सल्काइएको छ दियो
चुपचाप निदाइरहेको अन्धकारको हत्या गर्न
कहाँ गएर सुतोस् यो रात अब ?
जूनको धमिलो तस्वीर रोइरहेछ आकाशमा
कहाँ पुगेर थकाई मारून् आँखाहरूले ?
के उड्नै नपाउनु लाटोकोशेरोहरूले ?
कसरी थाहा पाउन् बच्चाहरूले
आकाश ताराहरूको नीला थोप्ले बुट्टाको तन्ना हो भनेर ?
उनीहरू जञ्जीरले बाँधेर डाँडाको शिरमै अड्याइरहन चाहन्छन् सूर्यलाई
तर मलाई घृणा छ यो अन्धोप्रेमको आशक्तिसँग
के अपराध हो, समय अलिकति सुस्ताउन खोज्नु ?
किन यति घृणा, किन फुल्नै नहुने कालो फूल ?
किन आउनै नहुने रात ?
बरू मलाई घृणा छ यो अभिमानी दियोसँग
जसलाई सदियौँदेखि प्रथमपुज्य मानियो
मलाई घृणा छ, उज्यालाका प्रशंसक कविताहरूसँग
यो अन्तरीक्ष अन्धकारकै बिस्तरामा सुतिरहेको एउटा वृद्ध न हो
तिमी त्यही अँध्यारो पाठेघरबाट मिल्किएका न हौँ !
हेर त कसरी चिथोरिरहेछ, रातको निग्रो ढाडहरूलाई
दियोका सेता नङ्ग्राहरूले
निभाऊ दियो,
निभाऊ लेस मात्र झिल्काका अहंहरू पनि
र प्रेम गर्न देऊ मलाई
अरूले घृणा गरेको यो परित्यक्त उदास रातलाई ।
शंखादेवी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










