्केर वायुमण्डलतिर मारुनी नाचिरहेको देखियो । यसले प्राण–वायुलाई कतिसम्म धमिल्याएको होला ! ओजन तहलाई चाल्नोसरी प्वाल पारिरहेको होला ।

म बिजुली पत्रकार, स्वच्छ ऊर्जा, जलवायु परिवर्तन र यसले निम्त्याइरहेको ध्वंसका खबर लेखिरहेको हुन्छु– अहिले विश्वभर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, दूषित ऊर्जा घटाउँदै लैजाने अभियान चलेको छ । सन् २०१५ को पेरिस सम्झौता होस् वा २०२१ मा स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप-२६, हरेक देशले विश्व ध्वस्त हुँदै गएको चिन्ता र चासो बोकेर हिँडिरहेछन् ।

जापान, कोरिया, चीनजस्ता विकसित देशले सन् २०५० सम्म कार्बन उत्सर्जन ५० प्रतिशतसम्म झार्ने बाचा गरेका छन् । स्वच्छ ऊर्जामा रूपान्तरण हुँदै आर्थिक विकासमा फड्को मार्ने हरेकका सपना छन् । भारतमा सन् २००५ मा जति कार्बन उत्सर्जन कम भएको थियो, त्यसको तुलनामा २०३० सम्म ४५ प्रतिशतले घटाउने उसको अन्तर्राष्ट्रिय बाचा छ । सन् २०७० सम्म त उसले ‘शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउँछु’ भनेको छ । यता, नेपालले ‘२०४५ मै कार्बन उत्सर्जन शून्यमा झार्छु’ भनेर कबोलेको छ ।

कोप–२७ सन् २०२२, नोभेम्बरमा ‘हरित शहर’को नामले परिचित इजिप्टको शार्म–ईल शेख सहरमा सकियो । यो सम्मेलनमा समेत पक्ष देशहरूले पर्यावरणमा आएको विचलन र पातलिँदै गएको ओझन तह मर्मत गर्न मिलेरै काम गर्ने कसम खाए । बुढ्यौलीतिर ओरालो झरिरहेको आजको पुस्ता र गर्भमै प्रविधिको उत्पात देखेको उदाउँदो पुस्ताबीच ती कसमहरू काठे पुल बन्न सक्छन् कि सक्दैनन्; अहिले नै भन्न नसकिएला । म यिनै कुराहरूमा घोत्लिँदै लघुशङ्कालयतिर हिँडे ।

शौंचघरको चेस्किनी खोलेर भित्र छिर्ने बित्तिकै कम्बोटमाथिको भित्ताले ऐना देखायो । त्यो ऐनमाथि टाँसिएको हरियो स्टिकरमा लेखिएको थियो, ‘भारतीय रेलकी हरित क्रान्ति (बायोटाँयलेट) मे सहयोग प्रदान करें ।’ रेल-शौंचालयमा समेत यस्ता सन्देश लेखिनुले बुझ्न सकिन्छ, दूषित ऊर्जा प्रयोगबाट दुनियाँ विकलाङ्ग हुँदैछ । भारतले त्यसरी भुइँमान्छेलाई पनि सचेत गराइरहेको छ । साँच्चै, विश्व औद्योगिकीकरणबाट उत्सर्जित कालो धूवाँ पर्यावरणीय सन्तुलनका लागि खोरेत बनेर भेड्किएको छ ।

नीति र प्रविधिको पल्लो खोल्सीतिर एउटा अलग्गै वैश्विक चेतना फैलिएको छ; पर्या-साहित्यको । कवि, कलाकार, कथाकार, निबन्धकार, समालोचकहरू कलमका निपमा राँको झोसेर हिँडेका छन् । हिमालहरू पग्लिँदै गएको पीर छ । वन-पाखा नाङ्गिँदै गएको चिन्ता छ । खोला-नाला, नदीहरू सुक्दै धमिलिँदै विद्रूप हुँदै गएको, धूवाँका भट्टीहरूले आकाश भ्वाङ पारिरहेको, उडिरहेका चराहरू अनायासै भुइँमा पछारिएको हृदयविदारक अवस्थाले छोप्दै ल्याएको छ ।

यी अरुचिकर हरफहरू कोरिरहँदा ‘गुरु’ले कवि इन्दु प्रभा देवीको पर्या-कविता अव्यक्त बिजुली हुलाकबाट पठाउनुभयो । त्यो मखमली आवाजको धून कसको थियो ? म अनभिज्ञ रहेँ तर सुनेर म हतप्रभ भएँ । कविताका यी मार्मिक हरफहरू यहाँ नटाँसिरहन सकिन–

प्रदूषित धूवाँ र आवाज

तल झरेर मरेका चराहरू

पन्छाउँदै, बूढी आमा

आँगन बढार्दै हुनुहुन्छ, …

वैश्विक आँगनमा यो दूषित हुरी छेक्ने पहल उहिल्यै थालिएको हो । भारतीय उपमहाद्वीपमा यो भर्खर–भर्खर सलबलाएको छ । यता, निबन्धावली र समालोचनाको थुम्कोमा उभिएर गुरु चर्को–चर्को स्वरमा सिर्जनशील कलमहरूलाई बोलाइरहनुभएको छ । भनिरहनुभएको छ, ‘यो विनाशको लीला छेक्न हिँडिहाल्यौँ, कुदिहालौँ, ढिलो नगरौँ । जति ढिलो गरिन्छ, त्यति नै छिटो प्रलयको दर्के झरीले रुझाउनेछ । त्यसपछि, उर्लिने बाढीले हामी त बग्छौँ, बग्छौँ; हुर्किँदै गरेको हाम्रो कलिलो पुस्ता निमोठिनेछ । जन्मिन तरखरिएका शिशुहरू गर्भमै तुहिनेछन् ।’

‘ब्याक प्याक’ भिरेको फौजी शैलीमा यही राँको बोकेर, हुट्हुटिँदै गुरुसँगै ‘मार्च पास’ गरिरहेछन्; दाजु विजय हितान । गुरुनिवासको एउटा साहित्यिक विमर्शमा उनले मञ्जुश्रीलाई बोलाएर चोभारको गल्छेडो थुन्न अह्राए । विस्टागृहबाट उर्लेको भेलमा नुहाएर कञ्चन बागमती थुनियो । यो सुन्दर अलकापुरी कान्तिपुरी नगरी चुर्लुम्म भयो । कलिलो बिरुवाले दुई पात हालेजस्तै पुनः सुरु भयो, यो सुन्दर उपत्यकाको एउटा आदिम सभ्यताको लीला । यसले, एक्कैछिन त्यहाँ सबैलाई आतेस, आतङ्क र आफू लाश बन्दै गएको कल्पनाले थरहरी बनायो ।

0 0 0 0

अहिले म लघुशङ्काबाट फर्किसकेको छु; अर्नी खानी बेला भइसकेछ । एउटा ठिटो एकैखाले बाक्लो कागजका बन्द बट्टा बाँडिरहेको थियो । त्यो ३३ नम्बरको अल्लारे कानमा ठेडी ठोकेर अझैसम्म गफ छाँटिरहेकै छ । लाग्थ्यो; ऊ बोलीको गोलीबाटै उल्का झारिरहेको छ । गफको सुरमा उसले बट्टा समात्न बिर्सियो । अनि, बाटो काटेर पर पुगिसकेको बाँडकर्तालाई हकार्यो ।

पल्लो फाटकभित्र ‘गुरुबा’हरू अर्नीका बन्द बट्टा खोल्न धसिँदै हुनुहुन्थ्यो । आफ्नो सिटलाई रित्तै राखेर म पनि त्यतै मिसिन गएँ । त्यो गोलमेच भेलामा गुरुसहित माधवप्रसाद पोखरेल, मुक्ति उपाध्याय, बलराम प्रसाइँहरू हुनुहुन्थ्यो । एनजेपीबाट रेल चढेपछि मैले यतिबेलासम्म मुवाँलाई देखेको छैन । उहाँलाई अगाडि नदेख्दा घरीघरी खल्लो महसुस हुन्छ तर गफका स्वर्णफलामा भुलिरहेकै हुन्छु ।

हत्केलामाथिको डायरीमा मैले हल्कारालेझैँ भेलाका उपस्थितहरूको नाम टिप्दै गएँ; प्रायःका अगाडि प्रा.डा. जोडिरहेको हुन्छु । एक विद्वानले मेरो डायरी हेरिरहनु भएको रहेछ, उहाँको ‘प्रा.डा.’ छुटेछ । हत्तपत्त सम्झाउनुभयो, ‘म पनि प्रा.डा. हुँ ।’ मैले छिट्छिटो उहाँको नाम अगाडि त्यो लुर्कन जोडेँ । अनि, एकछिन आफैँभित्र चुपचाप सुस्ताएँ । अब वाङ्मय-धरातिर यस्तै ‘म प्रा.डा.’हरूले विद्वतशाला खोलेर साहित्यको हुर्मत लिने होलान् !

माधव गुरु अर्नी खाँदै जन-जीवनको पुराण बाचिरहनुभएको छ, ‘हेर यी फाँटहरू र धानखेत ! पहिले हाम्रोमा धान–चामल निर्यात कम्पनी थिए । अहिले स्वर्णयुग आएको छ, अब आयात गर्छौँ । अघि चेन्नईबाट फर्सी आउँथ्यो, अहिले अफ्रिकाबाट आउँछ रे ! आफूले मनोवाद गर्नु र गुरुवरबाट कथा सुन्नुको आनन्द अलग्गै हुनी । साँच्चै, पछिल्ला दिनहरूमा आयात व्यापारले धुरी टेकिसक्यो; जो हाम्रा लागि विडम्बना बनेको छ ।

रेलको टिभीमा फिरफिरे नाचिरहेका अक्षरमा देखियो- कोक्राझार जक्सन ।

अर्नीको मेलो सकिइसकेको हुन्छ । माधव गुरुले अनुसन्धानधाता जनकलाल शर्माका कथनको सापटी लिँदै एउटा राणाकालीन कथा हाल्नुभयो- राणाकालमा एक राणाले गुरुङ्सेनी बिहे गरेछ । बाहुन वा क्षेत्रीलाई बिहे गरेमा अंश पाइने तर गुरुङ गर्दा नपाइने । अनि, त्यो विवाहित गुरुङ्सेनीले म क्षेत्री–गुरुङ हुँ, अंश पाउँ भनेर मुद्दा हालिछ । त्यसमा प. सोमनाथ सिग्द्यालले गुरुङ-क्षेत्री बहस भनेर प्रस्ट्याएपछि अंश पाइछ ! त्यसैले, यो जनकलाल शर्माले पनि जनजाति भनेर किन दाबी नगर्ने भन्दै रमाइलो गर्नुहुन्थ्यो ।’

अहिले जनजाति र धनजातिको कुरो खुब उठेको छ । माधव बाजेले उल्लिखित प्रसङ्गमा यिनै कुरा इङ्गित गर्न खोज्नुभएको होला ! यहाँ को हो भूमिवादी ? को हो जमिनवादी ? यसको सप्रसङ्ग व्याख्या गर्न व्यक्तिवादी बुद्धि र विद्याको खाँचो छैन । यिनै दर्शनका बैशाखी टेकेर मुलुकले कोल्टे फेरेको छ । यसैको असर होला, हरेक चुच्चाहरू मूलधारबाट लघारिने र बुच्चाहरू भँडारिने उद्यमको विकास हुँदैछ । सौहार्द्धपूर्ण पर्यावरणीय बगैंचामा लालपाते, सयपत्री, मखमली, बुकी, सुनगाभा र गुलाब फुलाउनुपर्छ भन्ने चेत कहिले पस्ने ?

घामको ‘ड्युटी’ अघि नै सकिएको हो । उनले भोलि बिहानसम्मका लागि जूनलाई मेलो सुप्पेर हिँडिसके । अहिले, श्यामश्वेत वर्णको एउटा कथुरे ‘चाय–चाय’ भन्दैछ । त्यसलाई गुरुको प्रतिउत्तर थियो, ‘हमको ओ फ्रि–वाला चाहिए ।’ त्यहाँ हुतुतु हाँसोको फोहोरा छुट्यो ।

म गुरु–भेलाबाट अलग्गिएर निजी कक्षमा फर्किँदै थिएँ । छिमेकी खोपाको ठाँटीमा वयस्क–पाखाको पल्तिर पुगिसकेको एउटा अनुहार आँखा मिच्दै उठेको देखेँ । सायद, ऊ अघिदेखि घुरिरहेको थियो; जोसँग एनजेपी टेसनमा मेरो मुखामुख भएको हो । ‘मौका यही हो’ सोचेर एकछिन उसैसँग गफिने जोस चल्यो । ऊ तीन तलाबाट ओर्लिँदै थियो । मैले ठानेँ, ऊ पनि विद्वत-गङ्गामा मिसिएको एउटा सिर्जनाको धार हो । अतः मेरो सोधाई रह्यो, ‘तपाईं पनि कविता लेख्नुहुन्छ ?’

उसले कविता मात्र होइन, कथा, उपन्यास, निबन्ध जे पनि लेख्छ होला । म किन प्रश्नको सुइराले कवितामै घोच्न पुगेँ । मेरो प्रश्नले त्यो अनुहार पक्क पर्यो । दायाँबायाँ पल्याकपुलक गर्यो र मतिर फर्केर दुइटा शब्द खर्चियो; ‘अँ हो ।’ सायद, मेरो बोक्रे हुलियाले उसलाई अचम्मित पारेर त्यो जवाफ फर्काएको हुन सक्छ । मेरो शिरमा फिरिङ्गीहरूले लाउने जस्तो कालो ह्याट थियो; टिसर्टभन्दा बाहिर बैजनी कोट, कालो जिन्स पाइन्ट, खुट्टामा अघि एनजेपीमा किनेको सुन्तले रङको चप्पल । शरीरमा हल्लिएका यी गाजेमाजे लुगाले उसलाई लागेको हुन सक्छ, ‘यो लन्ठूले के सोधेको होला ?’ मैले प्रश्नहरूको कनकर्नोले उसलाई कोट्याउँदै गएँ, ऊ आफूलाई निकाल्दै गयो । मलाई ठेट्नै ठाने पनि मभन्दा कान्छो वयको त्यो अनुहार कवि मोहराज शर्मा थियो ।

यहाँनिर, मोहराज र मेरो पेशागत गोत्र एउटै परेछ, पत्रकारिता । उनी एपी- १ टेलिभिजनमा कार्यरत रहेछन्; क्यामरा र बुम बोकेर साहित्यको खबर काठमाडौँ ओसार्न गौहाटी विश्वविद्यालय जाँदै । म पनि लीलबहादुर क्षेत्रीको दैलो टेक्ने उत्कट चाहनाको हुण्डरीले उतै हुर्याइएको, सिर्जनाको तिर्खालु एक सुसुपाल । छिनभरमै हामीबीच रुमानी मित्रता गाँसियो; हामी फलैंचे सिटमा खुट्टा हल्लाउँदै गफिँदै गुडिरह्यौं । माथि टिभीको पर्दामा कुदिरहेको देखियो, ‘अगला स्टेसन न्यून वंगाईगाव ।’ त्यसमा अर्को वाक्य पनि लिपियो, ‘शायनकालीन चाय नास्ता शीघ्र ही प्रदान किया जाएगा ।’

मैले झ्यालबाट देखेँ, खुर्पे चन्द्रमा थुम्के पहाडबाट उक्लेर माथि आइसकेछन् । कलिलो साँझमा ती पहाडहरू पल्टनमा भर्ती जानका लागि छाती नाप्न उभिएका ठिटाहरू जस्तै देखिन्थे । पहाडको नजिकै उज्यालोमा देखिएको एउटा फ्याक्ट्रीले अग्लो न अग्लो थुतुनोबाट कालो धूवाँ उघ्राइरहेको थियो; जसले स्वच्छ हावालाई धमिल्याउन आफ्नो तुजुक देखाइरहेको लाग्थ्यो ।

मेरो फलैंचे आसनमाथिको काँचको पर्दामा दगुर्ने अक्षर फेरिए, ‘अगला स्टेसन गुवाहाटी ।’ अब, त्यहाँ ‘किन गुवाहाटी भनियो’ भन्ने लघु–विमर्श चल्यो । यज्ञेश्वर निरौलाको भनाइ थियो, ‘गौ भनेको गाई र हाटीको अर्थ बजार । उहिल्यै गाई–गोरुको हाट लाग्ने ठाउँ भएरै त्यो नाम रहन गयो । गौहाटी हुँदै समयान्तरमा गुवाहाटी हुन गयो ।’ अर्को अर्थ पनि खुल्यो– असमी भाषामा सुपारीलाई ‘गुवा’ भनिँदो रहेछ । अतः धेरै सुपारी फल्ने ठाउँ भएकोले ‘गुवाहाटी’ हुन गएको पनि जान्न पाइयो ।

त्यति जानिसक्दा गुवाहाटी स्टेसन पुगिसकिएछ । त्यहीँ ओर्लिनेहरू आफ्ना मालताल घिसार्दै कमिलाको ताँतीसरी ढोकातिर सर्दै गए । म पनि ढुङ्गो जस्तो सुटकेसको ढिक्को तान्न थालेँ । अनि, फलैंचामा ढल्केर पाहुर काढिरहेका डिमापुरसम्म पुग्नेहरूको अनुहार हेर्दै रेलबाट बाहिरिएँ । ओ हो, बाहिर त अनौठो रमाइलो जमिसकेको थियो; हाम्रा टोली नेता गुरु र मुवाँलाई ढोग्ने, सम्मान गर्ने तथा माला पहिर्याउनेको ताँती । बिस्तारै सेतोमा रातो धर्कायुक्त खादा सबैका गलामा चढिसकेका ।

म कसैलाई चिन्दिनथेँ, कसैको नाम थाहा थिएन । यद्यपि, केही भद्र पुरुष र महिलाका अनुहार चिनेचिने, भेटेभेटे जस्तो लाग्यो । सायद, यो जातीय परिचयको गन्ध मात्र थियो । म अघिदेखि हेरिरहेको छु, ‘केटी’को घेरो पार गरेर पल्लो चौतारीमा पुगिसकेकी फुर्तिली महिलालाई । उनको हिउँ रङको अनुहार, छोटो एक चुल्ठी बाटेको कालो कपाल, सेतोमा रातो धर्का तानेको कुर्ता-सुरुवाला र खुट्टामा सेतो स्पोर्टस् जुत्ता- निक्कै सुहाएको । तिनले गुरु नजिकै आएर शिर झुकाइन्, म ट्वाँ परिरहेँ ।

यताको टोली र स्वागतार्थ त्यहाँ उपस्थित गुवाहाटीवासी नेपालीहरू सबै एक–अर्कामा परिचित । कोही पुरानो सम्झना फर्काउँदै थिए । कोही जाले रुमाल साटेर छुटिएका र पुनः भेटिएका प्रेमिल जोडीजस्तै अघिल्लो भेटको एकुन्द्रो भेट्दै; गाँठो परेका सम्झनाहरू फुक्दै जाँदा कम्ती हर्ष लाग्दो रहेनछ । म त नौलो गाउँको नौलो अनुहार, कसैसँग झ्याम्मिने छुट थिएन । पहिलो चोटि गुवाहाटीको दैलो टेकेको मेरो मनले जताततै नवीनताको अनुभूति गरिरह्यो । रोदीघरमा तरुनीले आफ्नो तन्नेरीलाई मायालु प्रश्न तेर्स्याएझैँ मलाई रेल–स्टेसनको जाज्वल्यमान उज्यालोले सोधिरहेको भान भयो–

नौलो दाजु घर काँ हो कुनी त

आजको रात यैँ बसे हुनी त, …