म भन्दिनँ‑ तिमी नजाऊ परदेश
तिमी निस्फिक्री जान सक्छौ
सुदूर परदेश
घुम्न सक्छौ विश्वका तमाम आश्चर्यहरू
बटुल्न सक्छौ वैश्विक अनुभूति
नाप्न सक्छौ मृतसागरको गहिराई
पर्गेल्न सक्छौ
प्रशान्त महासागरको फैलावट
देख्न सक्छौ
साइबेरिया चिस्यान र अमेजनका
बोटवृक्षको सघनता
नियाल्न सक्छौ वैकालको
स्वच्छ पानीमा आफ्नै स्निग्ध अनुहार
हो, तिमीले हिरोसिमा र नागासाकीको
विगत र वर्तमान हेर्नुपर्छ
काला जातिको स्वर्णिम संघर्ष हेर्नुपर्छ
इदि अमिनको इतिहासदेखि
माओ र लेनिनको चिहानसम्मको
भिन्नता छुट्याउनु पर्छ
घुमेर विश्व परिवेश
विश्वका कुनकुन साँध, सिमाना
छुट्याएको छ गोर्खाली रगत र पसिनाले
हेर्नैपर्छ र बुझ्नैपर्छ

आणविक युद्धको
बर्बरता भोगेको युरोप
अभाव, गरिबी र भोकमरीमा
पिल्सिएका अफ्रिकी देशहरूको
इतिहास र वर्तमान बुझ्नुपर्छ
कसरी उठेका छन् ? अरेबियन
मरुभूमिमाथि समृद्ध इमारतहरू
साँचेर अनुभव लिएर विश्वपरिवेशको
यथार्थ चित्र
तिमी आफैँले कोर्नुपर्छ आफ्नो
देशको मार्गचित्र र सुन्दर भविष्य

आज तिमी र तिमीहरू
जसरी गइरहेकाछौ सुदूर परदेशमा
त्यसरी नै फर्कनु एकदिन बटुलेर अनुभव
सँगालेर वैश्विक अनुभूति
सिँगार्न आफ्नै मातृभूमि
तिमी उतै नअस्ताउनू, उतै नसेलाउनू
नभुल्नू आमाको काख र ममता
नबिर्सनू, जहाँ पुगे पनि आफू हुर्किएको
आँगन र गाउँघर
यी हिमाल, झर्ना र खोलाहरूले
पहाड कन्दरा, भीर र फाँटहरूले
लेक र बेसीहरूले
सदासदा पर्खिरहनेछन् तिमीलाई
तिम्रो सामर्थ्यलाई
तिम्रो सिर्जनशील पौरखलाई

तिम्रो बिदाइमा हल्लिएका हातहरू
तिम्रै स्वागतार्थ पुष्पगुच्छा लिएर
पर्खिरहेछन्
नगल्दै हातहरू, नओइलाउँदै फूलहरू
नमुर्झाउँदै सपना र नमर्दै आशाहरू
तिमी फर्कनु
अवश्य फर्कनू ।

मनिराम मञ्जिल