ब्रह्मर्षि वसिष्ठकी जेठी बुहारी अर्थात्– दिवङ्गत मुनिवर शक्तिकी पत्नी अदृश्यन्तीले यथासमय एक सुपुत्र जन्माइन् । ती शिशु स्वयं शक्तिकै प्रतिरूप थिए । स्वयम् हजुरबा वसिष्ठले उनको जातकर्मादि संस्कार विधिवत् सम्पन्न गर्नुभयो । परासु : अर्थात्– प्राणत्याग गर्न इच्छुक– वसिष्ठलाई पुनः जीवित रहन उत्साहित तुल्याउने भएकाले ती बालकको नाम पराशर  भनेर लोकविख्यात भयो ।

ती बालक हजुरबा वसिष्ठलाई नै तात!  अर्थात् पिता भनेर सम्बोधन गर्दथे । यो सुनेर अदृश्यन्तीका आँखामा अनायास आँशू आउँथे । एक दिन उनले भनिन्: बाबु, उहाँ तिम्रा पिता हुनुहुन्न । तिम्रा पिता त मुनिवर शक्ति हुनुहुन्थ्यो– जसलाई जंगलमा एउटा राक्षसले खाइदियो । यो कुरा सुनेर ती तेजस्वी बालक पराशर क्रुद्ध भएर आफ्ना पितालाई खाइदिने राक्षसका साथसाथै यस्ता राक्षसहरूको निवासस्थान यस दुष्ट–जन–सङ्कुल सकल लोकलाई नै नष्ट गर्ने विचार गर्न थाले । उनका मनको यस्तो विचार–सरणीलाई आफ्नो ध्यान–दृष्टिद्वारा बुझेपछि महर्षि वसिष्ठले नाती–बाबु पराशरलाई एकान्तमा बोलाएर यसो भन्नुभयो :

हे वत्स पराशर, यस्तो विनाशकारी क्रोधलाई तिमीले आफ्ना मनमा स्थान दिनुहुन्न । क्षमाशील बन्नुपर्दछ । यस विषयमा म तिमीलाई एउटा पुरा–कथा सुनाउँछु । ध्यानपूर्वक सुन–

        यस धरातलमा परापूर्व–कालमा एक जना राजा थिए । तिनी कृतवीर्यका नामले लोकमा विख्यात थिए । ती महाराजले सोमयज्ञ गरेर भृगुवंशीय पुरोहित ब्राह्मणलाई आफूसँग भएको समग्र विपुल धन–धान्य श्रद्धापूर्वक दक्षिणास्वरूप प्रदान गरे । कालान्तरमा कृतवीर्यको निधन भएपछि उनकै वंशज राजकुमारहरूलाई द्रव्यको आवश्यकता पर्यो । भृगुवंशी ब्राह्मणहरूसँग प्रशस्त धन छ– भन्ने थाहा पाएपछि ती राजकुमारहरू याचक बनेर त्यहाँ गए । ती भृगुवंशीय ब्राह्मणहरूले आफ्नो अधिकांश धनराशि धरतीमा गाडेर सुरक्षित राखिसकेका थिए । बाहिर बाँकी रहेको केही धन तिनले राजकुमारहरूलाई दिए । पछि कुनै बेला– जमीन खन्ने क्रममा केही क्षत्रियहरूले त्यो जमिनमुनिको धन फेला पारे । सारा क्षत्रियहरूले त्यो विपुल धनराशि देखेपछि, भार्गवहरूसँग क्रुद्ध हुँदै उनीहरूको अपमान गरे । तीखा–तीखा बाणहरूले हानेर तिनलाई यमराजका घरको अतिथि बनाइदिए । हुँदा–हुँदा भृगुवंशीय ब्राह्मणहरूका गर्भस्थ सन्तानहरूलाई समेत हत्या गर्दै ती क्रोधान्ध क्षत्रियहरू समस्त धरतीमा विचरण गर्न लागे । यसरी समस्त भृगुवंशीय ब्राह्मणको वंशोच्छेद हुन लाग्यो । भृगुवंशका वधूहरू हिमालयका दुर्गम गुफामा लुकेर ज्यान बचाउन लागे । तीमध्ये एउटी तेजस्विनी नारीले आफ्नो गर्भलाई सुरक्षित राख्न आफ्नै जाँघ चिरेर त्यसैभित्र गर्भस्थ शिशुलाई लुकाएर सुरक्षित राखिन् । हत्यारा क्षत्रियहरू खोज्दै–खोज्दै त्यहाँ पनि आइपुगे । उनीहरूले ती भृगुवंशी ब्राह्मणवधूमाथि आक्रमण गर्न मात्र के लागेका थिए त्यो गर्भस्थ शिशु जाँघ च्यातेर फुत्त बाहिर निस्कियो ।

       मध्यदिनको प्रचण्ड सूर्यसमान त्यस शिशुको तीव्रतम तेजले ती क्षत्रियहरूका आँखाको ज्योति नै जलाइदियो । ती सबै अन्धा भए, अनि अनकण्टार जंगलमा यत्र तत्र भट्किन लागे । अरु केही उपाय नलागेपछि, अन्ततः ती सबै क्षत्रियहरू तिनै ब्राह्मणीका छेउमा आएर आफूले गरेको अपराधप्रति क्षमायाचना गर्दै पुनः दृष्टि प्रदान गरिदिनका लागि प्रार्थना गर्न लागे । तिनले भनिन्– मैले तिमीहरूलाई अन्धो बनाएको होइन । यो सबै यही तेजस्वी बालकको क्रोध तिमीहरूमाथि बर्सिएको हो । क्षमा माग्नुछ भने उसैसँग माग । अनि, उनीहरू सबैले ती बालकका पाउमा परेर क्षमा–याचना गरे । तिनले पनि करुणावश तिनीहरूलाई क्षमा गरिदिए, तिनलाई पुनः नेत्र–ज्योति प्रदान गरे, पुनर्जीवन दिए ।

माताको जाँघ अर्थात्– ऊरु भेदन गरेर प्रकट भएकाले ती बालकको नाम रह्यो– और्व । उनले समस्त क्षत्रियवंशको विनाश गर्ने संकल्प लिएर उग्र तपस्या गरे । नभन्दै उनी परमतेजस्वी र अतुल पराक्रमी बने । पितृहरूले और्वको क्षत्रिय–वंश–विनाशकारी संकल्प जानेपछि पितृलोकबाट धरतीमा अवतीर्ण भएर यसो भने :

और्व दृष्टः प्रभावस्ते   तपसोग्रस्य पुत्रक

प्रसादं कुरु लोकानां नियच्छ क्रोधमात्मनः ।। मभा, आप, १७८अ, १४श्लो ।

हे बाबु और्व, हामीले तिम्रो तपस्याको उग्र प्रभावलाई देख्यैं । अब तिमी आफ्नो क्रोधलाई संयमन गर । बाबु, जुनबेला हामीलाई ती क्षत्रियहरूले वध गरिरहेका थिए त्यसबेला हामी भृगुवंशी ब्राह्मणहरूले केही पनि गर्न असमर्थ भएर त्यो हिंसालाई चूपचाप सहेका थिएनौं । वास्तवमा, हामी धेरै बूढा भइसकेका थियौं त्यसैले हामी स्वयंले नै मनसा तिनीहरूबाट आफ्नो जीवनलीला समाप्त गराउने इच्छा गरेका थियौं । उनीहरूसँग वैरभाव बढाउनलाई नै हामीले विपुल धनराशि जमीनमा गाडेर लुकाइदिएका थियौं । उनीहरू हामीसँग क्रुद्ध बनून् र हाम्रो वध गरून्– यही नै हाम्रो चाहना थियो । हामीलाई ती क्षत्रियहरूका धनको कुनै चाहना पनि थिएन । स्वयं धनपति कुबेरले दिएको धन हामीलाई पर्याप्तभन्दा बढी नै थियो । हामी बाँच्दा–बाँच्दा थाकिसकेका थियौं तर, आफैँ आत्मघात गरेर पापको भागी पनि बन्न चाहन्नथ्यौं त्यसैले हामी सबै मिलेर उनीहरूलाई त्यसो गर्न उक्साएका हौं । त्यसैले तिमी ती क्षत्रियजाति प्रति क्रोधभाव नराख । यो समस्त लोकको विध्वंस गर्ने भावना पनि मनबाट निकालिदेऊ । यस्तो विध्वंसकारी विचारले तिम्रो तपःसमुद्भव पुण्यलाई नै विध्वस्त बनाइदिनेछ । तिमी क्रोधलाई जित ।

और्वले भने : हे पूजनीय पितृगण, म आफ्नो संकल्प पूरा गर्ने प्रणले प्रतिबद्ध छु । ती दुष्ट क्षत्रियहरूले हाम्रा भृगुवंशीय ब्राह्मण–समुदायमाथि गरेको अन्याय, अत्याचार र घृणित कर्म म कदापि बिर्सन सक्तिनँ । हाम्रा मातृगणले गरेको करुण क्रन्दन अझै मेरा कणराकुहरमा गुँजिरहेको छ । म यो हत्यारो पापी समग्र क्षत्रियवंशलाई समूल उच्छेद गरेर यस धरतीको बोझ उतारेर मात्र विश्राम लिन सक्दछु । मभित्र उठेको क्रोध–ज्वाला यति नगरी शान्त हुनेवाला छैन । नत्र यस क्रोध–ज्वालाले मलाई नै जलाएर खरानी बनाउनेछ । यस स्थितिमा अब तपाईंहरू नै भन्नुहोस्– म के गरुँ जसले यस लोकको र मेरो पनि कल्याण होस् ।

पितृहरूले भने : हे और्व, तिम्रो क्रोधाग्निले समस्त लोकलाई नै ग्रास गर्न खोजिरहेछ । यसबाट मुक्ति पाउन तिमी यस क्रोधलाई विपुल जलराशिमा लगेर छोडिदेऊ । यसैमा तिम्रो कल्याण छ । जल समस्त जगत्मा व्याप्त छ । समस्त रसहरू जलकै परिणाम हुन् । त्यसैले हे द्विजश्रेष्ठ, तिमी यस क्रोधाग्निलाई जलमै लगेर छोडिदेऊ । हे द्विजोत्तम, यस क्रोधाग्निलाई तिमी समुद्रमा विसर्जित गरिदेऊ । तबमात्र यो समस्त लोक नष्ट हुनबाट बच्नेछ ।

फ्ना परमपूज्य पितृहरूको आज्ञा शिरोपर गरेर अन्त्यमा ती तेजोमय तपस्वी और्वले आफ्नो समस्त क्रोधाग्नि समुद्रमा विसर्जित गरिदिए । आजसम्म पनि त्यो और्वाग्नि भयंकर घोडाको मुखजस्तो आकृति लिएर वडवाग्निका रूपमा महासागरको जल पिइरहेको हुन्छ ।

कथाको अन्त्यमा ब्रह्मर्षि वसिष्ठले आफ्ना परम स्नेहभाजन नाति–बाबु पराशरलाई भन्नुभयो : बाबु, तिम्रो कल्याण होस् । तिमी पनि शान्त होऊ । समस्त लोकको यसरी विनाश गर्नु हुन्न ।

यी कुरा सुनेर ब्रह्मर्षि पराशरले आफ्नो क्रोधलाई समस्त लोकको विनाश गर्ने कामनाबाट त विरमित तुल्याए तर समस्त राक्षसजातिलाई विनाश गर्ने कामनाका साथ तिनले राक्षस–सत्रको चाहिं अनुष्ठान आरम्भ गरे । आफ्ना पिता शक्तिको वधलाई गहन–भावले स्मरण गर्दै राक्षस–जातिका बूढा र बालकलाई पनि नछोडीकन सबैलाइै मन्त्राहुति दिँदै जलाउन थाले । पापिष्ठ राक्षसहरूको संहार गरेका कारण उक्त यज्ञाग्नि अत्यन्त निर्मल र शुद्व मानियो । यज्ञ–सामग्रीको हवनका साथ अग्नि–ज्वालावली प्रचण्ड तेजले जाज्ज्वल्यमान हुन लाग्यो । उनलाई यस कर्मबाट रोक्न सक्ने सामर्थ्य कसैको पनि भएन, अन्त्यमा उदार–बुद्धि महर्षि अत्रि स्वयं यज्ञको समाप्तिका आकांक्षाले त्यहाँ प्रकट हुनुभयो । उहाँसँगै पुलस्त्य, पुलह, क्रतु र महाक्रतु पनि पदार्पण गर्नुभयो । अनि महर्षि पुलस्त्यले तपोद्दीप्त पराशरलाई भन्नुभयो :

बाबु पराशर, तिम्रो यस यज्ञमा कुनै विघ्न त परेको छैन नि । तिम्रा पिताको हत्याका बारेमा केही पनि थाहा नभएका सबै निर्दोष राक्षसलाई वध गरेर तिमीलाई प्रसन्नता त भइरहेको छ नि ? वत्स, तिमीले यसरी यी मेरा सन्ततिहरूको वंशविनाश गर्नु उचित होइन । विशेषतः तपस्वी ब्राह्मणहरूको यो धर्म होइन ।

शम एव परो     धर्मस्तमाचर पराशर

अधर्मिष्ठं वरिष्ठः सन् कुरुषे त्वं पराशर ।। मभा, आप, १८०अ, १३श्लो ।

हे पराशर, शान्त रहनु नै ब्राह्मणहरुको श्रेष्ठ धर्म हो, तिमी त्यसै धर्मको आचरण गर । तिमी श्रेष्ठ ब्राह्मण भएर पनि यो पापकर्म गर्दछौ ? तिम्रा पिता शक्ति धर्मज्ञ थिए, तिमी उनको मर्यादालाई यसरी उल्लंघन नगर । वास्तवमा मुनि शक्तिको शापले नै त्यो दुर्घटना भएको थियो । नत्र कुनै राक्षसले उनलाई खानै सक्दैनथ्यो । उनका आफ्नै शापका कारण उनले मृत्युका मुखमा पर्नुपर्यो । हे पराशर, विश्वामित्र र राजा कल्माषपाद पनि निमित्तमात्र हुन् । यस बेला तिम्रा पिता शक्ति स्वर्गवासी बनेर आनन्दभोग गरिरहेका छन् । अनि हे महामुनि, शक्तिका सबै ९९ भाइहरू पनि देवताहरूसँग प्रसन्नताका साथ स्वर्ग–सुख भोगिरहेका छन् । वास्तवमा यस राक्षस–विनाशकारी यज्ञका तिमी पनि एक निमित्तमात्र हौ । त्यसैले यस अनिष्टकारी राक्षस–सत्रलाई समाप्त गर ।

परम–मान्य महर्षि पुलस्त्यका यी वचन सुनेपछि शक्तिपुत्र पराशरका चित्तमा विवेकोदय भयो । उनले तत्काल यज्ञको समाप्ति गरे । समस्त राक्षसजातिको विनाशका लागि थालिएको त्यस यज्ञको अवशिष्ट अग्नि उत्तरदिशामा हिमालयका आसपास लगेर विसर्जन गरियो । आजसम्म पनि त्यो अग्नि विशेष पर्व पर्वमा राक्षस, वृक्ष, वनस्पति र प्रस्तरहरूलाई पनि जलाउँदै दावाग्निका रूपमा देखा पर्दछ । नेपालीमा यसैलाई वन–डढेलो भन्दछन् ।

महाभारत, आदिपर्व, १७७ देखि १८० अध्यायमा आधृत,

२०८१ चैत्र २९ गते शुक्रवार । ॐअक्षरालयः ।