
मनिराम मञ्जिल
सपना देख्न कसैले छेक्दैन
कसैले रोक्दैन रहरका रहरलाग्दा सपना बुन्न
म बाँच्नु पर्छ यही समाजमा जहाँ
प्रतिपल बाध्यताका नाममा
लाखौं सपनाहरू दूर दूर पलायन भैरहेछन्
भासिइरहेछन् खाडिको तातो बालुवामा
पलायन भएको एउटा ज्यान मात्र थिएन
थियो यही देशको एउटा सुन्दर भविष्य
थियो सम्भावनाको एउटा मुहान
थियो प्रतिभाको सिङ्गो पहाड
त्यो आकाशमा उडिरहेको जहाज मात्र होइन
त्यो त हो उद्यमी पाखुराहरूको विशाल समूह
अरे ! कस्तो बाध्यता आइपर्यो हामीलाई
कस्तो विवसता !
खुसी कमाउन आफ्नै आमाबाट टाढा जानुपर्ने
कस्तो सम्पन्नता हो जुनआमाको काखबाट
पर धेरै पर मात्र पाउन सकिन्छ ?
यो सम्पति कस्तो सम्पति हो ?
जुन आमाको काख भन्दा मूल्यवान् छ
जुन आँसु बेचेर कमाइन्छ
जुन रगत बेचेर कमाइन्छ
आखिर कहाँ छ खुसी ? कहाँ छ सन्तोष ?
आमाको काखभन्दा धेरै पर
सदा हरियालीले टम्म ढाकिने
डाँडापाखा र गैरी खेतहरू
मरुभूमि तुल्य शून्य छन् तिम्रो
पसिनाको सञ्चाइका अभावले
पट्पटी फुटिरहेछन् तराईका विशाल फाँटहरू
लाग्छ तिम्रो अभावले सगरमाथा पनि
भासिइरहेछ प्रतिपल
तिम्रो अभावले हिमालयका काखमा
उम्रदैनन् अमृत तुल्य जडिबुटीहरू
न त फुल्छ पहाडमा गुराँस
न त फुल्दछ आमाको अनुहारमा हाँसो
मेरा आँखा अगाडि नााचिरहेछ
भविष्यको एउटा उराठ लाग्दो दृश्य
आदिम युगको कुनै कालखण्डमा
बिलुप्त भएको कुनै सभ्यताको भग्नावशेष
जस्तो देखिदैछ आमाको अनुहार
अझै पनि शून्य आँखाले आमा हेरिरहन्छन्
समृद्ध प्रदेशहरूमा अझै पनि आफ्ना सन्तानहरू
बाध्यताको नाममा करुण याचना गरिरहेछन्।
मनिराम मञ्जिल
बाग्लुङ ,हाल काठमाडौं



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










