सन् २०२२ मा निकै चर्चामा रहे, सैफ अली खान । पहिलो चर्चा थियो, ऋतिक रोशनसँग बढी चर्चामा रहेको फिल्म ‘विक्रम वेधा’मा उनको भूमिकाका कारण । दोस्रो चाहिँ, बहुचर्चित रामायण फिल्ममा उनको रावणको लुकका कारण । उनको ‘आदिपुरूष’ फिल्मको रावण लुक यति आलोचित भयो कि फिल्मका निर्माताहरूले पूरै फिल्मलाई राम्रो बनाइने भनी वक्तव्य निकाल्न बाध्य भए ।
इन्डिया टुडे म्यागेजिनले गत साता उनीसँग गरेको सानो कुराकानी यहाँ प्रस्तुत गरेका छौँः
अडिबल नामक अडियो पुस्तक कम्पनीका लागि तपाईंले त पडकास्ट पनि गर्ने हुनु भएछ ?
अँ, नयाँ प्रयोग हो भन्ने लागेपछि यो गर्न तयार भएँ । केही समययता मैले केही एनिमेटेड (कार्टुन) फिल्महरूमा आफ्नो आवाज दिएको थिएँ । केहीले रूचाए । मेरा लागि नयाँ काम सिक्नु, नयाँ अनुभव लिनु, आफैँलाई ज्यूँदो बनाउनु हो । त्यसैले मैले यस्ता काम बेलाबेलामा गरिरहन्छु । मैले केही समयअघि मार्वल कमिक्स कम्पनीको ‘वेस्टल्यान्डर्स’ नामक शृंखलामा आवाज दिएँ । त्यो आवाज दिन यति धेरै मिहिनेत गर्नुपर्यो कि ‘आदिपुरूष’ फिल्मको डबिङ (आवाज दिने) काम निकै छिटो र छरितो तरिकाले सम्पन्न भयो । यसको प्रशंसा फिल्मका निर्देशकले समेत गरेपछि ‘वेस्टल्यान्डर्स’ले निकै मिहिनेत गराएछ भन्ने लाग्यो ।
मार्वल कम्पनीका फिल्ममा कमिक्सका धेरै चरित्रहरूमध्ये सबैभन्दा मन पर्ने कुन हो ? तपाईं कुन पात्रको काम गर्न उद्दत हुन्छु भन्ने लाग्छ ?
मलाई मन पर्ने त भल्भोरिन नै हो । अर्को फेन्टास्टिक फोर समूहको ह्युमन टर्च पनि उत्तिकै मन पर्छ ।
तपाईं त किताब पढ्न हुरूक्क हुने मान्छे, अडियो बुकलाई चाहिँ के मान्नुहुन्छ ?
मैले कहिले पनि किताबलाई अडियो बुकका रूपमा सुनिनँ । तर मैले स्टेफन फ्राईका कयौँ टिप्पणीहरू सुनेको छु र त्यो मन पराएको छु । द सेभेन डेडली सिन नामक रोचक सो छ । म उनको प्रशंसक हुँ तर घरमा छोरा तैमूर चाहिँ कथा पढ्ने भन्दा पनि सुन्ने कुरामा रूचि राख्छ । म बच्चा छँदा आमा (शर्मिला टैगोर)ले बिङ कस्बीले रेकर्ड गरेका केही अडियो चक्काहरू ल्याउनु भएको सम्झन्छु । त्यसबेला मैले द एडभेन्चर्स अफ टम स्वेयर अडियोमा नै सुनेको हुँ तर खासै चित्त बुझेन ।
तपाईंले शुरूताकामै नेटफ्लिक्सका शृंखला र फिल्महरूमा काम गर्नुभयो । अब अर्को प्रयोगका रूपमा अडियो पडकास्टमार्फत श्रोताहरू झुम्मिएलान् भन्ने लाग्छ ?
राम्रा कुरामा सबै झुम्मिन्छन् । सुन्दै तपाईं अघि बढ्न सक्नुहुन्छ । केटाकेटीहरूले सामूहिक रूपमा सुन्दै छलफल गर्न सक्छन् । अडिबल कम्पनीले अडियो उद्यमका लागि ठूलो राशि खर्चिरहेका छन् । यसका लागि ठूलो मुटु चाहिन्छ । उनीहरूले राम्रा प्रतिभा र स्वरलाई अघि बढाइरहेका हुँदा यसको लोकप्रियतामा पनि मलाई शंका छैन ।
मैले शुरूताका नै जब ‘सेक्रेड गेम्स’ शृंखलाका लागि नेटफ्लिक्ससँग सम्झौता गरेँ, त्यो बेला नै म उनीहरूको काम गर्ने शैलीबाट प्रभावित भएको थियो । त्यसैले नयाँ काममा हात हाल्नु भनेको मेरा लागि नयाँ कुरा सिक्नु हो । म त्यो अवसर चुकाउन चाहन्नँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।