परीक्षित महाभारतका ख्यातनामा राजा भए । उनी उच्छिन्नप्रायः पाण्डववंशका एकमात्र यस्ता वंशधर थिए जसलाई ऊरु–प्रयत्नले बचाइएको थियो । आफ्ना पूज्य पिता गुरु द्रोणाचार्यको अन्न्यायपूर्ण हत्याको प्रतिशोधाग्निमा दग्ध बनेका पुत्र सत्यप्रतिज्ञ अश्वत्थामाले समस्त पाण्डववंशको उच्छेद गर्ने संकल्पका साथ भयानक कर्म गरेका थिए । जसका चूडान्त शिकार बन्नै आँटेका परीक्षितलाई स्वयं भगवान् श्रीकृष्णले आफ्ना सुदर्शन चक्रको सुरक्षा–चक्रले बचाउनुभएको थियो ।

परीक्षितका पिता थिए पराक्रमी अभिमन्यु, अनि माता थिइन् उत्तरा । उनका हजुरबा थिए पराक्रम–शिरोमणि पाण्डव–मण्डन गाण्डीवी श्रीअर्जुन । परीक्षित समस्त सद्गुणले ओतप्रोत, राजधर्म अर्थधर्म आदिमा निपुण, इन्द्रियजित्, पराक्रमी एवं धर्मप्राण थिए । साठी वर्षको आयुसम्म उनले कुशलतासाथ प्रजापालन गरे । समस्त प्रजागण उनको साम्राज्यमा सुखी र आनन्दित थिए ।

शिकार खेल्नु र हिंसक प्राणीहरुको वध गर्नु उनको शौक थियो । साठी वर्षको उमेरमा उनी एक दिन शिकार खेल्न भनेर वनतिर लागे । त्यहाँ एउटा पशुमाथि उनले निशाना लगाए । त्यो तीखो वाणले बिद्ध भएर घायल त भयो, तर मरेन, विद्युत् गतिमा भाग्यो । त्यसको पीछा गर्दा गर्दा उनी थाकिसकेका थिए । धेरै समय बितीसकेको थियो । भोक, प्यास, थकाइका कारण उनी त्यो प्रौढावस्थामा खिन्न भइसकेका थिए ।

त्यस विशाल वनमा उनले एउटा रुखको फेदमा एक जना ऋषि शान्तभावले तपस्यामा लीन भएर बसेको  देखे । ती महान् तपस्वी शमीक थिए । राजा परीक्षितले आकुलभावले सोधे : तपाइँले यताबाट कुनै वाणबिद्ध मृग गएको देख्नुभयो कि ? तर उनी बोलेनन्– किनभने तिनले मौनव्रत लिएका थिए । उनले फेरि पनि सोधे । तैपनि ती तपस्वी बोलेनन् । यसरी बार बार सोध्दा पनि चूपचाप बसेको देखेर राजाको मनमा क्रोध उत्पन्न भयो ।

साठी बर्षको उत्तरार्ध वय । फेरि, भोक प्यासले व्याकुल भएका र सारै थाकेका हुँदा उनी अव्यवस्थितचित्त बनेका थिए । जे नहुनु थियो– त्यही भयो । त्यो उनीजस्ता कुलीन र सज्जन व्यक्तिका लागि नसुहाउने काम थियो । तर विनाशकाले विपरीतबुद्धिः भने जस्तै भयो । रीसले आविष्ट भएका परीक्षित राजाले त्यहाँ एउटा मरेको सर्प पसारिइरहेको देखे र आफ्ना धनुषको टुप्पोले त्यो सर्पको शव उठाएर ती शुद्धात्मा शमीक ऋषिको काँधमा भिराइदिए । ती शान्त शुद्ध–बुद्धात्मा शमीक ऋषि तैपनि शान्त नै रहे, कुनै प्रतिक्रिया देखाएनन् । यस्तो वाहियात, नचाहिँदो काम गरेर राजा परीक्षित फनक्क फर्किएर राजधानी आए ।

ती महर्षि शमीकका एक जना तेजस्वी पुत्र थिए : शृंगी । उनी परम यशस्वी, शक्तिमान् , तपोबलोद्दीप्त एवम् क्रोधी स्वभावका थिए । त्यसदिन उनी आफ्ना आचार्यका सान्निध्यमा अध्ययनार्थ गएका थिए । कार्य सम्पन्न भएपछि गुरुवन्दना गरेर घर फर्कंदै थिए । त्यसै बेला एकजना सहपाठीले हस्याङ् फस्याङ् गर्दै उनीसामू आएर भने :

ए शृंगी, तिमी यहाँ के गर्दैछौ ? वहाँ तिम्रा पिताको घोर अपमान गर्दै उहाँका काँधमा राजा परीक्षितले मरेको सर्प भिराएर गए । त्यो अझै पनि त्यही काँधमै झुण्डिरहेको छ ।

यो सुन्नासाथ क्रोधोद्दीप्त बनेका शृंगीले तत्काल कमण्डलुको जल हातमा लिएर भयंकर शाप दिइहाले :

जसले मेरा निरपराध पितामाथि मरेको सर्प हालिदियो त्यस दुराचारीको आजका सात दिनका दिन प्रचण्ड विषधर तक्षक नागले डसेर मृत्यु भैजाओस् । अब देखोस् त्यस दुष्टात्मा राजाले मेरो तपस्याको बल, अनि भोगोस् आफ्नो कुकर्मको भयानक फल !

….

यस्तो भयंकर शाप दिएर ती तेजस्वी शृंगी ऋषि आश्रम आइपुगे । त्यहाँ उनले देखे : शान्त, सौम्य, मौनव्रती आफ्ना परमपूज्य पिता शमीकको काँधमा त्यो सर्पको शव अझै पनि लत्रिरहेको थियो । त्यो देखेर रीस र अपमानको आगोले उत्तप्त भएर शृंगीका आँखाबाट आँशू बहन लागे । उनले त्यो अभद्र दृश्य देख्नासाथ तत्काल त्यो कुत्सित वस्तुलाई त्यहाँबाट हटाइदिए । अनि पितालाई भने : बाबा, मैले त्यो दुराचारी राजालाई तक्षकले डसिहालोस्  भनेर शाप दिएँ ।

यो कुरा सुनेर ती परम शान्त स्वभाव भएका मुनि शमीक खुशी भएनन्, बरु दुःखी नै भए । उनले छोरालाई भने : बाबू, तिमीले तेसो गर्नु नहुने थियो । उनी राजा हुन्, उनले गरेका स–साना कृत्यलाई सहज रूपमा नै लिनुपर्दछ । फेरि विचरा बुढेसकाल टेकिसकेका, दिनभरि दौडिएर भोक प्यास र थकाईले आक्रान्त भएको अवस्थामा मैले नबोलेको देखेर आवेगमा आएर त्यसो गरे । त्यत्ति कुरामा तिमीले क्रुद्ध भएर त्यस्तो भयंकर शाप दिइहाल्नु हुन्नथ्यो । सक्छौ भने त्यो शाप फिर्ता लेऊ ।

शृंगीले भने : पिताजी मैले आजीवन सत्य बोल्ने व्रत लिएको छु । मैले भनेपछि भनें भनें, त्यो वृथा हुन सक्दैन ।

त्यसपछि महाकारुणिक शमीक ऋषिले तत्काल आफ्ना परमशिष्य गौरमुखलाई राजा परीक्षितकहाँ सन्देश दिएर पठाए । उसले राजालाई गएर भन्यो : राजन्, तपाइँले मौनव्रती महर्षि शमीकको जुन अवमानना गरेर आउनुभएको छ त्यसको प्रतिशोध गर्न उनका छोरा शृंगीले तपाईंलाई शाप दिएका छन् । आजका सात दिनका दिन तपाईंलाई भयंकर विषधर तक्षकले डस्नेछ र तपार्इँको मृत्यु हुनेछ । यस शापको कुनै प्रतीकार गर्न सकिएन, त्यसैले तिनै कारुणिक ऋषि शमीकले तपाइँलाई यो सन्देश दिएर मलाई यहाँ पठाउनुभएको हो, ताकि तपाइँ आत्मसुरक्षाको उपाय गरेर सावधान भएर बस्नुहोस् ।

यो सुनेर राजा परीक्षित अत्यन्त चिन्तित भए । आफूले आवेगमा आएर गरेको नकाम प्रति उनलाई घोर पश्चात्ताप भयो । अनि सबै मन्त्रीहरुलाई डाकेर यसबाट सुरक्षित हुने उपायबारे मन्त्रणा गरे । अनि सबैको सल्लाह अनुसार राजाले एउटा भव्य महल बनाउन लगाए जसमा फगत् एउटा मात्र खम्भा थियो । त्यो चारैतिरबाट सुरक्षित थियो । त्यस महलमा कसै गरी कोही पनि छिर्न सक्दैनथ्यो, हावाले पनि अनुमति लिएर मात्र छिर्न पाउँथ्यो ।

कसै गरी राजाले छ दिन बिताए । सातौं दिनका दिन घटनाले यस्तो रूप लियो :

त्यस दिन एकजना ठूला तपस्वी, मन्त्रशास्त्रका परम ज्ञाता द्विजवर काश्यप एकचित्त भएर हस्तिनापुरतिर जाँदै थिए । उनले सुनेका थिए : आज नागराज तक्षकले राजालाई डस्दैछ । आफ्ना मन्त्रबलले राजालाई निको तुल्याउँला । यसरी धर्म र यश त पाइने छँदै छ, प्रशस्त सम्पत्ति पनि आर्जन गरुँला– भन्ने आकांक्षा लिएर ती अघि बढ्दै थिए । बाटामा नागराज तक्षकले तिनलाई देखे । एकजना बूढा ब्राह्मणको वेश धारण गरेर उनी तिनका सामू आए र यसरी हतार हतार एकसुरले कता जान लागेको? भनेर सोधे । काश्यपले सबै कुरा यथावत् बेलिविस्तार लाए । एकै छिन गमेर तक्षकले भने :

तपाइँसँग त्यस्तो विष झार्न सक्ने के शक्ति छ ? म पनि हेरौं त । हेर्नोस् ब्राह्मणदेव! तक्षक भनेको मै हुँ । म अब यस वटवृक्षलाई डस्छु अनि यो हुरुरुरु जलेर खाक हुनेछ । के तपाइँ यसलाई बचाउन सक्नुहुन्छ ?

काश्यपले भने : अवश्य । अनि तक्षकले– लौ त, कसरी बचाउनुहुने रहेछ हेरम् , भनेर त्यस रुखलाई भयंकर फणा उचालेर ठुँगे । नभन्दै, आगोको लप्का उठ्यो र त्यो पलभरमै भयंकल ज्वालाले युक्त भयो अनि दनदनाएर रुख एकै छिन्मा खाक बनायो ।

अब तिमी हेर मेरो मन्त्रबल – भन्दै ती मन्त्रवेत्ता काश्यपले त्यो खरानी एकत्र गरेर पहिले थुपारे र एकाग्र भावले मन्त्र उच्चारण गरेर फुके । हेर्दाहेर्दै त्यो वृक्ष जीवित भयो । पहिले त्यहाँ अंकुर पलायो, अनि पाउलो अनि बोट अनि क्रमशः शाखा प्रशाखा हुँदै एकै छिनमा त्यहाँ पहिलेको झैं  वटवृक्ष खडा भयो ।

यो दृश्य नागराज तक्षकले सात छक्क परे हेरेको हेरेकै भए । अनि, काश्यपलाई प्रशंसा गरेर भने :

तपाइँजस्ता मन्त्रवेत्ता ब्राह्मणका लागि त यो खासै अद्भुत कुरा अवश्य होवोइन । तर, तपाइँ भन्नुहोस् त, ती विवेकहीन राजालाई बचाएर तपाइँले के पाउनुहुन्छ ?

उनले भने :

सम्पत्ति पाउँछु नि, अनि फेरि यश र धर्म त छँदैछ ।

तक्षकले भने :

हेर्नुहोस्, मेरो विचारमा यो तपाइँको मन्त्रबलले त्यहाँ काम गर्ने छैन, किनभने ती राजालाई पहिले नै एकजना ऋषिकुमारले मर्ने शाप दिइसकेका छन्, बाँकी रह्यो कुरा सम्पत्तिको । तपाइँलाई कति चाहिन्छ भन्नुहोस्, त्यो भन्दा बढी म तपाइँलाई अहिले यहीं दिन्छु ।

अनि, तक्षकले ती मन्त्रवेत्ता काश्यपलाई विपुल धनराशि दिएर सन्तुष्ट गराई त्यतैबाट फिर्ता पठाइदिए ।

अब, तक्षक आफ्नो काम फत्त्ो गर्न भनेर राजदरबारतिर लागे, उनले बाटामै सुने : राजा सुरक्षित ठाउँमा बसेका छन् र तुरुन्तै विष झार्ने औषधी पनि तम्तयार राखेका छन् । अनि तक्षकले आफ्नो मायाजाल फैलाएर राजालाई डस्ने विचार गरी आफ्ना केही नाग साथीहरुलाई ब्राह्मणको रूप धारण गरेर महाराजलाई फल फूल र प्रसाद समर्पण गर्न जाने आदेश दिए । नभन्दै,  आदेश शिरोपर गरी तिनीहरुले पनि तेसै गरे । राजाले त्यो सबै फलफूल र  प्रसाद ग्रहण गरेर दान दक्षिणाका साथ तिनीहरुलाई विदा दिए । सबै गएपछि आफ्नो सुरक्षित एकान्त ठाउँमा आफ्ना विश्वस्त मन्त्रीगणहरुसँग बसेका राजा परीक्षितले भने : यी फल त निकै स्वादिष्टजस्ता छन्, अब हामी सबै मिलेर खाऔं । अनि राजाले विधिको विधान अनुसार नै त्यही फल खान लागे जसमा सूक्ष्म रूप धारण गरेर स्वयं नागराज तक्षक बसेका थिए । खाँदा खाँदै उनका हातमा फलको टुक्रामा एउटा सानो कीरो देखा प¥यो । त्यसको आँखा कालो र शरीर तामाजस्तो रंगको रातो थियो । राजाले साथीहरुसँग ठट्टा गर्दै भने :

अब त साँझ पर्न लाग्यो । सातौं दिन पनि बित्न लागीहाल्यो । मलाई त्यस सर्पसँग अब कुनै डर छैन । तर, ती मुनि साँच्चिकै सत्यवादी रहेछन् भने यसै कीराले तक्षकको रूप धारण गरेर मलाई डसोस् । यसरी शापको परिहार पनि भइहाल्नेछ !

यति भनेर मजाक गर्दै राजा परीक्षित त्यो सानो कीरोलाई काँधमा राखेर खित्का छोडी छोडी हाँस्न लागे । उनी तत्काल मर्नेवाला थिए, त्यसैले उनको बुद्धि पनि भ्रष्ट भएको थियो । उनी हाँस्न पनि राम्ररी पाएका थिएनन् कि, त्यसै क्षण, त्यसै कीराले भयंकर विषधर नागराज तक्षकको रूप धारण ग¥यो र भयानक फुंकार भर्दै राजा परीक्षितलाई आफनो विशाल लम्बायमान नागशरीरले जकड्यो अनि जोडले गर्जना गर्दै डस्यो ।

त्यसबाट भयंकर ज्वालावली निस्कियो र दन्दनाउन थाल्यो । सबै मन्त्रीहरुको भागा रे भाग भयो । राजा परीक्षित बड्याम्म ! भुइँमा ढले । उनको प्राणपखेरु उडिसकेको थियो । हेर्दा हेर्दै त्यो सारा महल पनि दन्ददनाएर जल्न लाग्यो र पलभरमै खरानीको थुप्रो बन्यो ।

यसरी, आवेशमा आउँदा हुन गएको एक विवेकहीन कृत्यको परिणतिस्वरूप विचरा राजा परीक्षितको यस्तो कारुणिक अन्त भयो ।

……..

महाभारत, आदिपर्वबाट ।