एउटा देश
जहाँ राजा हुन्छ
तर जनता हुँदैन

सधैं सेनाले घेरिएको
शक्तिमदले चुर
श्रीपेच भिरेको टाउको
आफूलाई राजा भन्छ

उस्को वरिपरि
शिर झुकाई झुम्मने
शक्तिमान भारदारहरूलाई
चिप्लो धाप मारेर
कहिले तिनैलाई घोडा बनाई
कहिले तिनैलाई हात्ती मानेर
त कहिले ऊँट ठानेर
एक पाइला मात्र हिँड्ने राजा
बुई चढेको भरमा
यो कुनो र त्यो कुनो गर्छ
र आफूलाई राजा ठान्छ
त्यो देशको

सिपाही बनाइएकाहरू
उसको इशारामा
उसको रक्षामा
जुनै पल पनि मर्नु पर्छ
यदि भाग्यले बाँचिरहे
बरू सिपाही मन्त्री होला
घोडा, हात्ती र ऊँट होला
तर कहिल्यै राजा हुँदैन

त्यहाँ राजा हुन्छ
तर जनता हुँदैन

मतियार मन्त्री र भारदारहरू
उस्को श्रीपेचको लागि
जुनै कुटिल दाउपेचले
अरू राजालाई लडाई छाड्छन्
हल्लन नसक्ने गरी घेरेर
कोतको कुनै पनि कोठामा
चेक भन्दै चिच्याउँदै मार्छन्
अनि ऊ निस्कण्टक राजा बन्छ
त्यो देशको
जहाँ राजा हुन्छ
तर जनता हुँदैन

यदि जनता भए
तिनको कुनै मूल्य हुँदैन

सुन्दैछु-
मेरो देशलाई फेरि
चेसबोर्ड बनाउने हल्ला हुँदैछ ।