राजेन्द्र कार्की (क्यानडा)

तलै तलाका
कागजी महल
ठड्याउने धुनमा
पढ्दापढ्दै
बढ्दाबढ्दै
थाहै नपाई
रहरै रहरको
यौवन सकिएछ ।

खै थाहा भएन !
ठुलो हुने कस्तो हो
त्यही ठुलो हुने नशामा
रङमगिएको यौवनले
प्रणयसूत्रको जग बसाउन
न भ्यालेन्टाइन आएको थाहा पायो
न भ्यालेन्टाइन गएको थाहा पायो
थाहा पाउँदा यौवनको नसा
धुलोपिठो भइसकेछ ।

सपना बुन्दाबुन्दै
जीवनको पाँगो माटामा
मायाँको बिरुवा रोपेर
न गोडमेल गरियो
न हुर्काउन सकियो
थाहै नपाई
सपनाको दुनियाँमा
हराउँदाहराउँदै
सँगसँगै यौवन पनि हराएछ ।

जीवनको यौवन
पक्रने त के !
कस्तो थियो ?
नियाल्न नपाई
यौवनका रहरहरूले
कहिल्यै  नफिर्ने सर्तमा
थाहै नदिई
कतिखेर लुसुक्क
बसाइ सरेछन् ।

ढकमक्क फुलेका बेला
यौवनका थुँगाहरू
पिरतीको धागामा  उन्दै
सम्बन्धको नयाँ माला बुनेर
जीवनको नौलो संसार
सजाउने बेलामा
अक्षहरूले कैदी बनाए
अनि कैदमा बस्दाबस्दै
यौवनले नेटो काटेछ ।

कल्पनाको सागरमा डुबेर
जीवनको साङ्गोपाङ्ग
मिलाउन खोज्दाखोज्दै
न यौवन साटियो
न यौवनको रङ्गमा मातियो
अनिश्चित भोलिको आशमा
जीवनको त्यो सुन्दर यौवन
खडेरीको फूलझैँ ओइलिएर
त्यसैविना अर्धमूर्च्छित छ ।