इतिहासको कुनै कालखण्डको सामाजिक व्यवस्था र त्यसले निश्चित वर्गमाथि निम्त्याएको उत्पीडनको कथाको औपन्यासीकरण हो, उपन्यास करिया । उपन्यास यौन शोषणका साथै आर्थिक तथा सामाजिक शोषणमा आधारित छ । उपन्यासकारले उपन्यासमा त्यस बखतको सामाजिक परिवेशलार्इ विस्तृत सचित्र उभ्याएका छन् । कुनै समयमा हाम्रै भूगोलमा मानिसको पशुवत् किनबेच हुने कुरा अहिले हामीलाई रमाइलो ठट्टा जस्तो लाग्नसक्छ । तर यो साँचाे हो । उपन्यासले यही मानव किनबेचको अँध्यारो इतिहास बाेकेको छ । धेरै हाेइन, आजभन्दा सय वर्ष पहिलेको नेपाली समाजमा सशक्त जरा गाडेकाे कुरूप प्रथा हो, ‘करिया’ । लेखकले त्यही कुरूप प्रथामाथि गहिरो अध्ययन-अनुसन्धान गरी तथ्यपरक घटनाका साथ इतिहासको गर्तको अँध्यारो सत्यलार्इ उपन्यासमा उतारिएका छन् ।
उपन्यासमा कैयौं यस्ता प्रसङ्गहरू छन् जुन पढ्दै गर्दा शरीरमा बर्रर… काँडा उम्रनेछ, कस्तै कठोर मन मन सजिलै कुँडिनेछ । चाहे करियाका छोराछोरीलाई आमासँग छुटाएर मालिकहरूले बेचिदिँदाको प्रसङ्ग होस्, चाहे दयानिधिजस्ता शोषकहरूले रमानाथजस्ता निमुखालाई गरेको शोषणको प्रसङ्ग होस्, पढिरहँदा आङ सिरिङ्ग भएर आउँछ । धर्मध्वजजस्ता शोषकले दिलेजस्ता निमुखाको आँखा फुटाइदिएको प्रसङ्ग वा दयानिधिहरूले गौथलीजस्ता चिचिला कुमारीहरूलाई दिएको यौन प्रताडनाको प्रसङ्ग पढिरहँदा गह भरिएर आउँछन् । करियाका मालिकहरूले दासीहरूमाथि गरेका फरक फरक प्रसङ्गका यौन शोषण कथाले जोकोहीलाई पनि भावविह्ल गराउन सक्छन् । गाँउगाँउका धर्मध्वजहरू र टोलटोलका दयानिधिहरूले कति मारे कति गौथली, मसिनी, चमेली र जमुनीहरूलाई । यी त भए उपन्यासमा देखिएका प्रतिनिधि पात्र, अझ कति थिए होलान् त्यस्ता करियाहरू ? कति कारुणिक हुँदा हुन् उनीहरूले भोगेको जीवन ? कस्तो थियो होला उनीहरूको संसार ? पुस्तक पढ्दै गर्दा यावत् कुराले जोकोहीलाई पनि सय वर्षपछाडि पुगेर सोच्न बाध्य बनाउन सक्छ ।
हो, यो सय वर्ष पहिलेको कथा हो । तर कथा मात्र होइन, यो त्यस समयको वास्तविकता हो । निर्मम यथार्थ हो । यस पुस्तकले हामीलाई आजभन्दा सय वर्ष पहिलेको जीवन देखाउँछ, समाज बुझाउँछ र संस्कार दर्साउँछ । हो, पाँच रुपैयाँ लिएको ऋणले कसरी करिया बनाउँछ ? उत्तर देखाउँछ ।
लेखकले शब्दहरूलाई यसरी खेलाएका छन् कि पढ्दा पढ्दै मनमा विद्रोही भाव जाग्रित हुन्छ । रगत उम्लिन्छ । भाषिक सरलता, विषयवस्तुको उठान, रोचक शैली र प्रसङ्गहरूले पठन पट्याटरलाग्दाे बन्दैन । जसका कारण उपन्यासको कथातत्त्वको गुरुत्वकार्षणले पाठकलाई तानिरहेको हुन्छ ।
जब मान्छेले मान्छेलाई बेच्छ तब मानवताको कुनै अर्थ रहँदैन । जहाँ मानवता हुँदैन, त्यहाँ संवेदना हुँदैन । त्यहाँ मात्र शोषण हुन्छ । गरिबी हुन्छ । र मुक्तिको तीव्र इच्छा हुन्छ । हो, त्यही समयको कथा हो करिया । यस उपन्यासले भोगेको कथा त हुँदै हो, र त्यति मात्र नभएर त्यस समयको दस्तावेज पनि हो । करिया प्रथा उन्मूलनका निम्ति गाउँघरमा भएका सानातिना प्रयासदेखि लिएर दरबारसम्म करिया मुक्तिका निम्ति गरिएका पहल, प्रयास र सफलतासम्मको विवरण हो यो उपन्यास । ऐतिहासिक विषयवस्तु बोकेको यस उपन्यास सत्ताभित्रदेखि बाहिरको समाजसम्म पुगेको छ । उपन्यासमा वर्गसङ्घर्ष र सामाजिक जीवनको कथा छ । ऐतिहासिक उपन्यासमा हुनुपर्ने सबै गुणहरू उपन्यासमा समेटिएका छन् । ऐतिहासिक पात्र, परिवेश र घटनाको सम्यक र सबल प्रस्तुतीकरण उपन्यासमा पाउन सकिन्छ।
उपन्यासमा संवादका क्रममा तत्कालीन समयको भाषाशैलीको जीवन्त प्रयोग गरिएको छ । उपन्यासको संरचना हेर्दा मुख्यतः ३७ वटा खण्डहरू रहेका छन्, र लेखकले प्रत्येक खण्डलाई विभिन्न लेखकहरूका कृतिकका शीर्षकलाई क्रमशः उपशीर्षक राखेका छन्। जसलाई नेपाली साहित्य परम्परामा अलि फरक प्रयोगका रूपमा पनि लिन सकिन्छ ।
यो उपन्यास तयार गर्नका निम्ति लेखकले धेरै अध्ययन, अनुसन्धान, अन्वेषण र मेहनत गरेको पढिरहँदा थाहा लाग्छ । किनकि, आजभन्दा सय वर्ष पुरानो इतिहासलाई यति सजीव ढङ्गबाट प्रस्तुत गर्नु चानचुने कुरा होइन, जुन अथक् अध्ययन र मेहनतबाट मात्र सम्भव छ ।
उपन्यासको अन्त्यतिर चन्द्र शमशेरले करिया प्रथा उन्मुलनका लागि गरेका कार्य तथा त्यसका लागि खेलेको भूमिकालार्इ विभिन्न रोचक संवादका माध्यमबाट प्रस्तुत गरिएको छ । चन्द्र शमशेरले यो प्रथा उन्मुलनकाे घोषणा गर्नुपूर्व कुन-कुन शासकहरूले करिया उन्मुलनका लागि कस्ता प्रयासहरू गरे भन्ने विषयको पनि चर्चासमेत उपन्यासमा गरिएको छ ।
समग्रमा, करिया केवल उपन्यास होइन । यो हाम्रो अँध्यारो इतिहासको दस्ताबेजीकरण हो । नेपाली समाजको इतिहास जान्न चाहनेहरूका लागि र इतिहासका अन्वेषणकर्ताहरूका लागि यो उपन्यासको अत्यन्तै पठनीय बन्नसक्छ । इतिहास र अध्ययन-अनुसन्धानमा चासो राख्ने व्यक्तिले पढ्नै पर्ने पुस्तक हो यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।