हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।
हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. स्वरसम्राट् नारायणगोपाल – प्रकाश सायमी
लेखक तथा फिल्म निर्देशक प्रकाश सायमीको लेखनीमा प्रकाशनमा आएको नारायणगोपालको जीवनी हो, ‘स्वरसम्राट् नारायणगोपाल’ । दश वर्षभन्दा लामो समय नारायणगोपालको समीपमा रहेर काम गरेका सायमीले यो पुस्तकमा स्वरसम्राट्को व्यक्तिगत, पारिवारिक, समाजिक तथा साङ्गीतिक जीवनका समग्रमा चर्चा गरेका छन् ।
‘स्वरसम्राट् नारानप्रति जिज्ञासा राख्नेहरु, स्वरसम्राटलाई चिन्न, जान्न र बुझ्न खोज्नेहरु, दशतिर भौंतारिंदै टुक्रा टुक्रामा, किताबन्दीमा गर्नुपर्ने लठारो अब उप्रान्त यस किताबले टुङ्गो लगाइदिएको छ ।’, पुस्तकको भूमिकामा नगेन्द्र थापा लेख्छन्, ‘यो किताब तयार गर्दा स्वरसम्राट्को साङ्गोपाङ्गो जीवनी उतार्न धेरै नै परिश्रम गरेका छन् प्रकाशभाइले । भ्याए र भेटेसम्मका नारानको जीवनीमा घटेका घटना–दुर्घटना यस जीवनीमा समावेश गरिएको छ । नारानसँग नजीकमा रहेका साथीभाइ, ईष्टमित्र, परिवारजन, नारानसँग अन्तर्वार्ता लिने पत्रकार र पत्रिकाहरु खोजी गरी यस किताबमा सविस्तार उल्लेख गरेका छन् प्रकाशभाइले ।’
‘पृथिवी’, ‘सिमाना’, ‘अवतार’, ‘रानीखोला’लगायत चलचित्रहरुको निर्देशन गरेका लेखक सायमी नारायणगोपालसँग २०३७ सालदेखि परिचित थिए । उनले नारायणगोपालले आयोजना गरेको साङ्गीतिक कार्यक्रम ‘स्मृतिका कोशेली हाम्रा गीतहरु’मा स्टेजमा कार्यक्रम सञ्चालक भएर काम समेत गरेका थिए ।
पुस्तकमा आवरण चित्र शशी शाहको रहेको छ भने आवरण आकल्पन नवीन्द्रमान राजभण्डारी तथा आवरण लिपि प्रशान्त पन्तको रहेको छ । काठमाडौं
पब्लिकेशनले प्रकाशनमा ल्याएको ३ सय ८६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
…
२. बहिनीको आँखामा अमर चित्रकार – साबित्री सिंह चित्रकार
बहिनी साबित्री सिंह चित्रकारको आँखाबाट दाइ, वरिष्ठ चित्रकार तथा मूर्तिकार स्व. अमर चित्रकारका बारेमा लेखिएको पुस्तक हो, ‘बहिनीको आँखामा अमर चित्रकार’ । सिंहले पुस्तकमा दाइसँग तिता–मीठा अनुभूूतिहरुका साथमा उहाँको चित्रकला तथा मूर्तिकला कर्मका विविध आयमहरुमाथि चर्चा गरेकी छन् ।
पुस्तकमार्फत् सिंहले अमर चित्रकारका लुकेर रहेका जीवन र कलाकारिताका नयाँ अध्यायहरुलाई समेत देखाउने काम गरेकी छन् । लेखकीयमा सिंह लेख्छिन्, ‘परिवारको सदस्यका रुपमा हामीले अमर दाइको कलाकृतिमा थप योगदान पुर्याउन सकेनौं । तर हामीले उहाँको कलाकृतिको महत्त्व बुझेका छौं । उहाँले हाम्रो परिवारलाई दिलाउनुभएको नाम र पहिचानप्रति हामीलाई गर्व छ । उहाँ वर्तमान पुस्ता, समाज र राष्ट्रले मात्र नभएर आउँदो पुस्ताले पनि चिन्नुपर्ने र गर्व गर्नुपर्ने व्यक्ति हो । आउने पुस्ताको मानसपटलबाट उहाँको कृति ओझेल नहोस् भन्ने सदाशयका साथ यो पुस्तक प्रकाशनको जमर्को गरेकी हुँ ।’
पुस्तकको भूमिकामा वरिष्ठ चित्रकार मदन चित्रकारले अमर चित्रकारलाई ‘दोस्रो अरनिको’ दर्जा दिएका छन् । उनी लेख्छन्, ‘अमर दाइलाई चित्रकलामा मार्गदर्शन थियो तर मूर्तिकला सिकाउने कोही पनि थिएन । मूर्ति निर्माण सानो मिहिनेतले हुँदैन, अहिले पनि पाटनको वर्कसपमा लगेर मेटल कास्टिङ गराउँछन् । तर अमर दाइ यति अद्वितीय कलाको धनी हुनुहुन्थ्यो कि उहाँ सबै आफैं गर्नुहुन्थ्यो । उहाँ जतिको मूर्तिकार आजसम्म मैले भेटेको छैन । मलाई लाग्छ, अरनिकोपछि नेपालमा जन्म लिएको दोस्रो अद्वितीय कलाकार ‘अमर चित्रकार’ नै हो ।’
त्यस्तै, शुभकामनामा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तथा जीव वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ लेख्छन्, ‘अमर दाइकी बहिनी साबित्री सिंह चित्रकारको सक्रियताबाट यो स्मृतिग्रन्थ हामीमाझ आइपुगेको छ । यो अत्यन्तै सराहनीय काम भयो । अमर दाइको व्यक्तित्व र कृतित्वबारे आजका पुस्ताले पढ्न पाउने भए । लिच्छिवी कालदेखि चलिआएको प्रविधि अहिले कुन अवस्थामा छ भन्ने लेखाजोखा वर्तमान पिंढीबाट हुने नै छ ।’
पुस्तक ‘अमर चित्रकार’, ‘अमर चित्रकारका चित्रकला र मूर्तिकला’, ‘अमर चित्रकारका शब्द–सिर्जनाहरु’ र ‘आफ्नै कथाः नर्सिङका ३५ वर्ष’ गरी चार खण्डमा विभाजित छ । साहित्यपोस्टले प्रकाशनमा ल्याएको, २ सय ३१ पृष्ठमा फैलिएको कृतिको मूल्य ५ सय रुपियाँ रहेको छ ।
….
३. सपना र छायाहरू – राम अधिकारी
‘एउटी धनाढ्य केटीलाई
पैसाको रवाफ र,
वारको रोमान्समा किन्न सकिएला
एउटी मध्यमवर्गकी केटीलाई
जीवनको परिभाषा र
सुन्दर सुखभोगको लालसामा
आफ्नो बनाउन सकिएला
तर भोक र प्यासमा बाँचिरहेका
ती गरीब र मजदुर केटीहरुलाई
न रोमान्स
न त सुन्दर जीवनको परिभाषा
न त कुनै मूल्यमा किन्न सकिन्छ । (मूल्य, पृ. २३)
अमेरिका निवासी कवि राम अधिकारीको कवितासङ्ग्रह हो, ‘सपना र छायाहरु’ । कविताका साथै कथा, लघुकथा, निबन्ध तथा समीक्षा लेखनमा समेत कलम चलाउँदै आएका अधिकारीको यो पहिलो प्रकाशित कृति हो ।
‘आकाश फेरियो सूर्यका किरण अलि मधुरा भए । एउटा आह्लादित छायाले घेरिएको महसुस भयो । आकाश कालो भयो । हराएका धुँवाका लप्काहरु देखिए ।’, आफ्नै कुरामा कवि अधिकारी लेख्छन्, ‘गन्तव्यहीन दौडिएका बाफका लप्का मिलेर समूह भए । त्यही समूहको नेपथ्यमा छाया बन्यो । त्यही समूहमा आँशु मिसियो । आँशु मिसिएसँगै चिसो मिसियो । चिसो उडिरहन सकेन । सपनाहरु उडिरहन सकेनन् । अन्ततोगत्वा सबै बादलमा परिणत भए । धैर्य भङ्ग भयो । घनघोर वर्षा भयो । पानी बन्यो, असिना बन्यो । तरल बन्यो, ठोस बन्यो र पोखियो मनको ऊहापोहको गहिराइबाट । यस्तै भयो ।’
कपिलवस्तुमा जन्मिएका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट भाषा तथा साहित्यमा स्नातकोत्तर गरेका छन् भने हाल अमेरिकास्थित भर्जिनियामा आई.टी. क्षेत्रमा कार्यरत् छन् । सङ्ग्रहमा ‘खुशी’, ‘सपनाहरुको हत्या’, ‘म महाकालीमा उभिएको छु’, ‘जहाँ चोरहरु देश चलाउँछन्’, ‘ठमेलमा एक हुल साँढेहरु’, ‘मुग्लानमा यस्तै भएको छ’ लगायत ३० थान कविताहरु रहेका छन् ।
साहित्यपोस्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
…
४. नमाज – प्रा. मौलाना मोहम्मद रमजान अली मियाँ
मानव अधिकारको क्षेत्रमा योगदान पुर्याउदै आएका लेखक प्रा. मौलाना मोहम्मद रमजान अली मियाँको कुर्आन् र हदीसमा वर्णन गरिएअनुसार नमाजको सम्पूर्ण विवरण रहेको पुस्तक हो, ‘नमाज’ । पुस्तकमा लेखकले इस्लामका पाँच स्तम्भमध्ये एक महत्त्वपूर्ण मानिएको ‘नमाज’को समग्र जानकारी तथा विवेचना प्रस्तुत गरेका छन् ।
‘नमाजसम्बन्धी नेपाली भाषामा यस प्रकारले लेखिएको सम्भवतः यो नै पहिलो पुस्तक हुन सक्छ । नेपाली–अरबी शब्दकोशको अभावमा धेरै अरबी शब्दलाई नेपाली भाषामा रुपान्तरण गर्नु अत्यन्तै कठिन कार्य हो । जसलाई यी भाषाका विज्ञहरुले राम्रोसँग बुझेका छन् ।’, लेखकीयमा मियाँ लेख्छन्, ‘तसर्थ मैले सहज बनाउन अधिकतम् प्रयास गरेको छु । सम्भव नभएको ठाउँमा त्यसको व्याख्या भनेर उल्लेख गरेको छु । मेरो प्रमुख उदेश्य भनेको आधारभूत रुपमा नमाज बुझ्न, पढ्न सिकाउनु नै हो, जुन कुरा यसैबाट पूरा हुने विश्वास लिएको छु ।’
२ सय १३ पृष्ठमा फैलिएको पुस्तकलाई दारुत्तालीम वत्तर्बियह, सिराहा, रमौलले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










