नानु ठूली गर बडालाई
बडा बाको सम्मानको सलामी पाउँदै गर्दा
बा नबनी कसरी बडा बनूँ
सोच्दा सोच्दै
टेकेको धर्ती भास्सिएको हो कि
छाँगाबाट खसेको हो
थाहै भएन पारुहाङ बडालाई ।

काकुको मान पाउँदा
मख्ख पारुहाङ बडा
कल्पनाको सागरमा डुब्दै
काका बन्नुको अर्थ
बेहुलो हुने पालो ठान्थे
कल्पनाको सागरमा डुब्थे ।

राजेन्द्र कार्की (क्यानडा)

कल्पनाको सागरमा
हनिमुनको नाउँ खियाउँदै
भतिजा भतिजीको पास्नी छुटाउँदैनथे
कपालमा ताउ लाउँदै
सोल्टिनीसँग मसक्क मस्कन्थे
सोल्टिनीले नपत्याउँदा
भाउजूसँग ठसक्क ठस्किन्थे ।

सुम्निमाको मायामा
कयौं हिउँद बर्खा लुटपुटिए
कन्काई माईमा सँगै परेवा उडाए
शिवालयमा भुल्केको पानी चडाए
पथरी र कानेपोखरीको जङ्गल विहार गरे
तर लगनगाँठो जुर्दै जुरेन ।

थुप्रै सुम्निमाहरूसँग
सोई डोले सोई गाउँदै
चण्डी नाच ननाचेको पनि होइन
पालम गाउँदै धान नाच ननाचेको पनि होइन
डङ्डङे मेला नभरेको पनि होइन
शरीर नटाँसेको पनि होइन
मेसेन्जरको टिङ् आवाजसँगै
छिन छिनमा चीनबाट जर्मनमा
हाजिर नभएको पनि होइन ।

को कस्ती
को सस्ती
हेर्दा हेर्दै
के मिल्यो
के मिलेन
भन्दा भन्दै
जोडी र बिजोडी
गन्दा गन्दै
कपाल तिल चमले भैसके।

बिहे नभएर के भो
बा नभएर के भो
बडा बा भै सकेँ भन्दै
आफू जस्तै एकल अधबैँसेको
संख्या जोड्दै थिए बडा
खै के भएछ
एक्कासि चिच्याए
के को बडा ! के को बडा !
अब जिन्दगी यसै यसै सडा !