
‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । ‘सन्तापकाे धून’देखि मिश्रित ‘बेपत्ता सिपाही’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. सन्तापकाे धून – डा. अशाेक थापा
समालाेचक तथा नेपाली रङ्गमञ्चका गम्भीर अध्येताका रूपमा ख्याति कमाएका साहित्यकार डा. अशाेक थापा कथासङ्ग्रह हो, “सन्तापकाे धून” । कथाकार थापा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । याे उनकाे पहिलाे माैलिक कृति हाे ।
विसङ्गतिवादी लेखनका ज्ञाता डा. अशाेककाे प्रकाशाेन्मुख कथाकृतिमा आजकाे मान्छे र समाजभित्र विद्यमान अदृश्य विसङ्गति र विपर्यासहरूकाे सुन्दर उत्खनन् गरेका छन् । रङ्गमञ्चमा अभिनयकाे अनुभवसमेत सँगालेका लेखक थापाका कथामा नाटकीयता पनि यथेष्ट मात्रामा पाइन्छ । नेपथ्यका पात्रकाे उपस्थिति, आञ्चलिक भाषाकाे प्रयाेग तथा नवीन आख्यान-शिल्पका कारण कथा पाठनीय छन् ।
१३ कथा समेटिएकाे सङ्ग्रहलाई पेज टर्नर प्रकाशन गृहले बजारमा ल्याएको हो ।
२. नेपालमा बुद्धधर्मको इतिहास – डा. चन्द्रकला घिमिरे (अधिकारी)
त्रिभुवन विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनरत् डा. चन्दकला घिमिरेको कृति हो, “नेपालमा बुद्धधर्मको इतिहास” । पुस्तकमा लिच्छविकालमा बुद्धधर्म, मध्यकालमा बुद्धधर्म, उत्तर–मध्यकालमा बुद्धधर्म, खस साम्राज्यमा बुद्धधर्म, राणाकालमा बुद्धधर्मलगायत विषयहरुलाई तथ्यगत रुपमा समेटिएको छ ।
डा. घिमिरेले उपल्लो मनाङलाई अध्ययनको क्षेत्र बनाएर हिमाली क्षेत्रमा अभ्यास गरिने बुद्धधर्म, सम्पदा र संस्कृतिसँग सम्बन्धित रही “बुद्धिज्म इन निश्याङ् भ्याली: मोर्डन एण्ड पोष्ट मोर्डन कन्टेष्ट” शीर्षकमा विद्यावारिधि गरेकी छिन् । पुस्तक त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन विषयको स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश सन्दर्भ सामग्रीहरु, बौद्ध अध्ययन विषयका प्राथमिक स्रोतहरु, अन्य अनुसन्धानात्मक पुस्तक, प्रतिवेदन तथा अनुसन्धानात्मक लेखहरुको अध्ययन गरी तयार पारिएको लेखक घिमिरेले भूमिकामा उल्लेख गरेकी छिन् ।
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ५४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय २० रुपियाँ रहेको छ ।
३. अनुभूतिको इन्द्रेनी
प्रीति आत्रेय ज्ञवालीकृत कवितासङ्ग्रह हो, “अनुभूतिको इन्द्रेनी” । पुस्तकमा साना तथा मझौला आयतनका ५९ थान कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहित कविताहरु सरल र सहज छन् । कठोर, विकट र जटिल विषयलाई सहज र सुन्दर शैली र शब्दमा व्यक्त गर्नु कवि ज्ञवालीको विशेषता देखिन्छ ।
“संस्कृत व्याकरण, साहित्य, ज्योतिषशास्त्र आदिका साथै नेपाली भाषा–साहित्यका विविध विधाप्रति निकै चासो राखेर सदैव सिर्जनात्मक सक्रियता देखाउनुहुने आत्रेय हाल कम्बोडियामा बसेर भए पनि नेपाली साहित्यको सेवा गरिरहनुभएको छ ।”, पुस्तकको भूमिकामा प्राज्ञ डा. देवी नेपाल लेख्छन्, “नेपाली कविताका विविध रुप र विविध शैलीमा उत्तिकै सशक्त रुपमा कलम चलाउनुहुने उहाँ प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनओटै कुराले खारिएकी व्यक्तित्व हुनुहुन्छ ।”
पुस्तकलाई शब्दार्थ प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । १ सय ३२ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।
४. नेपालका नेवारहरु: पहिचान र पृष्ठभूमि
डा. तुलसी नारायण श्रेष्ठको अनुसन्धानमूलक कृति हो, “नेपालका नेवारहरु: पहिचान र पृष्ठभूमि” । पुस्तकमा प्रमाणिक आधारहरुको खोजी गरी नेपारहरुको पृष्ठभूमि र पहिचानको मिहीन रुपमा अध्ययन र विश्लेषण गरिएको छ । यो पुस्तक नेवार समुदायका लागि महत्त्वपूर्ण त छ नै, त्यसका अलावा अन्य समुदायहरुका लागि समेत नेवा: संस्कृति र राष्ट्रलाई बुझ्न उत्तिकै महत्त्वपूर्ण छ ।
नेवार समुदाय कुनै एउटा जाति, आदिवासी, भूमिपुत्र र जनजाति मात्र नभई “राष्ट्र”को रुपमा नै परिचित भएर हालसम्म विद्यमान रहिआएको छ । यस पुस्तकमा यसरी “राष्ट्र”को रुपमा नै विद्यमान रहिआएको नेवार समुदायको पहिचान र पृष्ठभूमिका बारेमा अध्ययन गर्ने प्रयास गरिएको छ । यस्तो अध्ययन गर्ने परिप्रेक्ष्यमा नेवारहरुको संक्षिप्त परिचय, पहिचान र पृष्ठभूमि, जाति प्रथाको विकासको पृष्ठभूमि, वर्तमान जाति प्रथाको स्वरुप, सामाजिक संस्कार, सङ्घीय व्यवस्थाको सन्दर्भमा नेवार समुदाय जस्ता विभिन्न विषयवस्तुहरुको बारेमा विश्लेषण एवं विवेचना गरिएको छ ।
२०६६ सालमै पहिलो संस्मरण प्रकाशनमा आएको यस पुस्तकको पुन:मुदर्ण रत्न पुस्तक भण्डारले गरेको हो । २ सय ६७ पृष्ठमा फैलिएको कृतिको मूल्य ५ सय ९५ रुपियाँ रहेको छ ।
५. बेपत्ता सिपाही – चन्द्र कटुवाल
चन्द्र कटुवालको उपन्यास हो, बेपत्ता सिपाही । आफू स्वयं पूर्वलडाकु रहेका कटुवालले उपन्यासमा द्वन्द्वकालको समयलाई सिपाहीका माध्यमबाट सर्लक्कै उतारेका छन् । कटुवालले उपन्यासमा माओवादी द्वन्द्वकालको संकटपूर्ण अवस्थादेखि शान्ति सेना हुँदै द्वन्द्वकालले पछिसम्म छोडिरहने कहरहरुसम्म समेटिएको छ ।
“जब लडाइँ चल्छ तब नचाहेरै पनि सिपाहीका पाइला लम्कििन्छन् रणभूमितर्फ । यो कति भयङ्कर हुन्छ भन्ने कुरा कयौं पुस्तासम्म छोडेका डोबहरुबाट पनि अनुमान लगाउन सकिन्छ । लडाइँमा मानिस मर्छ । चाहे त्यो ढुङ्गे युग होस् या आजको उत्तरआधुनिक ।”, लेखकीयमा कटुवाल लेख्छन्, “सिपाहीको डायरीमार्फत आफ्ना भोगाइ पस्किन मद्दत मिल्यो बुलबुल पब्लिकेशनबाट । पिलिको लडाइँपछि फेला नपरेका सिपाहीहरु तिलाले खायो कि कर्णालीले बगायो ? हामी अझै पनि त्यही भन्ने गर्छौं, जोडा भेट भयौं भने अझै पनि त्यही बेपत्ता जोडाहरुको कुरा गरिरहन्छौं । त्यसैका आधारमा छ यो बेपत्ता सिपाही ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय १६ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ३० रुपियाँ रहेको छ ।
६. खुला जेल – लक्ष्मी श्रेष्ठ
कवि, कथाकार तथा गीतकार लक्ष्मी श्रेष्ठको कथासङ्ग्रह हो, “खुला जेल” । सङ्ग्रहमा १६ थान कथाहरु सङ्ग्रहित छन् । प्रया: कथाहरु छोटा आयतनका छन् । कथामा अमेरिकी परिवेश व्याप्त छ जसले फरक परिवेश, संस्कृति र अभ्यासहरुलाई बुझ्न मद्दत गर्छ ।
“लक्ष्मीले विदेशिएका नेपालीको मनोदशा उजागर गरेकी छिन् । विदेश गएपछि पैसा फल्ने रुख नै भेटिन्छ भन्ने विश्वास र विदेशमा काम, माम र ठामको लागि क्षण–क्ष्णमा मृत्युको नजिक पुग्नुपर्ने बाध्यतालाई निकै रोचक ढङ्गले बयान गरेकी छिन् उनले यी कथाहरुमा ।”, पुस्तकको भूमिकामा डा. दामोदर पुडासैनी किशोर लेख्छन्, “अमेरिका, त्यसमा पनि न्युयोर्क भनेपछि सपनाको सहर भएको छ संसारका सबै मान्छेहरुको । बिग एप्पल उपनामले चिनिने न्युयोर्कमा जो पस्न सकेका छैनन् तिनीहरु पछुताइरहेछन्, जो पसेका छन् तिनीहरु झन् पछुताइरहेछन् भन्ने सटिक ढङ्गले बताइरहेछन् लक्ष्मीका कथाहरुले ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशमा ल्याएको हो । २ सय ३२ पृष्ठमा फैलिएको कथाकृतिको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

