ओ यायावर !
तिमीले नै भनेको हैन र अस्ति
दशगजामा खनिएको युद्धको बंकर हो जिन्दगी
ए यायावर
तिम्रै निष्कर्ष म भन्छु
मस्तिष्कको अवसादको तन्काइ हो यात्रा
अवश्यै यायावर
बाटाभरि भेट्यौ नि थुप्रै अरू
तिमीसँग खराब हुन अवसर नपाएका असल मान्छेहरू ?
र यायावर
भोकको पूर्तिको खोज, यो धराधरमा
टुङ्गिन्छ सुकेको आन्द्राको अल्सरमा
हे मृत यायावर
त्यो चौतारी हैन/चिता हो/तिम्रो चिहान हो
बनाउनेहरू/घेरेर उभिएका, तिम्रो प्रतिक्षामा गफिँदै बसेका
जिउँदा आफन्तहरूको चिया दुकान हो
अरूलाई छोड्न ती पटक पटक यहाँ आइरहन्छन्
हेर त यायावर
ककस्को हातमा छ आगो र तेल ?
ककस्को हातमा छ माटोको कोक्रो खन्ने सावेल ?
ओ यायावर! किन आयौ नि ?
उफ् यायावर! किन गयौ नि ?
देख्यौ नि यायावर
हजार खुट्टा टेक्दा टेक्दै बाटैमा ढलेको वर !
ओ यात्री ! ओ यायावर ..!
शंखादेवी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला