सुनसान द्विपको
रित्तो सेतो बालुवामा
एक्लै भौंतारिइरहेको
देश फर्कन नसकेको मान्छे
देश नभएको मान्छे
दु:खका दार्शनिक कविताहरू लेख्छ
दर्शनका दु:खहरू लेख्छ
एकलाश शून्यताका शान्तिहरू लेख्छ
एकान्तताले चिथोरेपछि, गालाका पाप्राहरू कोट्याई बस्छ
अशान्तिका कविताहरू लेख्छ
कविताका पान्नाहरू नियाल्छ
अस्तित्व र सार्थकताको आगो देख्छ
साँझ सूर्य ढल्दा
अस्तित्व र सार्थकता निभिरहेको देख्छ
निस्सारताको कालो रातले छोपेको देख्छ
कविताका पान्नाहरू धुजाधुजा च्यात्छ
र आहारा हालिदिन्छ
जूनको उज्यालोमा चाँदीझैं चम्किरहेका सिलिङ्बिलिङ् माछाहरूलाई
माछाले पनि नसुँघ्ने दर्शन/बग्दै टाढिन्छन् जीवनबाट
माछाले पनि नसुन्ने कविताहरू/बग्दै टाढिन्छन् किनारबाट
ऊ पानीको तरङ्ग हेरिरहन्छ
बग्दै गएका कविताका अक्षरहरू हेरिरहन्छ
पानीमाथि पाइलाहरू कुद्छन्/ऊ घर जाने बाटो कल्पिरहन्छ
तर अझ बढी समय ऊ आँखा चिम्म पार्छ
र, घर जाने बाटो बिर्सिरहन्छ
कहिलेकाहीँ मसीका थोपाहरू पानीमा तपतप चुहाउँछ
र, दिनभर नीलो भएको समुद्र हेर्छ
कहिलेकाहीँ आँशुका थोपाहरू पानीमा चुहाउँछ
र रातभर समुद्रको ज्वार हेर्छ
साँझ नीलो समुद्रमा औंलाको टुप्पोबाट रगत चुहाइदिन्छ
र पर रातो भएको क्षितिज हेर्छ
नरिवलका रूखहरूसँग एकसरो बात गर्छ
बतासहरूसँग नृत्य गर्छ
जब सारा सुन्दरतालाई घृणा गर्छ
ऊ आँखा चिम्म पार्छ
र, घर जाने बाटो बिर्सिरहन्छ ।
शंखादेवी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










