खाली हृदय कस्को घर हुन्छ ?
अन्धकार गल्लीको
या
गल्लीको आखिरी बिन्दुको धमिलो प्रकाशको ?
हृदयमा
रित्तो डुङ्गा सवारी नपाएर डुब्ने तरखरमा छ
नाविकलाई आफ्नै हृदय साथै छ भन्ने हेक्का छैन
छन त उसकै छातीमै कतै छ हृदय !
प्रेम, घृणा, विवाह
समाज, राजनीति, धर्मशास्त्र
नाताहरू; ईश्वरहरू
उमेरको हिसाबकिताब
जीवनको गणित र मृत्युको दर्शन
सबै पहाडबाट पहिरो खसेझैँ खसिसकेपछि
शेष के रहन्छ हृदयमा आखिर ?
युग भयो
जङ्गलको किनारमा उभिएर सोच्न थालेको ।
कता जानु
जङ्गलतिर ?
जङ्गलभन्दा पर शान्त सुतिरहेको छ समुद्र
कति परसम्म जानु ?
यो बाटोमा हिँडेकाहरूको कुनै पदचाप सुनिँदैन
सबै निशब्द छन्
अपरिचित आत्माहरूको मौन लस्कर
कतै कसैलाई नहेरी झुकेका निशब्द नजर
लत्रेका काँध
र नितान्त खाली हृदय बोकेका
यात्रीका भिडहरू
क्रमशः
घस्रिँदै र खिइँदै बगरका कणमा परिणत भइरहेछन् ।
हिमाल, पाटन या मरुभूमिहरूमा
तिनीहरू जुन उमङ्गले हिँड्थे पहिले
पहाड नाघ्ने चरा जस्तै
उचालिएको छाल जस्तै
हावाका लापरवाह तरेली जस्तै ।
कुनै मेसिनका नखिइएका पुर्जाझैँ चलायमान थिए तिनका घुँडाका हड्डीहरू
मस्तिष्क ज्वालामुखी जस्तो थियो
प्रेमिकाहरूको अदलबदलमा आधा उमेर बिताएका थिए
तर अब
कारखानाका
थाकेका मजदुरजस्ता देखिन्छन् तिनीहरू ।
पत्नी अब उर्वर बगैँचा रहिनन्
अब सन्तानलाई आफूले फुलाएको फूल भन्दैन माली ।
जहाँ अनन्त ताराहरूभन्दा धेरै बैँसालु फूलहरू अटाउँथे
पीडाको तलाउ
प्रेमको पानी
र स्वप्नको छायाले चकाचौँध त्यो हृदयमा
खोक्रा बाँसमा झैँ
असरल्ल रित्तो आकाश कैद छ आज ।
कसैलाई थाहा छैन
कस्को आगमनको तयारीमा रित्तिँदै छ हृदय ।
कोही बताऊ
मैले नै चियाउन छोडेको
मेरो यो खाली हृदय कस्को घर हुन्छ अब ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










