म्याग्दी जिल्लाको दुर्गम गाउँमा मनमाया दुई छोरासँगै जीविकोपार्जन गर्दै बसेकी थिइन् । आमाको दुःख देखेर सत्र वर्षको कलिलो उमेरमा ठूलो छोरा हिक्मत बहादुर (ठूले) खेतबारी बन्धकी राखेर धन कमाउन साथी झलकबहादुरसँगै साउदी गएको छ वर्ष भएको थियो । बेलाबेलामा पैसा पठाइरहन्थ्यो र फोनमा कुरा पनि भइरहन्थ्यो । गाउँका युवा मुगलान जान थालेको देखेर कान्छो छोरा शेरबहादुर (शेरे) पनि साथी शान्तबहादुरसँगै राखुको खडकबहादुर भन्ने लाहुरेसँग धन कमाउन बम्बई जाने भयो । आमासँग सल्लाह गरी घरको बोको बेचेर बाटो खर्च जुटायो । दशैंमा आमाको हातको टीका आशीर्वाद थापेर शेरे र सान्त मुगलानतिर लागे । बेनीबाट बसमा पोखरा–सुनौली हुँदै गोरखपुर पुगे । जीवनमा पहिलो पटक रेल देख्न र चढ्न पाएका ठिटाहरू दङ्ग थिए । बम्बईमा खडक दाइकै मालिकको कम्पनीमा पुग्नेबित्तिकै काम पाइहाले । तनखा राम्रै रहेछ र खान बस्नको खर्च सस्तै भएकाले पैसा राम्रै बचाउँथे ।
छ महिना पनि भएको थिएन, एक्कासि कोभिड–१९ को संक्रमणले महामारीको रुप लियो । संसारैभरि फैलिंदै भारत र नेपालमा पनि आइपुग्यो । बम्बईजस्ता ठूला शहरहरूमा अवस्था भयावह भयो । लकडाउनको घोषणाले सबैतिर हाहाकार मच्चियो । कलकारखाना, उद्योग, कम्पनी, बस, रेलगाडी जहाज आदि सबै बन्द भए । बम्बईमा अवस्था गम्भीर भएकाले उनीहरूको कम्पनी अनिश्चितकालका लागि बन्द हुने भयो । कम्पनी मालिकले भोलिबाटै उनीहरूलाई नेपाल फर्कन र स्थिति सामान्य भएपछि सम्पर्क गरी आउन भने । केही रकम थपेर दिनुपर्ने पैसा दिए र भोलिबाटै जान भने । लाहुरे दाइले भने, “भाइहरू, यहाँ बसेमा रोगले भन्दा खानै नपाएर मर्ने सम्भावना हुन्छ । त्यसैले घर फर्कनै उचित होला !”
बाटो खर्च छुट्याएर बाँकी रकम राम्ररी कम्मरमा बाँधी तीनै जना बहादुरहरू आ–आफ्नो टोप्लो बोकी झिसमिसेमै बम्बईबाट प्रस्थान गरे । फर्कनेहरूमा अरु धेरै भारतीय पनि थिए । बाटोमा धेरै कष्ट सँहदै कतै ट्रक र सानातिना गाडी चढ्दै नत्र धेरैजसो पैदल यात्रामै हिंड्नु पर्यो । ठाउँठाउँमा प्रहरीले राकेर गाली गर्ने, पैसा माग्ने र नदिए लट्ठीले हान्ने वा उठबस गर्न लगाएर धेरै दुःख दियो । दिउँसोभन्दा बिहान-बेलुकी कस्सिएर हिँड्दै बाह्रौँ दिनको बेलुकी नेपालको पश्चिमी सीमापारिको एउटा शहरमा आइपुगे ।
लकडाउनमा नेपाल प्रवेशमा निषेध गरिएकाले चौध दिनसम्म भारत सरकारको मेजमानीमा त्यहीँ क्वारेन्टाइनमा बस्नु पर्यो ।
पन्ध्रौँ दिनमा काराबासबाट छुटेजस्तै भयो तर नेपालको प्रवेशद्वार अझै खुलेको थिएन । केही जानकार ठिटाहरू गाडीको पुरानो ट्युब किन्दै महाकाली तर्ने कुरा गर्दै थिए । यो सुनेर उनीहरू पनि त्यसैगरी ठिटाहरूको पछि लागेर महाकाली खोलातिर गए । ठूलो जोखिम मोलेर ट्युबमा सवार हुँदै महाकालीमा आपतकालीन राफ्टिङ्ग गर्न बाध्य भए । साथीहरू सजिलै किनारा लागे तर शेरेको ट्युब बग्दै गरेको रुखको हाँगामा ठोक्किएर क्षतिग्रस्त भयो । रुख समातेर जसोतसो किनार लाग्यो । पारि जंगल र कसैलाई नदेख्दा ऊ आत्तियो । एकछिन घाममा लुगा सुकाउँदै थियो । पर गाईभैंसी र गोठालाहरुलाई पानी पिउन आएको देखेर खुशी भयो । गोठालाहरूको नजिकै पुग्दा उनको अवस्था देखेर कहाँबाट आउनु भयो भनी सोधे । शेरेले बम्बईबाट घर फर्कन हिंडेको भनि सम्पूर्ण कथा सुनाउँदा गोठालाहरू बडो दुःखी भए । गाउँको सोझो ठिटो गोठालाहरूसँग छिनमै साथी भयो । उसलाई आफ्नै गाउँमा आएजस्तै लाग्यो । शेरेले अगाडिको पदयात्राबारे गोठालाहरूसँग जिज्ञासा राख्यो । तर, गोठालाहरुलाई नेपालको बाटोको यथेष्ट जानकारी कहाँ थियो र ? रामलखन नामको गोठालाले भन्यो हाम्रो गाउँबाट एकघण्टा हिंडेपछि राजमार्ग आउँछ र त्यहीँबाट पूर्वमा धनगढी, नेपालगञ्ज र बुटवल जान्छन् । शेरेको लागि यो जानकारी अन्धकारमा बाटो देखाउने बत्तीजस्तै थियो । आज हाम्रै गाउँमा बस्नू, भोलि जानुहोला भनी साँझपख रामलखनले शेरेलाई घरमा लिएर गयो । महामारीको समयमा अञ्जान मान्छेलाई गाउँमा बास देलान् वा नदेलान् भन्ने मनमा त्रास थियो ।
घर पुगेपछि एउटा बुढो मान्छेले सोधे, “कहाँबाट आयौ बाबु ?”
शेरेले विनम्रतापूर्वक अभिनन्दन गर्यो र त्यसैबखत रामलखनले भन्यो, “बाबा ! पाहुना टाढाबाट महाकाली तरेर आएका रहेछन् । साँझ परेकोले हामीले सँगै लिएर आयौँ ।”
“बाबु ! घर कहाँ हो ?” बूढा मानिसले सोधे ।
“म्याग्दी हो,” भनेपछि रामलखनका बाबाले हाँस्दै दश वर्ष अगाडि माछाको तालिममा पोखरा जाँदा म्याग्दी र बागलुङ्गका किसानहरुसँग भेट भएको कुरा पाहुनालाई बताउँदै हातखुट्टा धुन लगाई कोठामा लगेर बसाए । आमाले पानी पिउन दिइन् । रामलखनले टिभी खोलेर समाचार लगायो । नेपाल–भारत सीमामा कैयौं नेपालीहरु रोकिएर महाकाली तर्दै गर्दा प्रहरीले समात्दै चौँध दिन क्वारेन्टाइनमा राख्ने खबरहरू आइरहेको थियो । बाबाले धेरैबेरसम्म पाहुनासँग कुरा गरे । उनको व्यथा थाहा पाएर साह्रै दुःखी भए र भने, “बाबु ! रामलखन पनि काम गर्न भारत जान्छु भन्थ्यो । मैले जान दिइनँ । नत्र त आज तिमीले जस्तै दुःख पाउने थियो । यस्तो महामारीमा बेलैमा जिउँदै नेपाल आइपुग्यौ, भाग्यमानी रहेछौ !”
केहीबेरमा आमाले सबैलाई भान्सामा बोलाइन् । कति दिनको भोको र थाकेकोले आफ्नै आमाले पकाएको जस्तै मानी पेटभरि खायो र सुत्न गयो । बिहान उठेर साथीसँग गाउँ घुमेर आयो । आमाले नास्ता बनाइन् र पाहुनालाई नास्ता खुआएर राजमार्गसम्म पुर्याउन् बाबाले गाउँको दुधवालाको जिम्मा लगाए । बिदा हुने बेलामा आमाले बाटोको लागि खाजाको पोको र आशीर्वाद दिइन् । सानो झोपडीमा बस्ने गरीबहरू मन र संस्कारका कति धनी रहेछन् । एक रातको पाहुनाले आमाबाबालाई ढोगेर बिदा माग्दै ऋणी भएर गयो । सबैका आँखा रसाए ।
दुधवालासँग गफ गर्दै एक घण्टामा राजमार्गको बजारमा पुगे । त्यहाँ दश–बाह्रजना मान्छेहरू मास्क लगाएर बसेका थिए । शेरेले पनि गम्छाले मुख छोप्यो । नजिकै पुग्दा आफ्ना साथीहरुलाई देखेर शेरे र साथीहरू दङ्ग परे । यसरी फेरि भेट होला भन्ने कसैले सोचेकै थिएनन् । महाकाली तरेपछि प्रहरीले सबैलाई समातेर क्वारेन्टाइनमा राखेको रहेछ । राति नै त्यहाँबाट भागेर आत्मबल बलियो गरी धनगढीसम्मको लगभग ३०० किलो मिटरको चुनौतीपूर्ण बाटो पैदलै हिंड्न कस्सिएका रहेछन् । दिउँसो मध्याह्न बेला वनको बाटो हिँड्दै गर्दा बाटाको छेउमा पल्टने अवस्थामा एउटा ट्रक फँसेर बसेको रहेछ । वनमा चालकले सहायता गर्न भने । दुःखमा सहायता नगर्ने कुरै भएन । ट्रकलाई जसोतसो घचेटेर बाटोमा ल्याए र खुशी हुँदै सबै चढेर गए । राति धनगढी बजार क्षेत्रमा प्रहरीले दुःख देला भनी ट्रकले एक किलोमिटर वरै एउटा विद्यालय अगाडि ओराल्यो । शेरेले ल्याएको खाजा बाँडेर खाए र पानी पिएर त्यहीँ रात बिताए । झिसमिसेमै धनगढी बजारको चौराहा कटाएर चाउचाउ र पानीको भरमा बेलुकी घोडाघोडी भन्ने ठाउँमा पुगे । थकाईले प्रतीक्षालयमा रात काटेको थाहै भएन र झिसमिसेमै उठेर हिंड्दा कुकुरले लखेट्यो । चार–पाँच घण्टा हिँडेपछि वन्यजन्तु आरक्षण क्षेत्रको चेकपोष्टमा उनीहरूलाई रोकियो । हाकिमलाई जानकारी गराएपछि केहीबेरमा अफिसर आएर सोधपुछ गरे । सबैले भारतका विभिन्न ठाउँहरूबाट दुःख सहँदै यहाँसम्म आइपुग्दा भोकै र बिखर्ची भएको व्यथा बताउँदै रुँदै त्वम् शरणम् भए । केहीबेरमा आदेश आएपछि सबैलाई भित्र लगियो । मनमा सबै डराएका थिए तर, भित्र गएपछि मावलीमा जस्तै पेटभरि भोजन गराई सेनाको गाडीमा नेपालगञ्ज जान पाउँदा अत्यन्तै खुशी थिए । नेपालगञ्जमा प्रशासनले उनीहरूलाई पुनः चौदह दिनको क्वारेन्टाइनमा राख्यो । क्वारेन्टाइनमा बसे पनि महामारीको भयावह स्थिति र मानिसहरूको मृत्यु भएको समाचार सुन्दा र आफूहरू यत्तिका दिनसम्म दुःख सहेर पनि सकुशल जीवितै फर्कन पाउँदा सबै खुशी थिए ।
पन्ध्रौँ दिनमा धेरैजसो त्यहीँबाट हिमाली जिल्लातिर लागे । तर, म्याग्दीका त्रिमूर्तिहरूको यात्रा भने अझै टुङ्गिएको थिएन । बेलुकी उनीहरूलाई प्रहरीले एउटा बुटवल जाने ट्रकमा पठायो । भोलिपल्ट बेलुकी बुटवल पुगी केही खाएर बसपार्कमै रात बिताए । एउटा पसलेले नारायणघाट, पोखरा जाने गाडी नचलेको हुनाले गाडीको आशा नगरी बरु पहिलेको पुरानो बाटो हिँड्दै गएमा चार–पाँच दिनमा कुश्मा–बागलुङ्गसम्म आरामले पुगिन्छ भनी सल्लाह दिए । बिहानै फलामको रड बोक्ने ट्रकलाई अनुरोध गरी पाल्पासम्म पुगे । पाल्पामा सुनसान थियो । एकजना वृद्धले भने, “गाडीको कुनै सम्भावना छैन । बरु, पैदल मार्गबाटै जान उचित होला ।”
केहीखाने कुराहरु किनेर रानीघाट झरे र कालीगण्डकी तरेर बाजेहरू हिँडेको बटौली–कुश्माको पुरानो बाटोको अनुभव गर्दै बिर्घा, मिर्मी, सेतीबेनी, बिहादी, बर्राचौर, बाच्छा, फलेबास र कुश्माको बाटो हिंड्दै पाँचौं दिनको मध्याह्नमा मालढुङ्गा आइपुगे । कोरोना सर्ला भन्ने डरले कतिपय ठाउँहरूमा स्थानीयले बासै दिएनन् । त्यसैले चौतारा, पाटीपौवामा बास बस्दै र कुकुरहरूको टोकाईबाट जोगिंदै हिंड्नु पर्यो । मालढुङ्गा आएपछि बागलुङ्ग कालिकादेवीलाई यहाँसम्म सुरक्षित ल्याइदिनु भएकोमा नमन गर्दै धन्यवाद दिँदै दर्शन गरे । बेलुकी गलेश्वरमा खडक दाइको आफन्तकोमा बास बसे । भोलिपल्ट खोलामा नुहाई-धोई शिवजीको दर्शन गरे । केही किनमेल गरेर खानापछि गाउँतिर लागे । औंशीको रातमा घर पुगेर आँगनबाट शेरेले आमालाई बोलायो । “को हो ?” भन्दै आमा बाहिर आइन् । छोरालाई देखेर लाहुरे कान्छा पो रहेछ भन्दै आँखाबाट आँसु झार्दै भनिन्, “ए बाबु ! समाचारमा बम्बईमा के जाति रोगले धेरै मान्छे मार्यो भन्छन् । तिम्रो र ठूलेको केही खबर नपाउँदा मेरो प्राणै जाला जस्तो भएको थियो । तिमीलाई दखेर आज मेरो मन सन्तोक भयो ।”
खाना खाएर बेलुकी आमाले सोधिन्, “बाबु ! चारैतिर बन्द छ भन्छन् तर तिमी कसरी आयौ ?”
शेरेले आमालाई बम्बईबाट हिंडेको त्रिपन्नौं दिनमा यहाँसम्म आइपुग्दाको सम्पूर्ण वृत्तान्त सुनायो । आमाले पनि श्री स्वस्थानी माताको व्रतकथाजस्तै राति एक बजेसम्म आँखाबाट आँसुको धारा बगाउँदै सुनी रहिन् ।
कान्छाको दुःखको कथा सुनेर आमालाई ठूलेको सम्झनाले सताउन थाल्यो । राति सपनामा ठूलेलाई सर्पले टोकेको देखिन् । बिहान आमाले खाना बनाइन् र थकाईले अबेलासम्म सुतेको छोरालाई उठाइन् । आमाले भनिन्, “बाबु ! ठूलेको केही खबर आएन र त्यहाँ पनि धेरै नेपालीहरु बिरामी भएका छन् अरे । मैले सपना पनि नराम्रो देखें । मलाई साह्रै पिर पर्न थाल्यो । एकपल्ट ठूलेको खबर बुझ्न पाए हुन्थ्यो ।”
“हुन्छ आमा ! बुझौंला,” भनी शेरे एकछिनपछि झलकको घरमा गयो ।
झलकको बाबाले भने, “बाबु ! कोरोनाले दुवै जनालाई अस्पतालमा भर्ना गरेको कुरा थाहा भयो तर त्यसपछि केही खबर आएन । फोन पनि लागेन । समाचारमा कोरोनाका रोगीहरू बढेको खबर सुन्दा हामीलाई साह्रै चिन्ता लागेको छ । आफ्नो दुःखको यात्रा सम्झँदा शेरेलाई दाइको चिन्ता लाग्न थाल्यो र घरमा आमाले पीर मान्लिन् भनी अहिलेसम्म सबै ठीकै रहेछ भनी ढाँट्यो । ठूलेलाई देख्न नपाउँदा पीरैपीरले आमा अस्वस्थ हुन थालिन् । शेरेले आमालाई स्वास्थ्य चौकीमा लगेर जँचायो, चिन्ताबाहेक अरु रोग देखिएन । घरमा सघाउँदै आमाको सेवा गर्न थाल्यो । एकदिन आमाले भनिन्, “बाबु ! तिमीलाई धेरै दुःख भयो । अब बिहे गर । म पनि बिरामी छु । आज हो कि भोलि हो ।”
शेरेले विचार गर्यो, आमाको सेवार्थ एउटा साथी जसै चाहियो ! बिहे गरेपछि बुढीले घरबार र आमाको स्याहार गर्छिन् र मैले अरु काम गर्न पाउँछु । एकदिन काकालाई बोलाउन लगाएर मनमायाले शेरेको बिहेको कुरा गरिन् । काकाले भने, “पल्लो गाउँको धनबहादुर सुबेदारकी छोरी शान्ति साह्रै जाती छन् । तिनीसँग शेरेको बिहे गर्दा राम्रो होला । घरधन्धा सबै जानेकी सिपालु छिन् । तिमीलाई पनि सुख होला । कुरा गरौं त ?”
मनमायाले सहमति जनाइन् र भोलिपल्टै काकाले शेरेलाई लिएर सुबेदारको घर गए र केटी हेरेर कुरो छिनेर आए । एकदिन गाउँकै मन्दिरमा छोटकरीमा विवाह सम्पन्न भयो र शेरेको घरमा शान्तिको आगमन भयो । शान्तिले घरधन्धाको साथै आमाको स्याहार र बुढालाई सघाउन् थालिन् । शेरेले पनि गाउँमा अरु काम गर्न थाल्यो । मनमाया खुशीका साथ दिन काट्न थालिन् । तर, ठूलेको चिन्ताले भने सताइरहेको थियो । एकदिन बिहानै झलकको बाबा र शेरेको काका घरमा आए । पिँढीमा बसेर झलकको बाबाले पृष्ठभूमि बनाउँदै कुरा गर्न थाले । उनले भने, “हिजो छोराको फोन आएको थियो । ठूलेलाई कोरोना लागेर उपचारको क्रममा अस्ति अस्पतालमा मृत्यु भएछ ।”
यो खबर सुनेर मनमाया भीरबाट खसेजस्तै भइन् । छोरो आउला भनेको त मेरो बाबुको लाश पो आउने भयो भन्दै रुँदै बिलाप गर्न थालिन् । घरमा रुवाबासी चलेपछि काकाले दैवको खटन यस्तै रहेछ भनेर शेरे र मानमायालाई सम्झाए । कोरोनाले गर्दा लाश नेपाल पठाउन नमिल्ने भएकोले उतै सतगत गर्ने खबर आएको भन्दै काकाले शेरेलाई सान्त्वना दिंदै भने, “बाबु ! तिमीले आमालाई सम्झाउनु पर्छ ।”
बुद्धिमानी बुहारीले बुढालाई सम्झाउँदै आमाको स्याहार सुसार गरिन् । त्यो रात पानी मात्रै पिएर सबै सुते । ठूलेको पिरले मनमायाले राति नै प्राण त्यागीछन् । बिहान आमा किन उठिनन् भनेर हेर्न जाँदा बुहारीले रुवाबासी गर्न थालिन् । एकैछिनमा गाउँलेहरु पनि जम्मा भए र आफन्तहरुले मनमायाको लाश सतगत गर्न घाटमा लगे ।
“ए दाई ! ए आमा !” शेरे डाँको छोडी रुन थाल्यो । दागबत्ती दिन जाँदा आमाको मुख हेर्दै रुँदै भन्यो, “आमा ! म अब मुगलान कहिल्यै जान्नँ ।”
काकाले भने, “बाबु ! ठिक भन्यौ । मुगलानमा गर्ने दुःख यहीँ गरे त देशको विकास सँगै धन र शान्ति पनि प्राप्त हुन्छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।