आलिया भट्टका लागि सन् २०२३ निकै महत्त्वपूर्ण रह्यो । उनले यही वर्ष हलिउडका फिल्ममा अभिनय गरिन् । उनी आमा पनि यही वर्ष बनिन् । उनी अभिनित फिल्म रकी और रानी की प्रेम कहानी फिल्म पनि यही वर्ष रिलिज भई विश्वभर तीन सय ४६ करोडको व्यापार गरेर हिट साबित भयो ।
रकी और रानी की प्रेम कहानी रिलिज भएर बजारमा हिट भइसकेपछि कस्तो महसुस भइरहेको छ ?
एउटा बच्चाले जसरी परीक्षा दिएपछि राम्रो अंक आउँदा जसरी लामो सास फेर्छ, मलाई पनि ठ्याक्कै त्यस्तै भएको छ । करण जोहरको फिल्म कम्पनी धर्मा प्रोडक्सन मेरालागि दोस्रो घर बराबर हो । त्यसैले म त्यहाँ काम गर्दा तनावरहित हुन्छु, मस्तीमा हुन्छु । त्यसमाथि करण जोहर, शबाना आजमी, धर्मेन्द्र, जया बच्चनजस्ता व्यक्तित्वका कारण यो मेरालागि अर्को काम सिक्ने विश्वविद्यालय बन्यो ।
तपाईंले त व्यापार पनि शुरू गर्नुभएछ त ?
छोरी जन्मिएपछि सुत्केरी महिला तथा शिशुहरूका लागि एउटा पहिरन कम्पनी शुरू गरेँ, एड-अ-मम्मा । यसले शिशुहरूका लागि लुगा बनाउने र बेच्ने काम गर्छ । त्यस्तै सुत्केरी महिलाका लागि आकर्षक पहिरन पनि बेच्छ । यसैगरी मैले एउटा फिल्म तथा टेलिभिजनका लागि इटर्नल सनसाइन पनि शुरू गरेकी छु । म एउटी हिरोइनका रूपमा मात्र वा कसैकी पत्नीका रूपमा मात्र चिनिन चाहन्नँ । म मेरो सिर्जनशीलतालाई व्यावसायिक रूपमा नै अघि बढाउन चाहन्छु ।
यसै वर्ष हर्ट अफ स्टोन नामक फिल्ममार्फत तपाईंले हलिउडमा पदार्पण गर्नुभयो, कस्तो लाग्यो ?
म त्यो बेला गर्भवती थिएँ । केही गाह्रो होला कि भन्ने नलागेको होइन तर फिल्ममा अर्की साथी गल गडोटले भनिन्, ‘तिमी धेरै चिन्ता नगर किनभने वन्डर वुमन फिल्म गर्दा म पनि गर्भवती थिएँ । मैले सकेँ, तिमीले पनि राम्रोसँग काम गर्न सक्छौ ।’ उनको हौस्याहटले मेरो ऊर्जा दुई गुणा बढ्यो ।
आमा बन्नुको भूमिकालाई कसरी अर्थ्याउनु हुन्छ ?
मलाई यो प्रश्न धेरैले सोध्छन् । हिजोसम्म फुक्काफाल हिँडिरहेकी एउटी स्त्री अचानक आमा बनेपछि अरूलाई जस्तो मलाई पनि अप्ठेरो त भयो । मेरा लागि हरेक दिन नयाँ, चुनौतीपूर्ण छ । र, त्यसका लागि म तयार पनि छु । मैले कतिपय उपलब्धि यही समयमा पाएकी छु । मेरी छोरी राहाले मलाई र मेरो हृदयलाई अझ विशाल बनाएकी छे । मेरो हृदयमा अब संसार अट्ने भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।