साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई लेखक मित्र ‘उराठी’ गौतमकृत कविता सङ्ग्रह  “लकडाउनको उपहार” प्राप्त भएकाे छ ।

१ सय २ पृष्ठमा रहेको यस पुस्तकमा ‘म मान्छे भएको छु’, ‘विजय भयाे ! विजय भयो !’, ‘आगो ओकल्छ मान्छे’, ‘को आफ्नो को बिरानो’, ‘म तोप चरा’, ‘मलाई डर छ’ लगायत २७ वटा कविता सङ्ग्रहित छन् ।

प्रकाशकीयमा रामप्रसाद पन्त लेख्छन्, “प्रस्तुत सङ्ग्रहका कवितामध्ये झन्डै आधा दर्जन जति कविता कोरोना प्रभावित छन् र अरू केही कविताले पनि कोरोनाको झल्को दिएका छन् । लकडाउनले मानव जातिलाई मात्र प्रभाव पारेको हो, सपनामा पनि तर्साउने गराएको हो तर अन्य प्राणी र प्रकृतिका लागि त वरदानसिद्ध भएको छ लकडाउन । हिमाल हाँसेका छन्, मयुर नाचेका छन्, कोकिल गाना गाएका छन्, आकाशले नुहाउन पाएको छ, पन्छीले कावा खान पाएका छन्, वचनहरू स्वच्छन्द विचरण गर्न पाएका छन् ।”

भूमिकामा डा. नवराज लम्साल लेख्छन्, “युगको अनुहार, आफू बाँचेको समय, कष्टको कहर, करुणाको उद्बोधन र अन्योलको आँगन । सबै छन् कवितामा । सामाजिक विसङ्गतिबोध, मानवताको वकालत, धर्मान्धताप्रति रोष, देशप्रेम, अन्तर्राष्ट्रिय चेत तथा सुकिलो जीवनको अपेक्षा कविका अन्तरहर र अभीप्सा हुन् र यही हो कविताको सेरोफेरो ।”

दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।