साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा- ब्युँतियो हत्या गरेको प्रेम

आजभन्दा चारदशक अगाडिको कुरा हो । इलामका मीनेन्द्र सिटौला र सुरेन्द्र नेपाल काठमाडौँमा अमृत साइन्स कलेजमा (असकल) डिप्लोमा जीवविज्ञान विषय पढ्दै थिए । कक्षामा पच्चीस जना छात्र र पाँच ओटी छात्राहरू थिए । छात्राहरूको समूहलाई केटाहरूले पञ्चकन्या भन्थे । उनीहरू साह्रै लजालु प्रकृतिका थिए । एकदिन कक्षा सकिएपछि मीनेन्द्र र सुरेन्द्र साथीहरूसँग रतनपार्कतिर डुल्न हिँडे । पञ्चकन्याहरूको पछाडि-पछाडि केटाहरू रमाइलो गफ गर्दै हिँड्दै थिए । ठमेलको बाटामा एउटा तीन तले पुरानो घरको साँघुरो गल्लीमा पञ्चकन्या समूहबाट कल्पना निक्लेर फुत्त भित्र पसिन् । रत्नपार्कसम्म पुग्दा बाटाका गल्लीहरूमा एकएक गरी चार ओटी कन्याहरू पनि हराए । रत्नपार्क एउटी मात्र पुगिन् र हतार छ भन्दै उनी पनि बसमा चढेर गइन् । साथीहरूले खाजाघरमा जियरीस्वारी खाए र यी दुई जना जिग्री दोस्तहरू होस्टेलतिर फर्के । अघि कल्पनाभित्र पसे

डा. कालु शर्मा सुवेदी

को गल्लीको अगाडिको पसलमा अडिए र सुरेन्द्रले केही किन्न थाल्यो । माथिबाट कसैले मीनेन्द्रको टाउकामाथि कागजको सानो डल्लो फाल्यो । कसले होला र के होला ? भनी कागज खोली हेर्दा कोराकागज रहेछ । यसको अर्थ के होला ? भनी मीनेन्द्रले माथि हेऱ्यो । तेस्रो तल्लामा एउटी सुन्दरी आँखीझ्यालको बिचमा बसेर केही खाँदै हेर्दै थिइन् । मीनेन्द्रले माथि हेर्नेबित्तकै उनी ओझेल भइन् । केही बेरपछि झ्यालबाट टाउकाबाहिर निकाली मुसुक्क हाँसिन् । मधुर मुस्कानले आकर्षित गर्ने सुन्दरी उही कल्पना रहिछन् । मीनेन्द्रले चिनेर बडा भावुक भयो र एकटकले माथि हेर्दै एकछिन रोकिन बाध्य भयो । यत्तिकैमा आफू उभिएको माथिबाट कसैले फ्यात्त एउटा फोहोरको पोको फाल्यो । धन्न उनीहरूको टाउकामा परेन । पहिले काठमाडौँका गल्लीहरूमा फोहोरहरू पोको पारेर माथिबाट फाल्ने चलन थियो । छ्या ! भन्दै यिनीहरूले माथि हेरे । उनी खितित्त हाँस्दै अदृश्य भइन् । यिनीहरू पनि त्यहाँबाट हिँडे ।

भोलिपल्ट मीनेन्द्रले कल्पनालाई सोध्यो हिजो माथिबाट कागज फाल्ने तिमी हो ? उनले टाउको हल्लाउँदै मुसुक्क हाँस्दै स्वीकार गरिन् अनि कोराकागज फाल्नुको अर्थ ? उनी तेर्छो नजरले हेर्दै मुस्कुराउँदै कक्षामा पसिन् । मीनेन्द्रलाई उनको मुसुक्क हाँसेको अनुहार साह्रै मन पर्थ्यो । उनको सुडौल शारीर, हँसिलो र सुन्दर हिस्सी परेको अनुहार तथा सुरिलो बोलीले जो कोहीलाई पनि आकर्षित गर्थ्यो । केटाहरूले उनलाई स्वर्गकी अप्सरा नै भन्थे । कक्षामा मीनेन्द्रले कल्पनालाई हेरिरहन्थ्यो । उनी मुसुक्क हाँसिदिन्थिन् । कटाक्ष गर्दागर्दै दुवै जनाको दिल तरङ्गित हुन थाल्यो । बिस्तारै प्रेमले जरो गाड्न थाल्यो तर एक वर्ष बितिसक्दा पनि उनीहरूले एकान्तमा भेटेर मनका कुरा साट्नै सकेनन् वा मौका मिलेन् ।

दसैँको बिदा आइरहेको थियो । गुरुले विद्यार्थीहरूलाई बिदाको गृहकार्यमा अभ्यासका लागि रसायन शास्त्रको दश ओटा प्रश्नहरू दिनुभयो । बिदामा सबै घर गए । मीनेन्द्र र सुरेन्द्र पनि इलाम गए । केही दिन इलाम बजारमै बस्यो, जहाँ बुबाआमाको सानो थियो । केही दिनपछि गाउँतिर गयो, जहाँ हजुरबा, हजुरआमा र भाइबहिनीहरू थिए । सहरबजारभन्दा गाउँमा निकै रमाइलो थियो । सँगै पढेका पुराना साथीहरूसँग भेटघाट हुने र पिङ खेल्न पाइने । गाउँमा शान्त वातावरण भएकाले एकाग्रताले पढ्न पाइने । बिहानबेलुकी अभ्यास गर्दै मीनेन्द्रले केही दिनमै गृहकार्य सक्यो । एउटा प्रश्न भने निकै गाह्रो भएकाले हल गर्न दुई दिन लाग्यो । एक दिन हजुरबाले मीनेन्द्रलाई भैँसी चराउन पठाउनुभयो । सानैमा गरेको काम, हुन्छ भनी भैँसी र पाडापाडी लिएर चौरतिर गयो । चौतारीमुनि बसेर कल्पनालाई याद गर्दै प्रेमरसमा डुबेर प्रेमको कविता लेख्न थालेछ । भैँसी हेर्न भुसुक्कै बिर्सेछ र अर्काको खेतमा पुगेछन् । एक जनाले देखेर धपाउँदै उसलाई निकै गाली गरे । दसैँमा बुबाआआमा पनि आउनुभयो र दसैँ रमाइलो गरी बित्यो ।

दसैँको बिदा सकिएपछि मीनेन्द्र काठमाडौँ फर्क्यो । आइतवारबाट विद्यार्थीहरू क्याम्पस आए । गुरुले गृहकार्यबारे सोध्नुभयो र सबैको कापी सङ्कलन गरेर लानुभयो । दुई दिनपछि गुरुले सबैको कापी फिर्ता गर्दै भन्नुभयो कि दशौँ प्रश्नको उत्तर मीनेन्द्रले बाहेक अरू कसैले मिलाउन सकेनन् । गुरुले भनेर मीनेन्द्रले कालोपाटीमा प्रश्नको उत्तर सजिलै हल गरेर देखायो । कल्पनाले टुलुटुलु हेर्दै थिइन् । अर्को महिना विद्यार्थीहरू तीन दिने वनस्पति अध्ययन भ्रमणमा शिवपुरी डाँडाको आरक्षित वनमा जाने भए । पहाडबाट आउने विद्यार्थीका लागि शिवपुरीको उकालो केही थिएन तर काठमाडौँमा हुर्केकाहरूका लागि भने कठिन नै थियो । जे होस्, बुढानिलकण्ठबाट बिस्तारै हिँड्दै स्थानीय वनस्पतिहरूको अध्ययन गर्दै उकालो लागे । बेलुकी त्यहाँ शिवपुरी बाबाको आश्रममा बसे । भोलिपल्ट दिनभरि अध्ययनमा व्यस्त भए । बेलुकी भोजनपश्चात् शिवपुरी बाबाको प्रवचन सुनेर निकै प्रभावित भए । उनी निकै विद्वान् र ज्ञानी सन्त थिए । उनले जीवनका केही आश्चर्यजनक अनुभवहरू सुनाए । पर्सिपल्ट बिहान चिया पिएर तल ओर्ले । हिँड्न सक्नेहरू छिटो तल झरे । नसक्नेहरू बिस्तारै झर्दै थिए । कल्पना गुरुसँगै गफ गर्दै बिस्तारै झर्दै थिइन् । मीनेन्द्र र सुरेन्द्र पनि आफ्नो र गुरुको झोला बोकेर पछाडि आउँदै थिए । कल्पनाको खुट्टामा जुकाले टोकेछ र डराएर उफ्रिँदा खुट्टा मर्केछ । मीनेन्द्रले जुका थुतेर फालिदियो र पाती चुँडेर मिच्दै टोकेको ठाउँमा दल्यो । दुख्न कम भयो, तर केही बेर हिँडेपछि कल्पनाको खुट्टा सुनिएर आयो र झनै पीडा भयो । तल पुग्न अझै एकघण्टाको बाटो थियो । जङ्गलको बाटामा न गाउँ न गाडीघोडा थियो । पीडाले गर्दा हिँड्न नसकेपछि उनी रुन थालिन् । गुरुले भन्नुभयो चिन्ता नगर केही उपाय गरौँला । मीनेन्द्र अग्लो र हट्टाकट्टा सुन्दर जवान थियो । उसले भन्यो किन रोएको ? म हुँदाहुँदै केको चिन्ता ? तिमीलाई म बोकेर लैहाल्छु नि ! लौ मेरो झोला समात् भनी जुरुक्क बुई बोकेर हिँड्यो । सुरेन्द्रले अरू झोलाहरू बोके । एकघण्टामा बुढानिलकण्ठ पुगे र त्यहाँबाट बसमा चढेर घर फर्के । मीनेन्द्रको झोला कल्पनासँगै छुटेछ । उनले घर लिएर गइन् र बेलुकी भित्र के रहेछ भनी हेरिन् । उसको कापीमा ‘ए मेरी कल्पना’ भन्ने कविता पढेर निकै खुसी भइन् । उसले बोकेर ल्याएको र दुखेको ठाउँमा पाती दलेको सम्झँदै मनमनै हाँस्न थालिन् । मनमा मीनेन्द्रप्रतिको मायाँ बढेर आयो । उनले एक हप्ता घरमा आराम गरिन् । उनलाई कलेजमा नदेख्दा मीनेन्द्र निकै चिन्तित थियो ।
शिक्षा मन्त्रालयमा केही देशहरूबाट छात्रवृत्ति आएको रहेछ । मीनेन्द्रलगायत धेरैले आवेदन दिए । मीनेन्द्र कोलम्बो प्लानअन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि मस्को जान छनोट भयो । केही साथीहरू भारततिर पढ्न गए । सुरेन्द्र र अन्य केही साथीहरू अर्को वर्ष त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्यम्पसमा मास्टर डिग्रीमा भर्ना भए । दुई वर्षपछि मीनेन्द्र एक महिनाको बिदामा नेपाल आयो । सुरेन्द्रलाई भेट्नेबित्तिकै कल्पनाको खबर सोध्यो । सुरेन्द्रले भन्यो, “तैँले कल्पनालाई अझै बिर्सेको छैनस् ?” मीनेन्द्रले भन्यो, “साथी ! उनले बिर्सेकी होलिन् तर मैले कसरी बिर्सनु ? उनलाई कहाँ भेट्न सकिन्छ होला ?” सुरेन्द्रले भन्यो, “भेट्न मन छ भने भोलि मसँग हिँड् । उनी मसँगै कीर्तिपुर क्याम्पसमा मास्टर डिग्रीमा पढ्दै छिन् ।” भोलिपल्ट उनीहरू कीर्तिपुर गए । त्यहाँ पञ्चकन्यामध्येका कल्पना र विना तथा केही केटा साथीहरूसँग भेट भयो । मीनेन्द्रलाई देखेर कल्पना निकै खुसी भइन् । लामो समयपछि भेट भएकाले एकछिन ऊसँग कुरा गरिन् । कक्षा सकिएपछि कल्पनासँगै उनीहरू नयाँ सडक गए । साउथ इन्डियन डोसा हाउसमा खाजा खाएर रञ्जना सिनेमा हलमा हिन्दी फिल्म ‘प्रेम नगर’ हेर्न पसे । फिल्मको कथाले कल्पना र मीनेन्द्रको दिलमा हलचल ल्यायो । भोलिपल्ट शनिवार भक्तपुर डुल्न गए ।

सम्बन्धित पोस्टहरु

आइसक्रिम खाँदै सिद्धपोखरीको अवलोकन गर्दै निकै बेर गफ गर्दै डुले । मीनेन्द्रले सोध्यो कल्पना ! “तिमीलाई मेरो सम्झना आएन ? म त तिमीलाई सम्झिरहन्छु । म तिमीलाई मायाँ गर्छु ।” त्यसपछि पुरानो दरबारको अवलोकन गरे र खाजा खाए । दिन रमाईलो गरि बित्यो । बेलुकी मीनेन्द्रले कल्पनालाई घर पुऱ्याएर इलामबाट आएपछि भेटौँला भनी बिदा भयो । भोलिपल्ट इलाम गयो र केही दिन त्यहाँ बसेर गाउँतिर लाग्यो । एकदिन गाउँमा एउटा बिहेमा बुबाआमा पनि आउनुभयो । बिहान आँगनीमा बसेर सबै चिया पिउँदै गफ गर्दै थिए । हजुरबाले सोध्नुभयो ए मिनु ! तैँले बिहे गर्ने होइन् ? मीनेन्द्रले भन्यो हजुरबा ! पढाइ सकिएपछि गरौँला । अब दुई-तीन वर्षको कुरा त हो । हेर्दाहेर्दै मीनेन्द्रको बिदा पनि सकिने बेला भयो र काठमाडौँ फर्कियो । भोलिपल्ट कल्पनालाई भेट्यो र उसलाई देखेर उनी खुसी भइन् । दुवै जना गफ गर्दै रत्नपार्कतिर गए र त्यहाँबाट बसमा कीर्तिपुर गए । मीनेन्द्रले भन्यो, “कल्पना ! म अब पर्सि फर्कन्छु । म तिमीलाई केही भन्न चाहन्छु । के कुरा ? भनी कल्पनाले सोधिन् । उसले भन्यो म तिमीलाई मायाँ गर्छु र म तिमीसँगै बिहे गर्न चाहन्छु । के तिमीले म नफर्किन्जेल मलाई कुर्न सक्छ्यौ ? कल्पना अकमक्क परिन् । यो एक जटिल प्रश्न थियो, जसको उत्तर दिन निकै कठिन थियो । बस पनि रोकियो र सबै ओर्लिए । कल्पनाका आँखा रसाए र केही नबोली कक्षाकोठातिर गइन् । मीनेन्द्रले उनलाई कुरेरै बस्यो । तीन बजे बिदा भएपछि उनी मलिन मुख लिएर आइन् । उनी धर्मसङ्कटमा थिइन् । मनमा प्रश्नको ज्वालाले पोलिरहेको थियो । उनीहरू बसमा चढेर रत्नपार्क गए र हिँड्दै घरसम्म पुगे । मीनेन्द्रले भन्यो कल्पना ! म भोलि बिहान तिमीलाई भेट्न आउँछु ल ! भोलि बेलुकी मस्को जाने हो । कहिले बिहान होला भन्दै मीनेन्द्रको रात बडा मुस्किलले बित्यो । कल्पनालाई पनि रातभरिनै छटपटी भयो । बिहान मीनेन्द्र कल्पनाको घरअगाडि आइपुग्यो । क्याम्पस जाने बेला उनलाई रत्नपार्कसम्म छोड्न गयो । मीनेन्द्रले आफ्नो मनको बह लेखेको एउटा पत्र र केही चकलेटको पोको दियो । कल्पनाले पनि बाटोमा पढ्नू है ! राम्रो उपन्यास हो भनी एउटा किताब दिइन् । उसले बडा प्रेमसाथ लिएर बिदा भयो । प्रेमीसँग छुट्टिँदा कल्पना निदाउरी भइन् । दिउसो खाजा खान नगई कक्षामा एक्लै पत्र पढ्दै बसिन् । बेलुकी सुत्ने बेलामा पुनः दोहोऱ्याउँदै पढिन् । चारपाने पत्रमा उसले आफ्नो मनको भावना पोखेको थियो, प्रेमको सुन्दर कथा चित्रजस्तै कोरेको थियो । पुछारमा यस्तो सानो हृदयस्पर्शी कविता पनि कोरेको रहेछ –

कति मायाँ गर्छु तिमीलाई मुखले म भन्नै सक्दिनँ ।
पसलमा देखाउने वस्तु जस्तो देखाउन नि सक्दिनँ ।।
छाती चिरी देखाऊँ कि मायाँ कसरी गुन्जिरहेको यहाँ ।
नपत्याए चिरी हेर मुटु, तिम्रै चित्र त सजिएछ यहाँ ।।

पत्र पढेर प्रेमरसले कल्पनाका आँखा अश्रुतालमा चुर्लम्मै डुबे । सिरानी भिजेर चिसो भयो । मीनेन्द्रको यादमा सपनाको संसारमा हराइन् । उता मीनेन्द्र आकाशमा उडी रहेको थियो । राति यात्रीहरू सुतेका थिए तर मीनेन्द्र बत्ती बालेर किताब पढ्दै थियो । पढ्दा-पढ्दै कल्पनाको संसारमा डुबेछ । कल्पना आई बत्ती निभाई लुगा ओढाएर गइछन् । बिहान एयर होस्टेजले नास्ताका लागि उठाउँदा त झस्याङ भयो । नास्ता गरेपछि फेरि किताब पढ्न थाल्यो । पुछारको खाली पानामा कल्पनाले लेखेको प्रेमपत्र रहेछ । पत्रमा लेखेकी थिइन्, ‘मेरो प्रिय मिनु ! म तिमीलाई धेरै मायाँ गर्छु तर मेरो र तिम्रो मायाँको सङ्गम होला नहोला मलाई थाहा छैन । घरमा मेरो बिहेको कुरा चलिरहेको छ । मलाई अहिले बिहे गर्न मन छैन । सकेसम्म तिमीलाई नै कुरेर बस्नेछु तर मेरो निर्णयले मात्र के हुन्छ र ! भाग्यको खेल हो । के हुन्छ कसलाई थाहा छ ? तिमी फर्केर आउने बेलासम्म प्रलय पो हुन्छ कि ? आफ्नो ख्याल राख्नू । भाग्यमा भए फेरि भेटौँला । तिम्रो उही कल्पना ! मात्र कल्पना ।’ पत्र पढेर मीनेन्द्र एकछिन निकै निराश र दुःखी भयो । हुन पनि हो, मीनेन्द्र इलामको एक साधारण ब्राह्मण परिवारको छोरा र कल्पना काठमाडौँका एक उच्च पदस्त सरकारी कर्मचारी राजभण्डारीकी छोरी । के कल्पनाको घरपरिवारले यो सम्बन्ध स्वीकार गर्लान् ? प्रश्न साँच्चै नै जटिल थियो । यत्तिकैमा जहाज ओर्लने बेला भएछ ।

मीनेन्द्र हजारौँ माइल टाढा आफ्नो गन्तव्यमा पुग्यो । पुस्तकालयमा भेटेको कल्पनाको सानो तस्बिर हेर्दै चित्त बुझाउँदै थियो । अरू केही उपाय पनि त थिएन् । अब कम्मर कसेर पढाइमा लाग्यो । बेला-बेलामा क्याम्पसको ठेगानामा पत्र लेख्दै पठायो तर पुग्यो पुगेन केही थाहा भएन । न कुनै जबाफ आयो । अर्को महिना कल्पनाको बिहेको कुरा चल्यो । उनको इच्छाविपरीत घरका मान्छेले यत्तिको राम्रो सम्बन्ध सधैँ पाइन्न भन्दै मानसिक तथा सामाजिक दबाब दिएर बाध्य बनाए । उनको मन आन्दोलित भए तापनि पुरुषप्रधान समाजको मानसिक दबाबले गर्दा उनले चाहेर पनि प्रतिकार गर्न सकिनन् । चोखो प्रेमको हत्या गरी बिहे गर्न बाध्य बनाए । केटो अमेरिकामा पढ्दै गरेको काठमाडौँको एक धनाढ्य परिवारको एक्लो छोरो रहेछ । सासूससुरा भने साह्रै सज्जन थिए । केही महिनापछि मास्टर डिग्रीको परीक्षा सकेर उनी पनि अमेरिका गइन् । लोग्नेले पेट्रोल पम्पमा काम गर्दै मास्टर डिग्री पढ्दै गरेका रहेछन् । एकदिन अफ्रिकी मूलका केही ठिटाहरूले पम्पमा लुटपाट गरे र प्रतिकार गर्दा उनलाई गोली हाने । उपचारका क्रममा उनको मृत्यु भयो । उनको अमेरिकी जीवनको कल्पना त्यहीँ समाप्त भयो । यो खबर पाएर सबै बडा दुःखी भए । प्रेम र जीवनमा धोका खाएकी कल्पना अब अमेरिकामा एक्लै बस्न कसरी सक्थिन् । उनी नेपाल फर्केर आइन् । एयरपोर्टमा माइती र घरका मान्छेहरू लिन आएका रहेछन् । बाहिर निस्किँदा आफन्तलाई देखेर पागलजस्तै रुँदै विलाप गर्न थालिन् । सबैका आँखा रसाएर आए । सासूससुराले सान्त्वना दिँदै उनलाई घर लिएर गए । छोरीको विलाप देखेर आफूलाई धिक्कार्दै माइतीहरू रुँदै घर फर्के । सुरेन्द्रले थाहा पाएर कल्पनाको दुःखमय जीवनघटनाबारे मीनेन्द्रलाई पत्रमा लेखेर पठायो । उसले बेला-बेलामा मीनेन्द्रलाई पत्र पठाइरहन्थ्यो । कल्पनाको यो कुरा थाहा पाएर मीनेन्द्र धेरै नै दुःखी भयो ।

केही वर्षपछि मीनेन्द्र पनि अध्ययन सकेर नेपाल फर्क्यो र वीर अस्पतालमा काम गर्न थाल्यो । एक दिन बिरामी जाँच्दै गर्दा एक जना महिला जचाउन भनी कोठामा प्रवेश गरिन् । मीनेन्द्रले देख्नेबित्तिकै यिनी कल्पना हुन् भनी चिनिहाल्यो । उनको मुख मलिन थियो र अनुहारको त्यो उज्यालो र हिस्सीपना हराएको थियो । दारी पालेका मीनेन्द्रलाई कल्पनाले चिन्न सकिनन् । कल्पनाको पीडा थाहा भएकाले मानसिक चोट पर्ला भनी आफूलाई चिनाउने प्रयास पनि गरेन । केही सोधपुछ गरेपछि परीक्षण गर्न थाल्यो । स्टेथोस्कोपले मुटुको धडकन सुन्न थाल्यो । डाक्टरको बोली परिचितजस्तो लागेर उनी जुरुक्क उठिन् र सोधिन्, “तपाईँ मीनेन्द्र हैन ?” उसले भन्यो “हो, म मिनु हो कल्पना !” “अनि किन नचिनेजस्तो गरेको त ?” भन्दै आँखाबाट आँसु झार्न थालिन् । मीनेन्द्रले सान्त्वना दिँदै भन्यो, “तिमीले धेरै चिन्ता नलेऊ कल्पना ! आफ्नो स्वास्थ्यको ख्याल गर । चिन्ताले अरू नयाँ रोगहरू आउन सक्छन् ।” परीक्षणअनुसार उनलाई डिप्रेसन भएको रहेछ । अरू खासै केही रोग देखिएन । लेखेको औषधि लिनू र केही समस्या परेमा आउनू भनी उनलाई बिदा दिएर अर्को बिरामीलाई बोलायो तर बाहिर उनलाई कुरेर बसेको देखेर मीनेन्द्रले सोध्यो, “किन कुरेको ?” उनले भनिन्, “धेरै भयो तिमीसँग भेट नभएको । त्यसैले तिमीसँग बसेर कुरा गर्न मन लागेर कुरेकी ।” डिप्रेसनका रोगीलाई विशेष सहानुभूति चाहिन्छ भनी विचार गर्दै हुन्छ जाऔँ भनी उनलाई नयाँ सडकको डोसा हाउसमा लिएर गयो । कफी पिउँदै मीनेन्द्रले निकै बेरसम्म उनलाई अरू गफमा भुलाउन खोज्यो तर कल्पनाले आफ्नो व्यथा बताउँदै भन्न थालिन्, “मैले बाध्यताले तिमीलाई कुर्न सकिनँ र मेरो जीवन बरबाद भयो । म कस्ती अलच्छिना रहिछु भनी कतिले दोष लगाउँदा हुन् । म एक्लो र दुःखी भएकी छु । कहिले त आत्महत्या गरूँ जस्तो लाग्छ ।” मीनेन्द्रले हात समात्दै भन्यो, “कल्पना ! धेरै चिन्ता लिएर केही हुनेवाला छैन । जीवनमा सुखदुःख आइरहन्छन् । सबैसँग लड्दै जानु नै जीवन हो ।” मीनेन्द्रसँग भेटेर कुरा गर्दा उनलाई धेरै हल्का भयो । वेटरले डोसा लिएर आयो र खाएर उनीहरू निक्ले । मीनेन्द्रले उनलाई घर पुऱ्याइदियो । बेला-बेलामा भेटेर जचाउँदै गर्दा कल्पनालाई सन्चो हुँदै गयो । एक दिन मीनेन्द्रले कल्पनालाई जाँचेर भन्यो, “कल्पना ! तिमीलाई एउटा साथी चाहिन्छ । त्यो कुनै मान्छे वा लगनका साथ गर्नुपर्ने कुनै काम पनि हुन सक्छ ।” उनले भनिन्, “ठिक भन्यौ । मलाई तिम्रै अस्पतालमा काम मिलाइदेऊ न ! समय बिताउन सजिलो होला ।”

एक दिन कल्पनाले उसलाई घरमा खाना खान बोलाइन् । कलेजमा सँगै पढ्ने मेरो साथी डाक्टर मीनेन्द्र र अहिले वीर अस्पतालमा काम गर्नुहुन्छ भनी सासूससुरासँग परिचय गराइन् । सबैले सँगै बसेर गफ गर्दै खाना खाए । मीनेन्द्रको बोलीवचन र व्यवहारले बुढाबुढीहरू निकै प्रभावित भए । बुढाबुढीहरूले पनि दुःख पोख्दै भने, “बाबु ! छोरा पढेर फर्केर आउला र हाम्रो हेरचाह गर्ला भनेको त दैवले उसलाई नै लग्यो । हामीलाई हेरचाह गर्ने यिनै बुहारी छिन् । यिनी पनि दुःखी छिन् बिचरा !” जाने बेलामा उसले भन्यो, “हजुरहरूलाई केही समस्या परेमा मलाई भन्नुहोला ।” एकदिन कसैलाई केही थाहा नदिई केही सौगात लिएर कल्पनाको घरमा आयो । उसलाई देखेर सबै खुसी भए । आमाले “कताबाट बाबु !” भनी सोध्नुभयो । “आज आमाको मुख हेर्ने दिन हो नि आमा ! ह्याप्पी मदर्स डे” भन्दै आमा र कल्पनालाई सौगात दियो । कल्पनाले “मलाई किन ?” भनी सोधिन् । उसले भन्यो, “हजुर पनि त आमाकै रूप हो नि ।” सबै हाँस्न थाले । डिप्रेसनले गर्दा कल्पनालाई आमाको मुख हेर्ने दिनको ख्यालै भएन । उनको मनमा चिसो पस्यो र दुःखी हुँदै भान्सातिर गइन् । सोच्न थालिन् ‘आज म पनि आमा हुन पाएको भए मेरो बच्चासँग खेलेर बस्थेँ र सासूससुरा कति रमाउँथे होला तर म कस्ती अभागिनी रहेछु ।’ मीनेन्द्रले बुढाबुढीहरूको स्वास्थ्य परीक्षण गऱ्यो । केही जाँचहरू गर्नुपर्ने लेखेर दियो । भोलिपल्ट कल्पनाले सासूससुरालाई प्रयोगशालामा लगेर जचाइन् । पर्सिपल्ट मीनेन्द्र रिपोर्ट हेर्न घरै आयो र केही आवश्यक औषधिहरू लेखेर गयो । एकदिन कल्पनाको ससुराले घरमा सानो पूजा लगाउनुभयो र “डाक्टरलाई दिउँसो खाना खाने गरी बोलाउनू” भन्नुभयो । दिउँसो डाक्टर पनि आए । पूजा सकिएपछि, “तपाईँ पनि मेरो छोरा हो बाबु !” भनी आमाबुबाले डाक्टरलाई टीका लगाई आशीर्वाद दिनुभयो । छोराको सम्झनाले उनीहरूका आँखा रसाएर आए । बुबाले भन्नुभयो, “डाक्टर बाबु ! कल्पना हाम्री बुहारी हैन छोरी नै हुन् । यिनी सधैँजसो दुःखी देखिन्छिन् । हाम्रो त छोरा गयो तर यिनको त लोग्ने मात्र गएन, जीवन नै बरबाद भयो । हामीले यिनको दुःख देख्न सक्दैनौँ । हामीले दुःख पाए पनि यिनको जीवन नबिग्रे हुन्थ्यो । कुनै राम्रो वर पाए मैले नै यिनको बिहे गराइदिन्थेँ । कोही त्यस्तो व्यक्ति पाए विचार गर्नुहोला ।” यो कुरा मीनेन्द्रको मनमा गड्यो । हुन त उसले कल्पनालाई अझै पनि उत्तिकै मायाँ गर्थ्यो । आउँदैजाँदै गर्दा कल्पनाको मनमा मायाँको टुसा पलाउन थाल्यो तर मनभित्रै थियो । एकदिन मीनेन्द्रले कल्पनालाई गणेशको पूजा गर्नु छ भनी मोटरसाइकलमा सूर्यविनायक लिएर गयो । गणेशको दर्शन र पूजा गरी केही बेर मन्दिरअगाडि बसेर ध्यान गरेपछि उसले भन्यो, “कल्पना ! म तिमीलाई अहिले पनि उस्तै मायाँ गर्छु । के तिमी मसँग बिहे गर्छ्यौ ?” उनी झस्याङ्ग भइन् र रिसाउँदै भनिन्, “अर्काको घरमा गइसकेको मान्छेले यस्तो निर्णय गर्दा सासूससुराले के भन्नुहोला !” मीनेन्द्रले कुरा बुझ्यो र धेरै बोल्न उचित नहोला भनी उनीहरू घर फर्के । मीनेन्द्रले बुबाआमालाई सूर्यविनायकको फुलप्रसाद दियो र सबै बसेर खाजा खान थाले । उसले सबैको अगाडि भन्यो, “बुबा ! हजुरले आज्ञा दिनुहुन्छ भने कल्पनासँग बिहे गर्न म तयार छु ।” बुबा निकै खुसी हुनुभयो र भन्नुभयो, “अहा ! मेरो मनको कुरा आयो । गणेशजीले हामीमाथि कृपा गर्नुभएछ ।” ससुराले भन्नुभयो, “हेर छोरी ! जे भयो भयो, तिम्रो जीवन अझै धेरै बाँकी छ । तिमीहरूले बिहे गरेमा हामी खुसी हुनेछौँ । एक नयाँ जीवनको सुरुवात गर । अगाडि आएको सुख देख्दादेख्दै दुःखलाई किन अँगालो मार्ने ? हामीले पनि चिन्ता र पीडाबाट मुक्ति पाउनेछौँ ।” कल्पना जुरुक्क उठेर भान्सातिर गइन् । मीनेन्द्र पनि पछिपछि गयो र भन्यो, “कल्पना ! मैले तिम्रो मन दुखाएँ । तिम्रो मायाँले मलाई पागल बनायो । मलाई माफ गरिदेऊ” भनी निस्कनै लाग्दा कल्पनाले नाइँ नजाऊ भन्दै उनलाई अँगालो मार्दै भनिन्, “डाक्टर ! मलाई माफ गरिदेऊ । मैले तिमीलाई कुर्न सकिनँ तर अब मलाई छोडेर नजाऊ । तिम्रो मायाँ साँचो रहेछ । मेरो जीवन र यो घर जोगाइदियौ ।” एक दिन मीनेन्द्र र कल्पनाको बुबाआमा तथा सासूससुराको समुपस्थितिमा सूर्यविनायक मन्दिरमा गणेशलाई साक्षी मानेर उनीहरूको नयाँ जीवनको सुरुवात गरे । बुबाआमाले तिनीहरूलाई अँगालो मार्दै आशीर्वाद दिए । हत्या गरेको प्रेम फेरि ब्युँतिएर आयो ।

वरिष्ठ चिकित्सक,
पोखरा, नेपाल

प्रतिक्रिया
Loading...