
डा. कालु शर्मा सुवेदी
धन कमाउन भनी छोरो मलेसिया गएको पाँच वर्ष भयो
यो दसैँमा आउने खबरले आमाको मन कति हर्षित भयो ।
घरका लागि केही सामान पनि किन्दै छु भनी खबर आयो
महिना दिनपछि आमाको मुटु चिर्न बाकसमा सुतेर आयो ।।
भदौमा थुप्रै सामान लिएर बाबु फर्केर आउने खबर आयो
एक महिनापछि त पैँतीसवटा बाकस लिएर विमान आयो ।।
मसानघाटमा स्याल कराएझैँ मुटु छेड्ने क्रन्दन थियो
बाकस खोली हेर्दा चिरनिद्रामा सुतेको बाबुको लास थियो ।।
बाबु आउला ठूलेको तल्लो गह्रो खाउँला भन्ने रहर थियो
सासु बुहारीको दसैँमा पोखरा घुम्ने जाने साह्रै रहर थियो ।।
राम्राराम्रा सारी, चुरा पोते र गरगहना किन्ने करा थियो
सिउँदोको सिन्दुर मेट्न मेरो मान्छे बाकसमा सुतेर आयो ।।
बाबु आउला घरको छानो ढुङ्गाले छाउँला भनी रहर थियो
म आएर सबै गरौँला आमा ! चिन्ता नलिनू त भन्दै थियो ।।
भिरबाट खसेको ढुङ्गाले मेरो खप्परनै फुटालेजस्तो झयो
जब अबिरले सिँगारिएर मेरो बाबु बाकसमा सुतेर आयो ।।
मेरो औँला समाती हिँड्ने बाबुले किन आज रुवायो यसरी
हे दैव ! मेरो मुटुको टुक्रालाई बोकी अब घर जाऊँ कसरी ।।
आमालाई भेट्न आउँदै छु भनी मेरो मुटु छेड्न पो आएछ
म मर्नुअगाडि नै मेरो विलाप हेर्न बाकसमा सुतेर आएछ ।।
धन कमाउने लोभले किन जान्छन् सबै विदेशतिर यसरी
के पैसा फल्ने बोट छ त्यहाँ, जसमा पैसा फल्छ बेस्सरी ।।
कुटोकोदालो गरी यहीँ दुःख गरे त यो दशा किन हुन्थ्यो ?
आँटोपिठो खाएर नेपालमै दुःख गरे बाँच्न त सकिन्थ्यो ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 







