मेरा लागि एउटा उत्सव बनेर आएको दिन २०७६ साल बैशाख ६ गते– बाहिर मध्यान्हका घाम झलमल्ल थिए; भित्र साहित्यको महफिल । गैरीधारास्थित एलिस रेस्टुरेन्टको हलमा मान्छे भरिभराउ थिए । डिस होमद्वारा प्रायोजित बाह्रखरी बुक्सले आयोजना गरेको अधिराज्यव्यापी कथा प्रतियोगिता प्रथम संस्करणको पुरस्कार वितरणको कार्यक्रम थियो, त्यो । मैले साहित्यको कार्यक्रममा यति धेरै मान्छेका टाउका सायदै देखेको थिएँ । हुन त, बेचल्तीको बाटो हिँड्ने बटुवाले साहित्यको राजमार्ग कहिल्यै देखेको भए पो !

मान्छेहरूका चेप्टा, थेप्चा, गोला, लाम्चा कतै मिलेका, कतै नमिलेका अनुहार देखेर म आत्तिएको थिएँ । किनकि, तिनै मान्छेहरूको भीडमा म पिउसो एउटा प्रतियोगी ‘कथाकार’ बनेर उभिएको थिएँ– कतै म थेटरको ढँटुवारे पो भएको थिएँ कि ! प्रेक्षालयमा प्रतियोगिताका न्यायाधीशहरू हुनुहुन्थ्यो– प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’, वरिष्ठ उपन्यासकार नयनराज पाण्डे, कथाकार द्वय राजेन्द्र पराजुली र अर्चना थापा । निष्ठाको पत्रकारिताको गोरेटोतिर सिम्किनो ताकिरहने अग्रज पत्रकार प्रतीक प्रधान मलाई हेरेर मुसुमुसु हाँसिरहनु भएको थियो । उहाँले मतिर फ्याँकेको ‘कथा लेखिँदो रहेछ त’ भन्ने वाक्यले म प्रतिउत्तर फर्काउन नसकी किंकर्तव्यविमूढ भएको थिएँ । हाँसको बथानमा चुँचुँ चाचा गर्ने टिउरे देखेर बूढाले ब्यग्ङ्य छेडेका हुन् कि भन्ने भावले म लज्जावती झारझैँ सर्लक्कै खुम्चिएँ ।

मैले कहिल्यै साहित्य बुझेको भए पो, न यत्रा यमान–यमानका लेखकहरूको सम्मुख उभ्भिने सुयोग मिलेको थियो । कहिलेकसो साहित्यको सप्तरङ्गी बगैंचामा छिरेर रङ्गीविरङ्गी फूलहरूको सुगन्ध लिँदै दृश्य पान गरेर मोहित हुनुबाहेक ममा अरू गर्ने हुतीको ब्याड बस्दै बसेन भने पनि हुन्छ ।

त्यो दिनको साहित्य–सभाको अग्रभागमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनाल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायतको उपस्थिति थियो । अचम्म र उदेक भयो; मेरा लागि साहित्यको महासभा बनेको त्यो मञ्चमा म आफैँ पुरस्कृत भएँ । मेरो ‘टाउको’ कथा दोस्रो भयो; पहिलो र तेस्रो पुरस्कारका विजेता क्रमशः विना थिङ र सुमित्रा न्यौपाने भए ।

उत्कृष्ट २५ कथाको सूचीभित्र पर्न सफल प्रतियोगीहरू भट्ट्याइरहेका राजेश खनाल दाइ तेस्रो हुनेको नाम लिएपछि प्रथम सिँढीतिर उक्लिए । म टवाँ ! प्रथम विजेता थिङले पुरस्कार ग्रहण गरेपछि मात्र खनाल दाइ दोस्रोतिर झरे । म पुरस्कार थाप्न महासभाको मञ्चमा उक्लिएँ । त्यो दिनजति मलाई सर्म र सङ्कोचको महसुस कहिल्यै भएजस्तो लागेन । यहाँ, तेस्रोपछि क्रमशः दोस्रो र पहिलोको नाम आउनुपर्ने होइन र ? आफूले जानेदेखि मैले पुरस्कार वितरणको थिति–विधि यस्तै देख्दै आएको हुँ । ‘बाह्रखरी’को त्यसयताका प्रतियोगिता संस्करणमा भने मैले कहिल्यै पहिलोमा जस्तो उत्तरआधुनिक विधिको बिँड समातेको देखिनँ । त्यतिबेला किन, म दोस्रो हुने अनुहार अन्तिममा किन बोलाइएँ ? यो प्रश्न मेरो निजी हो, जीवनभरि मेरै मात्र रहिरहनेछ ।

शिव प्रकाश, अभय श्रेष्ठ, डा. राजुबाबु श्रेष्ठ, मणि लोहनी, अनुपम रोशी, हरिमाया भेटुवाल, केशव सिग्देल, निरज दाहाल जस्ता दर्जनौं घगडान लेखकहरू प्रतियोगितामा उभिएको मैदानमा म टिउरे दोस्रो हुँदा मलाई अक्षरिक्षबाट झरेको उल्का हात परेजस्तै भयो । तर, जे थियो, सत्य थियो; त्यही भइरहेको थियो । म हर्ष र सङ्कोचले भिजेर निथ्रुक्क भएको थिएँ; मैले परराष्ट्र मन्त्री ज्ञवालीबाट पुरस्कार ग्रहण गरेँ । मञ्चबाट ओर्लिएपछि ‘सम्भव’ सरले सोध्नुभयो, ‘भाइ कस्तो लेखेको, आफ्नै भोगाइ हो ?’ खिसिक्क गिँजा तन्काएँ; मसँग बोल्नु केही थिएन ।

अब योभन्दा बढी बेसुरमा आफ्नै गीत नगाऊँ । यहाँ मैले उक्काउन खोजेको सन्दर्भ अलि भिन्न छ; माथिको प्रसङ्ग केवल ‘लुब्रिकेन्ट’को रूपमा उपयोग गरेको हुँ । बैशाख ६ गतेको औपचारिक कार्यक्रम सकियो । म सभाहलबाट बाहिरिँदै गर्दा एउटा सुकिलो हँसिलो अनुहारले मतिर हात बढाउँदै भन्यो– बधाई छ, म अश्विनी कोइराला । यो नाम सुन्नासाथ मेरो दिमागमा परिचित चित्र उत्रियो । जसलाई मैले कान्तिपुर दैनिकमा धेरै पढेको हुँ; त्योभन्दा बढी कान्तिपुरको साप्ताहिक परिशिष्टमा उनको नामसँग धेरै नै घनिष्टता भएको हो तर आजसम्म यसरी मुखामुख उभिएर भेट्ने जोग परेको थिएन ।

अश्विनी कोइराला मेरा लागि नौलो र अपरिचित हुँदै होइनन्; उनी साहित्यको पाखाबारीमा हलक्क बढिसकेका, आख्यान र गैरआख्यानका दश गाउँ चहारिसकेका । ‘जुगरबर्ग क्याफे’भित्र बसेर ‘प्रेमालय’का डाँडापाखा डुलिसकेका; नाम सुन्दा षोडशीको जस्तो, अनुहारमा झिल्के ठिटोको रङ–रोगन । यता, म भख्खर कतै सेपिलो कुनामा गिँजा देखाउँदै गरेको झुस । यिनी र मेराबीच कुनै तुलनीय वस्तु हुन सक्ला भन्ने लाग्दैन ।

त्यो दिन अश्विनीजीसँग म उनको गोजी फोनको नम्बर मागेर छुट्टिएँ । त्यसपछिका धेरै दिन मैले उनको व्यस्तता बिथोल्ने आँट गरिनँ । म आफ्नै नुन–भुटुन जोर्न सधैँ हस्याङफस्याङ गरिरहनुपर्ने मान्छे; सायद, अरूतिर सोच्ने समय उबार्न पनि सकिनँ । कर्मको लोहोरोले श्रमको सिलौटो घोटिरहनुपर्यो । एक दिन उनले ‘जुगरबर्ग’को भित्तामा साहित्य सम्बन्धी अनलाइन पत्रिका सञ्चालनको तयारी भइरहेको सन्देश लेखे । पत्रिकाको नाम ‘साहित्यपोस्ट’ थियो । यो पढेर मलाई अत्यन्त हर्ष लाग्यो । उनीसँग बात मार्ने उखुम जोश बढेर आयो । जन्मिँदै गरेको त्यो पत्रिकासँग मेरो साइनो–सम्बन्ध थिएन तर किन म गद्गद् भइरहेको थिएँ ?

नेपाली साहित्यका आधुनिक पुर्खा अर्थात् भानुभक्त बाजेले बिउ रोपेर हुर्काएको २०० वर्षभन्दा बढी भइसक्यो । अझै पनि साहित्यलाई पेशाको रूपमा अँगाल्ने व्यक्ति औंलामै गन्न सकिएला । पछिल्लो सय वर्षको इतिहास सरसर्ती बुझ्दा पनि थाहा हुन्छ; लेखक–साहित्यकार लेखेर बाँच्ने जग बन्न सकेन । मृत्युशैय्यामा पुग्दासम्म आर्थिक अभावको सन्तापले पच्छ्याइएका महाकवि देवकोटा हुन् वा भाग्य अजमाउन काठमाडौँ उक्ले पनि ‘कुबेर’द्वारा गलहत्याइएर जीवनका अन्तिम घडीमा असम फर्केका हरिभक्त कटुवालले जीवनको गाडा गुडाउन धौधौ परेको पढियो ।

हिजोका नामी र स्थापित लेखक प्रायःले पाकशालाको कारखाना चलाउन वैकल्पिक उद्यम गरेको/रचेको पाइन्छ । २१ औं शताब्दीका घाम मधुरा हुँदै डाँडामा पुग्दासम्म साहित्यकारले लेखेर मीठो–मसिनो खान र सुकिलो लाउन १० पटक सोच्नैपर्छ । बरु नलेख्नेहरू लेखिएका छन्, तीन तलेमा बसेर चमेली तेल घसेका छन् । अर्थतन्त्र उभ्याएर त्यहाँभन्दा पनि माथि उक्लिन उलिन्काठ हालिरहेका छन् । यता, सिर्जनाको हलगोरु नारेर काव्य, आख्यान र गैरआख्यानको खेतबारी जोतेर उर्बर पार्ने कलमजीवि तिर्खाएर खारिँदा, एक घुट्को पानी समेत नपाएर किक्लिक–किक्लिक गरेको भेटिन्छ । यस्तो परिवेशमा अश्विनी कोइरालाले साहित्यिक पत्रिका छापेर डिजिटल चौतारमा निस्किनु र रागात्मक कटुवाली गाउनु साँच्चै आश्चार्य मान्नुपर्छ ।

एउटा शिक्षक वा प्राध्यापक अध्यापन गराएर बँच्न सक्छ; कुनै सेना, प्रहरी वा निजामति कर्मचारी तोकिएको पेशा अपनाएर जीवनको खुड्किलो सजिलै उक्लिन सक्छ । गायक–कलाकार, फिल्मजीवी वा पत्रकार येनकेन प्रकारेण धकेलिएला । व्यापार–व्यवसायको उद्यमी फोक्सोभरि सजिलै अक्सिजन हुलेर कार्बनडाइअक्साइड ओकल्न सक्छ तर एउटा लेखक ‘लेखेर बाँच्छु’ भन्दा समाज र राज्यले किन चौखुर्याएर पाता फर्काउँछ ? सायद, अश्विनीजी साहित्यपोस्टको हकर बनेकाे यही प्रश्नको उत्तर खोज्नकै लागि हुनुपर्छ । मैले यिनै कुरा सोची–विचारी उनको प्रयासको उडानमा फुको हौसलाको ट्वाक टक्र्याएँ । उनले सहजै स्वीकारे ।

मैले साहित्यपोस्टको यात्रामा भावनाका फूलहरू ओच्छ्याएँ । केही फूलहरू अश्विनीजीको प्रशंसाका लागि खर्चिएँ । मलाई लाग्यो, यत्ति भएपछि उनको र मेरो सम्बन्ध जम्यो । यसपछि, अनेक पटक बिजुली बात मारियो । अन्तरङ्ग साटियो । गाउँको कुरा भयो, ठाउँको बयान गरियो । पानी धाराका, बैंशालु पाराका अनि मकै र खट्टेका दोहोरी गाइयो । यति भइसक्दा समेत ‘अश्विनी सर भेटौं’ न भन्दा मसँग भौतिकरूपमा भेटिन उनले कनकन गरे, गरिरहे । उनले किन यसो गरे ? मैले बुझिनँ । बुझ्ने प्रयासमा दिमागका नसा पनि तन्काइनँ ।

म पनि आफ्नै बेढङ्गे ढेडु न परेँ । साहित्यपोस्टको मकैबारीभित्र पसेर दुधिला मकै कोपर्न कतिबेला हाम फालौँ भइरहेको थियो । यसबीचमा साहित्यपोस्टका पानामा केही थान गजल र ‘मुर्दाको व्यापार’ शीर्षकको कविता छापिए । आफू छापिएर फुर्किनु नै मेरा लागि साउनका दुधिला मकैको स्वाद थियो । अझै पनि अश्विनीजी मसँग भेट्न सहर्ष राजी भएनन् । एक मनले सोचेँ– यिनले आफूलाई पौराणिककालका सूर्यपुत्र अश्विनीकुमार नै ठान्छन् कि क्या हो ! महाभारत तथा ऋग्वेदमा जुम्ल्याहा भाइ अश्विनीकुमारलाई देवताहरूका कुशल बैद्य तथा शल्यचिकित्सकको रूपमा समेत चित्रित गरिएको छ । यता, यी कोइराला अश्विनीले मेरो मगजको चिरफार गर्न तम्सेका हुन् कि भन्ने सोच्दै मनमा झोकको तरङ्ग नउठेको होइन ।

म पनि ज्याद्रो, आफूले सम्मान गरेको व्यक्तिले ‘आफैँलाई घृणा गर्छ’ भन्ने शङ्काले लङ्का नजलाउँदासम्म उसको गुदर–ग्यास पनि सुघ्न पछि नपर्ने ! उता, साहित्यपोस्टप्रति मेरो श्रद्धा बढिरहेको थियो । यसै क्रममा मैले ‘ऊ’ शीर्षकको कथा प्रकाशनार्थ पठाएँ । जब कथाले अश्विनीजीलाई तानेछ तब उनी आफैँले मलाई बिजुली गफको टाकुरामा निम्त्याए । हाम्रो आवाज विद्युतीय तरङ्गसँगै बत्तिएर ओहोरदोहोर गर्यो; निकैसम्म हामी गफियौं । चुम्बकका समान ध्रुवहरू विकर्षण भएजस्तै मबाट उल्टो दिशातिर फर्किन खोजेका अश्विनीजी त्यही कथाका कारण एक्कासी असमान ध्रुव टाँसिएझैँ नजिकिए ।

‘ऊ’ नै हाम्रो सम्बन्धको पहिलो बलियो सेतु बन्यो ।

म त को नै थिएँ र ! हदै भए साहित्यको शिशु कक्षा पढ्न रहर गरिरहेको एउटा बाल–तन्नेरी । अश्विनीजी साहित्यको डालीमा बसेर गाइरहने कोकले वा लामपुच्छ्रे चरो । मैले उनलाई दिनु केही थिएन, मात्र लिनु थियो । साहित्य–चेत पस्दै गएको हुँदा उनको निजी वनमा पसेर उनकै स्वरको नक्कल गर्न रहर थियो । जसमा उनको सुझाव, सल्लाह र मार्गनिर्देशको खाँचो थियो । तैपनि, उनले मेरो लेखनको परख गर्दै धुरीमा चढाए । मलाई भने यिनले कतिबेला पाहा पछारेझैँ पछार्छन् भन्ने भइरह्यो ।

अब हामी बेला–बेला भेटिने र कफी गफी हुने सिलसिला बन्यो । भेट्दैपिच्छे मैले अश्विनीजीलाई भन्ने गर्थेँ, ‘मलाई पनि साहित्यपोस्टको शुभचिन्तक ठान्नु होला । सके सहयोग गरुँला, नसके एउटा असल पाठक त पाउनुहुन्छ नि !’ उनले मुसुक्क हाँसेर मलाई फुर्के डालीमा चढाउन बेरै लाउँदैनथे, ‘तपाईं जस्ता व्यक्ति जोडिनु त हाम्रो लागि ठूलो अवसर हो ।’ मलाई भने यिनले ‘बिनामेसै फुक्र्याइरहेछन्’ भन्ने लागिरहन्थ्यो । यो काल–दुनियाँमा यस्तै त चलिरहेको छ; पहिला हौस्याएर रूख चढाउने, टुप्पामा पुग्न धकेलिरहने अनि फेद काट्ने ! अरू जे–जे गरे पनि अश्विनीजीले मेरो हकमा ‘योसम्मको हर्कत कहिल्यै गर्छन्’ भन्नेमा सयमा सवासयप्रति पनि विश्वास लाग्दैन ।

बाँचेपछि मात्र नाच्न सकिने दुनियाँमा साहित्यपोस्टका लागि केही अर्थ–जोहो गर्न सकिन्छ कि भनी मैले पनि दायाँबायाँ चिहाउन थालेँ । उनको कन्तुरमा अना–सुकी छिराउन सके उनले पनि मलाई जाती नै मान्थे होलान्; तब मलाई साहित्यपोस्टको विद्धतशालाभित्र छिरेर पढ्ने, लेख्ने र रमाउने ‘भिषा’ मिल्थ्यो होला । यही सोचेर आफ्नो गैरीखेत जोत्ने मेलो केही बेर रोकेर, हल गोरु फुकाएर म साहित्यपोस्टको मेलो सार्न जान्नी टोपलिएँ तर मेरो हाँपझाँपले खासै उताको मेलो सरेन । कता–कताबाट टिपेर केही अर्थ–कण उनको मदुसमा टक्टक्याउन सघाएँ र लामो सास फेरेको स्वाङ पारेँ । मेरो यो ‘स्वाङे श्रम’लाई अश्विनीजीले ठूलै तराजुमा जोखे र उही फुर्के डालीमा चढाएर पिङ खेलाए ।

अति भयो, यिनले मलाई पिङमा राखेर मच्चाइरहने म कहिलेसम्म मच्चिरहने ? साहित्यपोस्टका लागि चुन–दाम जुटाउने ह्याउ नहुने तर फुर्के माला गलामा भिर्न रहर गरिरहनु ! यो त हुँदै भएन भन्ने लाग्यो । अनि म आफ्नै बाझोबारी जोत्नतिर फर्किएँ तर सकिएन; गीतको रसमा लाएको पिरतीको जस मिसाउन प्रेमचरो लोभिएजस्तै मलाई साहित्यपोस्टको मोहनी छुट्दै छुटेन । न अश्विनीजीसँगको भेटर्वार्तामा फुर्किनुको अध्याय तुरियो । भेटिने, छुटिने लयका ताल फेरिए, खाल फेरिए । पाटी–पौवा, चौतारा र दौंतारा साटिए तर हामी निरन्तर पल्लो र वल्लो किनारबाट एक–अर्कालाई हेर्दै एउटै कुलेसोमा कुलुकुलु बगिरह्यौं ।

ममा लेखन चेतको अलिअलि बीउ जम्न थालेदेखि नै ‘एउटा लेखक लेखेर बाँच्न किन सक्दैन’ भन्ने प्रश्नले कोपरिरहन्थ्यो । हुन त, राज्यले नै सेपिला गरातिर सारेका साहित्य, कला, भाषाका विरुवाहरू त्यति सजिलै हुर्किन पाउने आधार त कहाँ थियो र ? सेपिला गरामै सही, त्यहाँ भाषा–साहित्य–वाङ्मयको खेत रोपिरहने सर्जक आफैंले त्यसको फल खान पाउनुपर्छ । म यसैमा घोत्लिइरहेको हुन्थेँ र अश्विनीजीसँग पनि यिनै प्रसंगमा कुरा भइरहन्थ्यो ।

म बैंसको डालीमा फूल खेल्ने बेला रहरका फोका बोकेर काठमाडौं उक्लेको थिएँ । २०५६–५७ सालतिरै हो, एक पटक ऐतिहासिक उपन्यासकार डायमनशमशेर राणाको ललितपुर कानदेउता नजिकैको निवास पुगेको थिएँ । उहाँले भन्नुभएको थियो, ‘जबसम्म राज्यले कला–साहित्यमा लगानी गर्दैन तबसम्म देश समृद्ध बन्न सक्दैन ।’ त्यतिबेलादेखि यो अकाट्य वाक्य मेरो मनमा गडेर बसिरह्यो । अश्विनीजी र म पनि यिनै कुरामा गफिन्थ्यौं । अनि, योजनाका हाँगामा बसेर बासिरहन्थ्यौँ ।

लेखक, कथाकार, निबन्धकार, उपन्यासकार हुनु भनेको बाँकटे झोला भिरेर लुखुर–लुखुर सडक विभागतिर हल्लिनु मात्रै हो ? उद्योगपति, व्यापारी, बैंकर, एनजिओ, आइएनजिओकार, विकासे अड्डामा ओथारो बस्ने बिचौलियाकारको अंशमा मात्र परेको छ; गाडी चढ्नु, सुकिलो लाउनु र मसिनु खानु ? कवि भन्ने वित्तिकै जुम्सो कायमा लखतरान हुँदासम्म जीवनको गतिशीलता नापिरहेको चित्र किन उत्रिन्छ, राज्यका आँखामा ?

एउटा कवि, कथाकार, उपन्यासकार, निबन्धकार सुकिलो लाएर हिँडेको, खाएको र आर्थिक खुड्किलो उक्लिएको रूपान्तरणकारी सोच राखौं त, समृद्धिको पहिलो यात्रा त्यहीबाट सुरु हुन्छ । सरकारले विनियोजन गर्ने वार्षिक बजेटको सबैभन्दा ठूलो अंश शिक्षामै हुन्छ तर खोई कला, साहित्यको भाग ? के भाषा, सहित्य वा वाङ्मय शिक्षाभन्दा बाहेक हुन् ? हामीले माग्न नजानेर, भन्न लजाएर र बोल्न धकाएर पो यो पाटो सेपको खेती भएको हो कि !

साहित्य शिक्षाको धुरीखाँबो हो तर राज्यले यसलाई किन अँध्यारो कुनातिर मिल्काउँछ ? शिक्षा मन्त्रालय अन्तर्गत रहनुपर्ने प्रज्ञा प्रतिष्ठानहरू र कला–साहित्य जगत किन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखियो ? शिक्षाबाट कला–साहित्य र वाङ्मयलाई झिकिदिउँ त के हुन्छ ? यति संवेदनशील विषयमा सरकार तथा राज्यका निकायको ध्यान कहिले जाने ? डायमनशमशेर बाले भने जस्तै राज्यले साहित्यलाई प्राथमिकतामा राख्ने दिन कहिले आउँछ ?

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संस्कृति मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ तर कतै साहित्यको ‘स’ उच्चारित छैन । यस्तो मन्त्रालय अन्तर्गत साहित्य विधा राखेर के काम ? उता, शिक्षा मन्त्रालयको भागमा १ खर्ब ९७ अर्ब २९ करोड रुपैयाँको बजेट छ । यहाँ पनि साहित्य–कलाको नामै उल्लेख छैन । बजेट भाषणको बुँदा २१२ मा भनिएको छ– सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गरिनेछ । यो सँगसँगै ‘कला–साहित्यको प्रवर्द्धन गर्न सबै स्थानीय तहदेखि नै यसको अध्ययन अध्यापन सुरु गरिनेछ’ भनेको भए के बिग्रिन्थ्यो ?

अब प्रज्ञाहरू जस्ता सरकारी साहित्यिक संस्थालाई संस्कृति होइन, शिक्षा मन्त्रालय मातहत ल्याइनुपर्छ । यसमा निरन्तर बोल्नु, लेख्नु र घच्घच्याउँदै जानुपर्छ । तब न सरकारको ध्यान जाला । ‘यसैमा बहस र पैरवी गरौं’ भनेर अश्विनीजीसँग कुरा भइरह्यो । यही मेसोमा जोडिन पुगे, युवा–साहित्यकार भाइ कृष्ण ढुङ्गेल । उनले समेत मलाई साहित्यपोस्टतिर तानिरहे । मलाई ‘वैगुनीलाई बसी सुख न उठी सुख’ भने जस्तै भयो । मनमा अनेक कुरा खेलिरहे; साहित्य र टालटुले दैनिकी कसरी सँगै हिँडाउँ ? घरको चुलो निभाएर साहित्य भन्दै ‘पट्टु’ रटाईतिर बेहोसिएर पनि भएन । एक दिन कार्यशालाबाट निवासतिर गुडिरहँदा दिमागमा दुइटा शब्द फुरे; ‘अर्थ–साहित्य’ ।

यी दुई शब्दबारे निकै सोचेँ; मैले झण्डै डेढ दशकभन्दा बढी कालदेखि आर्थिक पत्रकारिता गर्दै आएको छु । अर्थतन्त्रमा पनि ‘ऊर्जा’ मेरो लेखन–विधाभित्र पर्छ । अर्थ र साहित्यलाई मिसाएर ‘ठिमाह’ सिर्जना गर्न जानेँ भने मेरो लेखन तिखारिएला र साहित्यिक चेत पनि थपिँदै जाला भन्ने लाग्यो । यसैका आधारमा साहित्यपोस्टले आफ्नो व्यावसायिक गणितमा नयाँ सुत्र पत्ता लगाउन सक्यो भने लाभै होला । यसबाट मेरो बिग्रिने के होला र !

अचेल सरकारभन्दा कर्पोरेट कम्पनीहरूले साहित्यलाई आफ्नो व्यवसायको सानो अङ्गको रूपमा स्वीकार्न थालेका छन् । जस्तैः डिस होम र आइएमईले ‘बाह्रखरी कथा प्रतियोगिता’ संस्करणलाई प्रायोजन गर्छन् । उता, एनसेलद्वारा प्रायोजित फाइन प्रिन्टको ‘लिटरेचर फेस्टिभल’ सञ्चालित छ । जे जसरी भए पनि तिनले कला–साहित्यको क्षितिजलाई फैलाएका छन् । खोज्दै जाने हो भने यसरी नै अरू संस्थाहरू पनि साहित्यसँग जोडिन इच्छुक हुन सक्छन् ।

एक दिन मैले यिनै मनका गनथन अश्विनीजीलाई सुनाएँ; साहित्यपोस्टमा ‘अर्थ–साहित्य’ विधा थपौं । उनी उत्साहित सुनिए । यसको केही दिनपछि कृष्ण र म बबरमहलको ‘क्याफे कोड’मा कफीसँगै एकाध घन्टा गफियौं । आखिर साहित्यको रङ बैंक होस् वा कर्पोरेट क्षेत्र, ऊर्जा होस् वा पूर्वाधार, पानी होस् वा बिजुली कहीँ न कहीँ घोलिएकै हुन्छ । त्यो कतिसम्म फिक्का र गाढा हुन्छ भन्ने मात्र हो । साहित्यमा थोरै अर्थको कलेवर थपेर यसैमा पैरवी गर्न सकियो भने कुनै समय एउटा लेखक लेखेरै बाँच्ने दिन कसो नआउला ? यिनै निष्कर्ष सहित त्यो दिन कृष्ण र म आ–आफ्ना धन्दातिर लाग्यौं ।

यी विषयहरू विस्तारै योजना–घरभित्र घनिभूत रूपमा प्रवेश गर्दै गए । दुई–चार दिनपछि पुनः अश्विनीजी, अच्युत कोइरालाजी र कृष्णसहित उही ‘क्याफे कोड’को कफीशालामा जोडियौं । तिनै विषयमा केही थान कुरा थपिए । साहित्य जगतलाई अर्थतन्त्रको पातोसँग गाँस्ने कुरा जपिए । अन्ततः साहित्यपोस्टले मलाई ‘अर्थ–साहित्यको गौंडो सम्हाल्नू’ भन्यो । म द्विविधामा अनकनाइरहेको थिएँ । त्यही दिनदेखि सोचिरहेको छु, त्यो गौंडोबाट सिर्जनाको अपेक्षित पानी बगाएर भरोसाको खेतसम्म पुर्याउन सक्ने हुती ममा होला ? यद्यपि, साहित्यको वेदीमा रेखी हाल्न सकिन्छ कि ! ‘गर्छु’ र ‘गरिरहन्छु’ भन्ने प्रण त छ तर म आफूलाई फिटिक्कै विश्वास छैन; साहित्यपोस्टले आशा गरेझैँ उत्तोलक बन्न सकूँला ।