शेखर आचार्य

सधैं सधैं देखेर
गाउँ छिर्ने दोबाटोमा उभिएको
भेट्ने बित्तिकै
कुनै दुर्गन्धित पागल हो झै नघुर

मेरो जिन्दगी बुझ्ने कोसीस नगर
रहस्यमय गल्ली जस्तो छ
यो मेरै लागि
तिम्रो लागि यो भ्रम भन्दा बढी नहुन सक्छ
दोछायाँ जस्तो
अस्पस्ट दस्ताबेज
घाउहरूको पान्ना त पल्टाउँदै नपल्टाऊ
गहिरो इनारजस्तो उचक
कुनै डोरीमा झुन्डिएर
कुनै बाल्टी त्यो अंधकारमा ओर्लियो भने
मात्र रगतले भरिनेछ उस्को खोज
आँसु मात्र भरिनेछ उस्को अञ्जुलीमा
इनारबाट उम्लिएर पोखिन प्रतिबन्धित
अग्नी जस्तो रगत
तेजाब जस्तो आँसु
गल्नेछ मलाई खोतल्ने बाल्टिन

मेरो इनारको पानी पिउन मान्दैन बाल्टिन

बस् समस्या यो हो कि
मेरो अनुहार मात्र तिमीहरुसँग मिलेको हो
तिम्रो लागि म एक जात हुँ मान्छेको अजात
हेर घुरेर बस्ती बाहिरको बस्तीमा उभ्याईएको
के म उही बुख्याचा होइन ?