आफैँले रोजेर कैद हुन गएँ
सुनको पिँजडामा सयौं दिन बित्यो
दाना ८४ व्यञ्जन थियो
सबै व्यञ्जन आफ्नो पनि थिएन
यो परदेश थियो
र भोक देशमा जति थिएन
नयाँ गाउँ, नयाँ मालिक
नौलो घाम, नौलो बतासको गन्ध
चेतना बन्धक राखेर रमाएँ
परदेशमा
राजाले मेरो गीत सुन्यो
मेरो पखेँटाको दुईवटा प्वाँखहरू थुत्यो
र चार लाइन कविता कोर्यो
मैले हरेक दिन चुच्चोले ओखर फोरिदिनु पर्थ्यो
चोटिल चुच्चोबाट झरेको रगत
मसी बन्थ्यो कविता कोर्न
मोती दिने वाचा थियो
म जमिन बेचेर आएँ
मोती दिने वाचा थियो
म जंगल छोडेर आएँ
मेरो गीत पुरानो लागेपछि
पखेँटाहरू अरू कोत्रन नमिलेपछि
चुच्चोमा धार नरहेपछि
सुनको पिँजडामा बस्न अर्कै बुलबुल आयो
राजाले मुक्त गरिदियो आफ्नो पुरानो कैदी
मैले फर्कनुको विकल्प थिएन
ठुटो चुच्चोले एउटा रोटी च्यापेँ
जीवनको पारिश्रमिक-
आँशुका सयौं मोतीहरू थिए
घायल पखेँटाले सयौं माइल उड्नु थियो
वाचा त मोति दिने थियो ।
शंखादेवी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









