
इक्ष्वाकुवंशप्रभवो राजाऽऽसीत् पृथिवीपतिः ।
महाभिष इति ख्यातः सत्यवाक् सत्यविक्रमः ।। म. आ प. ९६ अ. १ श्लो.
परापूर्वकालमा यशोज्ज्वल इक्ष्वाकु वंशमा समुत्पन्न, समस्त पृथ्वीलोकका एक राजा थिए ।
तिनी महाभिषका नामले जगत्मा विख्यात थिए, तिनकी वाणी सत्यानुगामिनी थिइन्, तिनको पराक्रम सत्यानुगामी थियो । तिनले एक हजार अश्वमेध यज्ञ एवम् एक शय राजसूय यज्ञ कुशलतासाथ सम्पन्न गरेर आफ्ना पुण्यका प्रभावले स्वर्गलोक प्राप्त गरेका थिए ।
एक समयको कुरो हो– दिव्यलोकमा समस्त देवगणका साथ राजा महाभिष पनि जगत्पिता ब्रह्माजीका सेवामा समुपस्थित थिए । संयोगवश त्यसै वेला सरिताहरूमध्ये सर्वश्रेष्ठा, मनोहारिणी गङ्गा ब्रह्माजीका सान्निध्यमा आइपुगिन् । दैवसंयोगले फेरि त्यसै वेला वायुको एक संवेगले ती परमसुन्दरी सरिद्वरा गङ्गाले पहिरेको चन्द्रिकोपम समुज्ज्वल रेशमी वस्त्र इतस्ततः हुन पुग्यो । यस्तो स्थितिमा सङ्गोचवश समस्त देवगणले आफ्नो शिर झुकाए, तर राजर्षि महाभिष भने निःशङ्गभावले ती सर्वाङ्गसुन्दरी गङ्गाका सम्मोहक यौवनोन्मादक रूपको दर्शनानन्दमा निमग्न ररिरहे ।
यो सबै दृश्य नियालिरहेका लोकपिता ब्रह्माले अकस्मात् महाभिषलाई यस्तो शाप दिनुभयो–
हे दुर्मति महाभिष ! तिमीमा अझै पनि कामवासनाको अवशेष बाँकी नै रहेछ । अतः तिमी पुनः मर्त्यलोकमा जानेछौ । जुन गङ्गाले तिम्रो मन चोरेकी छिन् यिनले नै मनुष्यलोकमा तिम्रा प्रतिकूल आचरण गर्नेछिन् र तिमीलाई क्रुद्ध तुल्याउनेछिन् । जब तिम्रा मनमा यिनीप्रति रतिभावका विपरीत क्रोधभाव उत्पन्न हुनेछ तबमात्र तिमी शापमुक्त हुनेछौ ।
यसरी ब्रह्माजीद्वारा अभिशप्त बनेका राजा महाभिषले यता– पृथिवीतलका तत्कालीन महातेजस्वी राजा प्रतीपलाई आफ्ना पिताका रूपमा वरण गर्ने कामना गरे । उता– सरिद्वरा गङ्गा राजा महाभिषले आफ्नो उन्मादक रूप देखेर काममोहित भई धैर्यच्युत बनेको घटनाका बारे मनमनै मनन गर्दै ब्रह्मलोकबाट फर्कंदै थिइन्, बाटामा उनले अन्तरिक्षपथमा स्वर्गभ्रष्ट बनेर तल झर्दै गरेका वसुदेवहरूलाई देखिन् । ती मोहाच्छन्न थिए अनि मलिनवदन पनि । गङ्गाले तिनलाई सोधिन्–
हे वसुगण, तपाईंहरूको दिव्य रूप कसरी नष्ट भयो ? तपाईंहरू सकुशल त हुनुहुन्छ नि ?
वसुगणले भने : हे सरिद्वरा गङ्गा ! महात्मा वशिष्ठले हामीलाई एउटा स–सानो अपराध गरेबापत क्रुद्ध बनेर उग्र शाप दिनुभएको छ । उहाँ सन्ध्योपासना गरेर बसिरहनुभएका वेला मोहवश उहाँलाई उल्लंघन गरेर हामी अगि बढेका थियौं । यत्ति अपराधमा उहाँले– तिमीहरूले मनुष्ययोनिमा जन्मन परोस्– भनी शाप दिनुभयो । त्यसैले अभिशप्त बनेर हामी मर्त्यलोकतिर झर्न लागेका हौं । हाम्रो तिमीलाई करजोरी विनती छ – हे सरिद्वरा गङ्गे ! तिमीले नै पृथिवीमा गएर, मानवपत्नी बनेर हामी वसुगणलाई आफ्ना पुत्रका रूपमा जन्म देऊ । हामीले कुनै मानवीको गर्भवासमा फँस्नु नपरोस् । यही हाम्रो तिमीसँग विनम्र अनुरोध छ । गङ्गाले पनि तत्क्षण– तथास्तु !भनेर तिनलाई कृतार्थ तुल्याइन्, अनि सोधिन्–
हे वसुगण ! आजभोलि मर्त्यलोकमा त्यस्ता श्रेष्ठ पुरुष को होलान् त? जो तिमीहरूका पिता बन्न योग्य छन् ? वसुगणले एकमुख लागेर भने– मनुष्यलोकमा यशस्वी राजा प्रतीपका पुत्र शान्तनु लोकविख्यात पुरुष हुनेछन् । तिनै पवित्रकर्मा नराधिप हाम्रा पिता बन्नेछन् ।
गङ्गाले यो उत्तम प्रस्ताव सहजतया स्वीकार गरिन् र भनिन् – म राजा शान्तनुको अभीष्ट सिद्ध गरेर उनकी प्रिया बनूँली, अनि उनीसँग समागम गरेर तिमीहरूलाई जन्म दिउँली । वसुगणले भने– हे तीनै लोकलाई पवित्र तुल्याउने गङ्गे ! जब तिम्रा गर्भबाट हामी जन्मिऔंला त्यसबेला जन्मनासाथ तिमीले हामीलाई आफ्नै जलप्रवाहमा प्रवाहित गरिदिनू, जसले गर्दा शीघ्रातिशीघ्र मर्त्यलोकबाट हाम्रो छुटकारा सम्भव होस् र महर्षिको शापविमोचन पनि होस् ।
गङ्गाले भनिन्– त्यो त ठीक छ, तर ती राजाले पुत्रकामनाले मेरा साथ सम्पन्न गरेको समागम पनि त व्यर्थ हुनुभएन नि त, उनका लागि कमसे कम एक पुत्रको त व्यवस्था हुनु पर्यो नि ! वसुगणले भने : हामी सबैको उद्धार भइसकेपछि हामी आठै भाइले आ–आफ्ना तर्फबाट एक एक अष्टमांश दिउँला । त्यसबाट जुन पुत्र जन्मनेछ त्यो ती राजा शान्तनुको मनमाफिक हुनेछ । तर, यस मर्त्यलोकमा उसको कुनै सन्तान हुने छैन र अवश्यमेव ऊ स्वयंचाहिं अत्यन्त पराक्रमी हुनेछ ।
यसरी सरिद्वरा गङ्गासँग वचनबद्ध बनेर वसुगण प्रसन्नतापूर्वक कार्यसिद्ध्यर्थ विदा भए ।
….
त्यसै बखत पृथिवीतलमा परमयशस्वी राजा प्रतीप राज्य गर्दथे । उनी अत्यन्त धर्मपरायण एवम् लोकहितकारी राजा थिए । एक समय ती महाराज हरिद्वारको गङ्गातटमा लामो समयसम्म जप–तप गर्दै आसनस्थिर गरेर बसेका थिए । त्यसै वेला ती परमसुन्दरी गङ्गा यौवनवती एवम् मोहनी छविले कामोन्मादिनी बनेर गङ्गाप्रवाहबाट यकायक प्रकट भइन्, अनि तपोमग्न राजा प्रतीपका दाहिने ऊरुमा गएर थपक्क बसिन् । ती दिव्य सुषमाले मण्डित थिइन्, मनोमोहिनी थिइन् ।
आफ्ना काखमा स्वेच्छाले बस्न आएकी ती मनोरमा युवतीलाई राजा प्रतीपले प्रश्न गरे– हे कल्याणि! तिमी को हौ ? म तिम्रा लागि के कार्य गरूँ ? तिम्रो कुन कामना सम्पन्न गरूँ ?
गङ्गाले भनिन्– हे राजन्! म हजुरलाई चाहन्छु । मलाई स्वीकार गर्नुहोस् । किनभने कामको वशवत्र्तिनी बनेर आएकी कामयाचिका नारीलाई परित्याग गर्नु साधु पुरुषका निम्ति निन्दनीय कृत्य मानिन्छ ।
प्रतीपले भने– हे सुन्दरी ! कामवती बनेर आएकी भए तापनि परस्त्रीका साथ म समागम गर्न सक्दिनँ । जो आफ्नो वर्णकी होइनन् त्यस्ती नारीसँग पनि म समागम गर्दिनँ । यो मेरो धर्मानुकूल व्रत हो ।
तिनले भनिन् – राजन् ! म हजुरले सङ्गम गर्न अयोग्य नारी होइन, म त स्वेच्छाले हजुरप्रति अनुरक्त बनेर आएकी दिव्य कन्या हुँ । अतः मलाई स्वीकार गर्नुहोस् !
प्रतीपले भने– तिमीले मेरो मनको सन्देह दूर गर्यौ । अब यस्तो उपाय गरौं– जसले मेरो धर्म पनि विनष्ट नहोस् अनि तिम्रो इच्छा पनि पूर्ण होस् । हे वराङ्गने ! तिमी मेरो दाहिने जाँघमा आएर बसेकी छौ । तिमीलाई पक्कै थाहा होला कि– पुरुषको दाहिने जाँघ पुत्र, पुत्री अनि पुत्रवधूको आसन हो । पुरुषको बायाँ जाँघ मात्र कामिनी नारीका लागि उपयुक्त आसन हो । त्यसैले म तिमीप्रति कामाचरण गर्न सक्दिनँ । हे सुश्रोणि ! बरु म तिमीसँग एउटा प्रस्ताव राख्दछु– तिमी मेरी पुत्रवधू बन । म तिमीलाई मेरी पुत्रवधूका रूपमा वरण गर्दछु ।
अनि, गङ्गाले सहर्ष यो प्रस्ताव स्वीकार गरिन् र त्यहाँबाट अन्तर्धान भइन् ।
…..
कालान्तरमा राजा प्रतीपले आफ्नी रानीका साथ सम्पन्न गरेको लामो तपःसाधनाबाट एक पुत्र प्राप्त गरे । त्यस समय प्रतीप–दम्पति वृद्ध भइसकेको थियो । बुढेसकालमा जन्मिएका ती पुत्र अत्यन्त तेजस्वी थिए । जातकर्म संस्कारका वेला तिनको नाम जुर्यो– शान्तनु । ती बालक क्रमशः हुर्किंदै गए । ती लोकरक्षक, धर्मज्ञ, धनुर्वेदपारग, वेदाध्यायी एवम् उत्तम प्रवक्ता बने । उनी युवावस्थामा प्राप्त भएपछि, एक दिन बूढा महाराज प्रतीपले एकान्तमा बोलाएर शान्तनुलाई यस्तो आदेश दिए–
हे बाबू शान्तनु! धेरै वर्षअघि एउटी दिव्यांगना मेरा समीप आइथिन् । तिनको आगमन तिम्रो कल्याणका निम्ति भएको थियो । ती दिव्य सुन्दरी कुनै वेला एकान्तमा तिम्रा सम्मुख आइन् र तिमीसँग कामभावका साथ तिमीबाट सन्तानेच्छा गरिन् भने तिमीले उनलाई स्वीकार गर्नु । तिनीसँग कुनै परिचय नमाग्नू । को हौ, कसकी छोरी हौ, नाम के हो ? आदि कुनै प्रश्न नगर्नू । तिमीलाई उनले चाहन्छिन् भने चूपचाप पत्नीका रूपमा ग्रहण गर्नू, यो मेरो आज्ञा हो ।
यति आदेश दिइसकेर राजा प्रतीप शान्तनुलाई राजपदमा अभिषिक्त गरी स्वयं वानप्रस्थाश्रममा प्रवेश गरे ।
…
त्यसपछि के भयो ?
महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !
त्यो रोचक वृत्तान्त आउँदो शुक्रवार यहीं प्रस्तुत गरिनेछ ।
सबैको जय होस् !
….
महाभारत, आदिपर्व, ९६ र ९७ अध्यायबाट ।
२०८१ भदौ २८ गते शुक्रवार
अक्षरालय ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

