मान्छेले
भाषा बनायो
र
जान्यो
म तेरो ईश्वर हुँ भन्न,
म तेरो मालिक हुँ भन्न।
कुनै ताकतवर मान्छेले
बनायो पहिलो राज्य,
र
स्वीकारे विकल्पविहीन मान्छेहरूले
शासकहरूको दास हुन।
त्यही राज्यले जन्मायो
कमजोरहरूका बलिया मालिकहरू,
बलिया मालिकका आलिसान दरबारहरू,
आलिसान दरबारका तानाशाह शासकहरू।
मालिकहरूले
आगोलाई वशमा पारे,
ढुङ्गालाई तिखार्दै तिखार्दै बुलेट बनाए,
कम्मरमा छाला बेर्दाबेर्दै
छालाको बुट बनाए।
उक्काए पहिलो चपरो,
खने दमनको बाटो,
बाटोमाथि लासहरूको ढलान बिछ्याए
र उन्मादमा
बुटले लासको छाती टेक्दै-टेक्दै हिँडे।
राज्य
अहँ, सुन्दैन,
अहङ्कारले बोल्छ,
नबोल्न भन्छ।
त्यही राज्य
तेरो निधारको मालिक हुँ भन्छ,
बुट, बुलेट र बन्दुकले गस्ती गर्छ।
बाबुलाई हली राख्छ,
छोरालाई विश्वबजारमा बेच्छ,
र नातीलाई
देशकै सडकमा गोलीले भुट्छ।
आवाजहरू सडकमा निस्केपछि…..
बुलेट चल्छ,
दिनभर जल्छ
मेरो राज्यको राजधानी।
अबोध काँधहरू अबोध लास घिसारिरहेछन्,
फैलिएर
युद्धमैदान
अस्पतालको बेडसम्म पुगेको छ।
रगत लतपतिएको बिजोर जुत्ता,
कलेज ड्रेसको रक्तिम चिथडो
छुटेको छ
त्यतै कतै
क्रुर अन्धो सडकमा।
रात कौसीबाट हेर्छु- झिलिमिली राजधानी,
हजारौँ बत्तीहरू छन्,
तर एउटा अँध्यारो छ
प्रत्येक दुई बत्तीहरूको बीचमा।
त्यो अँध्यारो
इतिहासमा अङ्कित भ्रष्ट अनुहार हो
मेरै मालिकको, मेरै शासकको।
अर्को बिहान
नाबालिग रगतका टाटा
सडकमा नै टाँसिएका छन्, नातीहरूको अनुहार लिएर।
लामो मौनता छ,
असह्य शान्ति छ।
शायद आँधी उठ्नुअघि,
शायद मौनता तोडिनुअघि
समयले केही निमेष श्वास रोक्छ।
तर अवश्यै जुर्मुराउनेछ आक्रोश
पाइलैपिच्छे,
शायद अझै थपिनेछन्
अन्धो सडकमा रगतका आला टाटाहरू।
तर मालिक,
हजुरले हेर्न आउनुभएमा
देख्नुहुनेछ
छरप्रस्ट गिदीमा विचार ज्युँदै छ,
रगतका टाटाहरूमा आवाज ज्युँदै छ।
तर मालिक,
बोल्न प्रतिबन्ध भएसम्म
बोल्नेछन् पुनः पुनः पुस्ताहरूले
वाई, जेड, अल्फा र बिटा ओठहरूले।
अनि मालिक,
मान्छेले भाषा मात्र बनाएको छैन,
बनाएको छ
ती ओठहरूले बोल्ने विद्रोहको भाषा पनि
बोल्न
ईश्वरहरूका विरुद्ध,
बोल्न
मालिकहरूका विरुद्ध।
अनि मालिक,
तिम्रो राज्यले बुलेट मात्र बनाएको छैन
जन्माएका छन्
हाम्रा आमाहरूले
बुलेट थाप्ने थुप्रै छातीहरू पनि।
एक दिन, एक साँझ
लाटोकोसेरोको आँखा बोकेको बुढो सत्ता
जब पछारिनेछ भुइँमा
अहङ्कारले अग्लिएको
धरहराको अकण्टक उचाइबाट।
जब त्यो खरानीझैँ उड्नेछ,
जब त्यो पतकरझैँ टेकिनेछ।
तब फर्किनेछ घर
भर्खर जुँगाको रेखी बसेको युवा
गोलाकार ओठले विजयी सुसेली सुसेल्दै।
हुनेछ हातमा
सडकमा छुटेको उही रक्तिम जुत्ता
जसले सम्झाइरहनेछ
राज्यहरू मौन हत्यारा हुन सक्छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










