जसरी नेपाली साहित्यको बजार नेपालभित्र मात्र सीमित छैन, त्यसरी नै कृति प्रकाशन पनि मोफसलबाट पनि हुँदै आएका छन् । “साताका पुस्तक” त्यही मोफसलमा अलमलिरहेका कृति तथा स्रष्टाहरुलाई समेट्ने हेतुले सुरु गरेका हौँ । यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक आठ पुस्तक । निषेधाज्ञाका प्रतिबिम्बहरूदेखि भिक्षुसँग प्रेमसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

१. निती : मीरा गोतामे

निती मीरा गोतामेको पहिलो उपन्यास हो । समाजमा विद्यमान समस्याहरुलाई विषयवस्तु बनाएर कलम चलाउने गोतामेले यो उपन्यासमा समाजका विकृति तथा विसङ्गतिका विरुद्ध धावा बोलेकी छिन् । स्पष्ट र सरल भाषाको प्रयोगले समाजका अँध्यारा सत्य र यर्थाथ सरस बनेका छन् । उपन्यासमा घरेलु हिँसाका कुराहरु छन् । आन्तरिक पीडा थाम्न नारीलाई बेला बेला हम्मे पर्छ । पुरुषजस्तै स्वाट्टै घर छोडेर हिँडिहाल्न नारीलाई सुविधा हुँदैन । लोग्नेका कतिपय दुर्बलता र कमिकमजोरीलाई नारीले आफ्नो अस्मिता सम्झेर छोप्नुपर्ने हुन्छ । यी र यस्तै अभिव्यक्तिहरु अभिव्यक्त भएका छन् उपन्यासमा ।

समाजशास्त्रमा स्नातकोत्तर उपन्यासकार गोतामे शिक्षण पेसामा आवद्ध छिन् । उपन्यासलाई गोतामेका श्रीमान् धर्मराज बोगटीले प्रकाशनमा ल्याएका हुन् भने वितरणको जिम्मा शब्दार्थ प्रकाशनले लिएको छ ।

 

२. म एउटा बिहान हिँडिरहेछु : प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बेको नविनतम् कविताकृति हो, म एउटा बिहान हिँडिरहेछु । यो कविता सङ्ग्रहमा ६५ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।

आङ्देम्बेका कविताहरुमा गाउँले मिथकहरुको भरपूर प्रयोग भएका छन् । त्यस्तै, उनले कविताको माध्यमबाट समाजमा विद्यमान् विकृति र विसङ्गतीलाई तीखो व्यङ्ग्य गर्न पनि चुकेका छैन । छोटा र मध्यम आयतनका कविता रहेको यो सङ्ग्रहलाई समाज, संस्कृति र प्रकृतिको नजिक रहेको छ । त्यसका अलावा यो सङ्ग्रहमा केही आफैँभित्र छिर्दाका अनुभूतिहरुले कविताका रुपमा लिएका छन् भने केही कविताले नयाँ दृष्टि स्थापित गर्ने कोसिस गरेका छन् ।

 

३. निषेधाज्ञाका प्रतिबिम्बहरु 

रञ्चना निरौला र सुमन वर्षाको संयुक्त सम्पादनमा प्रकाशनमा आएको संयुक्त कवितासङ्ग्रह हो, निषेधाज्ञाका प्रतिबिम्बहरु । “कोरोनाकालीन समयले दिएको उपहार गृहबन्दीमा पनि सहयात्री भइरहेर एकअर्कालाई साथ दिन प्रविधिले ठूलो सहयोग गर्यो । एकअर्कालाई एक्लो हुन नदिन र कठोर समयलाई भुलाउन हामीले भर्चुअल माध्यम रोज्यौँ, र बन्यौँ निषेधाज्ञाका सहयात्री ।”, सम्पादकीयमा भनिएको छ, “सहयात्राका तिनै सम्ताहका दुई तीन दिन चेतनशील र सृजनशील मस्तिष्कलाई उपयोग गर्दै निश्चित गरिएका केही शीर्षकलाई काव्यमा रुपान्तरण गरेर वाचन गर्यौँ, सुनायौँ, सुन्यौँ र त्यससम्बन्धी सुझाव दियौँ । पीडादायी र बन्धन समयलाई भुलाउन गरेका यी प्रयासहरुले काव्यको रुप पाए र अक्षरमा अमर बनेका छन् ।”

यो कवितासङ्ग्रहमा ऋषभदेव घिमिरे, मधु पाठक, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, सुमन वर्ष र सुषमा आचार्य अंशुका ७८ वटा कविताहरु सङ्ग्रहित छन् ।

 

४. भिक्षुसँग प्रेम : उषा हमाल

उषा हमालको यात्रा-निबन्ध सङ्ग्रह हो, भिक्षुसँग प्रेम । शिखा बुक्सले प्रकाशनमा ल्याएको यो पुस्तकमा भुक्षुसँग प्रेम, सुनौलो सहर सेन्ट पिटर्सबर्ग, मुक्तिनाथका मुक्त क्षण, पिरामिडको देशमा हामी, नागबेली लालीगुराँस र जानकी, तेरे तुलेमास्त, रङ फेर्छ रारा, अर्को गोलाद्र्ध, नागरिकता यात्रा र छिमिकीको एकछेउ गरी १० शीर्षकमा निबन्धहरु सङ्ग्रहित छन् ।

“यस सङ्ग्रहभित्रका धेरैजसो निबन्ध मेरो जीवनयात्राका सहयात्री मुकुन्द अधिकारीसँग गरिएका यात्रामाथि लेखिएका छन् । कार्यक्षेत्रको सिलसिलामा नेपालका प्रायः जिल्ला घुमियो । तर, त्यो घुमाइ कार्यबोझले थिचिएको हुन्थ्यो ।” हमालले कृतज्ञताका केही कुरामा लेखेकी छिन्, “कुनै पनि ठाउँ जाँदा त्यो ठाउँको भूगोलको दृश्यावलोक मात्र गर्ने होइन, समय लगाए त्यहाँको इतिहास, कला, साहित्य, संस्कृति, भाषा, जीवनशैली पनि बुझ्नुपर्छ । यो पाठ मलाई मुकुन्दले सिकाए । यो सिकाइले मलाई यात्रा निबन्ध लेखनमा मद्दत पुर्याइरहेको छ ।”

 

५. समयाभास : बिलोक शर्मा

बोटानी विषयमा स्नातकोत्तर डुवर्सका बिलोक शर्माको कवितासङ्ग्रह हो, समयाभास । डुवर्सको शान्ता प्रकाशनले प्रकाशनमा ल्याएको यस कवितासङ्ग्रहमा विभिन्न समयमा लेखिएका ३० वटा कविता सङ्ग्रहित छन् ।

शर्माले समयलाई विभिन्न बिम्बमा उनेर कविताको आकार र प्रकार तयार पारेका छन् । उनले आफ्ना कवितामा नगन्य मात्रामा प्रेम र यौनको प्रयोग गरेका छन् । अधिकांश कविताले देश, देशप्रेम र दार्जीलिङ र डुवर्स बोकेको छ । त्यसमा पनि विशेषतः डुवर्सको त्रासदी र भोगाइहरु उनका कवितामा झल्किएका छन् । असहाय मानिसको छटपटी, समयको मार र प्रहारले क्षतविक्षत बनेको आजको मानिसको आवाज बनेका छन् शर्माका कविता ।

 

 

६. आजको मान्छे : राजेन्द्रप्रसाद अर्याल

त्रिविबाट अवकास प्राप्तपछि २०६७ सालबाट अमेरिका बस्दै आउनुभएका स्रष्टा राजेन्द्रप्रसाद अर्यालको नवीनतम् कविताकृति हो, आजको मान्छे । पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।

सङ्ग्रहमा सङ्ग्रहित कविताहरु विविधताले युक्त छन् । कविताहरुमा वतर्मान विश्वमा मानवीय भौतिक सुख, सुविधा र ऐश्वर्यवृद्धिका नाममा देखापरेका अस्वस्थ प्रतिस्पर्धा, अहङ्कार, हिँसा, प्रकृतिविनास र त्यसले निम्त्याएको सङ्कटलाई वैश्विक समस्याको रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै, परिस्थितिले प्रवासी बनेको कविको मन नेपालमै रहेको प्रतिबिम्ब कवितामा भेटिन्छन् । केही प्रणयभाव र शाश्वत मानवीय मूल्यको निश्छल भावाभिव्यञ्जना भएका कविहरु पनि पुस्तकमा सङ्ग्रहित छन् ।

 

७. अनुपमा : सीता अर्याल

केही समयदेखि अमेरिका बस्दै आउनुभएकी साहित्यकार सीता अर्यालको नवीनतम् गीतिसङ्ग्रह हो, अनुपमा । अर्यालको नेपाली आख्यान विधामा परिचय स्थापित छ । कथाको क्षेत्रमा उनले आफूलाई अब्बल साबित गरिसकेकी छिन् ।

यो गीतसङ्ग्रह प्रेम-गानको पुञ्ज बनेको छ । यसमा अनेक थरीका प्रेम-फूलहरुको समिश्रण छ । धेरैजसो रतीरागरुपी प्रेमको अभिव्यक्ति छन् भने के कति भीर, पाखा र जन्मभूमिप्रतिको प्रेम पनि अभिव्यक्त भएको पाइन्छन् ।

यो गीतिसङ्ग्रहलाई बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।

 

८. अमृतांजन

उत्तर प्रदेश, भारतका लेखक डा. राजेन्द्र परदेशीको कविताकृति हो, अमृतांजन । यसको नेपाली अनुवाद तथा प्रकाशन डा. मञ्जुश्री प्रधान केसी “सानु”ले गरेकी हुन् । पेसाले मनो-परामर्शदाता रानुले शिक्षाशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् । सङ्ग्रहमा विभिन्न स्वाद र विषयका ३५ वटा कविता सङ्ग्रहित छन् ।