जमदग्नि–नन्दन भगवान् परशुरामबाट समस्त दिव्य शस्त्रास्त्रको गहन ज्ञान प्राप्त गरेर तेजोद्दीप्त बनेका भरद्वाज–नन्दन द्विजश्रेष्ठ द्रोणाचार्य परममुदित हुँदै आफ्ना प्रिय सखा द्रुपदका समीप गए ।
महाराज पृषतका पुत्र द्रुपद द्रोणका बालसखा थिए । द्रोणका पिता भरद्वाजका आश्रममा द्रुपद द्रोणसँग खेल्न र शिक्षा ग्रहण गर्न दिनहुँ आउँथे । उतिखेर त केटाकेटी नै थिए द्रुपद, तर अब पिताको स्वर्गारोहणपछि उनी स्वयं उत्तर–पाञ्चाल देशका महाराज बनेका थिए । तिनै द्रुपदलाई भेट्न भनेर प्रसन्न भावले द्रोण तिनका दरबारतिर लागेका थिए ।
द्रुपदलाई भेटेर द्रोणले भने :
मलाई चिन्यौ साथी, म तिम्रो बालसखा द्रोण के । तिमी सानामा हाम्रा आश्रममा आउँथ्यौ । पिताजीसँग पढ्थ्यौ, हामी सँगै खेल्थ्यौं, हामी दुवै खूब मिल्ने साथी थियौं नि । कि सबै बिर्सियौ तिमले ?
हार्दिकता साथ भावुक बनेर बाल्यकालको कोमल स्मृति ब्यूँझाउँदै द्रोणले द्रुपदलाई सम्बोधन गरेर यी कुरा भनेका थिए । तर दुर्भाग्य, यो द्रुपदलाई सह्य भएन । उनी अब बालक थिएनन् । उनी महाराज बनिसकेका थिए । धन, मान र ऐश्वर्यले उनलाई मदोन्मत्त बनाइसकेको थियो । उनले भ्रुकुटी चढाउँदै भने :
हे ब्राह्मण, तिम्रो दिमाग त ठीक छ ? कसरी भन्न सकेको त– म तिम्रो साथी– भनेर । हामी जस्ता बडे बडे राजा महाराजाका तिमीजस्ता दरिद्र बाहुन कसरी साथी हुन सक्दछन् ? समयअनुसारका साथी हुन्छन् । उ बेला तिमी र म सँगै खेल्थ्यौं सँगै पढ्थ्यौं त साथी थियौं । त्यो उहिलेको कुरा, उहिलेका कुरा खुइले ! अहिले म कहाँ, तिमी कहाँ ।
न दरिद्रो वसुमतो नाविद्वान् विदुषः सखा ।
न शूरस्य सखा क्लीबः सखिपूर्वं किमिष्यते ?
ययोरेव समं वित्तं ययोरेव समं श्रुतम् ।
तयोर्विवाहः सख्यं च न तु पुष्ट–विपुष्टयोः ।।
नाश्रोत्रियः श्रोत्रियस्य नारथी रथिनः सखा ।
नाùराजा पार्थिवस्यापि सखिपूर्वं किमिष्यते ।। मभा, आप, १३० अ, ९, १०, ११
दरिद्र व्यक्ति धनवान्को, मूर्ख व्यक्ति विद्वान्को, कायर व्यक्ति शूरवीरको सखा हुन सक्दैन । अब तिमी र म केको सखा ? जसको धन सम्पत्ति समान छ, जसको विद्या समान छ, त्यस्ता व्यक्तिका बीचमा मात्र विवाह र मैत्रीको सम्बन्ध हुने गर्दछ, असमानहरूका बीच के को मित्रता? जो श्रोत्रिय छैन ऊ श्रोत्रिय वेदज्ञको साथी हुन सक्दैन, जो स्वयं रथी हैन ऊ रथीको साथी हुन सक्दैन, हो– तेसै गरी जो स्वयं राजा होइन ऊ राजाको साथी हुन सक्दैन । फेरि के साथी साथी भनिरहेको नि ? मैले आफ्नो राज्य तिमीलाई दिउँला भनेको थिएँ रे ? मलाई त खै केही याद छैन । भैगो, तिमी ब्राह्मण हौ । आजको साँझ तिमीलाई भोजन गराउँला ।
द्रुपदका यस्ता अपमानजनक कुरा सुनेर प्रतापी भरद्वाजसुत द्रोण क्रोधले लाल भए । केही बोलेनन् । केही बेर चूपचाप बसिरहे । अनि, जुरुक्क उठेर हिँडे । उनले मनमनै यो अपमानको बदला राम्ररी चुकाउने निर्णय गरिसकेका थिए ।
…..
वास्तवमा बाल्यकालमा द्रुपद द्रोणका घनिष्ठ मित्र थिए । सरल, स्नेहिल र आत्मीय मित्र । उनीहरूको शिक्षा–दीक्षा महर्षि गुरु अग्निेवेशको आश्रममा सँगसँगै चलेको थियो । त्यसबेला प्रेमपूर्वक द्रुपदले द्रोणलाई वचन दिएका थिए :
हे मित्र, जब पिताले मलाई राजा बनाउनुहोला– त्यसबेला मेरो समस्त राज्य र सुखभोग सबै तिम्रो उपभोगमा आउनेछ, म तिमीसँग यो प्रण गर्दछु ।
एकातिर यी सबै कुरा द्रोणका मनमा झलझली याद आइरहेथ्यो अर्कातिर उनले गरेको असह्य अपमानको आगोमा जलेर यसको बदला राम्ररी चुकाउने संकल्प लिएर उनी फर्किंदै थिए ।
उनी सरासर हस्तिनापुर आए अनि द्विजश्रेष्ठ कृपाचार्यका घरमा गुप्तवास गर्न लागे । कृपाचार्य राजकुमारहरूका शिक्षक बनिसकेका थिए । उनीसँगै द्रोणपुत्र अश्वत्थामा पनि तिनलाई शिक्षा दिने गर्दथे तर कसैले उनलाई चिन्दैनथे ।
एक दिन कौरव र पाण्डवहरू हस्तिनापुर नगरबाहिर ठूलो चौरमा आपसमा मिलेर डण्डी–बियो खेल्दै थिए । खेल्दा खेल्दै डण्डीले जोरसँग ठोकेको बियो नजीकैको एउटा इनारमा झर्यो । इनारमा पानी थिएन । तर त्यो निकै गहिरो थियो । माथिबाट हेर्दा धेरै तल झरेको बियो देखिन्थ्यो । ती केटाहरूले धेरै प्रयास गरे, तर केही उपाय लागेन । त्यो बियो कसरी निकाल्ने भन्ने विषयमा कसैको बुद्धिमा केही पनि फुरेन । उनीहरू तेसै छट्पटाएर वरपर गर्दै थिए । त्यसै बेला उनीहरूले घामले डढेर कालो भएको, दुब्लो पातलो, सेतै कपाल फुलेको, हेर्दै अनाकर्षक बूढो मानिस चौरको एक छेउमा चूपचाप बसिरहेको देखे । ती सबै राजकुमारहरू तिनै वृद्ध पुरुषका वरिपरि घेरा लाग्न थाले । ती सबै हताश र खिन्न थिए । तिनीहरूको खिन्नताको कारण बुझेपछि मुसुमुसु हाँस्दै ती वृद्धले भने :
तिमीहरूको क्षत्रिय–बललाई धिक्कार छ अनि तिमीहरूको शस्त्रास्त्र–विद्याको निपुणतालाई पनि धिक्कार छ, तिमीहरूले यति जाबो काम पनि गर्न सकेनौ ? अब हेर, म तिमीहरूको बियोमात्र होइन यो मेरो औंठी पनि इनारमा खसालेर कसरी सहजै निकाल्दो रहेछु, अनि तिमीहरू मेरो भोजनको व्यवस्था गर है ।
यति भनिसकेर उनले आफनो औंलाबाट औंठी निकालेर त्यो सुकेको इनारमा फुत्त झारिदिए । त्यसैबेला कुन्तीनन्दन ज्येष्ठ पाण्डव युधिष्ठिरले भने :
हे ब्रह्मन्, हजुर कृपाचार्यको अनुमति लिएर सदा यहीं रहेर भिक्षा ग्रहण गर्नुहोला ।
हातमा एक मुठी सिन्का लिएर मुसुक्क हाँस्दै ती वृद्धले भने :
हेर, यी एक मुठी सिन्का । यिनलाई मैले अस्त्र–मन्त्रद्वारा अभिमन्त्रित गरेको छु । तिमीहरू अब यिनको बल हेर– कस्तो रहेछ । पहिले म एउटा सिन्का हानेर तिमीहरूको बियो छेड्छु, अनि तेस सिन्कालाई अर्को सिन्काले, अर्कोलाई अर्काले छेडेर उन्दै जान्छु । यसरी अनेकौं सिन्काहरूको जोडबाट डोरीले ताने झैं तानेर म तिमीहरूको बियो निकालिदिन्छु ।
अनि तिनले जे भनेका थिए अनायासै पल भरमा त्यसै गरेर देखाइ पनि दिए । यो चमत्कार देखेर ती सबै राजकुमारहरू सात छक्क परे । अनि भने :
अब त्यो औंठी पनि निकाल्नुहोस् न ।
तिनले धनुर्बाण हातमा लिएर बाणले त्यो औंठीलाई छेडिदिए अनि सहजै बाणहित त्यो औंठी बाहिर निकालेर उनीहरूका हातमा राखिदिए । यो देखेर ती सबै राजकुमारहरू विस्मयले अलमल्ल परे, तर ती वृद्धको मुहारमा कुनै भाव–परिवर्तन भएन, मानौं त्यो उनका लागि केटाकेटीको खेल हो । यस्तो अद्भुत अस्त्र–कौशल देखेर ती सबै केटाहरूले श्रद्धासाथ तिनलाई प्रणाम गरे र उनको परिचय मागे । उनले भने :
मेरो बारेमा तिमी आफ्ना हजुरबा भीष्म पितामहलाई गएर सोध, उहाँले अवश्य मलाई चिन्नुहुनेछ ।
ती सबै परम कौतूहलका साथ भीष्मका छेउमा गएर सबै घटनाको बेलिविस्तार लाए । भीष्मले सबै कुरा सुनेपछि उज्यालो मुख लाएर भने :
केटा हो! ती धुरन्धर शस्त्रास्त्रविद् द्रोणाचार्य हुन् ।
अनि यी केटाहरूका लागि सबैभन्दा उपयुक्त गुरु द्रोणाचार्य नै हुन सक्दछन् भन्ने विचार गरेर भीष्मले स्वयं त्यस स्थानमा गएर आदर सत्कारपूर्वक द्रोणाचार्यलाई दरबारमा लिएर आए ।
भलाकुसारी र भोजनादि–पश्चात् द्रोणाचार्यले आफनो मनको सबै बह भीष्मका सामू पोखे, द्रुपदले गरेको अपमानको आगोले पोलेको दिल खोलेर देखाए । भने :
मैले पितृऋणबाट मुक्त हुन सन्तानेच्छाले कृपीसँग बिहे गरें । हाम्रो छोरो जन्मियो : अश्वत्थामा । एक दिनको कुरा हो– एउटा ऋषिकुमारले गाईको दूध पिएको देखेर अश्वत्थामा पनि दूध पिउँछु भनेर जिद्दी गर्न लाग्यो । कसैले गाई दिन्छ कि भनेर धेरै घुमें, तर कतै गाई पाउन सकिनँ । यता अश्वत्थामालाई ती ऋषिकुमारहरू पीठामा पानी घोलेर यही हो दूध भन्दै पियाउन थाले उता छोरो पनि दूध पिउन पाएँ भनेर मक्ख पर्न लाग्यो । यसरी सबै मिलेर मेरो उपहास गर्न थाले र भन्न थाले : यो दरिद्र द्रोणलाई धिक्कार छ जो छोरालाई दूध पनि पियाउन सक्दैन । यो सुनेर म ज्यादै पीडित भएँ । जतिसुकै दुःख पाए पनि म निन्दित कर्म गरेर धन आर्जन गर्न सक्दिनथें । अनि, मैले मेरो बालसखा द्रुपदलाई सम्झिएँ । आफ्ना परिवारका साथ म उसलाई भेट्न गएको थिएँ । तर उसले मलाई नराम्रोसँग अपमानित गरेर पठायो ।
यी सबै कुरा सुनेर गंगानन्दन भीष्म–पितामहले भने :
हे विप्रवर, अब तपाइँ आफनो धनुषको ताँदो उतार्नुहोस् अनि यी सबै राजकुमारहरूलाई धनुर्वेद र सकल शस्त्रास्त्रको सम्यक् शिक्षा दिनुहोस् । हाम्रा घरमा तपाइँ सदा सम्मानित रहनुहुनेछ । प्रसन्नताका साथ मनोवाञ्छित भोगहरूको उपभोग गर्नुहोस् । कौरवहरूका साथ जो धन, राज्य र वैभव छ त्यो सबै अब तपाइँकै अधीनमा छ । तपाइँ स्वयं यस राज्यको राजा हुनुभयो । समस्त कौरव तपाइँकै अधीन भए । हे ब्रह्मन्, तपाइँले यहाँ आएर हामीमाथि महान् अनुग्रह गर्नुभएको छ । हामी सबै तपाइँप्रति कृतज्ञ छौं ।
यसरी हस्तिनापुर दरबारमा समस्त मान–सम्मान र आदर–सत्कारका साथ गुरु द्रोणाचार्यलाई भीष्मपितामहले स्वागत गरे ।
……….
महाभारत , आदिपर्व अध्याय : १३०
२०८१ पौष १९ गते शुक्रवार ।
ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










