
म कवि होइन, कवि ऊ हो ।
तिनीहरूले भने झैं
मैले रगतले लेखेका होइनन् कविताहरू
शब्दहरू रूँदै होलान तर आँसुले पनि लेखिएको होइन
अन्धकार इनारको गहिराइबाट जे जे निस्किए, निस्किए
जो बौलाएर निस्क्यो बाहिर
उसैले लेखेको हो कविता, उस्ले पिपले लेखेको हो ।
मैले त मेरा शब्दहरूलाई
तिनीहरूकै अर्थ बुझाइदिन सकेको छैन,

शेखर आचार्य
ती घृणाहरू,
यावत घाउहरू,
कचल्टिएर पाकेको चेतना,
गनाएका वृतिहरू,
ती मेरा मानिएका, ती पिपले लेखिएका कविताहरू ।
के शब्दहरूले तिमीलाई बुझाउन सके
मैले भन्न नसकेका भावहरू,
उस्ले भन्न खोजेका भावहरू ।
सपना झैं विश्रृखल छन् शब्दहरू,
मन पागल झैं निस्केर दौडन्छ सडकमा,
दिमाग लाभा झैं पोखिन खोज्छ,
सधै एउटा विश्रृखल कविता लेख्न खोज्छ ।
म भने आफूलाई कैद गरेर
अव्यक्त बाँचिरहेछु ।
मेरा असफल अभिव्यक्तिका
चुहिन सफल एक दुई थोपाहरू हुन, ती शब्दहरू ।
उस्को कलमबाट चुहिन सफल ।
यदि म छु भने,
अलिअलि म उस्का कविता हुँ ।
तिम्रा लागि अपरिचित,
मेरै लागि अपरिचित,
दृष्य परिचय भन्दा एकदम भिन्न म ।
यदि म ऊ हुँ भने
अलिअलि म मेरै कविता हुँ
उसैले लेखेको कविता जस्तो ।।
शेखर आचार्य
शंखादेवी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








