नागरिकबीच सामाजिक दूरी कायम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दीकोे घोषणा गरेपछि अवकाश प्राप्त पूर्वसचिव शेखरजीको परिवारका सदस्य सबै तनावमा आए । तनाव काममा जान पाइन्न, कमाएर ल्याउन पाइन्न, के खानू, कसरी बाँच्नू ? भनेर होइन । बजारमा पैसाले सामान किन्न पाउने अवस्था रहेसम्म शेखरजीको परिवारलाई के खाऊँ, के लाऊँ भन्ने चिन्ता लिनुपर्ने आवश्यकता छैन । सुविधाका सामग्री छैन भन्नु केही छैन । एक्लै दोक्लै समय बिताउनुपर्ने पनि होइन । घरमूली शेखरजी, उनकी धर्मपत्नी शकुन्तलाजी, छोरो विजय, बुहारी नम्रता र नातिनी श्रेया गरी पाँच जनाको परिवार भएपछि घरमा बस्नटिक्नै गाह्रो पनि नहुनु पर्ने हो ।
समस्या परिवार सानो र ठूलोको हैन, समस्या घरमा कसैको कसैसँग कुरो नमिल्नुको हो । भनेपछि पूर्वसचिव शेखरजीको घरमा दैनिक झैँझगडा हुन्छ त ? हैन हैन । कुरो नमिल्नुको अर्थ झगडा पर्नु पनि त हैन नि । कुरो नमिल्नु र झगडा पर्नुबीच धेरै खुड्किला, श्रेणी हुन्छन् । शेखरजीको जस्तो शिक्षित र प्रतिष्ठित परिवारले दन्तबाझनद्वारा चित्त नबुझाइ प्रकट गर्ला र ? भित्रभित्र भुसको आगोझैँ सल्केको मनमुटाव न कसैले देख्छ, न कसैले भेउ पाउँछ । मीठो बोल्छन्, कसैले कसैलाई केही भन्दैन तर कसैको कसैसँग हित्तचित्त पनि मिल्दैन ।
शेखरजी सरकारी सेवाको उच्चतम पद सचिवबाट अवकाश पाएका, कसैलाई मान्छे गन्दैनन् । आफैँलाई पूर्ण ठान्छन्, आफ्नै संसारमा रमाएका छन् भलै उनको संसारमा आफ्नै घर भने पर्दैन । बस्ने, खाने, सुत्ने ठाउँ घर, कुराकानी, गफगाफ, सरसल्लाह बाहिरकासँग चल्छ । घरमा त उनको गफ सुन्न लायक पनि कसैलाई देख्दैनन् । के बुझ्छन् यिनीहरू ? यस्तो धारण राख्छन् । अरूलाई त खासै केही भन्दैनन् तर श्रीमतीलाई भने कचकच कचकच गरिरहन्छन् । श्रीमतीले बोलेकोमा पनि खोट देख्छन्, गरेको काममा पनि कमी देख्छन् । तिनले यसो गरौँ भनिन् भने उनी उसो गरौँ भन्छन् । श्रीमतीले १० खर्च गरे उनलाई धेरै लाग्छ, ५ खर्च गरे कञ्जुस्याइँ गरेको भन्छन् । पकाएर दिएको पनि एकथोक ठोस नलगाई खाँदैनन् । शकुन्तलाजी मुर्मुरिन्छिन् तर केही भन्दिनन् । ठोस लाउने बाहेक घरगृहस्थीको काममा सिन्कोसम्म भाँचिने आश पनि छैन उनलाई श्रीमान् बाट ।
शेखरजीलाई पनि के दोष दिनू ? उनलाई कसैले सिन्को भाँच्न लगाएको भए न जानून्! हुनेखाने बाआमाका पाँचपाँच छोरा खेर गएर बल्लबल्ल बाँचेका उनको बाल्यकाल पुल्पुलिएर बित्यो । वचन भुइँमा खस्न नपाई पूरा हुन्थ्यो । आमाको चौबीसै घण्टा छोराको खानपान, सरसफाइ, स्याहार, सुसारमा बित्थ्यो । अलिकति बिरामी भए भने रोएर हुरुक्कै हुन्थिन् । छोराको सुस्वास्थ्य र दीर्घजीवनको लागि व्रत, तीर्थ, पूजापाठ, झाकल, जान्ने, झारफूक के गरिनन् ? कसले के सिकाइदिएछ कुन्नी चोक बढार्न आउने मैचालाई पाँच रुपियाँमा छोरो बेचिन् । मैचाका पाँच छोरा तीन छोरी सबै सद्दे, सग्ला, थाम्मरथुम्मर छन् । उसको कमाइ त्यही हो, लोग्ने जहिल्यै जाँडले टिल्ल परेको हुन्छ, छोराछोरीलाई के खुवाउँदी हो ? उसको कोखै राम्रो रे ! त्यसैले उसैको छोरा बनाइदिए दुष्टात्माले आँखा लगाउन सक्दैनन् रे ! छोराको रक्षा होस् भनेर मैचाको छोराको जडाउरी भोटो मागेर पनि लगाइदिइन् । तैपनि शेखरजी पिलन्धरका पिलन्धरै नै रहे ।
जतिजति स्याहार्यो, उतिउति छोरो जिङ्ग्राउँदै गएको देखेर बाआमा चिन्तित हुनु स्वाभाविकै हो । एक थोक न एक थोकले कहिल्यै छाड्दैन । के गर्ने होला ? भनेर पुरेतबाजेसँग सोध्दा उनले बाबुको व्रतबन्ध गरिदिऊँ, ग्रहदशा पनि सप्रन्छ, रोग पनि काटिन्छ भन्ने सल्लाह दिए । बाले छोराको चिना तीन जन्मअघिको कुरा जस्ताको तस्तै भनिदिने भनेर नाम कमाएका ज्योतिषीलाई देखाए । ज्योतिषीले त्यही वर्ष लगन जुराइदिए । एउटा छोराको पहिलो शुभकार्जे धुमधामले गर्ने रहर भए पनि ज्योतिषीले कार्जे भड्किलोसँग नगर्न कडा निर्देशन दिएको कारण पाँच वर्षका शेखरजीलाई नारनथानमा लगेर टाकटुक पारेर जनै भिराउने र मन्त्र सुनाउने विधि पूरा गराए ।
उसै त खिनौरा शेखरजी धोती फेरेर, जप गरेर, भान्छामा चढेर अग्रासन हालेर भात खानुपर्ने नियममा परेपछि झन् झन् टाक्सिँदै गए । उनलाई मुख धुन त आउँदैनथ्यो भने आफैँ खाएर पेट भर्नुु त परै जाओस् । हातमा गाँस लिएर मुखसम्म लैजाँदा आधाभन्दा बढी भात पोखिन्थ्यो नै । सेलाएपछि छ झन् खानै सक्दैनथे । भोकभोकै पर्न थाले । आमालाई चिन्ता भयो । अक्कल झिकिन्, भान्छामै धोती फेराएर पिर्कामा बसालेर बल हाल्न लगाउने अनि भातको थाल तातो मकलमाथि राखेर छोरालाई काखमा लिएर फकाई फकाई खुवाउने । यसो गरेपछि बल्ल छोराको पेट भरिन थाल्यो । आमाको हातबाट भात खाएरै शेखरजी चौध वर्षका भए ।
व्यावहारिक जीवनमा जस्तो भए पनि पढाइमा शेखरजी अब्बल निस्किए । राम्रो नम्बर ल्याउँथे । बानीबेहोरा पनि राम्रो थियो । सबैसँग मिल्थे, शिष्ट भएर कुरा गर्थे । समय बित्दै गयो । शेखरजीले पढाइ सके, धनवैभवको कमी थिएन, इज्जतमात्र थप्नु थियो । सरकारी जागिरभन्दा राम्रो इज्जतिलो केही छैन भन्ने जमानाका न परे । लोकसेवा लडे, सफल भए र अधिकृतमा नियुक्ति पाए ।
अब आमा छोराको बिहेको सपना देख्न थालिन् । धेरैतिर कुरो चलाइन् । शेखरजीजस्ता भूत, वर्तमान, भविष्य तीनैथोक उज्ज्वल भएका केटालाई छोरी दिनेको के कमी ? अनेक ठाउँबाट कुरो आयो र अन्त्यमा सबैको मन जितेर शकुन्तलाजी शेखरजीकी दुलही बनेर भित्रिइन् । केही दिन छरछिमेक र नातागोताबीच शेखरजीले भाग्यमात्र होइन दुलही पनि नम्बरी पाएको विषय प्रमुख समाचार बन्यो ।
वास्तवमा नै शकुन्तलाजी लायक दुलाहाकी प्रतीभाशाली दुलही थिइन् । पद्मकन्या कलेजबाट राम्रो अङ्कमा स्नातक तह उत्तीर्ण गरेकी । साहित्यमा रुचि थियो । कथा, कविता, निबन्ध, नाटकसमेत लेख्थिन् । सानै उमेरदेखि वादविवाद, वक्तृत्व कला प्रतियोगितामा भाग लिएर पुरस्कार, प्रमाणपत्र जितेकी थिइन् । बिहेपछि पनि पढाइ जारी राख्ने, जागिर खाएर स्वावलम्बी बन्ने, गृहिणीमात्र भएर नबस्ने विचार थियो । तर हुन गयो त्यसको उल्टो । बिहे भएको अर्को महिना गर्भ बस्यो । जसो तसो पढाइ जारी राखिन् तर परीक्षाको बेलामा छोरो जन्मियो । तैपनि हरेस खाइनन् । अर्को वर्ष जसरी पनि जाँच दिन्छु भन्नेमा दृढ थिइन् तर त्यही बेला ससुराको निधन भयो । जाँच फुस्सा । बिस्तारै सम्हालिन खोज्दै थिइन्, छोरी जन्मिई । फेरि साहस बटुल्दै थिइन्, शेखरजीलाई संयुक्त राज्य अमेरिकामा विद्यावारिधि गर्ने अवसर प्राप्त भयो । छोरो पढ्न गएको वर्ष दिन पनि नबित्दै आमाले संसार छाडिन् ।
दाम्पत्यसँग सम्बन्धित यस्ता हरेक घटना वा उपलब्धिको प्रभाव शकुन्तलाजीलाई पर्यो । सन्तान जन्मनु उपलब्धि हो तर त्यसको प्रभाव उनलाई पर्यो । शेखरजीले विदेशमा पढ्ने मौका पाउनु उपलब्धि थियो, उनले आफ्नो पढाइलाई तिलाञ्जलि दिनुपर्यो । ससुराको निधनले लगभग विक्षिप्त भएकी सासू सम्हाल्ने जिम्मा छोराको भन्दा बुहारीको मानियो । छोराछोरीको पालपोषण, पढाइलेखाइ, घरव्यवहार, श्रीमान्को प्रगतिबाहेक केही बाँकी रहेन उनको जीवनमा । उनको तर्कशक्ति, धाराप्रभाव बोल्ने क्षमता, साहित्य चेत सबै एकादेशका कथा भएर छुट्दै गए, बिलाउँदै गए । साथीभाइ, नातागोता, आफन्त सबै बिर्सिन् । आफैँलाई बिर्सँदै बिर्सँदै गएर पूर्णकालीन गृहिणीमा अनुवाद भइन् । त्यहीँ चुर्लुम्म डुबिन् । पछिपछि त त्यहाँबाट उम्कने चाहना नै हरायो ।
छोराले पढाइ सकेर नोकरी गर्न थाल्यो । छोरी बिहे गरेर आफ्नै घर गई । शेखरजीले जागिरबाट अवकाश पाए । अब छोराको बिहे गरिदिन पाए जिम्मेवारी पूरा हुन्थ्यो भन्ने लागेर विवाह योग्य कन्यातिर ध्यान पुर्याउँदै थिइन्, छोराले दुलही छानिसकेको जनाउ दियो । उनले वज्र परेको महसूस गरिन् । बुहारी रोजेर ल्याउँछु भन्ने सोच पनि हावा भयो । जीवनमा केही कुरो आफ्नो इच्छाले हुँदैन भनेर लागेर खिन्न भइन् ।
खिन्नता दबाएर केटीबारे सोधिन् । छोराले उत्साहित भएर बतायो । ऊ काम गर्ने ब्याङ्कले बोलाएको बेलामा आएर कानूनी सल्लाह दिने स्वतन्त्र अधिवक्ता नम्रता । राम्री छ, असल छ, मेधावी छ, पढाइ पनि राम्रो, जागिर र कमाइ पनि राम्रो । सबैथोक राम्रो । अनि नराम्रो के त ? पहिल्यै भनेको भए अहिलेसम्म एउटा बच्चाको बाउ भैसक्थ्यो । छोराले भेद खोल्यो । जात अलिकति तलमाथि पर्छ । त्यो अति साधारण विषय हो भन्ने देखाउन खोज्दाखोज्दै पनि आमाको आँखामा हेरेर भन्न नसक्नुको अर्थ त्यसलाई उसले त्यति सानो विषय पनि ठानेको छैन भन्ने बुझ्न गाह्रो थिएन ?
कसैको विरोध वा समर्थनको केही अर्थ थिएन । उनीहरूले निश्चय गरिसकेका थिए, अभिभावकलाई जानकारीसम्म गराउनु थियो, गराइहाले । त्यही वर्ष नम्रता दुलही भएर घरमा भित्रिइन् । शकुन्तलाजी खुसी भइन् कि दुःखी ? कसैले थाहा पाउन सकेन । तटस्थ भावले सबैथोक गरिन् । हाँस्नपर्ने ठाउँमा हाँसिन्, सरसामान छानेर किनिन्, रत्यौती पनि नाचिन्, तर कता कता के के नमिलेजस्तो लागिरह्यो । धुमधामले बुहारी भित्र्याइन् तर हृदयमा भने भित्र्याउन सकिनन् ।
बुहारी नम्रता छोराले बयान गरेजस्तै सबै दृष्टिकोणले उत्तम थिइन् । यो युगको प्रतिनिधि पात्र । कर्तव्यप्रति सचेत भैकन आफूलाई कीमार्थ बिर्सन नसक्ने । मीठो बोल्थिन्, आदर प्रकट गर्थिन् । घरायसी काममा चाख देखाउँथिन्, सघाउन खोज्थिन् तर उनको काम, उनको पेशा, व्यवसायसँग कुनै मूल्यमा सम्झौता गर्दिनथिन् । उनको जीवनमा सबैको उचित स्थान थियो, उचित व्यवहार गर्थिन् तर त्यसभित्र सिङ्गो आफूलाई पनि स्थापित गर्थिन् ।
बिहे भएको एक हप्तापछि अफिसबाट १० दिन बिदा मिलाएर छोराबुहारी हनिमुन मनाउन गए । बाबुआमालाई जानकारी दिए, तर अनुमति खोजेनन् । आफ्नो निर्णयमा कसैको रायसल्लाह आवश्यक देखेनन् । फर्केर आएपछि दुवै आआफ्नो काममा गए । शकुन्तलाजी जिल्ल परिन् । त्यो ठाउँमा आफूलाई राखेर हेरिन् । उनी विवाह भएर आउँदा जे सोच लिएर आएकी थिइन्, आज बुहारी त्यही गर्दैछिन् । उनले साहस देखाउन सकिनन्, अरूको आवश्यकतालाई प्राथमिकता दिँदा आफैँ बिलाइन् । अहिलेका दुलही घर सम्हाल्न र छोराछोरी पाउन मात्र बिहे गर्दैनन् । विवाहलाई धार्मिक भन्दा सामाजिक सम्बन्ध ठान्छन् । अर्धाङ्गिनी नभएर सहयात्री ठान्छन् । उनलाई यो नराम्रो पनि लागेको छैन । नम्रतामा उनले अफ्नै प्रतिच्छाया देखिरहेकी छन् । तर पनि के नमिलेजस्तो, के नपुगेजस्तो उनलाई लागिरहन्थ्यो ।
शेखरजी जसले जिन्दगीमा आफैँले एक गिलास पानी सारेर पिएनन्, खाएको ठाउँबाट चियाको कप उठाएर भान्छासम्म लगेनन्, एक मुठो रायोको साग किनेर ल्याएनन् भने अहिले आएर उनलाई घरको कोतेधन्दाप्रति के खाएर रुचि पलाउँदो हो ? ३२ वर्ष खाएको जागिरको ब्याजले नै पुगेको छ उनलाई, खान पनि गफ गर्न पनि । पेन्सनले उनको खर्च चलिहाल्छ, अनुभवले गफ चल्छ । राजा महेन्द्रको पालादेखि गणतन्त्र कालसम्मका सबैको नालीबेली थाहा छ उनलाई । हाम्रो पालामा भनेर पुराना कुरालाई तेलमसलामा लपेटीलपेटी गफ गर्न पाए भने न खानाको पर्वाह हुन्थ्यो, न सुत्नको । नयाँ मान्छेलाई खूबै स्वादिलो लाग्ने उनको गफ परिवारलाई भने अमन हुन्छ किनभने ती प्रत्येक कुरा कमसेकम एक सय एकपल्ट सुनिसकेका छन् सबैले । उसै पनि शेखरजी श्रीमती र छोरालाई यस्ता कुरा सुन्न लायक पनि ठान्दैनन् ।
छोरो पनि प्राकृतिक नियमको सिद्धन्तअनुसार बुवाभन्दा आमासँग नजिक छ, यद्यपि उसको दुवैप्रति अपार स्नेह र सम्मान छ । यसै पनि सन्तानसँग मित्रतापूर्ण सम्बन्ध हुनसक्छ भन्नेमा शेखरजीलाई विश्वास छैन । त्यसमाथि छोरालाई आलोकाँचो, अपरिपक्व नै ठान्छन् र अर्तिउपदेश दिइरहन्छन् । छोराले भने बाबुले दिएको सल्लाहविपरीत दुईपल्ट जागिर छाड्दै नयाँ ब्याङ्कमा नियुक्ति लिँदै गरिसक्यो । यस्तो तिहुन चखुवा प्रवृत्तिले जागिरमा क्षणिक लाभ देला तर पेशागत दक्षता हासिल हुँदैन भनेर उनले छोरालाई नसम्झाएका पनि होइनन् । तर ऊ पनि के कम ? शेखरजीको छोरो न हो ? आफूभन्दा जान्ने कसैलाई ठान्दैन । उसले हिसाबकिताब, जोडघटाउ नगरी यसो गरेन होला । मौकामा आउँछ, पर्खँदैन । प्राइभेट अफिसले फाइदा हुने देखेरै न मान्छे लिन्छ । राम्रो ठाउँमा जान पाइन्छ भने खोक्रो आदर्श च्यापेर किन बस्ने ? भन्ने धारणा छ उसको । बुबाजस्तो एकपल्ट सरकारी सिन्दूर लगाएपछि जिन्दगीभर उसैको सतमा बस्नुलाई ऊ आदर्श ठान्दैनन् ।
शेखरजीलाई त्योभन्दा पनि पीर कतै छोराले गलत काम त गरिरहेको छैन ? भन्ने छ । ब्याङ्कको जागिर, घर आउने ठेगान छैन । रातको खाना बाहिरै खाएर आउँछ । चुस्कीबिना बाहिरको खान पूर्ण मानिँदैन । यसरी दिनका दिन बाहिर खानु, पिउनु राम्रो हो र ? भन्यो भने ‘मेरो कामै यस्तै छ अफिसभित्र भन्दा बाहिरै धेरै काम बनाउनुपर्छ’ भनेर मुखमा बुजो लगाइदिन्छ । कोसँग सङ्गत छ, कस्तासँग उठबस छ ? थाहा छैन । पिउने कुरामा पनि लिमिटमै हुन्छु भन्छ । धेरै अबेर आएको दिन नम्रताले ढोका खोल्छिन्, लिमिटमा थियो कि अनलिमिटेड के थाहा ? छोरीको बाउ भैसकेको छोरालाई कति टोकस्नु ? राति मापसे छल्न भनेर ट्याक्सीमा आउँछ, बिहान अबेर उठ्छ, टयाक्सी लिएर गाडी लिन जान्छ । आएर खाना खान्छ, अनि अफिस जान्छ । शारीरिक व्यायाम शून्य । यस्तो दिनचर्याले स्वास्थ्यमा कस्तो असर पर्ला ? चिन्ताका विषयहरू यिनै हुन् ।
छोरो पनि बाबुजस्तै घरायसी काममा सरोकारै नराख्ने भए पनि विदेशमा पढ्न बसेको बेलादेखि चियाखाजासम्म बनाएर खान जान्दछ । हजुरबुवा, बाबा हेरी नातिनी नै काम गर्न जान्दछे बरु । तर शकुन्तलाजीलाई कसैले गरेको काम चित्त पनि बुझ्नुपर्यो नि ? नातिनीलाई काम लगाएकै मन पर्दैन । उनलाई त नम्रताले गरेको काम पनि मन पर्दैन । डौँठे पारा, हिँडेको पनि रिफेलजस्तो खुट्टा बजार्दै, काम पनि हडबड हडबड । कस्तो हतार ? भान्छामा ध्यान दिएर काम गर्नु नि ! उतै पानी पोखेको छ, उतै चामल छरेको छ, पाकेको कुरो खन्याएर त्यसैमा अर्थोक पकाए हुनेमा परिकारैपिच्छे भाँडा हालेको छ । भाँडा धेरै देखी भने धन्दा गर्नेले समेत ‘आज भाउज्यूले पकाएको हो ?’ भनेर सोध्छे । न तरकारीमा तेल, न दालमा नून, न ज्वानोमेथी डढेको हुन्छ, न आलु राम्ररी भुटिएको हुन्छ । ढङ्ग मरु कसो गरु ? मोबाइलमा फोन आएको तीन घण्टापछि कोठामा जाँदा थाहा पाउने शकुन्तलाजीलाई बुहारीले खाना पकाउँदा मोबाइल बोकेको, हेरेको, जवाफ लेखेको मनै पर्दैन । ध्यान जति त्यही ठाँडोमा छ, अनि केको खाना मीठो होस् भनेर मनमनै मुर्मुरिन्छिन् ।
नम्रताले सासूको भाव नबुझेकी हैनन्, तर उनलाई पनि त समस्या छ नि ! सासूले काम गरेको हेरिरहन पनि भएन, काम गर्न जाऊँ सासूलाई चित्तै बुझ्दैन । क्या फसाद ? सबैलाई आफ्नै पारामा ल्याउन खोज्नु समस्याको जड हो । उच्च रक्तचापको समस्या भएकी सासूकै लागि भनेर बुहारी सादा खाना बनाउँछिन् तर उनैलाई नून, तेल, मसला, पीरो ट्वाक्क चाहिन्छ । बुहारीले बनाएको खाना खल्लो लाग्छ । त्यही ट्वाक्क खाँदा खाँदा उच्च रक्तचापको औषधि बढेको बढ्यै छ । मैले गरेको चित्त बुझ्दैन भने किन गरिरहूँ ? भनेर नम्रता सकेसम्म अबेर घर आउने, बिहान पनि काम देखाएर छिटै निस्कने गर्थिन् । बिदाको दिन पनि खाना खायो, नुहाइधुवाई गर्यो, छोरीलाई चिटिक्क पार्यो, कि माइत हिँड्यो, कि सिनेमा हेर्न गयो, कि बजार घुम्न गयो गर्छिन् । सासूलाई बुहारी बुहारीलाई सासू देख्यो कि उकुसमुकुस हुन्थ्यो । सकेसम्म तर्कनै खोज्थे ।
जे जसो भए पनि लामो समय साथसाथै बिताउन नपरेकोले चलिरहेकै थियो तर एकअर्कासँग एक पल छुट्टिन नमिल्ने बन्दाबन्दी आइदियो । सबैले सबैलाई झेल्नै पर्ने भयो । शेखरजीलाई गफ गर्न नपाएमाथि पत्रिका नआउने पीर । शकुन्तलाजीलाई भान्छामा बुहारीलाई झेल्नुपर्ने पीर । नम्रतालाई सासूले काम गरेको हेरेर बस्न पनि नमिल्ने, काम गर्दा चित्त बुझाउन पनि नसक्ने पीर । छोरालाई साँझमा ठमेल र झमेलका रेष्टुरेन्टको रमझम छुट्ने पीर । नातिनी झन् केटाकेटी, उसै पनि चञ्चले । बिदामा बाबामामुले घुमाउन लैजान्थे, त्यो भएन भन्ने पीर । आयो दशैँ ढोल बजाइ, गयो दशैँ रिन बोकाइ भनेझैँ आयो बन्दाबन्दी पीर बोकाइजस्तो भयो ।
पहिलो दिन बिहान चिया पिएपछि सधैँझैँ गफ गर्ने थलोमा जान लागेको शेखरजीलाई छोराले किन बाहिर जानू ? भनेर रोक्न खोज्यो । उनी केको टेर्थे ? नकरा तँ ! भन्दै बाहिर निस्केका थिए, एकै छिनमा फर्केर आए । तपाईँजस्तो मान्छेले त कुरो बुझ्नुहुन्न भने अरूलाई के भन्नु ? भनेर पुलिसले मारसँग थर्काएछ । लुम्रुङ परेर घर आएर ल्यापटप खोलेर समाचार पढ्न थाले ।
बिहान सात बजेसम्म आँखा नखोल्ने छोराले पाँचै बजे बजार गएर सामान किनेर ल्याइसकेको थियो । नम्रताले भान्छाको भन्दा अर्थोक अर्थोक काम गर्ने मनस्थिति बनाइसकेकीले कुचो लगाउन, घर पुछ्न थालिन् । छोरो गमलामा पानी हाल्न थाल्यो । शकुन्तलाजीले पनि बुहारीले भान्छामा जे गरे पनि झेल्ने मनस्थिति बनाएकी थिइन् तर उनी सरसफाइमा लागेको देखेर खाना पकाउन थालिन् । बिहानभरि सुत्ने बाबा, अफिस हिँडिहाल्ने मामु घरको काममा लागेको देखेर नातिनी पनि सघाउन थाली । ऊ कामभन्दा धेरै हल्ला गर्दै थिई । हल्ला सुनेर शेखरजी बरण्डामा निस्के । उनलाई पनि त्यो खेलमा मजा आउँछ जस्तो लाग्यो । तल ओर्लेर बारीको झार उखेल्न थाले । काम गरेको भए पो जान्नू ? झार भनेर तरकारीका बेर्ना उखलेछन्, पछि चिनेर झारमा लुकाए ।
बाहिरको काम सकेर चारै जना माथि आउँदा खाना तयार भैसकेको थियो । सलाद काट्न बाँकी देखेर नम्रताले डिजाइन डिजाइन बनाएर काटिन् । आज पहिलो पल्ट शकुन्तलाजीलाई नम्रता भान्छामा हुँदा उकुसमुकुस भएन किनभने उनलाई पटक्कै गर्न मन नलाग्ने जति काम सबै तिनले गरिसकेकी थिइन् । खाना खाएपछि पनि छोरा, बुहारी, नातिनी जसले जे भेट्यो त्यही काम गरेर एकै छिनमा भान्छा सिनित्त परिदिए । बाहिरबाट काम गर्न आउनेलाई पनि नआउन भनेकोले सबै काम आफैँ गर्नुपर्ने थियो । बारीको काम धन्दा गर्नेले गरिदिन्थी भने बगैँचा मालीले स्याहार्थ्यो । यी सबै काम कसरी भ्याउने ? भनेर शकुन्तलाजी चिन्तित थिइन् । तर सबथोक एकदम सजिलोसँग सकिएको देखेर शकुन्तलाजी चकित पनि हर्षित पनि भइन् ।
यसरी पहिलो बिहान राम्रैसँग बित्यो । त्यसपछि सबै आआफ्नै काममा लागे । शेखरजी टिभी हेर्न थाले । छोरा र बुहारी ल्यापटपमा अफिसको काम गर्न थाले । नातिनी साथीसँग फोनमा कुरा गर्दै थिई, एकै छिनमा उसको स्वर मलिन भयो । टोलाउन थाली । भएछ के भने साथीले उसलाई आफैँले लेखेको कविता लय हालेर सुनाइछ । ऊ पनि कविता लेख्छे, तर उसका कविता साथीका जस्ता लयात्मका छैनन् । अनि परेन त पीर ? शेखरजीले नातिनीलाई लय हालेर कविता वाचन गर्न सिकाइदिउँला भनेर फकाउँदै किताबको र्याकमा देवकोटाको मुनामदन खोज्न थाले । तर के भेट्टाउँथे ? उनलाई के सामान कहाँ राखेको छ थाहै हुँदैनथ्यो । उनको आँखा मिलाएर राखिएको एक चाङ कापीमा पर्यो । उनले ती सबै उठाएर बैठकमा लिएर आए र पल्टाएर हेर्न थाले ।
शेखरजी एक हैन दुई हैन तीन छक परे । अति सुन्दर हस्तलेखनमा शकुन्तलाजीद्वारा रचिएका कथा, कविता, निबन्ध र नाटकका पाण्डुलिपि । अञ्चलस्तरीय, जिल्लास्तरीय, विद्यालयस्तरीय वक्तृत्व कला, वादविवाद, साहित्यिक प्रतियोगितामा विजयी भएर पाएका पुरस्कार, प्रमाणपत्रहरू । ओहो ? के हो यस्तो ? विवाह भएको छयालीस वर्ष बितिसक्दा पनि श्रीमतीसँग उनको चिनारी नै भएको रहेनछ । तिनको यो रूप त कहिल्यै उनको सामुन्ने आएको थिएन । आफ्नो व्यक्तित्वलाई कति घनीभूत बनाएछन् भने त्यसको छत्रछायामा श्रीमतीको अतित्व ओझेलमा परेर अदृश्य भैसकेको समेत उनले चालै पाएनछन् ।
कविता सिकाइदिन्छु भनेका हजुरबा अर्कैतिर लागेको देखी रुञ्चे अनुहार लगाएर बसेकी नातिनीलाई हजुरआमाले कारण सोधिन् । उसले बताएको समस्याको समाधान कसैसँग थियो त शकुन्तलजीसँग थियो । उनले नातिनीलाई काखमा लिइन् र लेखनाथको पिँजडाको सुगा कविता लयसहित वाचन गर्न सिकाउन थालिन् । लेखनाथ पौडेलले करुण रसमा लेखेको बालक बबुरो कवितालाई रौद्र रसमा गाएको सुनेकी नातिनी अचम्म मान्दै कविताको भाका टिप्न थाली । शकुन्तलाजीले कति सरल तरिकाले सिकाइन् भने एकै छिनमा नातिनीले भाका टिपी । साँझसम्म कवितै कण्ठ पारेर गाउन सक्ने भैसकेकी थिई । शकुन्तलाजीलाई आज आफ्नो जीवन सार्थक भएको महसूस भयो ।
नम्रताले बनाएको चियाखाजा खाएपछि नातिनीले शकुन्तलाजीलाई तानेर बैठकमा लगी र बालक बबुरो कण्ठ भयो कि भएन भनेर जाँच्न लगाई । नातिनी हजुरआमाबीचको दौत्य सम्बन्धले दङ्ग पर्दै छोराबुहारी पनि बैठकमा आए । त्यही बेला शेखरजीले उनीहरूलाई पाण्डुलिपि र प्रमाणपत्रहरू देखाए । अब आश्चर्यचकित हुने पालो छोराबुहारीको थियो । उनीहरू दुवै अफिसको कामै छाडेर पाण्डुलिपि लिएर पढ्न थाले । यी सबैबाट बेखबर शकुन्तलाजी नातिनीसँग व्यस्त थिइन् ।
छोराले एउटा सिङ्गै कथा पढेर सक्यो अनि भावुक भएर जन्मदातृलाई हेर्यो । मनमनै सोच्योः ओहो । ममीको यस्तो प्रतिभा ! उहाँको यो चिनारी, क्षमता कहाँ दबिएर बसेको थियो ? जहिल्यै कामको चटारोमा आफू भित्रको पारिजात फष्टाउन नपाएको कुण्ठा पलाएन उहाँमा ? पढाइ, लेखाइ त मौका पाए सबैले गर्छन्, तर लेख्ने जन्मसिद्ध क्षमता ? दबाउन सजिलो भयो होला ? तर पनि न गुनासो, न घुर्की । ओहो ममी ! कति अन्याय ! अँहँ अब यस्तो हुँदैन । अवकाश प्राप्त सचिव शेखरजीकी पत्नी, ब्याङ्कर विजयकी आमा, अभिवक्ता नम्रताकी सासू हैन, साहित्यकार शकुन्तलाजीको चिनारी पाउनेछ अब दुनियाँले ।
बालखमा आमासँग लाडिएझैँ छोराले पाण्डुलिपि देखाउँदै भन्योः ममी यो कसको ?
शकुन्तलाजी अकमकिइन् र छोरालाई सोधिन्ः कहाँ भेटेछ यसले यो थोत्रो कापी ?
शेखरजीले मुसुमुसु हाँस्दै भनेः यसले हैन मैले । तिमीले लुकाएर राखेको ठाउँमा मैले भेटेको ?
शकुन्तलाजीले भनिन्ः लुकाएको हैन । बिहे अघि जन्मेको कर्णलाई कुन्तीले नदीमा बगाइदिइन्, मैले पोको पारेर एउटा कुनामा थन्क्याइदिएँ । कतिपल्ट कबाडीलाई दिन भनेर झिकेँ पनि, तर यिनले खान मागेका छैनन्, लाउन मागेको छैनन् भनेर फेरि राखेँ । कुरो यति हो ।
बुहारीले थपिन्ः कबाडीलाई दिने ? ममी म यस्तो लेख्न जान्ने भए अहिलेसम्म मेरो कतिवटा पुस्तक विमोचन समारोह भैसक्थ्यो होला । आफूलाई त होइन कुरा ठीक साँचो भन्न आउँछ, न्यायको नौ सिङले हान्न आउँछ । साहित्य पढ्न मात्र आउँछ, लेख्नसेख्न त त्यस्तै हो ।
छोराले अलि अड्की अड्की भन्योः घरको रुटिनमा अलिअलि चेञ्जफेञ्ज गर्नुपर्ला जस्तो लाग्यो ममी ? आज चाँडै उठेर बाहिर घुमेर आएर होला मलाई फ्रेस अनुभव भैरहेको छ । तरकारी, दूध किनेर झोला बोकेर आउँदा पहिलोपल्ट म पनि परिपक्व भएँ जस्तो लाग्यो । काँधमा जिम्मेवारी नआएसम्म गर्न मन पनि लाग्दैन, जान्दा पनि जानिँदैन । अब पहिलो पुस्ता आनन्दले बस्ने, दोस्रो पुस्ताले जिम्मेवारी सम्हाल्ने दिन आएछ ममी ।
बुहारीले आफैँ र दुलाहालाई पनि व्यङ्गय गर्दै भनिन्ः बिहानको कामको जिम्मा आयो भने छोराबुहारी पनि सप्रन्थे ममी । चाँडै उठ्नै पर्ने भए अलिअलि योगअभ्यास पनि हुन्छ । कसैकसैको राति अबेरसम्म घरबाहिर बस्ने, बिहानभरि सुतेर बिताउने बानी पनि छुट्थ्यो कि ?
छोराले बुहारीलाई आँखा तरेर हेर्यो तर उनी बोल्न छाडिनन् । स्वरलाई एकदम नरम बनाएर भनिन्ः अबदेखि बिहान भान्छाको जिम्मा मेरो । त्यसो भए ममीलाई बिहान पूजापाठ गर्न, योगध्यान गर्न समय पुग्छ । बाँकी समयमा साहित्य साधनामा ! लेख्न मन नलागे पढेर बिताए भयो । हुन्न ममी ? म मीठो पारेर पकाउने कोसिस गरौँला नि !
‘तिमीले ठीक भन्यौ नम्रता । बिहानभरि सुतेर हेर मेरो पेट ? घ्याम्पोजत्रो भैसक्यो । यसरी त भएन बा । भोलिदेखि आजैको टाइममा उठेर एक घण्टा तल चोकमा हिँड्छु, अनि बजार गएर सामान किनेर ल्याउने गर्छु । पछि पनि मेरो रुटिन त्यही हुनेछ ।’
शकुन्तलाजीका आँखा भरिए । छोराबुहारीलाई आफ्नो बाहेक घरको मतलबै छैन भन्ने उनको धारणा थियो त्यो गलत रहेछ । उनैले बिगारेकी रहिछन् । जिम्मा दिए पो गर्छन्, जान्दछन् ! कुखुराले चल्ला छोपेझैँ छोप्न खोजेपछि के जानून्, के सिकून् ? उनीहरूलाई अभिभावकको चिन्ता, फिक्री रहेछ । छोराबुहारीको वास्तविक रूपसँग आज उनकोे चिनारी भयो ।
उनी भावुक भएर भन्न थालिन् “बिहेअघि मेरो ज्यानप्राण नै यही थियो, अहिले घरगृहस्थीजस्तै ? लेख्ने र पढ्ने बाहेक मेरो केही उद्देश्य नै थिएन । त्यो बेलामा कहाँ कहाँबाट किताब खोजेर ल्याएर, मागेर ल्याएर, किनेर ल्याएर पढ्थेँ भनेर लेख्न थाल्यो भने पनि एउटा ठूलै शोधग्रन्थ तयार हुन्छ होला । अब ती सबै एकादेशका कथा हुन् । अहिले त मलाई यही पाण्डुलिपि देखेर पनि अचम्म लागेको छ । कविता वाचन, लेख प्रकाशन, वादविवादको तयारी गर्दै बितिरहेको समय कहिले गृहिणीमा परिणत भयो ? हेक्का पनि छैन । यो मैले लेखेको भनेर पत्यारै लाग्दैन अहिले त ।”
शेखरजीले हातको लिएको पाण्डुलिपिलाई हेर्दै सोच्न थाले ः मेरो त आफ्नी जीवनसङ्गिनीसँग चिनारी भएको रहेनछ भने छोराबुहारीको के कुरा भयो र ? शकुन्तलाको यस्तो परिपक्व विचार, प्रभावशाली शैली, उद्देश्यपूर्ण लेखाइ पढेर होइन, जन्मसिद्ध लिएर आएको क्षमता हो । पढाइले त त्यसलाई तिखार्ने काममात्र गर्छ । कहिले सिकिन् यो सब ? कहाँ हरायो उनको यस्तो असाधारण तर्कशक्ति, त्यो विलक्षण साहित्य चेत ? बिरामी सासूससुराको स्याहारसुसार, छोराछोरीको पढाइ, रीतिरिवाज, नातागोता, चाडबाड, सचिवज्यूको चाकरीमा आउनेकोे स्वागतसत्कार, सामाजिक विधिव्यवहार, यस्तैमा बित्यो उनको सारा समय । कतिखेर लेख्ने, पढ्ने समय निकालून् ? अरूकै लागि जीवन उत्सर्ग गरिन्, आफ्नो लागि सोच्ने मौका नै पाइनन् । उनको त्याग, समर्पण त्यसको मूल्याङ्कन भयो कहिल्यै ? बुझ्नुपर्नेले समेत ध्यान नदिएपछि उनी के गरून् ?
श्रीमतीको प्रतिभाले फक्रने, फष्टाउने वातवरण नपाउनुको जिम्मेवार आफैँलाई ठानेर शेखरजीले ग्लानी महसूस गरे । वास्तवमा उनी खराब मान्छे पनि होइनन् । श्रीमतीप्रतिको उनको व्यवहारलाई अभद्र, अशोभनीय भन्न मिल्दैन । न भोकमोकै राखे, न शारीरिक यातना दिए, न अपशब्द बोले, न रक्सी पिएर आएर कुटपिट गरे, न उनको चरित्रमा प्रश्न उठाएर मानसिक यातना दिए । पुरुषप्रधान सामाजको मूल्य मान्यतामा चले । परिवर्तित संसार स्वीकार्ने आवश्यकता देखेनन् । परिवारको पालनपोषणको जिम्मेवारी आफ्नै हो भन्ने सोचे, त्यसमाथि कहिल्यै पुनर्विचार गरेनन् । इमानदार सरकारी कर्मचारी उनले कमाएर ल्याएको सबै श्रीमतीको पोल्टामा हालिदिए । कसरी खर्च गरिन्, केमा खर्च गरिन्, पुग्थ्यो, पुग्दैनथ्यो, उनैको तजबिजले गरिन् ? तर श्रीमतीलाई पनि सक्षम बनाउने, कमाउने बाटोमा लगाउने, स्वावलम्बी बनाउनेबारे सोच्दै सोचेनन् । श्रीमान, श्रीमतीको संयुक्त कमाइले घर चलाउनु उनको नजरमा सम्मानित विषय भएन । एकताका शकुन्तलाजीले लोकसेवा दिने तयारी गरेको जस्तो लगेथ्यो, त्यो पनि हो, होइन ? याद छैन ।
कलकल बगिरहेको तेज जलधारा उनको जीवनमा गाँसिन आएपछि जमेर तलाउमा परिणत हुँदा पनि आपूm भने एक्लै बगिरहेछन् । जागिरमा सफलताको खुड्किलो चढ्दै जाँदा उनमा एक प्रकारको अहङ्कारले डेरा जमाउँदै गयो । उच्च तहका नीति निर्माताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने ठाउँमा पुगेपछि त उनमा म नभए यो मुलुकै चल्दैन कि क्या हो भनेजस्तो भाव पलायो । त्यसलाई मलजल पु¥याउने काम ग¥यो शक्तिको वरपर झिँगाभैmँ भन्कने चाकरीबाजले । तिनका चिप्ला कुरा सुन्दासुन्दा उनको सोचको दायर पनि त्यही घेराभित्र सीमित हुन पुग्यो । अन्त ध्यानै गएन । अवकाश प्राप्त गर्दा उनी त्यही मानसिकतामा थिए । तर घर बस्न थालेदेखि अचानक चाकरीबाजको लस्कर बन्द भयो । उनले एक्लोपन महसूस गरे अनि आपूmजस्तै अवकाश प्राप्त व्यक्तिहरूको घेराबन्दीमा परे । त्यही समूसँग समय बित्न थाल्यो । घर उनको प्राथमिकतामा कहिल्यै परेन ।
अरूको कमजोरी खोज्दै, अरूलाई सपार्ने हुँदाहुँदै मान्छेले आफ्नै समस्या भएको थाहा पाउँदैन । आफ्ना कमजोरी, समस्या पहिचान गर्नेबाट समाधान पनि निस्कन्छ । शेखरजीले आफ्नो गल्ती देखे, त्यसलाई स्वीकारे । जे भयो भयो । बितेको फर्कँदैन । अब जीवनकोे सन्ध्याकालमा नै सही आफ्नो गल्ती सच्याउनेमा दृढ भएर शेखरजीले छोरालाई सम्बोधन गर्दै भने, “यसपाली ममीको जन्मदिनमा यो किताब छापेर उपहार दिनुपर्छ है बाबु ।”
छोराले बाबुको समर्थन गर्दै भन्यो, “लकडाउन खुल्नेबित्तिकै पहिले प्रेसमा पाण्डुलिपि टाइप गर्न दिन्छु । यसपालीको बोनस ममीको किताब छपाउन समर्पण गरेँ है मैले त । कि कसो नम्रता ?”
बुहारीले उत्साहित भएर भनिन्, “प्रेसमा किन दिनु ? हाम्रो अफिसको टाइपिष्ट नजिकै बस्छ । उसले लकडाउन खुल्दासम्म टाइप गरिसक्छ । त्यसपछि प्रेसमा दियो भने फटाफट छापिन्छ ।”
शेखरजी जुरुक्क उठे र शकन्तलाजीनेर गएर भने, “लकडाउन कहिले खुल्छ कहिले ? त्यतिञ्जेलसम्म एउटा पाण्डुलिपि त म आपैmँ टाइप गरेर सक्छु ? बरु सबैभन्दा पहिले तिम्रो कुन रचनालाई पुस्तकाकारमा हेर्न चाहन्छ्यौ ? ल छान त ।”, शकुन्तलाजीले तृप्त नजरले सबैलाई हेरिन् र एउटा पाण्डुलिपि छानेर दिइन् । शेखरजीले ल्यापटप खोलेर काखमा राखे, फोल्डर बनाए र टाइप गर्न थाले । सेभ गर्दा कम्प्यूटरले फाइलको नाम माग्यो । उनले लेखिदिए ‘चिनारी ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।