शेखर आचार्य

शेखर आचार्य

खोल्दैमा, घाम छिर्ने ढोका हैन यो
उघ्रिदैमा झ्याल
हावा महलझैं शीतल छैन यो घर ।

मूर्ति भएका मन्दिरहरू मात्र होइन
प्रियको लाश गाडिएको ताजमहल मात्र हैन
रित्ता हुँदारहेछन्
मान्छे भएका घरहरू पनि ।

आधा जनसंख्या मंगलमा बसाईं सरेको धर्तिजस्तो-
फुस्रो बस्ती
सुनसान गोरेटोहरू
पोलियोग्रस्त जिब्रो भएका
आक्कलझुक्कल भेटिने मान्छेहरू ।

बरू शवहरू बाकसमा फर्के होलान् तर
घर छोड्ने छोराहरू बुद्ध भएका छैनन् ।

आशा मात्र हो
जरा छाडेर हिँडेका रूखहरूले
कतै खोंचमा गएर बस्ती बसाले कि भन्नु ।

यता सुदूरको रित्तो बस्ती
उता सुदूरमा, कतै बास नभेटेका मान्छेहरूको भिड
जीवन्त भन्नु त
जाने र फर्कने लाशहरूको लामबद्ध लर्को लिएर
यी दूर भूगोल जोड्न व्यस्त बाटो मात्र छ ।

माटो उड्नु परेपछि बाटो आकाशमा पनि बन्दो रहेछ
माटो बग्नु परेपछि बाटो समुद्रमा पनि बन्दो रहेछ ।

यहाँ यता यशोधरा छिन्
यहाँ राहुल पनि छ
श्रवणकुमारका बा र आमा छन्
पल्लो घरमा शोकाकुल दशरथ पनि छन्
एक्लै बिस्तरामा पल्टिरहेकी एकादेशकी राजकुमारी
बूढा बा-आमाहरू
सुन्दर श्रीमती/एक्ला श्रीमान्हरू
जिउँदा बा आमाका अनाथ बच्चाहरू।

उता जंगलमा राम, लक्ष्मण, सीता
उता विछोड भएका शिशिर र वसन्त
उता भौंतारिइरहेका सिद्धार्थ
उता अपहरित राजकुमार दिक्पाल
उता भेडी गोठमा/मरूभूमिमा
उता कालापहाडमा
उता तातो अरब र चिसो युरोपमा
उता पाताल लोकमा
उता उता उता…

उता र यता भएको छ मेरो बस्ती
उता र यता भएको छ मेरो इतिहास
उता र यता टुक्रेका छन् लोककथाहरू
कथा सुनाउने ओठ र सुन्ने कानहरू
उता र यता बाँडिएको छ घर
बाँडिएका छन् भूगोल र मान्छेहरू ।

फेरि यो रात छलफलमा छ शेष बस्ती
छान्नु छ बस्तीबाट एउटा घर
छान्नु छ त्यो घरबाट एउटा मान्छे
पठाउनु छ हरेक बिहानझैं भोलिको बिहान
सधैंझैं एक-एक गर्दै बस्तीका मान्छे
सपनाको सुदूर बस्तीमा पर्खिरहेको छ भोको बकासुर
र व्याकुल छन् बकासुरको बस्तीमा पुग्न भोका पेटहरू ।

एकाबिहानै खण्डहरको सपना देखेर ब्युँझन्छन्
बस्तीका उदास घरहरू
खोल्दैमा, घाम छिर्ने ढोका हैन यो
उघ्रिँदैमा झ्याल
हावा महलझैं शीतल छैनन् यी घरहरू ।

शंखादेवी