कसैले सोचे जति सजिलो छैन

पथ्थर भएर बाँच्न

त्यति सहज हुन्न जीवनभरि मौन बस्न

युगौँ भो पहाडको भिरमा गाडिएको

कुनै पहिरोले आजसम्म कतै लगिदिएको छैन

 

सुन्छु तल मैदानको गाउँमा

कुनै कुनै पथ्थरले

देवता बन्ने अवसर पाउँछन्

तर यता चट्टानी बस्तिमा हल्ला छ

पथ्थरलाई देवता भनिन

अझै कष्टकर हुन्छ

 

यता

भिरमाथिको शिरिषको फूल

झरेर टाउकोमा परेको बाहेक

निधारमा कुनै मान्छेका औँलाले

रातो दलिदिएको छैन

ठिकै छ

मान्छेका आशीर्वादले

मान्छेकै देवता पनि नबनूँ होला

एउटा मुढाले के आशिर्वाद दिनु

फेरी भोका मान्छेहरूलाई

 

तर पनि

कुनै पैतालाहरूले फतेह गरेका छैनन् यी छाती

कुनै मूल रसाएको छैन चिराबाट

यहाँ मौरीले घार बनाएको छैन

दरारमा पिपल पनि उम्रिएको छैन

युगौँ भो एक्लै निदाएको

सोच नब्युँझनु जतिको भयानक अरू के हुन्छ ?

 

केही वर्षमा थोरै चोइटिनु

केही दशकमा अलिकति खिइँदै जानू

केही युगमा विरूपाक्ष झैँ अलिकति उकासिनू

यो अजर उमेर भार भएको छ

 

किरा नलागेपछि मक्किनु कसरी ?

लाश नगलेपछि सक्किनु कसरी ?

केही नभए पनि अश्वत्थामाको झैँ

निधारमा घाउ भएको भए पनि

उमेरभर कोट्याई बस्न त हुन्थ्यो

 

फिटिक्कै सहज छैन

पथ्थरलाई पथ्थर हुन

 

तर तिमी जे बाँचिरहेछौ त्यो त मृत्यु हो

विचार नजन्मनु भनेको

सागरमा छाल नउठ्नू हो

औँला नउठ्नू, पाइला नसर्नू

छाती नचल्नू, आँखा नरसाउनु,

मौन रहनु र आवाज ननिस्कनू

तिम्रो जीवन पथ्थर भन्दा जड छ

अहो कस्तो! एउटा निस्सार जीवन बाँचिरहेछौ नि

आऊ, बरू म तिमीलाई मेरो ठाउँमा गाडिदिन्छु