कृपाचार्य

समस्त कुरुकुलको जिम्मेदारी वहन गरेका महाराज धृतराष्ट्रले ती शताधिक कुरु–सन्तति बाल्यकाल पूरा गरेर किशोरावस्थामा लम्किन लागेका, धेरै लाड–प्यार पाएर पुलपुलिँदै गएका, अहर्निश खेल–बहाडमा मात्र लागिरहेका, दिनानुदिन उद्दण्ड हुँदै गएका र तिनीहरूको निरन्तर बदमाशी बढ्दै गएको बुझेर, सचेत हुँदै तिनीहरूलाई समयोचित शिक्षा दिने व्यवस्था मिलाउने अठोट गरे । क्षत्रिय–वर्गको मूल शिक्षा धनुर्वेद भएकाले, विविध शास्त्र–पारंगत धनुर्वेद–पण्डित गुरु कृपाचार्यलाई अनुरोधपूर्वक – उत्तम शिक्षा दिएर सुयोग्य बनाइदिनका लागि, कुरुकुलका ती बालकहरू सुम्पिदिए ।

कृपाचार्य शरद्वान्का पुत्र थिए । शरद्वान् महर्षि गौतमका पुत्र थिए । महर्षि गौतम सकल–शास्त्रविद् महाज्ञानी पुरुष थिए । उनले आफ्ना सुपुत्र शरद्वान्लाई समस्त विद्यामा कुशल बनाउन चाहेका थिए तर, शरद्वान्को बुद्धि जति धनुर्विद्यामा रस लिन्थ्यो त्यति अरु विषयमा प्रवृत्त हुँदैनथ्यो । तपःपूर्वक निरन्तर साधनाद्वारा उनी समस्त शस्त्र–अस्त्रका पण्डित बन्न पुगे । उनको उग्र तपोबल र शस्त्रास्त्रको पारंगमत्वले देवराज इन्द्रलाई चिन्तित तुल्याइदियो । अन्ततः एक दिन इन्द्रले उनलाई तपःस्खलित बनाउने विचारले जानपदी नाम गरेकी अप्सरालाई पृथिवीतलमा अवतरित गराए । ती मनमोहिनी देवकन्या शरद्वन्को रमणीय आश्रममा गएर विविध चेष्टाद्वारा ती मुनिको तपोभंग गर्न प्रवृत्त भइन् । एकपटक वनमा विचरण गरिरहेका वेला तपस्वी शरद्वान्ले ती दिव्य सुन्दरीलाई देखे । तिनी एउटै पारदर्शी वस्त्रले बेरिएकी रूपयौवनोन्मादले प्रदीप्त थिइन् । तिनलाई देख्नासाथ शरद्वान् रोमाञ्चित भए, उनका हातबाट धनुष–बाण छुटे । शरीरमा कम्प भयो । उनको समस्त अस्तित्व अजेय कामोत्तेजनाको वशीभूत भए तापनि उनी महाज्ञानी र परम–तपस्वी थिए, आफ्नो मर्यादाको अतिक्रमण गरेनन् । तर, चित्तमा चलेको कामवृत्तिको प्रमाथी आँधी–हुरीले उनी विचलित भए, अनायास नै उनको वीर्य स्खलित भयो । तर, उनलाई त त्यो कुरा थाहा पनि भएन । ती मुनि शरद्वान् यो बलवत्तर विकारले तिलमिलाएर विषादभावले ग्रस्त बन्दै धनुष–वाण र मृगचर्मका साथमा त्यो आश्रम नै चटक्क छोडेर त्यहाँबाट अज्ञात स्थानतिर लागे ।

तर, उनको शरीरबाट स्खलित त्यो वीर्य त्यहीँको काँसघारीमा, काँसका धारिला पत्रमा झरेर दुई भागमा विभक्त भएको थियो । नियतिको अगम्य लीला ! त्यसैबाट यथासमय मानव–मानवीको युगल जन्मियो । संयोग कस्तो पर्यो भने, त्यसै वेला दैवी प्रेरणाले परम–प्रतापी महाराज शान्तनु आखेट–क्रीडेच्छु बनेर त्यसै वनमा आइपुगे । उनका शिकारी सैनिकले त्यो काँस–वनमा त्यो शिशु–युगललाई देखे । छेउमै धनुष वाण र कृष्ण मृगचर्म देखेर के अनुमान लगाए भने– पक्कै पनि यी केटाकेटी कुनै धनुर्वेद–पारंगत तपस्वी ब्राह्मणका सन्तान हुनुपर्छ । यति निश्चय गरेर राजा शान्तनुका छेउ गइ यो सबै विन्ती बिसाए । राजा शान्तनुले पनि त्यहाँ गई त्यो दृश्य देखे अनि कृपापरवश बनेर तिनलाई आफूसँगै लिएर आफ्ना दरबार फर्किए । तिनलाई अत्यन्त स्नेहका साथ हुर्काउन थाले । कसैले सोधेका वेला यी मेरै सन्तान हुन् भनी परिचय दिन थाले । पालन–पोषण गरी सबै ब्राह्मणोचित संस्कारले सम्पन्न गरेर तिनलाई सुयोग्य बनाए । महाराज शान्तनुले कृपा–परवश बनेर तिनको प्राणरक्षा गरेकाले तिनको नाम राखियोः कृप र कृपी ।

उता तिनका असली पिता शरद्वान्ले तपोबलमय ध्यान–दृष्टिले हेरेर तिनको हाल थाहा पाए, अनि गुप्त –रूपले तिनका छेउ आएर तिनको जन्म–रहस्य सबै खोलिदिए, पितृ–परिचयका साथ नाम, गोत्र आदि सबै कुराको समेत विधिवत् परिचय दिएर, धनुर्वेदको सर्वस्व– समस्त शस्त्रास्त्र–विद्याको गूढ रहस्य पनि उपदेश गरे । यसरी पिताको सुयोग्य पुत्र बन्दै स्वल्प समयमा नै कृप धनुर्वेदका पारंगत आचार्य बने ।

कालान्तरमा यिनै कृपाचार्यले कौरव, पाण्डव, वृष्णिवंशी र अन्यान्य राजाहरूलाई पनि धनुर्वेदको उत्तम शिक्षा प्रदान गरेका थिए ।

…..

द्रोणाचार्य

हस्तिनापुरको योगक्षेम वहन गर्न आफ्नो समग्र जीवन समर्पित गरिदिएका सबैका परमादरणीय कुमार भीष्म–पितामहले ती बालकहरूलाई सामान्य कोटिको विद्याले मात्र पुग्दैन, तिनमा त विशिष्ट योग्यता हुनुपर्दछ भन्ने उच्च भावनाले प्रेरित भएर तिनका निमित्त कुनै सर्वोत्तम आचार्यको खोजी गरिरहेका थिए । परिणामतः गंगातनय भीष्मले भारद्वाजवंशीय वेदवेत्ता सकल–शास्त्र–निष्णात, स्वयं भगवान् परशुरामका शिष्य द्रोणाचार्य लाई फेला पारे अनि ती सबै कुरुवंशीय बालकहरूको समुचित शिक्षाको भार उनलाई सुम्पिदिए । जसको अप्रतिम प्रतिभाको चमत्कारले ती सबै बालकहरू एक से एक धनुर्धर बनेर निस्किए ।

द्रोणाचार्य महर्षि भरद्वाजका पुत्र थिए । ती महर्षि भरद्वाज हरिद्वारमा बसेर कठोर व्रत पालन गर्दै निरन्तर तपोनिष्ठ रहन्थे । एक दिन उनी एक विशिष्ट यज्ञको तैयारीका क्रममा कतिपय महर्षिहरूका साथ महा–स्नान गर्न भनेर गंगाका किनारमा पुगेका थिए । त्यहाँ उनले भरखरै स्नान गरिसकेर वस्त्र–धारणमा प्रवृत्त भएकी अप्सरा घृताचीलाई देखे । तिनी रूप–यौवनशालिनी कामोन्मत्ता रमणी थिइन् । अकस्मात् उनका हातबाट वस्त्र चिप्लिएर जमीनमा खस्यो । तिनको अनावृत कामोन्मत्त यौवन देखेर ती महर्षि भरद्वाजको चित्तमा कामदेवप्रेरित हुरीबतास चल्न लाग्यो । तिनको मन तिनको वशमा रहेन । वास्तवमा अप्सराको वस्त्रसँगै तिनको मन पनि चिप्लिएर खस्यो, अर्थात् प्रबल कामोन्मादको बेहोशीमा उनको वीर्य खस्यो । समर्थशाली ऋषिले त्यो वीर्य एउटा द्रोण अर्थात् यज्ञ–कलशमा हालेर सुरक्षित राखिदिए । त्यसै कलशबाट यथासमय एक तेजस्वी शिशु प्रकट भयो, फलतः उसको नाम रहन गयो– द्रोण । कालान्तरमा तिनै पुरुष लोक–त्रयमा वेद–वेदांगका पारंगत अनुपम शस्त्रास्त्रविद् परम–पराक्रमी द्रोणाचार्यका रूपमा सुविख्यात बने ।

महर्षि भरद्वाज शस्त्रास्त्र–विद्याका प्रकाण्ड विद्वान् थिए । उनले अग्निपुत्र मुनि अग्निवेशलाई आग्नेयास्त्रको शिक्षा दिएका थिए । अग्निवेशले द्रोणलाई पनि त्यही आग्नेयास्त्रको शिक्षा दिए । त्यसै समय पृषत नामका प्रसिद्ध राजा महर्षि भरद्वाजका मित्र बनेका थिए । तिनको एक पुत्र थियो द्रुपद । त्यो राजकुमारहरूमा श्रेष्ठ थियो । त्यो भरद्वाज मुनिका आश्रममा आएर द्रोणसँग खेल्दथ्यो र अध्ययन पनि गर्दथ्यो । पृषत दिवंगत भएपछि त्यही द्रुपद उत्तर–पञ्चाल देशको राजा भयो ।

केही दिनपछि महर्षि भरद्वाज स्वर्गवासी बने । द्रोण एक्लै आश्रममा रहेर तपस्या गर्न लागे । तिनी वेदवेदांगविद्, तपोपूत एवम् यशस्वी आचार्यका रूपमा लोक–विश्रुत बने । तिनका मनमा पितृऋणबाट मुक्त हुने आकांक्षा पलायो, फलतः उनले शरद्वान्पुत्री कृपीलाई पत्नीभावले ग्रहण गरे । कृपी समग्रभावले द्रोणाचार्यको सेवामा समर्पित रहन्थिन् । यथासमय तिनीहरूको एक पुत्र जन्मियो । त्यो जन्मनासाथै उच्चैःश्रवा घोडाका समान उच्च ध्वनि निकाल्न थाल्यो । यो सुनेर आकाशवाणी भयोः अश्वको झैँ स्थाम अर्थात् स्थिरता र पराक्रमले युक्त यो बालक कालान्तरमा अश्वत्थामाका नामले जगत्मा विख्यात हुनेछ ।

त्यसबेला द्रोण धनुर्विद्याको अभ्यासमा दत्तचित्त रहन्थे । एक दिन उनले के सुने भने– महर्षि जमदग्निका पुत्र परशुराम यस जगत्का समस्त दिव्यास्त्र र धनुर्वेदका सर्वोत्कृष्ट पारंगत विप्रवर हुन् । उनी व्रतनिष्ठ ब्राह्मणलाई सर्वस्व दान दिन चाहन्छन् । यो कुरा सुनेर ती सबै दिव्यास्त्र प्राप्त गर्ने इच्छाले द्रोणले सकल–शिष्यसहित परशुरामको निवास स्थान महेन्द्र पर्वततिर प्रस्थान गरे । त्यहाँ उनका चरणमा प्रणाम गरेर भनेः हे महर्षि, म हजुरका समीपमा धनको इच्छा लिएर आएको हुँ । परशुरामले भनेः हे तपोधन, मसँग जे जति धन थियो त्यो सबै ब्राह्मणहरूलाई दान गरिसकें । यो समुद्रपर्यन्त पृथिवी पनि मैले महर्षि कश्यपलाई अर्पित गरिसकें । अब त मसँग केवल यो मेरो शरीर र ममा रहेको दिव्यास्त्रको ज्ञानमात्र अवशिष्ट छ । तिमीलाई यी दुई मध्ये जे चाहिन्छ भन, म सहर्ष दिउँला ।

हे महर्षि, मलाई उत्तम दिव्यास्त्र सहित सकल शस्त्रास्त्रको ज्ञान बक्सियोस् ।

तथास्तु ! भनेर ती महापराक्रमी परशुरामले पनि सकल दिव्यास्त्र एवम् समग्र शस्त्रास्त्र उत्तम विद्याको उपदेश आचार्य द्रोणलाई प्रदान गरे ।

गुरु–कृपाले सकल शस्त्रास्त्र विद्यामा पारंगत र अपराजेय बनेपछि परम कृतार्थ–भावले गुरु परशुरामका चरणमा प्रणाम गरेर द्विजश्रेष्ठ द्रोणाचार्य आफ्नै आश्रमतिर फर्किए ।

यिनै सकल–शस्त्रास्त्रविद् तपोपूत ब्राह्मणग्रणी गुरु द्रोणाचार्यलाई गंगातनय भीष्मपितामहले ती कुरु–कुलोद्भव राजकुमारहरूलाई समस्त तालीम दिने काम सुम्पिएका थिए ।

……

महाभारत, आदिपर्वमा आधृत ।

२०८१ पौष १२ गते शुक्रवार

ॐ अक्षरालयः ।